काठमाडौँ उपत्यकालाई जाडोले कक्रक्क पार्दै गर्दा सधैँझैँ यो हिउँदमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । सोमबार बिहान रत्नपार्कमा राखिएको वायु प्रदूषण मापक मोनिटरले वायु प्रदूषणको मापन सूचकांक १८२ देखायो जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक हो । रत्नपार्कलगायत काठमाडौँका विभिन्न स्थानमा जडित प्रदूषण मापन यन्त्रले त्यस्तो देखाइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संगठनद्वारा सञ्चालित अर्बन हेल्थ इनिसिएटिभ तथा क्लिन इनर्जी नेपलाले विज्ञान नीति संवादअन्तर्गत पाँचौँ शृंखलामा वायु प्रदूषणको जनस्वास्थ्यमा प्रभाव भन्ने विषयमा जुम छलफल चलाइरहेका थिए । नेपालका सरकारी अधिकारी, डब्लुएचओ नेपाल प्रमुख, प्रदूषण नियन्त्रणमा कार्यरत भारतीय अभियन्ता चिकित्सक डा. अरविन्द कुमार, प्रदूषणविज्ञ तथा चिकित्सकहरू सो छलफलमा जोडिएका थिए ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले वायु प्रदूषण र कोभिड–१९ को गम्भीर संक्रमणबीच अन्तरसम्बन्ध देखाएकोे छ ।
सहभागी सबैको जोड नेपालमा वायु प्रदूषण नियन्त्रणमा नीतिगत व्यवस्था भएको तर कार्यान्वयन अत्यन्त कमजोर रहेको, प्रदूषण बहुनिकाय र बहुविषयसँग जोडिएकाले सबैको सहकार्य हुनुपर्ने, वायु प्रदूषणका मुद्दा वातावारणकर्मीको मात्र नभई स्वास्थ्यसँग सम्बन्धित विषय पनि रहेकाले चिकित्सक पनि अगाडि आउनुपर्नेमा थियो । प्रदूषणका कारण छाती तथा मुटुरोग, हृदयघातदेखि नवजात शिशुको मृत्यु र बाँझोपनासमेत बढ्ने गरेको प्रसंग उक्त बैठकमा उठे ।
उक्त जुम बैठकमा सबैभन्दा महत्वपूर्ण प्रस्तुति भारतीय छाती रोग विशेषज्ञ डा. अरविन्द कुमारको रह्यो । भारतको लङ केयर फाउन्डेसन तथा डाक्टर फर क्लिन एयर इन्डियाका संस्थापकसमेत रहेका डा. कुमारले सन् १९८८ मा भारतमा फोक्सोका रोगीमध्ये ९० प्रतिशतले चुरोट पिउने गरेका र १० प्रतिशतले मात्र चुरोट नपिउने गरेका बताउँदै सन् २०१८ मा आइपुग्दा चुरोट नपिउने ५० प्रतिशतलाई पनि यस्तो रोग देखिएको रोचक तथ्यांक प्रस्तुत गरे । ‘अपरेसन थिएटरमा बसेर र युवाहरूको समस्याग्रस्त फोक्सोको फोटो खिचेर मात्र फोक्सोका समस्या समाधान हुने मैले देखिन’, उनले भने– त्यसपछि दिनको ३–४ घण्टा थिएटर बाहिर आएर वायु प्रदूषणबारे भारतभर जनस्तरमा चेतना र नीतिगत पैरवीको थालनी गरे ।
प्रदूषणको स्तर र प्रभावसमेत हिसाब गर्दा भारतमा अहिले चुरोट नपिउने कोही पनि छैन, उनले भने– भर्खरै जन्मेको बच्चासहित हरेक भारतीयले सरदरमा एक दिनमा ५ देखि ७ वटासम्म चुरोट पिउँछन् । हरेक प्रदूषित सहरमा नवजात शिशुसहित कोही पनि मान्छेले चुरोट नपिउने भन्ने हँुदैन ।
वायु प्रदूषण डर लाग्दो विषय बन्दै गरेको चर्चा गर्दै उनले भने– हेर्नुस् न, हामी सास फेर्दै मृत्युलाई आमन्त्रण गरिरहेका छौँ, प्रदूषणका स–साना कणहरू फोक्सो हुँदै रगतमा जान्छन् र शरीरका अन्य भागमा फैलन्छन् । प्रदूषण बढ्दै जाँदा सफा वायुको माग भविष्यमा जनस्तरमा उठ्छ । त्यसैले आउने चुनावमा स्वच्छ हावा सबैभन्दा महत्वपूर्ण विषय भएर आउनेछ ।
वायु प्रदूषणसम्बन्धी विभिन्न अध्ययन गरेका काठमाडौँ विश्वविद्यालयका प्रा. डा. सञ्जय खनालले वायु प्रदूषण नियन्त्रणका लागि बनाइएका नीतिको सही कार्यान्वयन मात्र भएमा पनि ५० प्रतिशत उत्सर्जन घट्ने र वायु प्रदूषणका कारण हुने मृत्यु पनि एकचौथाइले घट्ने बताए ।
अर्का नेपाली प्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. अर्जुन कार्की उपचार खर्च, जोखिमका हिसाबले प्रदूषणको मूल्य चर्काे हुँदै गएको बताउँदै विज्ञानमा आधारित रहेर बनाइएका नीति कार्यान्वनमा ल्याउनुपर्ने र प्रदूषण नियन्त्रणमा सार्वजनिक तथा निजी क्षेत्रको सहकार्य आवश्यक ठान्छन् । ‘सबै भन्दा ठूलो कुरा विज्ञानलाई व्यवहारमा उतार्नुपर्छ’– उनले भने ।
भारतमा डा. कुमारले सुरु गरे जस्तै प्रदूषण नियन्त्रणको जनस्तरको अभियान नेपालमा पनि आवश्यक रहेको बताउँदै उनले थपे– सरकार, कर्मचारी, स्वास्थ्य प्रणालीले त्यतिबेला राम्रो काम गर्न सक्छ जतिबेला समुदायस्तरबाट दबाब र पैरवी सुरु हुन्छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा चिकित्सक डाक्टर भगवान कोइरालाले प्रदूषणका कारण निर्दाेष बालबालिकासमेत प्रभावित बनेका चर्चा गर्दै थपे– ‘यो विषयमा हाम्रा बालबालिकाको कुनै दोष छैन तर तिनै बढी प्रभावित भएका छन् । प्रदूषणका कारण यो ठाउँ छाड्न बाध्य हुनुपर्ने स्थिति भविष्यमा आउन सक्छ ।’ उनले मुटुका समस्याले हुने कुल मृत्युमा २५ प्रतिशतमा वायु प्रदूषण जिम्मेवार रहेको पनि बताए । हालै प्रकाशित ग्लोबल एयर रिपोर्टले नेपालमा २२ प्रतिशत नवजात शिशुको मृत्युका लागि वायु प्रदूषण जिम्मेवार रहेको देखाएको छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. संगीता मिश्रले प्रदूषणका कारण गर्भमा रहेको भु्रणको विकास प्रभावित हुने गरेको, नवजात शिशुको मृत्यु बढ्दो देखिएको र बाँझोपनासमेत वृद्धि भएको बताइन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तथा प्रवक्ता डा. जागेश्वर गौतमले प्रदूषणले जनस्वास्थ्यमा पर्ने प्रभावबारे सरकार जानकार रहेको बताए । ‘सरकार नीतिगत व्यवस्था कार्यान्वयनमा प्रतिबद्ध छ र यसमा सबै सरोकारवालाको सहयोग चाहिन्छ’– उनीहरूको कथन थियो ।
हालै प्रकाशित स्टेट अफ ग्लोबल एयर–२०२० ले वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार १ सय जनाको मृत्यु भएको देखाएको छ । प्रतिवेदनका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि ६७ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये दक्षिण एसियाको मात्र हिस्सा २१ लाख छ । पछिल्ला समयमा भएका विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले कोरोना संक्रमितको संख्या तथा मृत्यु दर बढाउन वायु प्रदूषण जिम्मेवार रहेको देखाएका छन् । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले गत सेप्टेम्बरमा प्रकाशन गरेको एक अध्ययनले पिएम २.५ एक युनिटले बढ्दा कोभिड–१९ बाट हुने मृत्यु दरमा ८ प्रतिशतले बढोत्तरी हुने देखाएको छ । वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सो भन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गर्ने गरिन्छ । यी कण मानिसको कपालको रौँ भन्दा ३० गुना साना व्यास भएका हुन्छन् । यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले वायु प्रदूषण र कोभिड–१९ को गम्भीर संक्रमणबीच अन्तरसम्बन्ध देखाएकोे छ ।
प्रकाशित: १४ पुस २०७७ ०३:५५ मंगलबार