१३ मंसिर २०७७ शनिबार
विचार

के भयो यस्तो ?

बाइरोडको बाटोमा

मुलुक यतिबेला कोरोना कहरले निसासिएको छ।जनताबाट मुलुक सञ्चालनको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आफ्नै पिरले चाउरिएको छ।झण्डै कोरोना कहरसँगै सुरु भएको नेकपाभित्रको यो विवाद कचल्टिँदै गएको छ।यसको रोग प्रतिरोध क्षमता (एन्टिबडी) पनि नबन्ने देखिँदैछ।बरु आमनागरिकले कोरोनासँग लडेर ‘एन्टिबडी’ बनाइरहेका छन्।सत्तारुढ दलको भने आन्तरिक र बाह्य दुवै क्षति भइसकेको छ।

गुट, फुट र विभाजन कम्युनिस्ट पार्टीभित्रका अपरिहार्य भाइरस हुन्।यसका नेताले आफूलाई ‘वैज्ञानिक’ सिद्धान्तमा आधारित ठान्छन्।अन्ततः तिनले आफूलाई ‘वैज्ञानिक’ होइन, अधिनायकवादी बनाउँछन्।आफू शक्तिमा पुगेपछि लागेको गर्न पाउनुपर्छ भन्ने तिनको व्यवहार हुन्छ।परिवर्तनका निम्ति सँगै यात्रा गरेकामध्ये थोरै नेतृत्वमा पुग्छन् र तिनले गर्ने व्यवहारले फेरि अर्को एउटा कम्युनिस्ट पार्टी जन्मन्छ।त्यसैले ‘संसारभरका मजदूर एक हौँ’ भन्दाभन्दै ती अनेकौँ पार्टी बनाउने अभियानमा लागिसकेका हुन्छन्।

आफ्नै मुलुकको नेकपालाई हेरौँ।नेकपा बन्ने बेलाका सपनालाई फेरि एकपटक स्मरण गरौँ।यो दलले प्रचण्ड बहुमत पाउनुमा हाम्रा केही रहरले काम गरेको छ, ती हुन्– स्थायित्व र विकास।हामीलाई लाग्यो– यो मुलुकको विकास नहुनुको कारण अस्थिरता हो।एउटा बलियो सरकार हुने हो भने मुलुकमा विकास सम्भव छ।यो मुलुकमा सरकार कहिल्यै टिकेनन्, त्यसकारण सकेसम्म एउटै दललाई यो जिम्मा दिनुपर्छ भन्ने मान्यता बलियो बनेको हो।तर यो मान्यता पनि भत्किसकेको छ।बलियो सरकारले पनि नेपालमा केही गर्न सक्दो रहेनछ भन्ने पुष्टि भइसकेको छ।

अनि एकैछिन फर्केर हेरौँ, नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार बनेका सुरुका दिन।सुरुका केही महिना अब केही हुन्छ भन्ने भावना आममानिसमा देखिएको हो।यही गतिमा काम हुने भयो भने देश पनि बन्ने भयो, ओली आफूलाई मुलुकका महान् नेता लेखाउन सफल हुने भए जस्ता चर्चा हुन थालेका पनि हुन्।केही महिना बित्दै गएपछि परिस्थिति कसरी सोचेभन्दा फरक हुँदै गयो आमस्मृतिमा अहिले पनि ताजा छ ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच सहयात्रा थालनी भयो नेकपाको नयाँ ब्रान्डिङमा।इतिहासमा नेकपा भन्ने दल स्थापनाको कथा मात्र पढेका कार्यकर्ताका निम्ति यो जस्तो आदर्श परिस्थिति केही हुँदैनथ्यो।दश वर्षे सशस्त्र ‘जनयुद्ध’ गरेर आएका पुष्पकमल दाहाल आफ्नो दललाई एमालेसँग मिलाएर नयाँ दलमा समाहित हुने कुरा कुनैबेला कल्पनातीत थियो।राजनीति भनेको सबै सम्भावनाको खेल हो भन्ने सन्देश दिन वर्तमान राजनीतिक नेतृत्व सफल भएको पनि हो ।

यसलाई सुविधाको राजनीति भने पनि हुन्छ।राजनीतिमा उपलब्धि हुने भयो भने जस्तोसुकै निर्णय गर्न नेताहरू तयार हुन्छन्।त्यसमा पनि कम्युनिस्ट पार्टीले परिस्थिति आफूअनुकूल छ/छैन भनी अल्पकालीन र दीर्घकालीन रणनीतिको साँचोमा राखेर हेर्ने गर्छ।आफूलाई चाहिने भयो भने जुनसुकै परिस्थितिलाई तिनले अपनाउने गर्छन्।

परिवर्तन ल्याउन हाम्रो राजनीतिक नेतृत्व सफल देखिएको छ।हामीले बितेका ३० वर्षमा जे÷जस्ता परिस्थिति अनुभव ग¥यौँ, त्यसको श्रेय दलहरूलाई जान्छ।तर तिनले यो मुलुकमा पद्धति बसाल्ने काम भने गर्न सकेनन्।यतिबेला ओलीको शैली हेरे पुग्छ।उनमा शासन सञ्चालन क्षमता देखिएन।शासन सञ्चालन मात्र होइन, आफ्नो दलभित्रको व्यवस्थापनमा पनि उनी कमजोर देखिए।

वास्तवमा ओलीलाई अहिले शासन सञ्चालन सबैभन्दा सहज थियो।सरकार ढल्ने अवस्था थिएन।बलियो सरकार भएपछि छिमेकीले पनि यसमा कुनै प्रभाव पार्न सक्ने थिएनन्।ओलीका निम्ति अहिले शीर्ष नेताहरूसँगको विवादले परिस्थिति प्रतिकूल बनाउँदै लगेको छ।ओलीलाई सबैभन्दा माथिका आफूसहित नौ जना नेताको व्यवस्थापन ठूलो समस्या भइरहेको छ।नौजना नेता भन्दा पनि दाहालसँगको सम्बन्धलाई ओलीले राम्ररी व्यवस्थापन गर्न सकेनन्।

ओलीले आफ्नो दलका यी शीर्ष नेताहरूसँग नियमित परामर्शमा काम गरेका भए कुनै अवरोध आउने थिएन।सबैजना आफूसँगै विगतमा काम गरेका नेता हुन्।उनीहरूसँग सल्लाह गर्दै अगाडि बढेका भए को उनीविरुद्ध जान्थ्यो होला र ? देशमा धमाधम विकासका काम भइरहेको छ, दलभित्र हार्दिकता छ र आममानिस सन्तुष्ट छन् भने अरूको गुनासोको कुनै अर्थ हुँदैन।यो परिस्थिति आउनुपछाडिको कारणबारे आफैँतिर फर्केर हेर्दा जवाफ प्राप्त हुन सक्छ।जवाफ मात्र होइन, समाधान पनि त्यहीँ छ।

राजनीतिमा दिएका वचनको पालना हुन सकेन भने त्यसले विश्वासको संकट ल्याउँछ।हामीले विगतमा धेरै पटक विश्वासको संकटले राजनीतिमा ल्याएको गतिरोध देखेका छौँ।दलबीच विश्वासको संकट बढ्दै जाँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिएर निर्वाचन गराउनुपर्नाको कारण यही थियो।अहिले नेकपाभित्र जुन अविश्वास देखिँदैछ, त्यसबाट दुर्घटनाको सम्भावना देखिँदैछ।नेकपारूपी जहाजका दुई पाइलटको विश्वास यतिबेला कहाँ पुग्यो ? यो के कारणले भएको होला ?  

हामीकहाँ एउटा साह्रै सुन्दर भनाइ छ– बस्न पाएँ भनेर थ्याच्च नबस्नू, बोल्न पाएँ भनेर प्याच्च नबोल्नू।बोलिसकेपछि सकिन्छ।वास्तवमा नेकपाभित्रको अहिलेको समस्या बोलीबाट सिर्जित हो।ओलीलाई धेरैले मन नपराउने कारण उनले काम नगरेका कारणले मात्र होइन जोसुकैलाई प्याच्च भनेका छन्।धेरै मानिसले चित्त दुखाएका छन्।हुँदाहुँदा उनको निकट भनिएकाहरूले समेत उनकै शैलीमा बोल्ने गरेका छन्।ओलीले जसरी बोल्छन्, त्यसले जति दुखाउँछ, त्योभन्दा बढ्ता उनका मानिसले गर्ने व्यवहारले खत्तम बनाउँछ।

नेकपाका दुई पाइलटले जहाज उडाउन्जेल अन्य नेता चूप बसेका थिए।जति पेलिनुपरे पनि तिनले कुनै गुनासो गर्ने ठाउँ थिएन।नेकपा भनेकै ओलीले आर्जन गरेको जस्तो एउटा ‘डिस्कोर्स’ सिर्जना भइरहेको थियो।उनी प्रायः अरूलाई चक्मा दिएर काम गरिरहेका थिए।नेकपा बनाउने बेलामा होस् वा सिके राउत जस्ता विखण्डनकारीलाई शान्तिपूर्ण मार्गमा ल्याउँदा होस्, उनको चामत्कारिक व्यक्तित्व देखिएकै हो ।

ओलीको चामत्कारिक व्यक्तित्वलाई थोरै मात्रै सन्तुलित व्यवहारबाट अरू उन्नत अवस्थामा लैजान सक्ने थियो।स्वास्थ्यलाभको कामना गर्ने शीर्ष नेता माधवकुमार नेपाललाई ‘तपाईँको शुभकामना चाहिँदैन’ भन्नुपथ्र्यो र ? त्यो बेला त्यति प्याच्च नबोलेका भए आज परिस्थिति सहज बनाउन उनकै भूमिका हुँदैनथ्यो र ? केन्द्रीय सचिवालयकै सबैभन्दा जेठा नेता वामदेव गौतमलाई बेलाबेलामा नबिच्क्याएको भए फरक पर्दैनथ्यो र ? झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ जस्ता नेताहरू व्यावहारिक छैनन् र ?  

वास्तवमा ओली पक्षका मानिस भन्ने गर्छन्– उहाँ माधव नेपाल पार्टी नेतृत्वमा रहेका बेला परित्यक्त जस्तो हुनुहुन्थ्यो।उहाँले पर्खेर अहिलेको उपलब्धि हासिल गर्नुभएको हो।निश्चय नै ओलीको पर्खिन सक्ने क्षमतालाई मान्न सकिन्छ।तर तत्कालीन एमालेको नेतृत्व रहेका बेला ओलीको उपस्थिति रहेको बिर्सन मिल्दैन।२०५१ सालमा नेकपाको पहिलो नौ महिने सरकार बन्दा ओली गृहमन्त्री थिए।वास्तवमा उनको क्षमताको चर्चा त्यही बेला भएको होइन र ? तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहराले भनेका थिए– हाम्रा गृहमन्त्रीको त मुखमै सरस्वती बसेकी छन् ।

महाकाली सन्धि हुँदा माधव नेपाल र केपी ओलीको जोडीले खेलेको भूमिका कसैले बिर्सेको छ र ? त्यसैगरी पार्टी विभाजन हुँदा फेरि उसैगरी यी दुईले पूर्ववत् अवस्थामा ल्याउन भूमिका खेलेका हुन्।त्यतिबेला पनि एमालेमा विवाद भइरहन्थे।तिनका बैठक निरन्तर चल्थे।तर त्यसको व्यवस्थापन हुन्थ्यो।त्यसैले अहिले पनि विवादको समाधान छैन भन्ने होइन।

त्यतिबेलाको जल्दोबल्दो माले र मनमोहन अधिकारी जस्ता शालीन नेताको पार्टी नेकपा (माक्र्सवादी) को एकीकरणको प्रसंग अहिले सम्झे हुन्छ।अधिकारीको नेकपा (माक्र्सवादी) का नेताहरू तत्कालीन मालेका नेताभन्दा परिपक्व थिए।मालेका नेताहरूमा जोश थियो।त्यो परिपक्वता र जोशको मिलन नेकपा (एमाले) थियो।एमालेलाई पछि नेपाली कांग्रेसको विकल्पका रूपमा हेर्न थालियो।यसको लोकतन्त्रप्रतिको विश्वासमा कसैले शंका गरेन।

अतः अहिले नेकपा नेताहरूले त्यो विगत इतिहास हेर्लान् ? दलको एकीकरण भएर नेकपा भए पनि पूर्वएमाले र माओवादी बनिरहेको र संघर्षमा लागेको देख्दा आफ्नै विगततिर एकपटक हेर्ने हो कि ? प्रचण्ड पनि अब बाहिरका होइनन्, त्यही पार्टीका एक अध्यक्ष हुन्।अहिलेको परिस्थिति मिलाएर जान सन्तुलित व्यवहार मात्र आवश्यक हो कि ? राजनीतिक छिर्के दाउभन्दा समन्वयकारी व्यक्तित्व अहिलेको आवश्यकता हो।

प्रकाशित: ७ मंसिर २०७७ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App