८ वैशाख २०८१ शनिबार
विचार

साहित्यमा अर्थ

२००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देश/विदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो । काठमाडौँका मानिस गाडी चढेर भारत पुग्न सक्ने भए । राणा शासनमै लाहुरेका रूपमा देश/विदेश चहारिसकेका नेपालीका बस्ती भारत, भुटान, बङ्गलादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुरसम्म भेटिने स्थिति भएको थियो । ती नयाँ विकासले ल्याएको परिवर्तनको आर्थिकरूपमा अझै राम्ररी र विस्तृत अध्ययन हुन सकेको छैन ।

 तर साहित्यमा भने प्रतिविम्बित भएको छ । सम्भवतः हाँस्यव्यङ्ग्यकार भैरव अर्यालले जय भुँडीमा प्रकाशित व्यङ्ग्यहरूमार्फत यी विकासलाई सबैभन्दा राम्रोसँग अमर बनाएका छन् । मान्छे कुरै नबुझी लाहुर गएका छन् भन्ने तर्क उनको लाहुरेको यात्रासंस्मरणमा छ जहाँ प्रमुख पात्र वीरबल अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटोघाटोको नक्साझैँ १० तिर टेढिएर लम्किन गएकामा माफ माग्छ र ‘असार÷साउनको माटो, बाइरोडको बाटो : ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न’ भएको यात्रा गर्दै रक्सौल पुग्छ । भैरव अर्यालको चन्द्रलोक कसको निबन्धमा त्यस बेलाको काठमाडौँका युवाहरूको विदेशमा भएका अन्तरिक्षमा को पहिला हुने प्रतिस्पर्धासम्बन्धी अवधारणा कस्तो थियो भन्ने झलक पनि मिल्छ । 

हालैका दिनमा उत्कृष्टरूपले लेखे सबैखालका कथाको बजार छ भन्ने देखिएको छ । सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिच्किचाउन हुँदैन । 

वि.सं. २००८ नेपालका लागि नयाँ थियो । त्यो वर्ष नेपाल सरकारले बजेट ल्यायो । मुलुकमा समृद्धि र गरिबी हटाउने दुई लक्ष्य सँगसँगै लगिनेछ भन्यो । २०१६ सालमा सरकारले केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्‍यो । यसले बिस्तारै अर्थशास्त्रीहरूलाई मुलुकको कथा भन्न सक्ने ठाउँमा ल्यायो । तर तथ्याङ्क सधैँ कम हुन्छन्, खोजेका सबै कथा पनि यिनले भन्दैनन् । वि.सं. २०२० तिरको काठमाडौँको स्थिति तथ्याङ्कबाट आउने एक हुन्छ, निबन्धकार शङ्कर लामिछानेको कलमबाट आउने अर्को हुन्छ । लामिछाने वि.सं. २०२५ मा लेखिएको गौथलीको गुँडमा काठमाडौँ सहरमा चर्पी नभएको कुरालाई यसरी लेख्छन्– विष्णुमती नदीको काई लागेको बालुवामा मानिस दिसा गरिरहेछन् । नजिकनजिक भए पनि उनलाई लाज छैन ।... विचरा जाऊन् पनि कहाँ? सरकारी दिसाखानाको हालत त्यही हो, १००० जनापिच्छे एउटा होला ।  

लामिछाने उनको एक पत्र सम्पादकलाई पढ्ने लेखकलाई २०१९ भदौको काठमाडौँको हालत यसरी बताउँछन्– पानी परिरहेछ, झमझम । भर्खरै राजदूतहरू र मम्त्रीहरूको मोटरको ताँती फक्र्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ।... सडकपारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लगौँटीमा अलमलिएको जुम्रा मारिरहेछ ।

नेपाली साहित्यमा काठमाडौँका र दार्जिलिङका कथा धेरै लेखिए । दार्जिलिङको योगदान चर्चा गर्नु मेरो यो लेखको लक्ष्य होइन । तर त्यो सानो ठाउँले एक जमानामा पूरै नेपालीभाषीहरूको सांस्कृतिक शक्ति निर्धारण गथ्र्यो । नेपालगन्जका कथा सनत रेग्मी र पछि नयनराज पाण्डेले लेखे । कर्णालीका कथा बुद्धिसागरले लेखे । गौतमहरूले वीरगन्जका कथा लेखे । र, पनि नेपाली साहित्यमा भन्न छुटेका आञ्चलिक कथाहरू भने धेरै छन् । २०११ सालको बाढीपछि धेरै पहाडियालाई बसाइएको चितवनको सुरुका दिनहरूबारे कथा लेखिएन । ती दिनबारे बुझ्न अहिले पनि बजेट वा पञ्चवर्षीय योजनाका पुराना रेकर्ड नै खोल्नुपर्छ । 

त्यस्तै मुलुकलाई सामन्ती युगबाट अर्धसामन्ती युगमा ल्याउने २०१६ सालको बिर्ता उन्मूलन कार्यक्रम, २०२१ सालको भूमिसुधार कार्यक्रमका गाउँगाउँमा परेका असर पनि साहित्यमा राम्ररी आएका छैनन् । सयौँ वर्ष चलेको ल्हासा व्यापार र ल्हासा जाने नेपालीका कथा पनि केही संस्मरणमा बाहेक राम्रोसँग लेखिएका छैनन् । २०३० सालतिर बिस्तारै जुर्मुराउन थालेको नेपालको पर्यटनले काठमाडौँका अलावा पोखरा, चितवन, सोलुखुम्बु क्षेत्र, मुस्ताङ क्षेत्र र हालै लुम्बिनीलाई असर पारेको छ । ४० को दशकमा केही चलचित्रले र्‍याफ्टिङ व्यवसायका कथा लेखे, गाइड भएर काम गर्नेका कथाबाहेक अविस्मरणीय कृतिका रूपमा त्यहाँका आर्थिक परिवर्तन झल्किने गरी साहित्यिक अभिलेख अझै आएका छैनन् । अर्थशास्त्रीहरूको पनि ध्यान त्यतातिर सीमितरूपमा मात्र पुगेको छ । 

देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।

महिला साहित्यकारले सुरुमा बढी ध्यान दिएका बुहार्तन, प्रेमका मुद्दा र पछि केन्द्रित भएका इब्सेनको कठपुतलीको घरको नेपाली संस्करणका कथाहरूका अलावा बढ्दै गएको महिलाका आर्थिक भूमिकाबारे लेखेका छन् । विपन्न परिवारका दुःख पाएका महिलाका कथा धेरै पाइन्छन्, त्यसका अतिरिक्त प्रेमा शाहको पहेँलो गुलाफ, मञ्जु काँचुलीको वाकवाकीमा सम्पन्न परिवारका महिला पात्रहरूको झलक छ । स्व. अङ्गुरबाबा जोशीको अक्षर साधना र गोधूलिले एक महिला सफल पात्रको काठमाडौँमा आधारित कथा भन्छ । तर आजका महिलाको अझै धेरै कथा नयाँ फ्रेमवर्कबाट लेखिन बाँकी छ ।  

जति धेरै आञ्चलिक कथा लेखिन्छन्, जति धेरै विविध जातजातिका कथा लेखिन्छन्, जति धेरै हुर्कँदै गरेका व्यवसायीका कथा लेखिन्छन्, जति कथा, उपन्यास, कविताका पात्रमा विविधता आउँछन् र जति उनीहरूको आर्थिक अवस्थाको, सङ्घर्ष र सफलताबारे लेखिन्छन्, त्यति नै भविष्यका अर्थशास्त्रीलाई समाज बुझ्न सहयोग हुनेछ ।

त्यसो त सोची ल्याउँदा कहिलेकाहीँ अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैँ सोचे जस्तो राम्रो हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति मुलुकको अर्थनीतिको वरिपरि घुमेको पनि थियो । उनी बिर्ता उन्मूलनका लागि लडे र आफ्नो सरकार आउनेबित्तिकै त्यही गरे । उनको सामना भने पोएट (कवि) राजासँग भयो जसले पछि उनलाई ‘पोएटिक जस्टिस’ दिए, सत्ताच्युत गरेर र अदालतको मुखै हेर्न नदिइ आठ वर्षसम्म बन्दी बनाएर ।

++

राजनीतिक परिवर्तन देखिनेखालका हुन्छन् । तिनका विभिन्न कोणबाट चर्चा÷परिचर्चा पनि हुन्छन् तर मुलुकमा राजनीतिकसँगै धेरै आर्थिक र सामाजिक परिवर्तन भएका हुन्छन् । तिनको सम्झना रहिरहोस् भनेर पनि केही यथार्थवादी साहित्यको जरुरत हुन्छ । एउटा फ्रेमवर्क र सिद्धान्तमा बाँधिएर उपलब्ध तथ्याङ्कहरूमा सीमित रहेर हेर्ने अर्थशास्त्रीका आँखाले यावत् मुलुकको विहङ्गम दृश्य देख्न सक्दैन, साहित्यले सक्छ । फ्रेन्च राज्यक्रान्तिबारे कार्लाइलले लेखे तर डिकेन्सको अ टेल अफ टु सिटिजले त्यसलाई राम्रोसँग बुझ्न सहायता गरेको छ ।  

नेपालमा आज पनि धेरै नयाँ आर्थिक घटना भइरहेका छन् । २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको छ । धेरै मध्यमवर्गीय व्यक्ति निस्केका छन् । तथ्याङ्कहरूले के पनि देखाएका छन् भने गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन् । हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार । गाउँका गाउँ रित्तिएका छन् । यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ ।

एउटा कोणबाट मात्र कथा भन्दा त्यसको असर अर्कै पर्छ । तथ्याङ्कहरू, कथाहरू विभिन्न तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि नेपाली रिपोर्ट मात्र हेर्‍यौँ भने हामी दिनका दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्, तैपनि किन नेपाली विदेश गएका छन् भन्छौँ । अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेरसमूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ । अर्थात विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेरसमूहका नेपालीको मृत्युदर भन्दा कम छ । यस तथ्याङ्कभित्र अरू उपकथा पनि छन् । अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका बसाइँ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी छ ।

यस्ता कथाको बजार होलारनहोला भन्ने प्रश्न पनि आउँछ । हालैका दिनमा उत्कृष्टरूपले लेखे सबैखालका कथाको बजार छ भन्ने देखिएको छ । सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिच्किचाउन हुँदैन । भर्तृहरिले भनेका छन्– साहित्यसंगीतकलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः, त्रिणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशुनाम् ।

सरकार चलाउनेहरूमा पनि कहिलेकाहीँ सरकारको प्रमुख दायित्व यस्ता ‘अनुत्पादनशील’ क्षेत्रको प्रवद्र्धन गर्नु होइन भन्ने मत हुन्छ । सम्झने हो भने केही दशकअघि मात्र सरकारहरूले यस्ता साहित्य तथा अन्य कलाका कुरामा सब्सिडी दिनुहुँदैन भन्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको मत थियो । र, उनले सुरुमा त्यसैले धेरै बजेट फ्रिज गरिदिएकी थिइन् । अर्थशास्त्री जान मेयस्र्कफले सन् १९८८ मा लेखेको इकोनोमिक इम्प्याक्ट अफ आर्ट्स इन ब्रिटेन त्यसैको प्रतिक्रियामा थियो जसले सांस्कृतिक धरोहरहरूमा लगानी गर्न सरकारलाई त्यसपछि प्रेरित गर्‍यो । हामी थ्याचर जस्तै मुढे हुनुहुँदैन ।

++

देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले शायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्वीकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्वीकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।

प्रकाशित: १५ पुस २०७७ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App