coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भट्टीजस्तो राजनीतिक मैदान

पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्जन र ठस्स गनाउने सहरिया हुल्लडबाजहरूको स्टेसन रहेछ त्यो खाजा घर ।

साँझ परेपछि कांग्रेस र वामपन्थीका केही कार्यकर्ता आइपुगे । सर्वदलीय छलफल सुरु भयो । म माछा, मासु, जाँड,रक्सी नखाने भएकाले अलिकति काजु, भुजिया र जुस मगाए माननीयले ।  

गोरखापत्र दैनिकमा उपसम्पादक थिएँ म । आजका चर्चित लेखक सौरभदेखि लिएर कैयन् मित्रहरू थिए । प्रधानसम्पादक बालमुकुन्ददेव पाण्डेले त्यो सांसद भारतीय दूतावास धाउँछ, ऊसँग केही बुझेर स्टोरी बनाउनू भन्ने आदेश दिनुभएको थियो । 

पुष्पकमल दाहालले माओवादी छापामारलाई वितरण गर्न राष्ट्रको तीस अर्ब रुपियाँ लिएर हिसाबकिताब गोलमाल गरेको बाबुराम भट्टराईले आरोप लगाएका छन् । 

झ्याम्पुतलीको भट्टी सबैले सबैलाई सूचना आदान–प्रदान गर्ने ठाउँ रहेछ । खाजा घरकी मालिक्नी राम्री थिइन् । उनलाई ग्राहकहरू झ्यामपुतली भन्थे । मातेका ग्राहकहरू बेलावखत उनका पुष्ट गाला सुम्सुम्याउँथे । दरिद्र राष्ट्रका अधिकांश राजनीतिकर्मी र सरकारी तलवजीवीले महिनावारी तलवले धान्न सकिन्न भन्दै घूस कमिसन खाएझैँ झ्याम्पुतलीले बेलाबखत ग्राहकबाट पाउने चुम्बन त्यस्तै बोनस थियो ।

सांसदसँग एक घन्टा बस्दा उनको नशा चढ्दै गयो । केही खाँटी पञ्चहरू  विदेशी दूतावासबाट मासिक तलब खान्छन् भनेर सानो डायरी हेर्दै उनले टिपेका नाम सुनाए । वामपन्थी र कांग्रेस दलका उनका मित्रहरूले आआफ्ना प्रतिबन्धित दलका केही नेताको चरित्र चित्रण गरे ।

नेपाली राजनीतिक मैदान ठ्याक्कै ‘झ्याम्पुतलीको भट्टी’ भएको छ । पुष्पकमल दाहालले माओवादी छापामारलाई वितरण गर्न राष्ट्रको तीस अर्ब रुपियाँ लिएर हिसाबकिताब गोलमाल गरेको बाबुराम भट्टराईले आरोप लगाएका छन् । दश वर्षे द्वन्द्वमा ‘माओवादी’ नामका भाडाका सिकारीले ६४ वटा बैंक लुटेको कुरा पटकपटक मिडियामा आयो । कृष्णबहादुर महराले दल चलाउन चीनसँग पचास करोड रुपियाँ मागेको कुरा पनि आयो । राष्ट्रका यावत् सूचना छरपस्ट भए ।  

इथियोपियाबाट ‘मुक्त’ हुनकै लागि सो राष्ट्र टुक्रिएर इरिट्रिया बन्यो । सन् १९९३ मा तानाशाही सुरु भयो । विश्वका दरिद्र राष्ट्रको पंक्तिमा उभिएको लाइबेरियाको दृश्य हृदयविदारक छ । सिरियाको गृहयुद्धबारे नवीन पुस्तालाई पनि भलिभाँती ज्ञान छ । एक लाख भन्दा धेरैले प्राण त्याग गरे युद्धमा । लिबियालाई लथालिंग पार्ने, बुरुन्डीलाई बर्बाद बनाउने, इथियोपियामा ऐय्या–आत्था गराउने, नाइजेरियालाई नांगो तुल्याउने र आइभरिकोस्टलाई ‘हाउस अफ घोस्ट’ (भूत घर) बनाउने उनै हुन् जो जनतालाई जुधाएर त्यहाँका प्राकृतिक स्रोतसाधनको दोहन गर्न खप्पिस छन् । 

दश वर्षे द्वन्द्वमा ‘माओवादी’ नामका भाडाका सिकारीले ६४ वटा बैंक लुटेको कुरा पटक–पटक मिडियामा आयो । कृष्णबहादुर महराले दल चलाउन चीनसँग पचास करोड रुपियाँ मागेको कुरा पनि आयो । राष्ट्रका यावत् सूचना छरपस्ट भए । 

युरोप–अमेरिकाका गुप्त कोठामा योजना बनाएर एसिया र अफ्रिकालगायतका क्षेत्रमा उनीहरू एम्बुस थाप्छन् । सन् १९७७ को डिसेम्बर २६ मा प्रकाशित न्युयोर्क टाइम्सले अमेरिकी गुप्तचर संस्था सिआइएले विश्वमा कसरी काम गर्छ भन्दै सविस्तार व्याख्या गरेको थियो । यस्तै विभिन्न लेखकले सिआइएले छद्मरूपमा धेरै राष्ट्रमा राजनीतिज्ञ, लेखक, पत्रकार एवं विश्लेषकहरूमार्फत आफ्नो काम गरिरहेको खुलासा गरेका छन् । त्यसैले धेरै राष्ट्रमा राजनीतिक उथलपुथल हुँदा कुनै न कुनै रूपमा सिआइए मुछिने गरेको पाइन्छ । दक्षिण एसियामा भारतीय गुप्तचर संस्थाको भूमिका त्यो भन्दा पृथक छैन ।  

नेपाल त्यस्तै पासोमा पर्दैछ । जात, गुट, दल वा क्षेत्रको हितभन्दा माथि उठेर राष्ट्र सर्वोच्च, सर्वोपरि र सर्वप्रिय हुन्छ भन्ने बृहत्तर चिन्तनमा हुर्केका मानिस राजनीतिमा नभइदिँदा समस्या झन् बढ्दै गएको देखिन्छ । २०४६ पछि बिग्रिन थालेको राजनीति २०६३ सालपछि पतनोन्मुख देखिएको छ । सबैले सबैलाई निर्वस्त्र तुल्याउने फोहोरी खेलले एम्पेरर्स न्यु क्लथ (सम्राटको नयाँ पोशाक) कथाको सम्झना गराउँछ । डेनमार्कका लेखक हान्स क्रिस्चियन एन्डर्सनद्वारा लिखित सो कथामा सबैले सम्राटको ‘काल्पनिक पोशाक’ अति सुन्दर भन्दै प्रसंशा गर्छन् । वास्तवमा सम्राट निर्वस्त्र थिए । निर्वस्त्र छन् भन्ने साहस कसैले गरेनन् तर एउटा अवोध बालकले हाँस्दै भन्यो– ‘हा हा हा, राजा त नांगै छन् ।’ नेपाली राजनीतिमा उदाएका धनवादी र जनवादी राजाहरू पनि नांगै छन् तर धेरै नेता/कार्यकर्ता, सचेत समुदाय मौन देखिएका छन् ।  

संविधानको धारा ७६ को व्याख्या र अपव्याख्या गर्दै प्रधानमन्त्रीले उठाएको कदमका पक्ष र विपक्षमा उभिएका कानूनविद्हरू धारा ८५ को चर्चा पनि गरिरहेका छन् । ‘का’ झिक्दा ‘नुन’ हुने, अन्त्यको ‘न’ झिक्दा ‘कानु’ हुने ‘कानुनका नौ सिङ’ भन्ने त उखानै छ । संविधान मूल कानुन भएकाले त्यसको अन्तिम व्याख्या गर्ने ‘एपेक्स कोर्ट’ तटस्थ, वस्तुपरक र सत्यार्थी हुनैपर्छ । होइन भने व्यवस्थापिकाको पनि बदनाम हुने सम्भावना रहन्छ ।

युक्रेनमा एउटा ठट्टा प्रचलित रहेछ– ‘दन्तविहीन बूढाबूढीलाई सांसद छान्यौ भने उनीहरूले राज्यको ओखर टोक्ने छैनन् ।’ नेपालमा त त्यो प्रयोग पनि काम लागेन । सिलौटामा पिसेर पनि राज्यको ओखर खाए, धेरै दन्तविहीनले । राष्ट्र र जनताको हित गर्न होइन, आफू धनी हुन राजनीतिमा सक्रिय रहने धेरै छन् यहाँ ।

संख्यात्मकरूपमा राजनीति गर्नेहरू हजारौँ छन् तर गुणात्मकरूपमा न्यून । त्यसैले जनतालाई किन्न सकिन्छ भन्ने दरिद्र सोचले धेरै राजनीतिकर्मी आक्रान्त छन् । राष्ट्र र जनतालाई तुच्छ अनि विदेशी शक्तिलाई उच्च मान्ने असन्तुलित मनस्थिति नेपाली राजनीतिको ठूलो रोग हो । यो मानसिक रोगको उपचार गर्न प्रबल राष्ट्रवादबाहेक अर्को उपाय छैन । मानसिक रोगीको उपचार गर्न प्राचीन ग्रन्थहरूमा अनेकौँ ओखती बताइएको छ । कौटिल्य (चाणक्य) द्वारा लिखित ‘कौटिलीय अर्थशास्त्र’ मा भनिएको छ– ‘मोसो, छिर्केमिर्के मृग, न्याउरी, मयुर र गोहीको पित्तमा रायोको धुलो मिसाएर बनाइएको ओखतीले पागलपन रोक्न सकिन्छ ।’ नेपालका हरेक दलका नेतागणले यो ओखती खाएमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको अपमान हुने थिएन ।

आपसमा भेट हुँदा ‘जय नेपाल’ भन्दै अभिवादन गर्नुपर्छ भन्ने परिकल्पना–प्रस्ताव राष्ट्रवादी कवि गोपालप्रसाद रिमालले ल्याएका हुन् । (दमनराज तुलाधरको आत्मकथा, पृष्ठ ९५) नेपाली कांग्रेस र नेपाल प्रहरीले त्यसपछि मात्र सो अभिवादन ‘एडप्ट’ गरेको पाइन्छ । ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ लगायतका कालजयी गीत, ‘आमाको सपना’ जस्तो उत्कृष्ट कविता र नाटकहरू लेख्ने गोपालप्रसाद रिमालले ऊबेलाका युवालाई समेटेर, उत्प्रेरित गरेर, ऊर्जा जगाएर ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने सिकाए ।  

झापाको भद्रपुरमा बसोबास गने भैरवप्रसाद रिमाल भन्थे– ‘मेरा दाजु अहोरात्र नेपालको मुहार कसरी उज्यालो पार्न सकिन्छ भनेर छलफल गरिरहनुहुन्थ्यो । घर–परिवारका बारेमा भन्दा राष्ट्रका बारेमा सधैँ चिन्ता गर्नुहुन्थ्यो ।’ सुरुमा पशुपतिनाथ र पछि शोभा भगवती मन्दिरमा भजन समूह बनाएर धर्म र राष्ट्रवादको सन्देश फैलाएको सम्झना गर्ने श्यामदास वैष्णव भन्छन्–ज्यान जोगाएर हामीले स्वाभिमानको सन्देश फैलायौँ । आजको राजनीति धन कमाउने र सत्ता पाउने खेलमा केन्द्रित छ ।

भारतका प्रसिद्ध पत्रकार तथा लेखक खुशवन्त सिंहले भनेका छन्–‘बेश्यावृत्ति, राजनीति र वकालत उस्तै पेसा हुन् । पैसा थापेपछि आत्मसर्पण गरेर ‘वफादार’ बन्नुपर्छ । मैले ती तीनवटै पेसा गरेँ ।’ उनको यो अभिव्यक्तिले अल्पविकसित राष्ट्रका धेरैलाई व्यंग्य गर्छ । नेपाली राजनीतिको चरित्र र चित्र हेर्दा त्यो झन स्पष्ट हुन्छ । अहिले हामी त्यही देखिरहेका छौँ ।  

नेपालको भूराजनीतिक अवस्थाले पनि राष्ट्रिय सुरक्षामाथि जटिलता थपिँदै जाने सम्भावना बढेको छ । चीनले नेपालको राजनीतिक अस्थिरताले राजनीतिक स्थायित्व संकटमा परेको विश्लेषण गरिरहेको छ ।  चीनको सरकारी अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले सत्तारुढ दलमा देखिएको ध्रुवीकरणले समस्या ल्याउन सक्ने विश्लेषण गरेको छ भने हालै प्रकाशित टाइम्स अफ इन्डियाले नेपाली राजनीतिलाई आफ्नो पक्षमा पार्न चीनले अनेकौँ प्रपञ्च गरिरहेको आरोप लगाएको छ ।  

चीनले नेपालबारे तटस्थ रहेको दाबी गरे पनि काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्पकमल दाहाललगायतका नेतासँग भेटेर पछिल्ला घटनाक्रमबारे छलफल गरेको समाचारले चीनले गहिरो चासो लिइरहेको छ भन्ने बुझ्न गाह्रो पर्दैन । यस्तै भारत र अमेरिकालगायतका शक्तिले हरेक दिनका घटनाक्रमलाई सूक्ष्मदर्शक यन्त्रले हेरिरहेका छन् ।  

अमेरिकाले दुवै सदनबाट तिब्बतमा दलाइ लामाको उत्तराधिकारी खोज्न मद्दत गर्ने आसयको निर्णय गरेपछि त्यसप्रति चीनले निकै कडा प्रतिक्रिया जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चीनको आन्तरिक मामिलाका हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । तर निर्वासनमा रहेका दलाइ लामाका प्रमुख प्रशासक लोप्साङ साङ्गेले अमेरिकी निर्णयको समर्थन गर्दै खुसी व्यक्त गरेका छन् ।

यसले नेपालमा चीन र अमेरिकाको गतिविधि अरू बढ्न सक्ने र दक्षिण एसियामा रणनीति र सामरिक प्रतिस्पर्धा चलिरहेका बेला दलाइ लामा समर्थकका गतिविधिले नेपाल अरू आक्रान्त हुन सक्ने अवस्था देखिन्छ ।  

नेपालमा सन् १९६० को दशकदेखि नै तिब्बती शरणार्थीको भेषमा हजारौँ व्यक्ति सक्रिय छन् भने तीमध्ये धेरैले अमेरिकी गुप्तचर संस्थालाई गुप्त सूचना दिने गरेका बताइन्छ । यस्तै द्वन्द्वको कारण खम्पा विद्रोहको रणनीति बनाइएको थियो भने ऊबेला गे हिसी र गे वाङ्दी जस्ता खम्पा नेताहरूलाई आपसमा विभाजित गराएर नेपाल दरवारले रणनीतिक चालवाजीअनुसार खम्पा विद्रोहलाई सेनाको मद्दतमा नियन्त्रण गरेको इतिहास छ ।  

पछिल्ला गतिविधि हेर्दा नेपालमा आफूअनुकूलको सरकार स्थापना गरेर स्वार्थ पूर्ति गर्न खोज्ने शक्तिको दुष्प्रभाव बढेको देखिन्छ । टिबेटन सेन्ट्रल एड्मिनिस्ट्रेसन (सिटिए) भनिने संस्थाका प्रतिनिधिहरूले नेपालमा विभिन्न होटल, ट्राभल्स एजेन्सी, विद्यालयलगायत आर्थिक उपार्जनका उपायबाट समेत धेरैलाई रोजगारी दिइरहेका खबर आएका छन् । यस्तै विभिन्न देशका गुप्तचर प्रेस, मानव अधिकारवादी, नागरिक समाज र प्रजातन्त्रवादीलगायतका भेषमा सक्रिय रहेका पाइन्छ । कम्युनिस्टको आवरणमा भारत र पश्चिमा शक्तिहरूको सेवा गर्ने पनि प्रशस्त भेटिन्छन् । अर्थात नेपाल अन्तर्राष्ट्रिय शक्तिका हली/गोठालाको  रणमैदान बन्न सक्ने देखिँदैछ ।  

राजनीतिक अस्थिरता र त्यसले उत्पन्न गर्न सक्ने परिस्थितिले आर्थिक, सामाजिक र धार्मिक क्षेत्रसमेत प्रभावित हुने सम्भावना देखिन्छ । धेरै असफल राष्ट्रको इतिहास हेर्दा स्पष्ट लक्ष्य, राष्ट्रियताप्रतिको सम्वेदनशीलता, राष्ट्र र जनताप्रतिको जिम्मेवारीवोध नहुँदा परिस्थिति जटिल बन्दै गएको देखिएको छ । नेपालमा कसको सरकार चल्छ र कसको कतिबेला ढल्छ भन्ने कुरा महत्वको विषय होइन, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान कसरी जोगाउन सकिन्छ भन्ने कुरा सबैभन्दा चिन्ताको विषय बन्दै गएको छ ।

प्रकाशित: १० पुस २०७७ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App