१५ माघ २०७७ बिहीबार
विचार

मानसिक रोगमा रासायनिक पदार्थ

एक तथ्यांकले पाँच–सात दशकअघिको तुलनामा संसारभरनै मानसिक समस्या बढेको देखाएको छ । औद्योगिकीकरण र भौतिकवादी सामाजिक अभ्यासका कारण विकास भएको व्यस्त अनि प्रतिस्पर्धी समाजले मानसिक तनाव थपेको छ । बाह्य दबाबको उचित व्यवस्थापन गर्न नसक्दा मानिसको ‘न्युरोलोजिकल’ (स्नायु)प्रणालीमा समस्या आएको छ,  यसले बेचैनी बढाएको छ । तनाव धान्न नसकेर मानसिक रोग लाग्नुलाई स्वाभाविक मानिँदै आएको छ । प्रतिस्पर्धाको रगडा धान्न नसकेर एउटा उमेर समूहमा देखिएको मस्तिष्क रोगलाई सामान्य ठानिएको अवस्थामा डेनमार्कको आर्हस युनिभर्सिटीका प्राध्यापक जोर्डिस एट्लाडोटिरको समूहले एउटा अनुसन्धान प्रकाशित गरेको छ ।

बालबालिकाको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखी सन् २०१४ मा ‘युरोपियन चाइल्ड एन्ड एडलोसेन्स साइकिएट्री’ मा प्रकाशित उक्त खोज स्थापित मान्यता विपरित धारमा छ । मानसिक तनाव व्यवस्थापन गर्न असमर्थ हुँदा मस्तिष्क रोग लाग्नुलाई स्वाभाविकरूपमा लिइएको अवस्थामा बाह्य समाजलाई मनननै गर्न नसक्ने अबोध बालबालिकामा समेत पछिल्लो दशकमा मानसिक समस्या बढ्दै गएको निष्कर्ष दिने उक्त अनुसन्धानले ‘साइकिएट्रिक’ समुदायमा हलचल ल्याएको हो। डेनमार्क, फिनल्यान्ड, स्वेडेन तथा पश्चिम अस्ट्रेलियामा सन् १९९० देखि २००७ बीचमा जन्मिएका बच्चामा उमेरसँगै उनीहरूको मानसिक अवस्थामा के/कस्तो परिवर्तन आएको छ भन्ने कुरा लामोसमयसम्म उक्त अनुसन्धानमा हेरिएको थियो । 

केही केमिकलले भने देखिने र भोगिने लक्षण देखाउँदैन बरु बौद्धिक क्षमतालाई भने ह्रास पार्न सक्छ भन्ने देखिएको छ ।

त्यसो त अमेरिकाको न्यासनल सेन्टर फर हेल्थ स्ट्याटिस्टिक्सका डा.बेन्जमिन जब्लोस्कीलगायतका अनुसन्धानकर्ताले संयुक्त राज्य अमेरिकाका ३ देखि १७ बर्ष उमेर समूहका झण्डै ९० हजार बालबालिकाको मनोरोगको तथ्यांक प्रशोधनले समेत अघिल्लो समयको तुलनामा पछिल्लो दशक बालबालिकामा मानसिक समस्या बढेको देखाएको छ । विभिन्नमुलुकमा गरिएको अनुसन्धानले पनि कलिला बच्चामा मानसिक रोग अत्यधिक बढेको देखिएको छ । तनाव धान्नै नपर्ने कलिला बालबालिकामा देखिएको बढ्दो मस्तिष्कको समस्याको कारण खोज्न अनुसन्धानकर्ता बाध्य भएका हुन् । त्यसै परिवेशमा भएका अनुसन्धानको निचोड यहाँ प्रस्तुत गरिएको छ ।  

पछिल्लो ५ दशकमा हजारौँ किसिमका रासायनिक पदार्थ उत्पादन भए र प्रयोगमा आएका छन् । विविध किसिमका रासायनिक पदार्थको उत्पादन तथा वितरण बढ्दै जाँदा त्यसै अनुपातमा मानसिक रोगीको संख्या समेत बढेको छ । कलिला बच्चाहरूमा दिमागी समस्याको अनुपात पनि व्यापक बढेको देखिएको छ । यसरी केमिकलको उत्पादन तथा वितरण र मानसिक रोगीको संख्या एकै धारमा बगेको देख्दा कहीँ रासायनिक पदार्थ र मस्तिष्कको समस्याबीच केही तालमेल त छैन भनेर हेर्नु अन्यथा होइन । त्यही प्रश्नको जवाफ खोज्ने क्रममा संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालय पब्लिक हेल्थ डिपार्टमेन्टका डा. फिलिप ग्रान्जेनले रासायनिक पदार्थ र त्यसले मान्छेको स्नायु प्रणालीमा पारेको प्रभावका सम्बन्धमा तत्काल प्रकाशित अनुसन्धानात्मक आलेखहरूलाई संस्लेषण गर्दै सन् २००६ मा एउटा समीक्षा ‘ल्यान्सेट’ जर्नलमाप्रकाशित गरे । अनुभव गर्ने गरी स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको नदेखिए पनि धेरै रासायनिक पदार्थले हाम्रो स्नायु प्रणालीमा नकारात्मक प्रभाव पारिराखेको हुनसक्छ भन्ने तथ्य उक्त रिभ्यु आलेखले देखाएको छ । केही केमिकलले हामीलाई देखिने र महसुस गर्ने गरी रोगी नपार्ने बरु ब्रेनको क्षमतालाई सुसुप्त बनाउन सक्ने कुरामा सजग हुनुपर्ने उक्त लेखले चर्चा गरेको छ ।

बालीनालीमा प्रयोग हुने केमिकलले उपभोक्ता तथा वातावरणमा नकारात्मक प्रभाव नपारोस् भनेर रासायनिक पदार्थले बिक्री वितरण अनुमति पाउनुअघिउत्पादक कम्पनीले केमिकल प्रभावकारिताको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।  

कुनै रासायनिक पदार्थ हाम्रो शरीरमा जाँदा पोल्ने/दुख्नेलगायतका विभिन्न शारीरिक समस्या देखिने मात्र होइन, व्यक्तिको मृत्यु पनि हुन सक्छ । तर केही केमिकलले भनेदेखिने र भोगिने लक्षण देखाउँदैन बरु बौद्धिक क्षमतालाई ह्रास गर्न सक्छभन्ने देखिएको छ । विभिन्न देशका वैज्ञानिकले भिन्न समयमा संकलन गरेका तथ्यांकले एकिनका साथ ‘लेड, आर्सेनिक, मिथाइल मर्करी, पोलिक्लोरिनेटेड बाइफिनाइल तथा टल्युन’ लगायतका पाँच औद्योगिक केमिकलले दिमागको क्षमतालाई नकारात्मक प्रभाव पार्ने, व्यक्तिमानसिक रोगको सिकार हुन सक्ने देखिएको छ । प्रयोगमा रहेका हजारौँ रासायनिक पदार्थमध्ये के उल्लिखित ५ केमिकलमात्र ‘न्युरो टक्सिन’ हुन त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । त्यसको उत्तर खोज्ने काम भएको छ ।

औषधि, तरकारी, फलफूल तथा अन्नबालीमा विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग हुन्छन् । कुनै पनि ओखती बजारमा पुग्नुअघि विभिन्न चरणको क्लिनिकल ट्रायलको कसीमा घोटिनुपर्ने भएकाले सामान्य त ‘मेडिसिन’ मा प्रयोग भएका केमिकलहरू मानसिक समस्याका कारण हुने संभावना न्यून रहन्छ । त्यसो त प्रतिकूल स्वास्थ समस्याका कारणधेरै ओखतीबजारबाट बाहिरिएको यथार्थ बिर्सनुहुँदैन ।

कीरा/फट्यांग्रा मार्न तथा अन्य बाली सबलीकरणका खातिर तरकारी, फलफूल तथा अन्नबालीमा विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग हुन थालेको धेरै वर्ष भइसकेको छ । बालीनालीमा प्रयोग हुने केमिकलले उपभोक्ता तथा वातावरणमा नकारात्मक प्रभाव नपारोस् भनेर रासायनिक पदार्थले बिक्री वितरण अनुमति पाउनुअघिउत्पादक कम्पनीले केमिकलको प्रभावकारिताको प्रमाण पेस गर्नुपर्ने हुन्छ । सबै देशमा विषादी अनुगमन गर्ने निकाय भए तापनि अमेरिकाको ‘इन्भाएरोमेन्टल प्रोटेक्सन एजेन्सी (इपिए) को चेकजाँचका आधार मजबुत भएकाले यसका निर्णयलाई सामान्यतः सबै मुलुकले पालन गरेका देखिन्छ । अब इपिएले कसरी कुनै पनि विषादीको अनुमति दिन्छ त? त्यता हेरौँ ।  

कुनै पनि विषादी केका लागि कति मात्रामा प्रयोग गर्नुपर्छ भन्ने एकीन भएपछि उत्पादक कम्पनीले रासायनिक पदार्थले वातावरणमा पार्ने प्रभावको अध्ययन गर्नुपर्ने हुन्छ । उल्लिखित मात्राको विषादीको प्रयोगले जलचरको जीवनचक्रमा कस्तो प्रभाव पार्यो त्यसको अध्ययन नतिजा पेस गर्नुपर्ने हुन्छ । छोटो जीवनचक्र भएका कारण रासायनिक पदार्थको प्रभावकारिता हेर्न सामान्यतः ‘डेफ्निया’ भन्ने सूक्ष्म जीवको प्रयोग गरिन्छ । एउटा निश्चित मात्रामा रासायनिक पदार्थ भएको पानीमा डेफ्नियाले आफ्नो जीवनचक्र सामान्यरूपले सञ्चालन गरेमा उक्त केमिकलले वातावरणमा प्रतिकूल असर पार्दैन भन्ने मान्यता छ । रासायनिक पदार्थले स्नायु प्रणालीमा असर पार्छ/पार्दैन भन्ने कुराको जाँच गर्न भने ‘जिब्रा फिस’ भन्ने सूक्ष्म जन्तुको प्रयोग गरिन्छ । रासायनिक पदार्थ भएको पानीमा जिब्रा फिसलाई हुर्काउँदा जीवको मस्तिष्कको विकास असामान्य हुँदा अथवा उज्यालो प्रकाशप्रति जलचरले अनौठो व्यवहार देखाउँदा भने उक्त केमिकलले स्नायु प्रणालीको विकासमा प्रतिकूल प्रभाव पार्छ भन्ने मान्यताठानिन्छ । अब मानिस र प्रयोगात्मक जीवको अवस्था दाजौँ ।  

मानसिक स्वास्थ्य बिग्रँदा मानिसको ‘ब्रेन’ असामान्य हुने अथवा व्यक्तिले असामान्य व्यवहार देखाउने मात्र हुँदैन,बरु ‘डिप्रेसन’,बौद्धिक तथा सिप आर्जन क्षमता घट्नेअनि सामाजिक समन्वयको अभाव हुन सक्छ । सबै कुरा ठीकठाक देखिए पनि सामान्य सामाजिक जीवन व्यतीत गर्न नसक्ने अवस्था आउँदासमेत स्नायु प्रणालीलाई दोष दिनुपर्ने हुन्छ । तसर्थ, मान्छेको स्नायु प्रणालीमा रासायनिक पदार्थले पार्ने असरको यथार्थ जानकारी जिब्राफिसमा गरिएको अध्ययनले दिन सक्दैन ।  

केमिकलको प्रयोगले मानसिक रोगीको संख्या बढेको तर अनुगमन निकायले स्थापित गरेको ‘एनिमल मोडल’ ले उक्त समस्यालाई संबोधन गर्न असमर्थ रहेको अवस्थामा संयुक्त राज्य अमेरिकाको ‘इपिए’ र युरोपको अनुगमन निकाय ‘युरोपियन फुड अथोरिटी (इएफएसए)’ का वैज्ञानिकहरूले ‘ट्रान्स एटलान्टिक पार्टनरसिप’ मार्फत प्रयोगमा रहेका केमिकलहरूले ‘न्युरोलोजिकल सिस्टम’ को विकासमा के/कस्तो प्रभाव पार्छ भनी अध्ययन गर्ने मान्यता विकास गरेका छन् । अनि, सम्बन्धित केमिकलको उपस्थितिमा ल्याबको वातावरणमा न्युरोन सेलको विकास, विभाजन, परिपक्वता, पारस्परिक समन्वयतथा विनाशको चक्रमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अध्ययन गरिएको छ । उक्त क्रममा अहिलेसम्म विभिन्न प्रकृतिका दर्जनौँ केमिकलको न्युरोलोजिकल प्रभावकारिता अध्ययन सम्पन्न भइसकेको छ । कुनै रासायनिक पदार्थको उपस्थितिमा स्नायु कोसको विकासचक्र दुरुस्त रहे उक्त केमिकल सामान्य रहेकोअनि त्यसले मानिसको स्नायु प्रणालीमा प्रतिकूल प्रभाव नपार्ने मान्यता छ । तद्नुरूपको ल्याब परीक्षणले विगतको एनिमल मोडलको आधारमा अनुगमन निकायले सुरक्षित देखी प्रयोगकालागि अनुमति दिएका धेरै केमिकल ल्याबको परीक्षणमा खोटो देखिएका छन् । प्रयोगमा रहेका त्यस्ता केमिकलमानसिक रोगको कारक हुन सक्ने देखिएका छन् ।  

ट्रान्स एटलान्टिक पार्टनरसिपले प्रचलनमा रहेका धेरै विषादीको उपस्थितिमा ब्रेनका कोषहरूले आफ्नो सामान्य चक्र सञ्चालन गर्न असथर्म रहेको देखिएको छ । ल्याबको परीक्षणलाई आधार मान्दा गर्भमा न्युरोन सेल विकास हुँदा कदाचित उल्लिखित केमिकल भ्रुणकोसंसर्ग आए स्नायुप्रणालीको संयन्त्रले पूर्ण आकृति पाउन सक्दैन, त्रुटिपूर्ण न्युरोलोजिकल सिस्टमको विकास हुन्छ । स्नायुप्रणालीमा कैफियत आउँदा जन्मनेबित्तिकै बच्चा मानसिक रोगको सिकार बन्न सक्ने देखिएको छ ।  

ट्रान्स एटलान्टिक पार्टनरसिपमार्फत ल्याब परीक्षणका क्रममा व्यावसायिक प्रयोगका लागि उचित ठहर गरी स्वीकृति पाएका रासायनिक पदार्थसमेत न्युरोलोजिक सिस्टमको स्वस्थ विकासका लागि हानिकारक देखिएका छन् । त्यस्तो परिवेशमा प्रयोगमा रहेको रासायनिक पदार्थ गर्भवती महिला तथा साना बच्चाको पहुँचभन्दा बाहिर राख्नुपर्ने देखिन्छ । एनिमल मोडलको परीक्षणमा पास भइ बजारमा रहेका धेरै केमिकल मानसिक रोगको कारक हुन सक्ने देखिएकाले भरिसक्य त्यस्ता रासायनिक पदार्थको प्रयोग गर्दा सबैले सजगता अपनाउनुपर्छ । विषादीप्रयोग भएका खाद्यान्नले मानिसको स्नायुप्रणालीमा असर पारी मानसिक समस्याको कारकसमेत हुन सक्ने संभावना भएकाले रासायनिक पदार्थको बिक्रीवितरण तथा अनुगमनमा सबै पक्ष चनाखो हुनुपर्छ । केमिकलको दुरुपयोगले मानसिक स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभावका सम्बन्धमा जनजागरण थाल्न आवश्यक छ ।

प्रकाशित: २१ पुस २०७७ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App