विश्वमा राष्ट्रिय सुरक्षा सम्वेदनशील प्रश्न बन्दै गएको देखिन्छ । आफू प्रबल, प्रभावशाली, प्राञ्जल र पवित्र सावित हुन खोज्ने केही शक्तिशाली राष्ट्रले सहअस्तित्वको प्राचीन मान्यतासमेत भत्काइरहेका छन् । सुरक्षा र रक्षा (सेक्युरिटी र डिफेन्स) दुवैको परिभाषा बदलिएको छ । महाभारत, शुक्राचार्यनीति, चाणक्यनीति, विदुरनीति आदि ग्रन्थमा हजारौँ वर्षपहिले नै ‘शत्रुले के गर्दैछ, पहिले नै थाहा पाउनू’ भनेर सचेत गराइएको छ । पूर्वसूचना नै राष्ट्रिय सुरक्षाको बलियो रक्षा कवच हो भन्ने कुराको हेक्का राख्न नसक्दा मध्यरातमा कैयन् राष्ट्र पराधीन भएका छन् । कैयन् राजाले भोलिपल्ट बिहानै राजगद्दी त्याग्नुपरेका उदाहरण छन् । कैयन् सेनापति बैरीका घेरामा परेका छन् ।
सत्ता परिवर्तन मात्रै जनताले खोजेका होइनन्, रूपान्तरण खोजेका छन् । त्यो भनेको राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, समृद्धि र हरेक नेपालीको सुखद भविष्यको प्रत्याभूति पनि हो ।
ह्यारोल्ड ल्यासवेलले भनेका छन्– ‘विदेशीको इच्छा र आदेशमा तिम्रो देश चलेको छैन भने राष्ट्रिय सुरक्षा बलियो छ भनेर ढुक्क परे हुन्छ ।’ नाजी प्रोपोगन्डाका बारेमा गहिरो अध्ययन गरेका ती अमेरिकी राजनीतिशास्त्रीले हरेक युगमा राष्ट्रिय सुरक्षाको प्रयोग, उपयोग, मान्यता र आयाम परिवर्तन हुन्छ भनेका छन् । सिद्धान्त एउटै देखिए पनि व्यवहारमा थप समस्या आउँछन् र धेरैले बाध्यताको सिकार हुनुपर्ने सत्य स्वीकार गरेका छन् । असंलग्न राष्ट्रमध्ये धेरैले एउटा सैन्य गुटमा लागेर उनको कथन पुष्टि गरेको पाइन्छ ।
सन् १९९१ को खाडीयुद्ध इराकले कुवेतमा हमला गरेपछि सुरु भयो । कुवेतको रक्षाका लागि अमेरिका अघि सरेको देखियो । पश्चिमा राष्ट्रहरू इराकविरुद्ध लागे । इराक, कुवेत र साउदी अरेविया मात्र त्यसबाट प्रभावित भएनन् । अमेरिकी चासो र स्वार्थले विश्व अर्थतन्त्रमा असर पर्यो । कुवेत, व्रिटेन, अमेरिका, इजरायल, युएइ, पाकिस्तान, भारत, ओमान, कतार, स्पेन, क्यानडा, फ्रान्स, सिरिया, मोरक्को, अर्जेन्टिना एकातिर थिए । उता इराक एक्लो थियो । सो युद्धले इराकको पतन गरायो । दश वर्ष लामो इरान–इराक युद्धबाट थाकेको इराकले ठूलो क्षति बेहोर्नुपर्यो । सन् २००३ मा अमेरिकी सेनाले हमला गरेर इराकलाई बर्बाद बनायो । राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिएपछि कठपुतलीहरूले शासन गरे । राष्ट्रिय सुरक्षा र परराष्ट्रनीतिबीच सन्तुलन नहुँदा राष्ट्र कसरी धुलोपिठो बन्छ भन्ने यस्ता उदाहरण प्रशस्त छन् ।
साम्राज्यवादी र विस्तारवादीका कर्मचारीले हाम्रा वीर, विवेकी पुर्खालाई गाली गरेर जागिर खाइरहेका छन् । लेखक, पत्रकार, विश्लेषक आदिको आवरणमा जासुसी गरेर पेट पाल्ने धेरै भेटिन्छन् ।
राजतन्त्र निर्मुल गरेर गणतन्त्रको गोरेटोमा हिँड्दा विदेशीले सद्दामलाई हतियार बनाए । विदेशीको स्वार्थअनुसार हिँड्न नमान्दा उनी मारिए । इराक अर्को अफगानिस्तान बन्यो । कम्बोडियामा राजतन्त्र ढाल्न अमेरिकी गुप्तचर संस्थाले कम्युनिस्टहरुलाई प्रयोग गर्यो । लाखौँ मानिस मारिए । कालान्तरमा कम्युनिस्ट नेता पोलपोटको पतन भयो । उनी जंगलभित्र एउटा सानो छाप्रो बनाएर त्यहीँ प्राण त्याग्न बाध्य भए ।
शुक्राचार्य भन्छन्– ‘अधमा धनमिच्छन्ति धनमानौ तु मध्यामाः उत्तमा मानमिच्छन्ति मानोहि महतां धनम् ।’ (अर्थात, महान् व्यक्तिको धन भनेकै मान हो । अधमले धन मात्र खोज्छ । उत्तम मानिस मान मात्र खोज्छ ।) मान र स्वाभिमान राष्ट्र र जनताको सम्पत्ति हो । साम्राज्यवाद र उपनिवेषवादको सञ्जाल फैलाएर धेरै राष्ट्रबाट बहुमूल्य रत्न र अमूल्य धन ओसारे केही पश्चिमा राष्ट्रले । महाभारतकाल भन्दा पहिले नै उदाएका संसारका सत्र/अठार वटा प्राचीन राष्ट्रमध्येको एक नेपालले राष्ट्रको स्वाभिमान बचाएर राख्यो । साम्राज्यवादी र विस्तारवादीका कर्मचारीले हाम्रा वीर, विवेकी पुर्खालाई गाली गरेर जागिर खाइरहेका छन् । लेखक, पत्रकार, विश्लेषक आदिको आवरणमा जासुसी गरेर पेट पाल्ने धेरै भेटिन्छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले स्वधर्मको रक्षा गर्दै राष्ट्रिय सुरक्षा जोगाउन अर्ती दिएका छन्, नेपालले त्यति मात्रै पालना गरे पुग्छ । आफ्नो मुख्यालयमा पृथ्वीनारायणको सालिकलाई सम्मानपूर्वक सजाउने नेपाली सेनाले पनि पृथ्वी–विचार शिरोधार्य गर्दै राष्ट्रका वैरी र परममित्रहरू बेलैमा चिन्न आवश्यक छ । पराधीन पात्रहरू फिरङ्गीका दानापानी खाएर राष्ट्रिय एकता बचाउनेलाई गाली गरिरहेका छन् । उहिलेको युद्धमा शत्रुहरू स्पष्ट देखिन्थे, अचेल घरभित्रै मौका ढुकेर बस्ने गर्छन् । यस्ता शत्रु समयमा नचिन्ने हो भने उनीहरू फैलिँदै जाने सम्भावना हुन्छ ।
ऐन–मौकामा सही निर्णय गर्न नसक्दा क्षति बेहोर्नै पर्छ । यो कुरा घर/व्यवहारदेखि राजकाजमा पनि लागु हुन्छ । वि.सं. १८७१ (सन् १८१४) मा नेपाल–ब्रिटेन युद्ध सुरु हुनुअघि राजदरवारमा ठूलो छलफल भयो । अमरसिंह थापा, दलभञ्जन पाण्डे, गुरु रंगनाथ पौड्याल, रणजोर थापालगायतका परिपक्व भारदारहरू युद्धका पक्षमा थिएनन् । हस्तिदल शाह र बम शाहले काजी अमरसिंह थापालाई समर्थन गर्दै गृहकार्य, रणनीति, तयारी र शक्ति सञ्चयबेगर युद्धमा जाँदा पराजय भोग्नुपर्छ भन्ने सुझाव दिए । उनीहरूको तर्क थियो– सेनाको गाह्रो/साँघुरो नबुझी दरवारमा हुर्केका मानिसले युद्ध जितिन्छ भनेर राजालाई उकास्ने गरेका छन् तर परिस्थिति जटिल छ । बुद्धि र विचारले जसले काम गर्छ, उसले नै मालिकको काम राम्ररी गर्छ भन्ने एउटा भनाइ छ । यसबारे चित्तरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ग्रन्थमा सविस्तार वर्णन गरेका छन् ।
ऊ बेला सही राय–सुझाव आत्मसात गर्नुको सट्टा युद्धका लागि तयार रहनेहरू बहुमतमा देखिए । फलतः नालापानीको युद्धपछि नेपालले ठूलो भूभाग गुमाउनुपर्यो । मेचीपूर्व, महाकाली नदी पश्चिम र हाल भारतको उत्तर प्रदेश, बिहार र उत्तराखण्डका लाखौँ बिघा जमिन त्याग्नुपर्यो । झण्डै चालीस प्रतिशत भूभाग गुमायौँ हामीले । तीन हजार पाँच सय जना ब्रिटिस सैनिकसँग नेपाली सेनाका जवान, उनीहरूका पत्नी र छोराछोरीसहित ६ सय जनाले अन्तिम अवस्थासम्म नालापानीमा युद्ध गरे, २०४ वर्षपहिले । पानीको मुहानसमेत शत्रुले कब्जा गरेपछि किल्ला त्यागे नेपालीले । केही वर्षपहिले देहरादुन नजिकको नालापानी पुग्दा ती वीर–वीराङ्गानाहरू सम्झेर पंक्तिकारका आँखा रसाएका थिए ।
नेपालको अस्तित्वमाथि कालो बादल मडारिइरहेको छ अहिले । जनताले ठूलो विश्वास गरेर माला लगाइदिएका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, उच्चपदस्थ कर्मचारीमध्ये कतिपय विदेशीका प्रतिनिधि रहेछन् भन्ने खुलासा हुँदै गएको छ । परिवर्तनको नारा दिएर राष्ट्रिय स्वाभिमानलाई किनारा लगाउने बुल्डोजर भए उनीहरू । ऊबेलाका कमान्डर–इन–चिफ भीमसेन थापाले भोगेको पीडा जस्तै हालका कमान्डर–इन–चिफ पूर्णचन्द्र थापाका सामुन्ने पनि संकटको पहाड उभिएको छ ।
राष्ट्रका प्रमुख राजनीतिक शक्ति शिथिल देखिँदै गएका छन् । पराधीन, पराश्रित, परावलम्बी र परचक्रीहरूले परलोक पु¥याउन चाहेको राष्ट्रिय स्वतन्त्रता बचाउन राज्यसंयन्त्र असफल देखिएका छन् । तर राष्ट्रिय स्वाभिमानका पक्षमा उभिएका लाखौँ जनता संगठित हुँदै गएकाले त्यसलाई ‘आशाको किरण’ मानिएको छ । गणतन्त्रले राष्ट्रलाई निर्जीव बनाउने स्पष्ट देखियो तसर्थ जनताले केही वर्ष गनतन्त्र (बन्दूकतन्त्र) लाई डाइभर्सन रोडका रूपमा स्वीकार्नुपर्ने मानसिकता बनाउन थालेका छन् ।
बन्दूकतन्त्र स्थायी बाटो हुँदै होइन । हुनुहुँदैन । राष्ट्र र गणतन्त्रमध्ये एउटा रोज्नुपर्दा जनताले राष्ट्रको स्वतन्त्रता नै रोज्छन् । त्यस्तो बेला प्रजातन्त्र (डेमोक्रेसी) अर्थहीन हुन्छ । राष्ट्र अरूलाई बुझाएर गणतन्त्रको बाटो हिँड्ने सिक्किमेहरूले दिल्लीलाई सर्वाधिकार सुम्पिएर मतदानको अधिकार मात्र पाए । ‘हाम्री आमा साह्रै बाठी, चामलसँग पिठो साटी’ भनेझैँ भयो त्यहाँ ।
‘अरब स्प्रिङ’ भनिएको विद्रोहले उग्र रूप लिँँदै गर्दा पश्चिम गोलाद्र्धका विद्वान–विदुषीले समेत अब निरंकुश प्रणाली चल्दैन भनेका थिए । अरब राष्ट्रहरू राजतन्त्रविहीन हुनेछन् भन्ने भविष्यवाणी गरियो । अरब राष्ट्रहरूको सामाजिक–राजनीतिक धरातल जरैसँग अध्ययन नगर्दा त्यस्तो विश्लेषण गर्नेहरू ‘फाल्तु जोकर’ ठहरिए । पूर्वी गोलाद्र्धमा सूर्यास्त हुँदै गर्दा अमेरिका, ब्रिटेन, जर्मनी र फ्रान्सतिर उज्यालो हुन्छ । उता तिमिर छाउँदा यता अरुणोदय हुन्छ । हामी भन्छौँ– ‘तमसो मा ज्योतिर्गमय ।’ (अँध्यारोमा ज्योति पुगोस् ।) हाम्रा धर्मशास्त्रले स्वतन्त्रता, समानता, प्रजातन्त्र सबै सिकाएका छन् । राजधर्म (महाभारतको एउटा अध्याय) भन्छ– ‘राष्ट्रभन्दा ठूलो केही छैन ।’ यजुर्वेद भन्छ– ‘वयं राष्ट्रे जागृयाम् पुरोहितः अर्थात हामी राष्ट्रलाई जीवन्त र जागृत बनाएर राख्छौँ ।) चिन्तक र साधकलाई शास्त्रले पुरोहित भनेको छ । टपरा उठाउँदैमा पुरोहित र राजस्व खाँदैमा मानिस राजनीतिज्ञ हुँदैन । ‘पुरस+हित’ बाट बन्यो, पुरोहित । पुरस+हित अर्थात आफूभन्दा अगाडिको मानिसको हित (परोपकार) गर्ने मात्र पुरोहित ठहरिन्छ । राष्ट्रमा सबैले अरू नागरिकको हित चिताउँदा त्यो राष्ट्र स्वतः सुरक्षित, शान्त, संस्कारी र समृद्ध बन्दै जान्छ ।
राष्ट्रलाई आफूअनुकूलको प्रणाली वा ‘लोकतन्त्र’ उपलव्ध गराउने काम त विदेशी शक्तिले पनि गराएका छन् । तर राष्ट्रिय स्वाभिमान जोगाउन प्रबल राष्ट्रवादी नेतृत्व नै चाहिन्छ । प्रजातन्त्रप्रति संसारमै उत्साह हराउँदै त छैन भन्ने प्रश्न गर्दै एमए हुसेनले लेखेका छन्– ‘चीनले दशकौँदेखि एकतन्त्री व्यवस्थामा पनि आर्थिक र प्राविधिक क्षेत्रमा तरक्की गरेकै छ । भारतीय जनता पार्टी उग्र–राष्ट्रवाद र क्रान्तिकारी हिन्दुत्व बोकेर हिँडेको छ । देशभक्तिको खोल ओढेर कठोर शासन चलाइरहेको छ, टर्की । रसिया र चीनले हिँडिरहेको बाटो पो सही थियो कि भनेर संसारले सोच्ने अवस्था आउँछ कुनै दिन ।’ (द हिमालय अंग्रेजी दैनिक, डिसेम्बर ८, २०२०)
‘प्रजातन्त्रवादी नेतृ’ भनेर पश्चिमी राष्ट्रले प्रशंसा गरे, आङसाङ सुचीलाई । उनले म्यान्माँ (बर्मा) को प्राकृतिक र भूगर्भका स्रोत–साधन विदेशीलाई बुझाएर बेठीक गरेको हुसेनको आरोप छ । कर्णेल गद्दाफी मारिएपछि लिबियाको र सद्दाम हुसेनको अवसानपछि इराकको बेहाल भएको उनको तर्क गलत छैन ।
प्रजातन्त्र, जनता र राष्ट्रियताको बलियो आधार बन्न सकेन भने असफल हुन्छ । भोको पेटले तन्त्र बुझ्दैन । भुँडी भर्ने मन्त्र मात्र बुझ्छ । बेरोजगारी, अभाव, असुरक्षा, विषमता र विदेशी हस्तक्षेपले राष्ट्र नै जर्जर भएका बेला जनताले राष्ट्र बचाउन बलियो र दिगो शक्ति खोज्नु स्वाभाविक हो । तर होहल्ला र प्रतिक्रियाले मात्र स्थायित्व ल्याउँदैन । राष्ट्रको गहन जिम्मेवारी लिन चाहने नेतृत्वले भविष्यको राष्ट्रिय मूलनीति, त्यसको कार्यान्वयन गर्न÷गराउन सक्ने योग्य, इमानदार र स्वाभिमानी पात्रहरूको चयन एवं कूटनीतिक सन्तुलनको चाँजोपाँजो बेलैमा मिलाउनुपर्ने हुन्छ । यसका लागि राष्ट्रघातीबाहेकका सबै व्यक्ति र शक्तिको सहयोग आवश्यक पर्छ ।
सत्ताइस वर्ष जेलमा बसेर दक्षिण अफ्रिकालाई गोराहरूको शोषण र शासनबाट मुक्त गर्ने नेल्सन मन्डेलाले एफडब्ल्यु डे क्लार्कलाई उपराष्ट्रपति बनाएर राष्ट्र बनाउन र बचाउन गोराहरूको सहयोग चाहिन्छ भन्ने सन्देश दिए । सन् १९८९ देखि पाँच वर्ष राष्ट्रपति भएका डे क्लार्कले दुई वर्ष उपराष्ट्रपति भएर काम गरे । राष्ट्रिय एकता बचाउन उदार व्यवहार देखाए मन्डेला र डे क्लार्कले । विभिन्न दोकान खोलेर बसेका नेपालका केही ‘राजावादी’ र अरू दलका नेताले पनि यस्ता राजनीतिक घटनाबाट शिक्षा लिनुपर्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हठ गर्नुहुँदैन ।
संवैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्रमा जाने निर्णय स्वीकार गरेर जनता, राजगद्दीका उत्तराधिकारी र सेनाले नवीन परिस्थिति स्वीकार गरेमा गणतन्त्रको सट्टा गनतन्त्र (बन्दूकतन्त्र) आए पनि त्यसलाई घाउ चिर्दाको पीडा मानेर जनताले केही वर्ष सहन सक्लान् । तर राष्ट्र बलियो भएपछि हामी सबै सबल बन्छौँ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । सत्ता परिवर्तन मात्रै जनताले खोजेका होइनन्, रूपान्तरण खोजेका छन् । त्यो भनेको राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, समृद्धि र हरेक नेपालीको सुखद भविष्यको प्रत्याभूति पनि हो ।
प्रकाशित: २६ मंसिर २०७७ ०३:३२ शुक्रबार