७ वैशाख २०८१ शुक्रबार
विचार

के संकटले राष्ट्रहरूलाई उठाउनेछन् ?

सन् २००० पछि विश्वव्यापीकरण र वस्तुको मूल्यमा आएको अत्यधिक वृद्धिले उदाउँदो अर्थव्यवस्था भएका राष्ट्रको आर्थिक वृद्धिमा बढोत्तरी आयो । त्यसपछिको एक दशकमा विश्व अर्थतन्त्रमा उनीहरूको हिस्सा ३५ प्रतिशतले बढेर झन्डै दुगुना भयो । सन् २००७ मा १ सय १०  विकासोन्मुख देशमध्ये १ सय ७ ले आयआर्जनको स्तर, उत्पादकत्व, इनपुट तथा आउटपुटको आधारमा निर्धारण गरिने पेन वल्र्ड टेबलमा आफ्नो नाम समावेश गर्न सफल भए । उनीहरू अमेरिकाको जत्तिकै सरदर आय आर्जन गर्न सफल रहे भने आफ्नो देशका करोडांैलाई गरिबीबाट बाहिर निकाल्न सफल भए । यो उत्सव मनाउन लायक स्थितिलाई नयाँ नाम पनि दिइयो, ‘बाँकी रहेकाको उठान (दी राइज अफ द रेस्ट)।’

त्यसपछि सन् २००८ मा संकट आयो । व्यापार र पुँजी प्रवाहमा ह्रास आयो भने विश्वव्यापी जनसंख्या वृद्धिदरमा आएको ह्रासले काम गर्ने जनसंख्या पनि घट्न गयो । सन् २०१० ताका आएर उदाउँदै गरेका विकासोन्मुख देशको आर्थिक गतिमा रोक लाग्यो । पेन वल्र्ड टेबलमा आफूलाई उभ्याउन सफल भएका आधाभन्दा बढी राष्ट्र सरदर आयको हिसाबमा अमेरिकाभन्दा पछाडि परे । पछिल्ला दिनमा चर्चा हुने गरेका ब्राजिल र रूसको आर्थिक वृद्धिदर पनि अमेरिकाको भन्दा कम छ । चीनबाहेक, ‘बाँकी’ राष्ट्र विश्वव्यापी सञ्चार र वित्तीय बजारको राडारबाट तल झरे ।  

यो स्वाभाविक नभएको भए झन् दुखदायी स्थिति बन्थ्यो । दोस्रो विश्वयुद्धपछिका अधिकांश दशकमा विकसित र अर्थव्यवस्थामा उदाउँदो रहेका राष्ट्रको समान गतिले आर्थिक अभिवृद्धि भएको थियो । तर यी उदाउँदा राष्ट्रका बढी जनसंख्या वृद्धिले उनीहरूको प्रतिव्यक्ति आय कमजोर रह्यो । यी देश एक अथवा दुई दशक अगाढि बढ्ने तर संकटको अवस्थामा फेरि लडखडाउने र जहाँबाट यात्रा सुरु भएको थियो त्यहीं पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले तथ्यांक संकलन गरेका १ सय ९५ देशमध्ये मात्र ३९ देश समृद्ध देखिएका छन् र यी सबै सन् १९४५ मा समृद्ध भइसकेका थिए । गरिबीबाट माथि उक्लेर विकसित श्रेणीमा उक्लनेमा जापान, दक्षिण कोरिया र ताइवान पर्छन् । उनीहरूको मजबुत निर्यातले आर्थिक वृद्धिलाई थेग्न सकेको हो । हिजोआज, उत्पादन र निर्यातको अवस्था विश्व अर्थतन्त्रझैं खुम्चेको छ । त्यसैले अर्काे नाटकीय आर्थिक वृद्धि कसरी होला भनेर यकिनका साथ भन्न सकिने स्थिति छैन । उदाउँदो राष्ट्रमा रहेको वर्तमानको मौनताले यही तथ्यले उजागर गर्छ ।  

प्रकृतिजस्तै अर्थतन्त्रमा कुनै पनि चिजको संरचना नष्ट गर्न सकिन्न, मात्र रूपान्तरण गर्न सकिन्छ । वर्तमान महामारीको पृष्ठभूमिमा यो रूपान्तरणको सम्भावनालाई केही उदाउँदो अर्थतन्त्र भएका राष्ट्रलाई अवसर सिर्जना भएको छ । डिजिटल क्रान्ति, आर्थिक सुधार र वस्तुको मूल्यमा आएको पुनरुत्थानले उनीहरूलाई यो अवसर दिएको हो ।  

महामारीले डिजिटल प्रविधिलाई आत्मसात् गर्न बाध्य बनाएको छ र यसले अपरिपक्व अर्थतन्त्र भएकालाई बढी प्रभाव पारेको छ । आन्तरिक अर्थतन्त्रमा आफ्नो प्रभाव सीमित हुने हुँदा डिजिटल प्रविधिले दुई अंकको आर्थिक वृद्धिदरको सिर्जना गर्न नसक्ला तर यसले घरेलु रूपमा उदाउँदो अर्थव्यवस्थालाई सकारात्मक प्रभाव पार्छ । यस्ता देशले तारविहीन प्रविधिलाई अंगीकार गरेका छन् । सरकारी स्वामित्व उद्योगहरूको सञ्चालनमा हुने कठिनाइका बावजुद अमेरिकाको भन्दा चीनको आर्थिक वृद्धि बढी छ । नगदबिनाको ‘न्यु इकोनोमी’ का कारण चीनको सरदर आयको स्तर पनि अत्यन्त राम्रो छ । त्यसो त, चीनबाहेक रुस, पोल्यान्ड, अर्जेन्टिना र केन्यामा पनि नयाँ इन्टरनेट कम्पनीको उदय भइरहेको छ । स्थानीय भाषा र स्वादको ज्ञान भएका यी कम्पनीले बैंकिङ तथा कार्यालय सञ्चालनमा सहयोगी भूमिका निभाएका छन् । सरदरमा उदाउँदो अर्थतन्त्र भएका राष्ट्रको डिजिटल आय बढ्दो क्रममा छ र कुनै पनि व्यवसाय सुरु गर्दा लाग्ने खर्च कम हुँदै छ ।  

वाष्प इन्जिनदेखि कारसम्म आइपुग्दा प्रविधिको क्रान्तिले आर्थिक प्रभावको गतिलाई क्रमशः उकासेको छ र सुरुमा आविस्कार हुँदाको स्थितिको तुलनामा प्रगतिको शिखरमा पुर्‍याएको छ । डिजिटल क्रान्ति भर्खरै सुरु भएका कारण उदाउँदो अर्थव्यवस्था भएका राष्ट्रमा यसको प्रभाव आगामी दिनमा अझ बढ्न सक्छ ।  

यसै गरी आर्थिक सुधार अर्काे महत्वपूर्ण विकास हो । यी राष्ट्रहरूले गरेको प्रगतिको शृंखला संकटको स्थितिमा प्रभावित हुने गरेकोमा महामारी जस्तो जटिल संकटमा आर्थिक सुधार एक महत्वपूर्ण पक्ष हुन सक्छ । अमेरिका र अन्य विकसित राष्ट्रले अर्थव्यवस्था उकास्न खर्च बढाएका छन् तर गरिब राष्ट्रले आर्थिक संसाधन अभावका कारण सुधारलाई जोड दिएका छन् । उदाहरणका लागि भारतले श्रम कानुनमा सुधार गरेको छ भने इन्डोनेसियाले कर कटौती तथा भ्रष्टाचार नियन्त्रण गरेको छ । यसै गरी ब्राजिलले पेन्सन कटौती गर्ने तयारी गरेको छ भने साउदी अरेबिया, इजिप्ट र युनाइटेड अरब इमिरेट्सले श्रम बजारमा भएको प्रतिस्पर्धामा अगाडि रहन इमिग्रेसन कानुनमा व्यापक सुधार गरेका  छन् ।

तर, अधिकांश उदाउँदो अर्थव्यवस्था भएका राष्ट्र तेल, धातु, कृषिजन्य उत्पादनलगायतका अन्य वस्तुको निर्यातमा आधारित हुने भएका हुँदा यिनीहरूको आर्थिक प्रगतिको सम्भावना यी वस्तुको मूल्यमा आधारित हुन्छ । सन् १८५० देखि नै दीर्घकालीन आर्थिक वृद्धि र ह्रासको अवस्थामा मुद्रास्फीतिका कारण वस्तुको मूल्य स्थिर हुन जाने गरेको देखिन्छ । यही कारण धैरे अर्थतन्त्र विकासोन्मुख अवस्थामा सीमित हुने गर्छन् । सन १८५० देखि वस्तु निर्यातमा आधारित रहेको ब्राजिलको प्रतिव्यक्ति आय आज पनि अमेरिकाको तुलनामा त्यति बढी छैन । पश्चिमा राष्ट्र तथा तेल पत्ता लागेको वर्षको तुलनामा अधिकांश तेल निर्यातक देश अझैं पनि त्यति धनी छैनन् । त्यसो हुँदाहुँदै पनि आगामी दशकमा वस्तुको मूल्यमा आउने बढोत्तरीले विकसित देशसँग प्रतिस्पर्धा गर्न यी राष्ट्रलाई सजिलो हुनेछ । एक दशकसम्मको वस्तुको निम्न मूल्यको अवस्था सन् २०२० पछि सुध्रने अपेक्षा गरिएको छ । यसले ब्राजिल, रुस, साउदी अरेबियाजस्ता राष्ट्रको भाग्य चम्कन सक्छ ।

उत्पादनका कारण समृद्धिको बाटो साँघुरो हुँदै गए पनि समाप्त भएको छैन । विगतमा निर्यातमा आधारित देशको कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हिस्सा उत्पादनले लिने गर्थे । आज पनि यो श्रेणीमा भियतनाम, बंगालादेश, पोल्यान्ड  र चेक रिपब्लिक पर्छन् ।  

कम ज्यालामा मजदुरको खोजी गर्न र सामान आपूर्ति दूरी घटाउन कतिपय कम्पनीले चीनबाट बाहिरिन चाहेका कारण यी देशलाई फाइदा भएको छ । रूपान्तरणको एक सफल उदाहरण पोल्यान्ड बनेको छ, जहाँ बहुराष्ट्रिय कम्पनीले गाडी, बिजुलीका सामान तथा अन्य वस्तु उत्पादन गरिरहेका छन् । महामारी अगाडि साढे २ दशकको लगातार आर्थिक वृद्धिका कारण पोल्यान्डको प्रतिव्यक्ति आय १६ हजार अमेरिकी डलर पुगेको छ । यस्तै रूपान्तरण भियतनाममा पनि भैरहेको छ, जहाँ कारखाना, सडक तथा बन्दरगाह निर्माणका साथै गरिबी निवारणका विशेष कार्यक्रम कार्यान्वयनमा छन् ।

केही देशले सामान निर्यातका कारण आर्थिक पुनरुत्थान गर्न सक्लान् भने अन्यले आर्थिक सुधार तथा वस्तुको मूल्यको पुनरुत्थान एवं डिजिटल प्रविधिलाई आत्मसात् गर्दा प्रगति हासिल गर्न सक्नेछन् । यस्तो आर्थिक वृद्धि इन्जिनले सन् २००० मा देखिएको ‘राइज अफ द रेस्ट’ को स्थितिमा फर्कन सक्ने बनाउन त नसक्ला तर सन २०२० पछिका वर्षमा ‘बाँकी’ केही राष्ट्र फेरि उदाउनेछन् ।

(न्युयोर्क टाइम्स)

रुचिर शर्मा मोर्गान स्टान्ले इन्भेस्टमेन्ट मेनेजमेन्टका चिफ ग्लोबल स्ट्राटेजिस्ट हुन् र ‘दी टेन रुल्स अफ सक्सेसफुल नेसन्स’ नामक किताबका लेखक हुन् ।

प्रकाशित: १५ पुस २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App