७ वैशाख २०८१ शुक्रबार
विचार

पराधीन बुद्धिजीवी

परिवर्तनका ठूला कुरा गर्ने तर सिरकमै गुट्मुटिएर दिन बिताउनेहरूलाई कार्ल माक्र्सले आरामकुर्सी समाजवादी (आम्डचेयर सोसलिस्ट) भनेर व्यंग्य गर्थे । यस्तै मौका ढुकेर फाइदा लिने नेपाली बुद्धिजीवीमध्ये धेरैजसोको आचरण र आवरण फरक छ । उनीहरू जे गर्छन्, त्यो कसैलाई भन्दैनन् । जे भन्छन्, त्यो गर्दैनन् । प्राध्यापक, वकिल, लेखक, विश्लेषक आदि पोशाकमा राष्ट्रका लागि भन्दा परराष्ट्रका लागि काम गर्ने धेरै छन् । तीमध्येका एक जनासँग हालै राजधानीको कफी हाउसमा भेट भयो । उनले दिल्लीको निर्देशनमा नेपालमा २०४६ र २०६२/०६३ सालमा भएका परिवर्तनले ठूलो क्षति गरेको स्वीकार गरे । आफू अहिले लज्जित भएको भन्दै आत्मआलोचना गरे । उनको मुहारमा पीडा, विषाद् र आत्मग्लानि झल्किरहेको थियो ।

गरिमामय इतिहासको अपव्याख्या गर्ने परियोजना चलाएका केही परजीवी राष्ट्रवाद, देशभक्ति र स्वाभिमानलाई संकीर्ण सोच ठान्छन् ।

विभिन्न दूतावास र दाताले नेपालका कैयन् व्यक्ति र संस्थालाई अवाञ्छिततवरबाट आर्थिक सहायता गरिरहेको जगजाहेर छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहदेखि लिएर राष्ट्रिय विभूतिहरूका बारेमा दुष्प्रचार गरेर गरिमामय इतिहासको अपव्याख्या गर्ने परियोजना चलाएका केही परजीवी राष्ट्रवाद, देशभक्ति र स्वाभिमानलाई संकीर्ण सोच ठान्छन् । उनीहरूका विचारमा ‘उदात्त चिन्तन’ भनेको विदेशी शक्तिबाट संरक्षित, सम्पोषित र सम्वद्र्धित हुनु नै हो ।

२०३३ पुस १६ गते लामो प्रवासपछि स्वदेश फर्केका विश्वेश्वरप्रसाद कोइरालाले भनेका थिए– ‘राष्ट्र रहेन भने हामी रहन्नौँ ।’ उनले प्रजातन्त्रका नाममा मौलाएको प्रवञ्चक–प्रवृत्ति र अवसरवादी व्यवहारका बारेमा भाषण, अन्तर्वार्ता र लेखहरूमा नेपाली बुद्धिजीवीहरूलाई लक्षित गर्दै स्पष्ट भनेका छन्– उनीहरू सतही र तत्काल फाइदाको मात्र कुरा गर्छन् । अन्तर्राष्ट्रिय आयाम बुझ्ने प्रयत्न गर्दैनन् ।

बोल्सेभिक (बहुमत) र मिन्सेभिक (अल्पमत) भनिने रसियाका शक्ति समूहमा कम्युनिस्टले नेतृत्व गरेको बोल्सेभिक र राजतन्त्र समर्थकको मिन्सेभिक बुद्धिजीवीमा पनि त्यस्तै समस्या थियो । थोरै अध्ययन गर्ने र धेरै प्रशंसा सुन्ने रोगबाट ग्रस्त नेपालका कम्युनिस्टहरूमा पनि फरक विचारको सम्मान गर्ने संस्कार पाइँदैन । एकतन्त्री, अधिनायकवादी र निरंकुश चरित्रका नेतालाई उकासेर दुनो सोझ्याउने काममा सरकारी र गैरसरकारी कित्ताका बुद्धिजीवी सक्रिय पाइन्छन् । यसो गर्दा राष्ट्र र जनता होइन, विभिन्न पदको लोभ गर्ने बुद्धिजीवी मात्र लाभान्वित हुने गर्छन् । यस्ता बुद्धिजीवी हरेक दलका छेउछाउमा गुलियो नजिकै झुम्मिएका झिँगाझैँ देखिन्छन् ।

जेनिस जोप्लिनले २७ वर्षमै प्राण त्याग गरिन् । बुद्धिजीवी भनेका कस्ता हुन्छन् भनेर पत्रकारले प्रश्न गर्दा ती अमेरिकी गायिकाले उत्तर दिइन्– ‘जो अनेक कठिन प्रश्न गर्न जान्दछन् तर समाधानका उपाय बताउँदैनन्, उनीहरू बुद्धिजीवी हुन् ।’ उनको कथनमा गहिरो व्यंग्य छ । भावमा सत्यार्थ छ । जो समाधान होइन, समस्याका कारकतŒव हुन्, ती कसरी बुद्धिजीवी भए ? भन्ने जोप्लिनको कथन छ ।

एकतन्त्री, अधिनायकवादी र निरंकुश चरित्रका नेतालाई उकासेर दुनो सोझ्याउने काममा सरकारी र गैरसरकारी कित्ताका बुद्धिजीवी सक्रिय पाइन्छन् । यसो गर्दा राष्ट्र र जनता होइन, विभिन्न पदको लोभ गर्ने बुद्धिजीवी मात्र लाभान्वित हुने गर्छन् ।  

‘म किन इसाई होइन ?’ भनेर लामो प्रवचन दिएका छन् बर्टान्ड रसेलले । उनको तर्क छ– ‘को रिसाउँछ भन्ने कुराको मतलव नगर्नुहोस् । तपाईँ बुद्धजीवी हो भने तटस्थ भएर सत्य बोल्नुहोस् ।’ ‘ह्वाइ आइ एम नट ए क्रिस्चियन’ शीर्षकको उनको प्रवचन सुनेर लाखौँ इसाईले आफ्नो बाटो (पन्थ) त्यागे । अरूप्रति असहिष्णु, बेइमान र अनुदार हुने आचरण धर्म होइन भनेका छन् उनले । युरोप र अमेरिकामा आज पनि उनका लाखौँ प्रशंसक छन् किनभने ती सत्यवादी, निर्भीक र स्पष्ट वक्ता थिए ।

राहुल सागरले गत वर्ष हिउँदमा भारतीय बुद्धिजीवीको लीला–चित्रण गर्दै सन् १८३५ मा लर्ड म्याकालेले भारतमा अंग्रेजी शिक्षा भित्र्याएपछि भारतीय राष्ट्रवाद कमजोर भएको बताएका छन् । भारतको धर्म–संस्कृति, परम्परा, इतिहास र सभ्यताका बारेमा युवा पुस्तामा खासै चासो नभएको तर्क गर्दै सागरले युरोपबाट ल्याएको शिक्षाले धर्म–संस्कृति मास्न विषादीको काम गरेको आरोप लगाएका छन् । उनको आरोप मिथ्या छैन । दक्षिण एसियाको प्राचीन राष्ट्र नेपालमा त्यही समस्या छ । पश्चिमका प्रभावशाली राष्ट्रले आफूअनुकूल जनशक्ति उत्पादन गर्न म्याकालियन शिक्षा पद्धति ल्याएको धेरैले स्वीकारेका छन् ।

भारतको पश्चिम बंगालको कलकत्ता (कोलकाता) सहर सयौँ वर्ष पुरानो बौद्धिक केन्द्र मानिन्छ । वाराणसी वा बैंगलोर जस्तै, मुम्बई वा दिल्ली जस्तै बौद्धिक छलफल गर्नेहरूको वर्चस्व भएको कोलकातामा सन् १९७७ देखि प्राज्ञिक वातावरण बिग्रिँदै गयो । वामपन्थीहरू ऊबेला सरकारमा पुगे । कम्युनिस्टबाहेक अरूलाई शत्रु ठान्न थाले । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) सँग आबद्ध भएर कलकत्ता सहरमा केही वर्ष सक्रिय रहेका कलाकार मिथुन चक्रवर्तीले बुद्धिजीवीहरूलाई कम्युनिस्टले स्वतन्त्र बस्न दिँदैनन् भनेका छन् । सत्तरी वर्षका ती कलाकार विगतप्रति पश्चाताप गर्छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री रहेका बुद्धदेव भट्टाचार्यले सन् १९६६ पछिका तीन दशकमा उनको राज्यमा राजनीतिक हिंसाका कारण अठ्ठाइस हजारभन्दा धेरै मानिस मारिएको बताएका छन् । मारिनेमध्ये कम्युनिस्टहरूसँग फरक मत राख्ने बुद्धिजीवीहरू पनि छन् । कानु सन्याल, जंगल संथाल र चारुम जुमदारले काँकरभिट्टा नजिकैको भारतीय बजार नक्सलबाडीबाट सुरु गरेको नक्सलाइट आन्दोलन भारतको राष्ट्रिय सुरक्षामा आज पनि चुनौती बनेको छ । ‘पशुपतिदेखि तिरुपतिसम फैलिएको’ भन्दै माओवादी आन्दोलनको चर्चा गरियो । माओको फोटो देखाएर भारतीय गुप्तचरहरूको मार्गचित्रमा हिँड्ने नेपालका माओवादीहरू ‘मेड बाइ इन्डिया – मेड फर इन्डिया’ हुन् भन्ने खुलासा भइसकेको छ । सो दलमा भारत मात्र होइन, युरोपियन युनियन, सिआइए र चीनको गुप्तचर संस्था ‘गुयान्बू’ बाट मासिक तलव भत्ता खाने धेरै भएको तर ‘काउन्टर इन्टेलिजेन्स’ भुत्ते भएका कारण कतिपय सूचना पाए पनि उनीहरूका गतिविधि रोक्न नसकिएको स्वीकार्छन्, पुराना गुप्तचर अधिकारीहरू ।  

संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारी, माओवादीका दुई नेता र राष्ट्रिय अनुसन्धान विभागका एकजना मठाधीश चार दिदीबहिनीका छोराछोरी भएकाले द्वन्द्वकालमा राज्यका गोप्य सूचना उनीहरूमार्फत आदान–प्रदान हुने गरेको बताइन्छ । नेपालमा ‘अनमिन’ नामको मिसन पठाएर संयुक्त राष्ट्रसंघले माओवादीलाई जघन्य अपराधहरूबाट उन्मुक्ति दियो । सेना समायोजनको नाटक गरियो । एसएसआर (सेक्युरिटी सेक्टर रिफर्म) मोडलमा गएर नेपाली सेना भत्काउन खोजियो । यो खेलमा केही जर्नेलले द्वैध चरित्र देखाए । डिडिआर (डिस्आम्र्ड डिमोबिलाइजेसन एन्ड रिह्याबिटेसन) मोडलमा गएन भने नेपाली सेनालाई ‘सिनो’ बनाइदिन्छन् भनेर पंक्तिकारले अनेकौँ लेखमार्फत धारणा राख्दा धम्कीसमेत आयो ।

साम कोवानद्वारा लिखित ‘एसेज अन नेपाल, पास्ट एन्ड प्रेजेन्ट’ राष्ट्रिय सुरक्षामा अभिरुचि राख्नेहरूका लागि राम्रो पुस्तक मानिन्छ । सन् १९६६ मा नेपाल आएर दुर्गम ठाउँहरूको भ्रमण गरेका ती लेखक ब्रिटिस सेनाका चारतारे जनरल पदबाट सन् २००२ मा सेवानिवृत्त भए । तीसौँपटक नेपालको पदयात्रा गरे । पुस्तकमा उनले ‘स्वतन्त्र तिब्बत’ आन्दोलन चर्काउन अमेरिकी गुप्तचर संस्थाले खम्पा विद्रोह गराएको र नेपालका कैयन् बुद्धिजीवीलाई गुप्तचरका रूपमा प्रयोग गरेको खुलासा गरेका छन् ।

राजा महेन्द्रका पालामा आइजिपी रहेका पहलसिंह लामाले नेपालमा कम्युनिस्टहरू मौलाएको विश्लेषण गर्दै ब्रिटेनबाट मद्दत माग्न खोज्दा राजा महेन्द्रले उनको कुरा वास्ता नगरेको बताएका छन् कोवानले । आन्तरिक मामिलामा विदेशी गुहार्दा जासुसी बढ्ने र राष्ट्रिय सुरक्षा कमजोर हुन्छ भन्ने राजा महेन्द्रको धारणा थियो । अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गर्दा नेपाली सेनाको शक्ति बढाएर दुई लाखको फौज तयार गर्नुपर्ने सुझाव दिएको मिडियामा आयो । राजा वीरेन्द्रले त्यो स्वीकार गरेनन् । माओवादीलाई निर्मुल गर्न लाखौँ सेना चाहिन्छ र त्यसका लागि अमेरिकाले पर्याप्त हतियार र रकम दिने आश्वासन पनि दिए पावेलले । अमेरिकाको सेनाध्यक्ष भइसकेका पावेलले सिफारिस गरेपछि करोडौँं डलरका युद्ध सामग्री आउन सक्थे तर राजा वीरेन्द्र आफ्नै जनता मारेर सन्तुष्टि लिने पक्षमा थिएनन् । विदेशीलाई चलखेल गर्ने अवसर दियो भने राष्ट्र बर्बाद हुन्छ भन्ने कुरा बुझेका महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले शक्ति आर्जन गर्न विदेशीको मद्दत मागेनन् तर दलहरुले उल्टो बाटो लिए । उनीहरूले राष्ट्रिय शक्तिलाई कमजोर बनाएर आफू शक्तिशाली बन्न विदेशीको गुहार मागे । विदेशी गुप्तचरहरूकै डिजाइनअनुसार दिल्लीमा बाह्रबुँदे कायलनामामा हस्ताक्षर गर्नेहरू आज पनि पश्चाताप गरिरहेका छन् ।

टंकप्रसाद आचार्यले २०४६ सालको आन्दोलनलाई समर्थन गरेनन् । गणेशमान सिंहले समर्थन गरिदिन आग्रह गर्दा उनले भनेका थिए– ‘म पञ्चायती व्यवस्थाको विरोधी हुँ तर नेपालमा बहुदलीय व्यवस्था स्थापना गराउन कांग्रेस र वामपन्थीहरूले विदेशीलाई बोलाएको हुँदा म समर्थन गर्दिनँ ।’ समाज दैनिकका सम्पादक मणिराज उपाध्यायले सुनाएको यो प्रसंग र राससमा ऊबेला प्रकाशित आचार्यको प्रतिक्रिया अध्ययन गर्दा उनी प्रबल राष्ट्रवादी थिए भन्ने बुझिन्छ ।

‘इन्डिया मिटस् चाइना इन नेपाल’ पुस्तकमा भारतीय पत्रकार गिरिलाल जैनले नेपाल रणमैदान बन्ने संकेत गरेका छन् । चीन र भारतका लागि नेपाल सुरक्षाको दृष्टिले समेत गहिरो चासोको क्षेत्र भएको तर्क गर्दै उनले सुरक्षा स्वार्थ बाझिँदा नेपाल संकटमा पर्ने लेखेका छन् । टाइम्स अफ इन्डियाका सम्पादकसमेत रहेका जैनले सन् १९५९ मा लेखेको सो पुस्तकका हरेक अध्यायमा केही अकाट्य तर्क छन् । अमेरिकाले अघि सारेको एमसिसी र चीनको बिआरआइको चक्करमा नेपाली राजनीति भाँडिदै गएको छ । यो कूटनीतिक दबाबले नेपाली सेनालाई पनि संकटमा पार्ने हो कि भन्ने शंका गरिएको छ ।  

विदेशीको लिटो–जाउलोमा हुर्केका नेपाली गुप्तचरका लागि काठमाडौँको काबुलीकरण फलदायी देखिन्छ तर विदेशीको वशीकरण मन्त्रले लठ्ठ परेका दलका दलबहादुरहरू तथा उच्चपदस्थ सरकारी मान्छेले राष्ट्रलाई भिरतिर लगिरहेको स्पष्ट देखिँदैछ । बसका चक्का फुस्केर तीव्र वेगमा ओरालो लागिरहेको छ । जनता राम...राम... भनिरहेका छन् । चालक दलका सदस्य मुक्कामुक्की गरिरहेका छन् । कतिपय यात्री यसलाई अग्रगमन ठानिरहेका छन् । विदेशीका जासुस थप्पडी बजाइरहेका छन् । आजको तस्बिर यही हो ।

जोन एफ केनेडीको कथन घतलाग्दो छ– ‘निरोगी शरीरलाई शारीरिक कसरत मात्र पर्याप्त हुँदैन । मानसिक तन्दुरुस्तीका लागि अध्ययन, चिन्तन र बौद्धिक क्रियाकलापमा सक्रिय रहनुपर्छ ।’ राजधानीमा मैले केही नवधनाढ्यका महलमा लाखौँ रुपियाँका विदेशी रक्सी सजाएको देखेको छु । त्यहाँ एउटा पनि पुस्तक देखिएन । बौद्धिक दरिद्रका महलहरू धेरै छन् नेपालमा । उनीहरू अहोरात्र धनका पछिपछि कुदेका छन् तर एक घन्टा समय निकालेर पढ्दैनन् ।

जिहाद अहमद इतानीलाई इजरायलका लागि जासुसी गरेको अभियोगमा लेबनान सरकारले पक्राउ ग¥यो । अल जजिरा टेलिभिजनले खोजपूर्ण रिपोर्ट प्रसारण गर्दै ती नाटककार र पत्रकारको चेहरा उदांगो पा¥यो । खोज पत्रकारितामा पारंगत सालोक्यले नेपालका सयौँ एफएम, पत्रपत्रिका, विश्लेषक, रंगकर्मी, कमेडियन र संघसंस्थाहरु विदेशी दाताको दानापानीमा चलेको भन्दै उनीहरूले पाएका रकमसमेत सार्वजनिक गरेका छन् । यस्तो खेलमा पराधीन बुद्धिजीवीको ठूलो जत्था भएकाले यसबारे कुनै मिडियामा चर्चा भएन । एउटा खरदारले एक हजार रुपियाँ घुस खाँदा त्यो समाचार बन्छ तर राष्ट्रघातीहरूलाई विदेशीले करोडौंँ डलर खर्च गरेर पालेको तीतो सत्य सार्वजनिक हुँदैन । ‘काले–काले मिलेर खाउँ भाले’ चरितार्थ गर्छ यस्तो प्रवृत्तिले ।

राष्ट्राध्यक्ष र प्रधानमन्त्रीलाई गलत सल्लाह दिने बुद्धिजीवीहरूको कुबुद्धिका कारण राज्यसंयन्त्र नै बेथितिको सिकार बनेको छ नेपालमा । इदी अमिन, फर्डिनान्ड मार्कोस, आयातोल्ला रोहल्ला खोमेनी, मोबुतो सेसे सेको आदि कुख्यात नेताका सल्लाहकार र प्रियजनले बुद्धिजीवीको आवरणमा मालिकलाई झन अलोकप्रिय बनाए । नेपालका पछिल्ला घटनाक्रमले त्यही देखाउँछ । राष्ट्रपति र प्रधानमन्त्रीका छेउछाउमा धूप, दीप र नैवेद्य लिएर उभिएकाहरूले क्लोरोफर्मको धूप सुँघाइरहेका त छैनन् भन्ने प्रश्न उत्पन्न हुन्छ । सल्लाहकारहरूले प्रधानमन्त्रीलाई बुल्डोजर ठानेका देखिन्छ । संविधान, ऐन, कानुन र न्यायका बारेमा पारंगत ठान्ने बिजुवा, फेदङ्वा, गुर्बा र पण्डितहरूले संविधानभन्दा प्रधानमन्त्री ठूलो हुन्छ भन्ने सिकाएछन् क्यार । नत्र ‘दिन दोब्बर रात चौबर’ प्रधानमन्त्री बदनाम हुने थिएनन् ।  

सरकारी घोडा चढ्न हतारिएको कांग्रेस अझै पनि हवाई अपहरण गरेको र राजाहरूलाई बम हानेको ‘पुरुषार्थ’ सुनाइरहेको छ । बुद्धिजीवीहरू वामपन्थी र दक्षिणपन्थी कित्तामा उभिएका छन् । राष्ट्र सर्वोच्च हुन्छ भन्दै राष्ट्रवादका कित्तामा उभिनेहरूलाई विदेशीका मानसपुत्रहरू भन्छन्– तिमीहरू त बुख्याँचा हौ ।

प्रकाशित: ३ पुस २०७७ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App