१६ फाल्गुन २०७७ आइतबार
विचार

कम्युनिस्टको म्याद

संसारका अरू मुलुकमा साम्यवाद अथवा कम्युनिज्मको अवसान भइरहेको बेला नेपालमा उनीहरूको उत्थान हुनु एउटा अनौठोलाग्दो कुरा हो । हुन त धेरै मानिस भन्छन्– नेपालका कम्युनिस्ट कम्युनिस्ट होइनन् । कम्युनिस्टमा हुनुपर्ने गुण र योग्यता उनीहरूमा पाइँदैन । यही कारणले पनि होला, नेपाल कम्युनिस्ट पार्टीको नाम अरू कुनै राखिनुपर्छ भनेर उनीहरूको सभा, सम्मेलन र महाधिवेशनमा प्रस्ताव पनि आएको हो । तर कम्युनिस्ट भन्न छाडियो भने मानिस कम आकर्षित हुने र उनीहरूका विचार फैलाउन पनि नपाउने भएकाले सो नामलाई कायम गरिएको भन्ने गर्छन् ।  

आखिर नाउँले के गर्छ र भनेर उनीहरू पत्याउँदैनन् । त्यसैले नेपालमा अहिलेसम्म पनि कम्युनिस्ट पार्टीको संख्या सबभन्दा बढी पाइन्छ । एक दर्जन भन्दा बढी नै होला । साना ठूला जस्तै भए पनि कम्युनिस्टको नाउँमा संगठन बनाइएका छन् ।

कम्युनिस्टहरूको ७० वर्षको म्याद सिद्धिएकाले नेपाल कम्युनिस्ट पार्टीमा झगडा र फुट भएको हो । कम्युनिस्टहरूले आपसी लडाइँबाट नै आफ्नो नाश गर्ने देखिन्छ ।

संसारका विभिन्न मुलुकका कम्युनिस्टको चालामाला हेर्दा ७० वर्ष भन्दा बढी गएको देखिन्न । यसबाट एउटा प्रश्न उठ्छ– के साम्यवादको म्याद ७० वर्ष मात्र हो ? पहिलो विश्व युद्धमा कम्युनिस्टहरूले रुसमा सत्ता कब्जा गरे । सोभियत युनियन संसारको सबभन्दा ठूलो मुलुकमा गनिएको थियो । संसारका सबभन्दा बलिया दुई मुलुकमध्ये एउटा मुलुकका रूपमा विशवी शदीको धेरै समयसम्म जिउँदो रहिरह्यो । तर सन् १९१८ देखि १९८८ सम्म अथवा ७० वर्षसम्म यो एक जल्दोबल्दो देशका रूपमा रहेको थियो ।  

सोभियत संघलाई कम्युनिस्ट या भनुँ समाजवादको गढ नै मानिन्थ्यो । यसको प्रभाव क्षेत्र बढ्दै गएर पूर्वयुरोपका देशहरूमा फैलिएको थियो । सोभियत संघमा लेनिनको विजयदेखि गोर्बाचोभको आगमनसम्म संसार एकप्रकारले शीतयुद्धमा चलेको थियो । शीतयुद्ध भनेको गोली चल्ने युद्ध नभए पनि एकअर्कालाई सिध्याउने काममा सक्रिय रहने र वाक्युद्ध चलाउने  थियो । त्यो बेला नेपाल जस्ता मुलुक असंलग्न राष्ट्र भनेर बाँच्न कोसिस गरेका थिए । तर अमेरिका र सोभियत युनियनको आपसी तानातानीको समयमा सुरक्षित रहन कम गाह्रो थिएन ।

त्यो कम्युनिस्टहरूको अधिनायकवादअन्तर्गत चलेको सोभियत युनियन जाने र हेर्ने मौका यो पंक्तिकारलाई पनि मिलेको थियो । त्यहाँको जनजीवन हेर्दा लाग्थ्यो– आखिर कम्युनिस्टहरूले केही उपलब्धि त गरेका रहेछन् । मानिस र खासगरी महिला राति अबेलासम्म ढुक्क भएर हिँड्थे । उनीहरूलाई कसैको डर थिएन । अथवा डरकै कारण समाजमा शान्ति कायम भएको थियो । मानिस आफूलाई सुरक्षित ठान्थे । सबै मानिसलाई काम दिइएको थियो र खान, लाउन सबैले पाएका थिए । कसैलेपनि भविष्यका लागि जोहो गरेर राख्दैनथे । किनभने गाँस, बास, पढाइ र स्वास्थ्य सेवा सबै निःशुल्क थियो । हो, राज्यले भनेको ठाउँमा काम गर्न जानुपर्ने करचाहिँ लाग्थ्यो । यही सब देखेर होला हाम्रा कम्युनिस्ट पार्टीहरूले पनि यस्तै समाज खडा गर्ने भनेर फलाकी हिँडेका थिए । तर भने एउटा, गरे अर्कै । त्यसैले होला, धेरै मुलुकमा यो सिद्धान्त र व्यवस्था अन्त भएर गयो ।  

त्यसपछि चीनमा कम्युनिस्टहरू सत्तामा आउन सफल भए । तर चीनको विकास अर्कै प्रकारले भयो । सन् १९४९ देखि चीनको विकास ३०, ३० वर्षमा बाँडेर हेर्ने गरिन्छ । माओत्से तुङ्गले करिब ३० वर्ष चलाए र अनेक किसिमको क्रान्ति गरे । त्यसपछि तेङ्ग सियाओ पिङ्गले कम्युनिस्ट नाउँमा अर्कै प्रकारले चलाए । उनले चीनको आर्थिक ढोका खोलिदिए । तर कम्युनिस्ट पार्टीलाई जिउँदै राखे र राजनीतिकरूपमा एकत्रित नै राखे । उनको नेतृत्वको ३० वर्षको दौरानमा चीनले आर्थिक प्रगति गरे । यति धेरै गरे कि संसारका दुई शक्तिशाली देशमध्ये एक भएर निस्के ।  

संयुक्त राष्ट्र पहिलेदेखि नै बलियो देश गनिन्छ । त्यसलाई चुनौती दिन सक्ने अवस्थामा चीन पुगेकाले संसारको शक्ति नक्सा नै बदल्दै गयो । तर चीनका कम्युनिस्टहरू शक्तिशाली मात्र होइन, धनी पनि बन्दै गएका छन् । संसारका अर्बपतिहरूमा हरेक वर्ष चिनियाहरूको संख्या बढ्दै गएको देखिन्छ । चिनियाँ कम्युनिस्टहरू जिउँदै छन् तर उनीहरू कसरी बाँचिरहेका छन् भनेर त्यहाँका राष्ट्रपति नेपाल आउँदा वर्णन गरेर गएका थिए । उनीहरू अरू लोकतन्त्रवादी भन्दा लोकतन्त्रवादी र अरू पुँजीवादी भन्दा पुँजीवादी भएर सफल भएका हुन् ।  

भारतमा कम्युनिस्टहरू सक्रिय नभएका होइनन् । पश्चिम बंगालमा ३४ वर्षसम्म लगातार प्रजातन्त्रकै आडमा शासन गरेका हुन् । तर ७० वर्ष पुगेपछि त्यहाँबाट कम्युनिस्ट शासन हटेको हो । विगत संसद्को निर्वाचनमा त्यहाँको कम्युनिस्ट पार्टीले एउटा सिट पनि जित्न सकेन । भनाइको तात्पर्य ७० वर्षको म्याद कटेपछि त्यो देशमा कम्युनिस्टको अस्तित्व नै नरहने देखिएको हो । पश्चिम बंगालमा कम्युनिस्ट शासनले त्यहाँबाट धेरै उद्योग भगाइदिए । कृषिमा पनि उन्नति गर्न सकेन । फलस्वरूप भारतका प्रान्तहरूमा सबभन्दा धेरै अर्थात ११ प्रतिशत गरिबहरू भोकमरीको सिकार भएका छन् । शिक्षा र स्वास्थ्य सेवा सस्तो या निःशुल्क हुनुको सट्टा झन्झन् महँगो हुँदै गयो । भ्रष्टाचार बढ्दै गयो । राजनीतिक हत्या र हिंसा पनि बढ्दै गयो । त्यसकारण कम्युनिस्टहरू निर्वाचनबाट नै फालिए । अनौठो कुरा के भने एक जना कम्युनिस्टले त्यसको विश्लेषण गर्दै भने कि पश्चिम बंगालका जनताले भौतिक प्रगतिको इच्छा राख्दैनन् । गरिबी र कंगाल भए पनि कम्युनिस्टहरूलाई रुचाउँछन् ।  

त्यसैगरी क्युबामा सन् १९५३ मा क्यास्त्रोले सत्ता कब्जा गरेपछि त्यहाँ कम्युनिस्ट शासन करिब ६०, ७० वर्ष चल्यो । अमेरिका नजिक भए पनि सोभियत संघको समर्थनले बाँचिरह्यो । क्युबाले केही कुरामा प्रगति गरेको हो । त्यहाँको शिक्षा र स्वास्थ्य एक किसिमले सस्तो र सबैको पहुँचमा छन् । त्यहाँ पनि अहिले कम्युनिस्टको शासन अन्त्य भइसकेको छ । हुन त क्यास्त्रोकै भाइले त्यहाँको शासन सम्हालेका छन् । तर उनको राजकाजको सिद्धान्त अर्केै छ । गरे नहुने त होइन । कम्युनिस्टहरूले पनि केही गरेर देखाएका उदाहरण पनि छन् । तर देश र जनताको केही गर्दै नगरेर आफ्नै मात्र दुनो सोझ्याउने कम्युनिस्ट पनि छन् ।  

अर्को कम्युनिस्ट देशको उदाहरण उत्तर कोरियाको दिने गरिन्छ । सन् १९४८ मा किम इल सुङ्गले कम्युनिस्ट शासन सुरु गरेका हुन् । आजका शासक किम जोङ उन उनकै नाति हुन् । राजतन्त्र नभए पनि राजतन्त्रमा जस्तै बाबुपछि छोराको हातमा शासन भार जाने गरेको छ । हुन त त्यो देशमा गरिबी र भोकमरी नभएको होइन तर आधुनिक हातहतियारमा त्यो देश सुसज्जित भएको छ । उसले चाह्यो भने अमेरिकासम्म जान सक्ने मिसाइलहरू बनाइसकेको छ । अमेरिकाको आणविक छत्रछायाँमा बसेका जापान, दक्षिण कोरिया आदि देश सधैँ उत्तर कोरियाको आणविक आक्रमणको डर र त्रासमा बसेका हुन्छन् । हुन त त्यो देशमा ७० वर्ष कटे पनि अहिले कम्युनिस्ट शासन नै कायम छ । त्यसैले त्यसको उदाहरण दिएर मात्र कम्युनिस्टहरूले अरू मुलुकमा आफ्नो प्रभाव जमाउन खोज्छन् ।  

नेपालमा पनि पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापना गरेको ७० वर्ष नाघिसकेको छ । नेपालमा निर्वाचनबाट नै कम्युनिस्ट पार्टीको सरकार बनेको छ । तर कम्युनिस्टहरूको ७० वर्षको म्याद सिद्धिएकाले नेपाल कम्युनिस्ट पार्टीमा झगडा र फुट भएको हो । कम्युनिस्टहरूले आपसी लडाइँबाट नै आफ्नो नाश गर्ने देखिन्छ । त्यो उनको दोष होइन, ७० वर्षको म्यादको दोष हो ।

प्रकाशित: ९ पुस २०७७ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App