७ वैशाख २०८१ शुक्रबार
विचार

वीरेन्द्रको व्यथा

धेरैलाई लाग्दो हो, राजाको पनि कुनै पीर, व्यथा हुन्छ र ? तर मानवीय सम्वेदनशीलताका कारण सर्वसाधारणले झैँ राजाहरूले पनि विषाद, पीर, व्यथा र असन्तुष्टिहरू पचाउनुपर्ने हुन्छ । राजा वीरेन्द्रले पनि आफ्नो जीवनकालमा कैयन् पटक त्यस्तो भोग्नुपरेको उनीसँग लामो समय काम गरेका सहयोगी बताउँछन् ।

२०३६ सालमा जनमत संग्रह घोषणा गरेपछि राजा वीरेन्द्रले निकटतम र प्रियजनहरूबाट व्यंग्य, मानसिक पीडा र दबाब भोग्नुपरेको बताएका छन्, वीरेन्द्रका एक सचिवले । उनीहरू राजाले आत्मघाती कदम चालेको भन्दै बेलाबखत व्यंग्य गर्थे भने राजाले राष्ट्र र जनताका लागि आफूले त्यस्तो कदम चाल्नुपरेको बताउँथे ।

राजा वीरेन्द्रको सेवामा धेरै वर्ष बिताएका एक जना सचिवले लेखेका छन्– झण्डै १५ वर्ष प्रमुख सचिव र २ वर्ष समारोह प्रबन्धक/उपप्रबन्धक भएर काम गर्दा राजा वीरेन्द्र एकपटक मात्र दुःखी भएको देखेको छु, २०३६ सालको जनमत संग्रह घोषणाताका । झण्डै आठ दश दिन उनी गोकर्ण जंगलको दरवारमा एक्लै बसेका थिए । (रञ्जनराज खनाल, नेपाल साप्ताहिक)

प्रतिबन्धित राजनीतिक दलहरूले विद्यार्थी आन्दोलनमार्फत आफ्ना आवाज बुलन्द गरिरहेका बेला ३४ वर्षका युवक राजाले प्रजातान्त्रिक तरिकाले जनमत बुझ्ने प्रयास गर्नु राजनीतिक भूल थिएन ।

तर वीरेन्द्रका एक सेवकले गोकर्ण दरवारमा राजा वीरेन्द्र निकै उदास मुद्रामा दाह्री जुँगा पालेर बसेको बताए । दलविहीन पञ्चायती व्यवस्थाविरुद्ध प्रतिबन्धित राजनीतिक दलहरूले विद्यार्थी आन्दोलनमार्फत आफ्ना आवाज बुलन्द गरिरहेका बेला ३४ वर्षका युवक राजाले प्रजातान्त्रिक तरिकाले जनमत बुझ्ने प्रयास गर्नु राजनीतिक भूल थिएन । तर ‘उदारवादी’ र ‘अनुदारवादी’ नामका कित्तामा उभिएर अधिकांश स्वार्थी पञ्चहरू सत्ताकै लागि हारालुछ गर्दै थिए भने राजा वीरेन्द्रको परिवारभित्र पनि उनलाई निरंकुश हुनुपर्छ भनेर उकास्नेहरू भएको दरवारका कतिपय कर्मचारी बताउँछन् ।

राजा महेन्द्रका सुपुत्र वीरेन्द्र छब्बीस वर्षकै उमेरमा राजा भए । २०२८ माघ १७ गते राजा महेन्द्रको शरीरान्त भएपछि राष्ट्रको बागडोर वीरेन्द्रले सम्हाले । महेन्द्र विदेश भ्रमणमा गएका बखत यदाकदा युवराज वीरेन्द्रले राजप्रतिनिधि परिषद्को अध्यक्षको हैसियतले ‘श्री ५ को सरकार’ सञ्चालन गर्थे भने पिताको शासनकालमा अनेकौँ राष्ट्र तथा स्वदेशका कैयन् जिल्ला भ्रमण गरेर अनुभव बटुलेका थिए ।

राजा वीरेन्द्रको शासनकाल (२०२८ माघ १७ देखि २०५८ जेठ १९) मूल्यांकन गर्दा उनले गरेका र गर्न चाहेका कामहरूको लेखाजोखा गर्नैपर्छ । ऊबेलाको आर्थिक अवस्था, जनताको चेतनास्तर, विश्व परिवेश र राष्ट्रले भोग्नुपरेको समस्याबारे सिंहावलोकन गर्नैपर्छ । तसर्थ, वीरेन्द्रको शासनकालको सजीव तस्बिर उतार्न वस्तुपरक हुनैपर्छ ।  

राजा वीरेन्द्रले राष्ट्रको राजनीतिक व्यवस्थाबारे जनताको विचार बुझ्न २०३७ सालमा राष्ट्रिय जनमत संग्रह (रेफरेन्डम) गराए । जनमत बुझ्न प्रजातान्त्रिक उपाय अपनाए । विश्वका अनकौँ सञ्चारमाध्यमले राजा साँच्चै प्रजातान्त्रिक, सरल, उदार र योग्य रहेछन् भन्दै प्रशंसा गरे । ‘जनतामा फैलिएको अनर्गल कुराहरूबारे पनि राजाले गुप्तचरबाट सूचना लिनू’ भन्ने कौटिल्य (चाणक्य) को उपदेश छ । विराज वखेतीलाई राज्यको महत्वपूर्ण पदको जिम्मेवारी दिन चाहेका पृथ्वीनारायण शाहले जनभावना बुझेर कालु पाँडेलाई सो पद (काजी) मा नियुक्त गरेको इतिहासमा उल्लेख छ । ‘राष्ट्र सदैव सर्वोच्च हुन्छ’ भन्ने मान्यताबाट अनुप्राणित सोही परम्पराअनुरूप राजा वीरेन्द्रले राजनीतिक व्यवस्थालाई उदार बनाउन चाहेका धेरैको तर्क छ ।

पुष्प अर्पण गरेर ‘औपचारिकता’ कार्यक्रममा सीमित रहनुको साटो पुस १४ गतेलाई एउटा महत्वपूर्ण दिवसका रूपमा भव्यताका साथ मनाउन सकिन्थ्यो । राजा वीरेन्द्रबाट विभिन्न मानपदवी, अलंकार, विभूषण, पद, प्रतिष्ठा र सम्पत्ति पाउनेहरूले समेत यसमा खासै चासो देखाएनन् ।  

हरेक वर्ष पुस १४ गते वीरेन्द्रको जन्मजयन्ती मनाउँदा उनको योगदानबारे तयार पारिएका पुस्तक, वृत्तचित्त, लेख वा प्रवचनमार्फत युवा वर्गलाई धेरै जानकारी दिन सकिन्थ्यो । पुष्प अर्पण गरेर ‘औपचारिकता’ कार्यक्रममा सीमित रहनुको साटो पुस १४ गतेलाई एउटा महत्वपूर्ण दिवसका रूपमा भव्यताका साथ मनाउन सकिन्थ्यो । राजा वीरेन्द्रबाट विभिन्न मानपदवी, अलंकार, विभूषण, पद, प्रतिष्ठा र सम्पत्ति पाउनेहरूले समेत यसमा खासै चासो देखाएनन् । उनीहरू कृतघ्न नै देखिए ।  

२०२७ वैशाखमा राजा महेन्द्रलाई ठेउलाले अस्वस्थ बनाएछ । केही हप्ता आराम गर्न चिकित्सकहरूले सल्लाह दिएकाले युवराज वीरेन्द्रलाई राजप्रतिनिधि परिषद्को अध्यक्ष घोषणा गरेर राजाले धेरै कुराको तालिम दिएको महेन्द्र तथा वीरेन्द्रका पुराना सहयोगीहरू बताउँछन् । विधिको शासन पालना गराउन वीरेन्द्रले बेलाबखत मन्त्रालयहरू अनुगमन गरेको त्यसबेलाका कर्मचारी बताउँछन् । उनीहरू भन्छन्– राजा वीरेन्द्र असत्य बोलेको रुचाउँदैनथे । तर वास्तविकता तितो नै भए पनि स्वीकार्ने उनको बानी थियो ।

२०२८ वैशाखमा राजा महेन्द्रबाट प्रधानमन्त्री नियुक्त भएका कीर्तिनिधि विष्ट भन्थे– ‘धेरैले राजा महेन्द्रलाई हठी भनेको सुनेकोे छु । तर ‘यसो गर्दा राष्ट्रको हित हुन्छ’ भनेर चित्तबुझ्दो तर्क दिएपछि स्वीकार गरिबक्सन्थ्यो ।’ यस्तै राजा वीरेन्द्रका कार्यकालमा समेत प्रधानमन्त्री भएका विष्टले बाबु/छोराको तुलना गर्दै भनेका छन्– काम गर्ने शैली फरक भए पनि राजा महेन्द्र र राजा वीरेन्द्रका लागि राष्ट्रियता, विकास र राष्ट्रिय स्वाभिमान सर्वोपरि थियो ।  

२००९ सालमा प्रथम एसियाली ओलम्पिकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका कृष्णबहादुर बर्मालाई राजा महेन्द्रले पाल्पाको बडाहाकिम बनाए । काठमाडौँबाट त्रिशूली, तनहुँ, पोखरा, स्याङ्जा र पाल्पासम्म पैदल यात्रा गर्दै पुगे युवराज वीरेन्द्र । बर्माले एउटा अन्तर्वार्तामा भनेका छन्– युवराज वीरेन्द्र जनतासँगै सोच, जनतासँगै काम गर, जनतासँगै हिँड हुकुम हुन्थ्यो ।  

दार्जिलिङ (भारत), ब्रिटेन र जापानमा अध्ययन गरेका राजा विश्व राजनीति, कूटनीति, इतिहास र नवीनतम घटनाप्रति गहिरो चासो राख्थे । उदार र सबैलाई सजिलै विश्वास गर्ने निष्कपट स्वभावका कारण राजा वीरेन्द्रलाई झुटो विवरण सुनाएर ठग्नेहरू पनि रहेछन् । कतिपय गुप्त सूचनाहरू आफ्नै विश्वासपात्रहरूबाट चुहिने गरेको चाल पाएपछि राजा वीरेन्द्र क्रुद्ध भएको कुरा पूर्वसचिव तेजबहादुर प्रसाईले बताएका छन् ।

वीरेन्द्रको कार्यकालमा अहिले जस्तो राजनीति, कूटनीति, राष्ट्रिय सुरक्षानीति, गृहनीतिलगायत सबै क्षेत्र प्रश्नचिह्नमय थिएन । देश–देशान्तरमा नेपालको सुवास थियो । राष्ट्रनायक र सरकार प्रमुखले राष्ट्र र जनताको जिम्मेवारी लिन्थे । यति हुँदाहुँदै पनि बेलाबखत वीरेन्द्रलाई व्यवधान गर्ने काम भएको देखिन्छ । घरको इमानदार अभिभावकले सत्यका पक्षमा उभिँदा असत्यको नाफा खोज्नेहरू रिसाउँछन् । यो पीडा राजादेखि रंकसम्मले भोग्नुपरेको देखिन्छ । वीरेन्द्रले पनि त्यही व्यथा भोगे ।  

पोर्चुगलले गिनीमा सैनिक हस्तक्षेप गर्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा गठित छानबिन समितिमा नेपाललाई अध्यक्ष बनाइयो । यस्तै सन् १९७१ मा चीनलाई राष्ट्रसंघमा पुनस्र्थापना गराउन नेपाल सहप्रस्तावक भएर उभियो । राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्ड विमान दुर्घटनामा परेर मरेपछि नेपालका प्रतिनिधि ऋषिकेश शाहको संयोजकत्वमा छानबिन समिति बनाइयो । अमेरिका, रसिया, चीन र भारतलगायतका शक्तिहरूभन्दा पृथक धारमा उभिएर नेपालले कतिपय अन्तर्राष्ट्रिय विषयमा तटस्थ भूमिका खेल्यो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुईपल्ट अध्यक्षता गर्दा धेरै राष्ट्रले नेपालको क्षमताको प्रशंसा गरेका छन् ।

युगोस्लाभिया टुक्रिएर सातवटा देश बनेपछि ठूलो गृहयुद्ध भयो । संयुक्त राष्ट्रसंघले त्यहाँ तैनाथ सेनाको फोर्स कमान्डरमा नेपाली सेनाका जर्नेल कृष्णनारायणसिंह थापालाई नियुक्त गर्‍यो । धुम्बाराहीस्थित निवासमा थापाले पंक्तिकारलाई भनेका थिए– राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको हुँदा निर्भीक र इमानदार भएर कर्तव्य पालना गर्न राजा वीरेन्द्रबाट सम्झाइबक्सेको थियो ।  

राजनीतिक र आर्थिक विषमता बढ्नु नै युगोस्लाभिया टुक्रिने प्रमुख कारण थियो । बोस्निया–हर्जगोभिना, क्रोसिया, कोसोभो, सर्बिया, म्यासेडोनिया, मोन्टेनिग्रो जस्ता भूखण्डमा विभक्त हुन २६ महिना पनि लागेन । शक्तिशाली नेता जोसेफ ब्रज टिटोले एकताबद्ध राखेका राष्ट्र उनको देहान्तपछि टुक्रा–टुक्रा भयो । बलियो राष्ट्रनायक भएन भने देश कुनै पनि बेला टुक्रिन सक्छ भन्ने यस्ता उदाहरण अरू पनि छन् । अन्तर्राष्ट्रिय विषयमा गहिरो ज्ञान भएका राजा वीरेन्द्रले यस्ता घटनाबाट शिक्षा लिनुपर्छ भन्ने गरेका वीरेन्द्रकालका उच्च तहका राजनीतिज्ञहरू बताउँछन् ।

पूर्वपरराष्ट्रमन्त्री जनरल पद्मबहादुर खत्रीले लेखेका छन्– द्वितीय विश्वयुद्धमा नङ/मासु भएर लडेका मित्रराष्ट्र दुई प्रतिद्वन्द्वी शिविरमा उभिइरहेका थिए । युद्ध अन्त्यपछि शक्तिशाली राष्ट्रका रूपमा रुस र अमेरिकाको प्रादुर्भाव भयो । साना मुलुकहरू धेरैजसो दुई शिविरमध्ये एकमा मिसिन थाले । यस्तो परिस्थितिमा अर्काथरीका राष्ट्रहरूको समूहका रूपमा असंलग्न राष्ट्रहरूको समूह बन्यो । जुन कुनै गुटबन्दीमा नभई आफ्नो स्वत्व र विचारशैलीकै स्वतन्त्रता कायम राख्न दृढ संकल्प गथ्र्यो ।  

असंलग्न राष्ट्रहरूको सम्मेलनमा राजा महेन्द्रले जस्तै राजा वीरेन्द्रले प्रभावकारी भूमिका खेले । यस्तै, पेरिसमा २०३८ सालमा आयोजित अल्पविकिसत राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रको सम्बोधन अनुपम थियो । विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राजा वीरेन्द्रका अभिव्यक्तिलाई त्यहाँका सञ्चारमाध्यमहरूले महत्वका साथ प्रचारप्रसार गरेका पाइन्छ ।

शान्ति, प्रगति र विश्वमा नेपालको छवि राजा वीरेन्द्रका निम्ति अत्यन्त संवेदनशील विषय थिए । दुर्भायको कुरा, सीमित स्रोतसाधन, अयोग्य तथा स्वार्थी समूह, भूराजनीतिका कारण उत्पन्न भइरहने दबाब एवं राजाको सदासय नबुझ्ने कतिपय विश्वासघातीले उनको व्यथा बढाएको देखियो । २०४५ सालमा झण्डै डेढ वर्ष नेपालविरुद्ध नाकाबन्दी गरेको भारतले नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र मामिला दिल्लीमा बुझाऊ भन्ने प्रस्ताव पठायो । तत्कालीन भारतीय विदेश सचिव एसके सिंहले ल्याएको प्रस्ताव राजा वीरेन्द्रले तत्काल अस्वीकार गरे । सो प्रस्ताव स्वीकार गरेमा राजा वीरेन्द्रका सबै अधिकार सुरक्षित रहने र निर्दलीय पञ्चायती व्यवस्था नै कायम राख्न भारतले मद्दत गर्ने वचन दिएको थियो । राजाले स्पष्ट भने– म राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटाएर उनीहरूलाई नै राजकाज सुम्पन तयार छु तर राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति विदेशीलाई सुम्पिन चाहन्न ।

राजाले दलहरूलाई नै विश्वास गरे । पटक–पटक सत्तामा पुगेका दलहरूले नागरिकता विधेयक पारित गराएर पचासौँ लाख भारतीयलाई नेपाली नागरिकता दिन प्रयत्न गरे । राष्ट्रघाती महाकाली सन्धि पारित नहोस् भन्ने वीरेन्द्रको आकांक्षा थियो । ठूला दल मात्र होइन, राजाका कतिपय प्रियपात्रले नै आर्थिक प्रलोभनमा परेर धोका दिए ।

राजा वीरेन्द्र कठोर हुनै सकेनन्, धेरैले यसैबाट फाइदा उठाए । राजतन्त्रवादी–प्रजातन्त्रवादीहरू एकै ठाउँमा उभिएर सहकार्य गर्न राजा वीरेन्द्र र बिपी तयार हुँदै गर्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटा जिल्ला पञ्चायतको अधिवेशनमा ‘बिपीलाई फाँसी दिनुपर्छ’ भन्ने प्रस्ताव पारित गराए । राजा र बिपी नमिलून् भन्ने भारतीय गुप्तचर संस्था रअ्को कुत्सित मनसाय रहेकाले केही व्यक्तिले षडयन्त्र गरेको पुराना अखबारमा प्रकाशित विश्लेषणहरू अध्ययन गर्दा स्पष्ट हुन्छ ।

जनमत संग्रहको परिणाम बहुदलीय व्यवस्थाको प्रतिकूल भए पनि बिपीले स्वीकार गरे । बिपीले पार्टीका वरिष्ठ कार्यकर्ताहरूलाई सम्झाएका थिए– चुनावको रिजल्ट मान्दैनौँ भन्न हाम्रो नैतिकताले दिँदैन । राजा वीरेन्द्र डेमोक्र्याट हुन् । उनले एक दिन दलहरूमाथिको प्रतिबन्ध हटाउँछन् ।

विदेशी शक्तिका सामुन्ने राष्ट्रिय स्वाभिमान बुझाउनुभन्दा दलहरूलाई क्रियाशील बनाउँदा राष्ट्र प्रबल बन्छ भन्ने सोचे वीरेन्द्रले । दलको आवरणमा विदेशी शक्तिको तावेदारी गर्नेहरू बलियो बन्दै गए । राजाले बाह्यशक्तिसँग नझुक्ने अठोट गरेपछि माओवादी फौज बनाएर भारतले राजतन्त्रको जरो उखेल्न छद्म युद्ध सुरु गर्‍यो । माओवादीहरू भाडाका सिकारी (मर्सिनरी) मात्र थिए । काम सकिएपछि कतिपय नेतालाई भारतले काजमा खटायो, अरू दलमा ।

२०२८ सालदेखि २०५८ सालसम्म राजा वीरेन्द्रले गरेका सम्पूर्ण कामको वस्तुपरक मूल्यांकन हुनै बाँकी छ । अमेरिका, ब्रिटेन, चीन, भारत, फ्रान्स, जर्मनीलगायत धेरै राष्ट्रले सम्मान गरेका राजा वीरेन्द्रको जीवन नेपाल र नेपालीको चिन्तामै बित्यो । कहिले पनि रिस नदेखाउने शालीन, भद्र, विनम्र र संस्कारी वीरेन्द्र नेपालीका हृदयमा बसेका राजा थिए ।  त्यसैले जब राष्ट्र संकटमा पर्छ, त्यो बेला उनको अझ बढी सम्झना आउँछ र हामी हरेक दिन उनलाई सम्झिरहन्छौँ ।

प्रकाशित: १७ पुस २०७७ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App