२१ फाल्गुन २०७७ शुक्रबार
विचार

बाघ–मानव द्वन्द्व: समाधानका मार्ग

वन तथा वातावरण मन्त्रालयले सन् २०१८ सेप्टेम्बर २३ मा हरेक वर्ष मनाइने संरक्षण दिवसको अवसर पारेर नेपालको तराईमा रहेका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा रहेका बाघको संख्या २३५ रहेको सार्वजनिक ग-यो जुन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा सबैभन्दा रुचाइएको विषय बन्यो। यसको कारण थियो– सन् २०१० मा विश्वका १४ मुलुक (हाल प्राकृतिक बासस्थानमा बाघ पाइने) र अन्य कैयौँ सहयोगी दातृ राष्ट्र (जहाँका जंगलमा प्राकृतिकरूपमा बाघ पाइँदैन) द्वारा गरिएको बाघको संख्या प्राकृतिक बासस्थानमा दोब्बर गर्ने प्रतिबद्धताको नजिक थियो नेपाल।  

सफलताको मुख्य कारण थिए– बाघको बासस्थानमा सुधार, बाघ र बाघका आहारा प्रजातिको चोरी सिकारी नियन्त्रणमा गरिएका नीतिगत व्यवस्था, भू–परिधिस्तरीय कार्यक्रम सञ्चालन, बाघ तथा अन्य वन्यजन्तु एक संरक्षण क्षेत्रबाट अर्को संरक्षण क्षेत्रमा ओहोरदोहोर गर्ने जैविक मार्गहरूमा वनको पुनस्र्थापना, सरोकारवालाहरूको सहयोग, अन्तरदेशीय समन्वय, अग्रपंक्तिका संरक्षणकर्मीहरूको लगाव तथा बृहत् स्थानीय समुदायको बाघ संरक्षणप्रतिको सकारात्मक भाव र सक्रिय सहभागिता।

उक्त सफलतासँगै आएको अवसर र चुलिएको चुनौतीबारे गहनरूपमा छलफल भई आगामी समयका लागि दीर्घकालीन रणनीति, योजना तथा कार्यक्रमहरू तय गर्न अध्ययन, अनुसन्धान, सिकाइहरू गर्दैगर्दा दुई वर्ष बितेको छ। विगत केही हप्ताको अन्तरालमा पश्चिम तराईको बर्दिया राष्ट्रिय निकुञ्ज वरपर बस्ने झन्डै आधा दर्जन नागरिकले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्। तीमध्ये तीन जना बाघको वासस्थान क्षेत्रमा वनजन्य सामग्री संकलन गर्ने क्रममा बाघको आक्रमणमा परेका छन्। बाघ र मानवबीचको बढ्दो द्वन्द्व तथा समग्र वन्यजन्तु र मानवबीचको नकारात्मक अन्तरक्रियाका लगातार घटना निरन्तर भइरहेका छन्।  

बाघ संरक्षणको सफलता र चुनौती हेर्दा नीति निर्माता, संरक्षित क्षेत्र/वन क्षेत्रका व्यवस्थापक, संरक्षण साझेदार र समुदायलाई आगामी दिनका लागि मार्ग तय गर्न सम्भावित उपायहरूको खोजीलाई यस लेखमा मुख्यरूपमा केन्द्रित गरिएको छ। अन्तरक्रिया वा द्वन्द्व जे भने तापनि चाहे मानव र मानव, मानव र वन्यजन्तु वा मानव र समग्र प्रकृति, जुनसुकै होस् दुईतर्फी हुन्छन् र स्वभावतः दुवैको उत्तिकै भलो (अति फाइदा) हुने संयोग तुलनात्मकरूपमा कमै हुन्छ। तर नेपालको संरक्षण इतिहासको गति हेर्दा विश्वमैं उदाहरणीय केही अवधारणा नीतिगतरूपमा स्थापित भएका छन र अभ्यासमा उत्कृष्ट ठहरिएका छन्।  

उदाहरणका लागि मध्यवर्ती क्षेत्रमा बस्ने जनताले राष्ट्रिय निकुञ्जलाई प्राप्त हुने राजश्वको ३० देखि ५० प्रतिशत संरक्षण र दिगो विकासका लागि प्राप्त गर्छन्। प्राप्त आर्थिक स्रोतहरू स्थानीय समुदायले स्थानीय स्तरमा वन्यजन्तु संरक्षणका क्रममा आइपर्ने समस्या सम्बोधन गर्न र दिगो विकासका काममा प्रयोग गर्न सक्छन्। साथै, नेपालको विद्यमान भौगोलिक तथा आर्थिक सामाजिक परिवेशलाई मध्यविन्दुमा राखेर हेर्दा मानव र वन्यजन्तुको अन्तरसम्बन्ध प्रशस्त सकारात्मक बनाउन सकिने उदाहरणका रूपमा नेपालका संरक्षित्र क्षेत्र वरपरका केही समुदायले फस्टाउँदो पर्या–पर्यटन (सामुदायिक होमस्टेलगायत) बाट लिएको फाइदालाई लिन सकिन्छ।

परम्परागतरूपमा बाघ र मानवबीचको सम्बन्ध हेर्दा एकअर्काको परिपूरक रहिआएका देखिन्छ। जस्तै– औलो उन्मूलनअगाडि तराई क्षेत्रमा बसोबास गर्ने थारू, बोटे माझी, मुसहरलगायत जातजातिको संरक्षणमा योगदानले वन्यजन्तुको बासस्थान प्राकृतिकरूपमा सुरक्षित थिए भने बाघलगायतका जंगली जनावरको हिँडडुलमा कुनै अवरोध नहुनाले कुनै द्वन्द्वको अवस्था थिएन। पहिलो संरक्षण क्षेत्र (चितवन राष्ट्रिय निकुञ्ज) स्थापनापश्चातका विगतका करिव आधा शताब्दी समयक्रममा भएका चाहे तराईको वन खुम्चँदो क्षेत्र होस् वा बढ्दो मानव बस्तीका कारण वन तथा खेतीयोग्य क्षेत्रको खण्डीकरण, तिनले बाघ र वन्यजस्तुको बासस्थान क्षेत्रमा कमी आउँदा मान्छे र बाघ आमने/सामने हुने अवस्था आएका छन्।  

बाघ र मानिस दुवैका लागि बदलिँदो पर्यावरणीय परिस्थिति, जस्तै– बाघका लागि सिकार तथा पानीको स्रोतको उपलब्धतामा आएको परिवर्तन पनि जिम्मेवार हुने कुरा अध्ययनहरू देखाउँछन् तर राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रहरूमा बाघको आहारा प्रजाति र पानीमा आएको कमीले बाघ तथा अन्य मांसाहारी प्राणीहरू जंगलबाट बस्तीमा आएको कुराको ठोस वैज्ञानिक आधारहरू भने नेपालमा प्रशस्त भेटिँदैनन्। बाघ कम हिंस्रक र लजालु मांसाहारी प्राणी हो जो शान्त वातावरण भएको ठूलो वन क्षेत्रलाई आफ्नो इलाका कायम गरेर बस्न रुचाउँछ। उसको सबैभन्दा उपयुक्त बासस्थान भनेको नदीतटीय वन क्षेत्र हुन् जहाँ प्रशस्त मृगलगायतका प्रजातिको बाक्लो संख्यामा उपस्थिति हुन्छ र आवश्यक परेको बेला पानीको स्रोत उपलब्ध हुन्छ।  

हालसम्मका बाघ र मानिस आमने/सामने भएका घटनाको विश्लेषण भएका अध्ययनले द्वन्द्व धेरैजसो मान्छेका आनीबानी र सामाजिक कारण (जसले बाघको बासस्थान भएका पारिस्थितिकीय प्रणालीमा खलबल पु-याएका छन्) बाट भएका देखिन्छन्। बाघका जैविक गतिविधिहरू खल्बलिएकै कारण द्वन्द्व बढ्दो छ भनेर निक्र्यौल गर्ने बेला भएको छैन किनकि बाघसम्बन्धी अनुसन्धानका थुप्रै पक्षको उचित गहिराइ नाप्न अझै  बाँकी छ। तर हालसम्मका अध्ययन÷अनुसन्धानबाट उपलब्ध जानकारीहरू बाघको बासस्थान वरपर बस्ने स्थानीय समुदायको पहुँचमा सरल र सहजरूपमा पुग्न पनि थप पहलको आवश्यकता देखिन्छ। जस्तै– बाघको आनीबानी, हिँडडुल जुन कुरा पछिल्लो दशकका मानवीय तथा वातावरणीय कारणले परिवर्तन पनि भएका हुन सक्छन्। अझ महत्वपूर्ण कुरा अध्ययनहरूको निष्कर्ष वा ज्ञानको अर्थ स्थानीय वनका उपभोक्ता, अग्रपंक्तिका संरक्षणकर्मी, नीति निर्माता र अन्य सरोकारवालाको सजिलो र बुझ्ने भाषामा पहुँच पुग्न लाग्ने समय पनि धेरै छ।

सामाजिक दृष्टिकोणबाट हेर्दा बाघ र मानिसको असमन्जस्यतामा वृद्धि हुनुका कारणहरूमा मानिसमा बाघको आनीबानीबारे पर्याप्त सूचना र जानकारीको कमी मुख्य देखिन्छ। बाघको संख्या वृद्धि हुँदा वा जंगलबाहिर बाघको उपस्थिति बढी देखिएमा कसरी सम्बन्धित संरक्षित क्षेत्रका अग्रपंक्तिका कर्मचारीले त्यो वरपरका समुदायलाई सुसूचित गराउने भन्ने कुरा महत्वपूर्ण हुन्छ र सँगसँगै अनुशासिततवरले मानिसका व्यवहारमा पनि परिवर्तन आउनुपर्छ। बिहानको पारिलो घाम तथा सूर्यास्तको वरिपरि बाघ सिकार गर्न सक्रिय देखिन्छ, सोही समय बाघको बासस्थान वरिपरि च्याउ, निउरो र घाँसपात संकलन गर्ने मानिसलाई बाघले आक्रमण गरेको घटना सुनिन्छ।  

विभिन्न दुर्घटनाबाट आउने सिकाइको नजरअन्दाज र जंगल आसपासका बस्तीमा रहेका मानिसको आनीबानी पनि उत्तिकै जिम्मेवार हुन सक्छन्। वनजन्य वस्तुहरूमा निर्भर घर/परिवार पहिचान गरी वैकल्पिक स्रोतको व्यवस्था गर्न सकेमा दुर्घटना कम गर्न सकिन्छ। संरचनागतरूपमा विकास गरिने छेकबारलगायतको प्रयोग बाघ–मानव द्वन्द्व नियन्त्रणमा त्यति प्रभावकारी भएको पाइएको छैन। ठाउँ र घटनाविशेष उपयुक्त कदमहरू, जस्तै– एकै ठाउँमा धेरै मानिसको ज्यान जोखिममा परेको अवस्थामा बाघमा मान्छे मार्ने बानी परेको छ भन्ने बुझाइ भएमा निकुञ्जलगायत संस्थाले बाघलाई नियन्त्रणमा लिई ठाउँ स्थानान्तरण गर्ने जस्ता कदम सम्बन्धित संरक्षण क्षेत्र कार्यालयहरूले लिइराखेका छन्।

अबको बाटो  
पर्याप्त जनचेतना, मानिसको आनीबानीमा सुधार, बाघको मुख्य बासस्थान क्षेत्रहरू आसपासका अव्यवस्थित बस्तीको सम्बोधन, वनजन्य पदार्थमा आश्रित समुदाय तथा घर/परिवारको वैकल्पिक जीविकोपार्जन तथा आयआर्जनको व्यवस्थालगायत आइपर्ने दुर्घटनाको प्रतिकार्यमा अझ सम्बन्धित क्षेत्रमा रहेका युवा स्वयंसेवी समूहहरू, वन उपभोक्ता समितिहरू, मध्यवर्ती उपभोक्ता समितिहरू, डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज कार्यालयहरू क्रियाशील हुनुपर्ने देखिन्छ। यथाशक्य छिटो प्रतिकार्य गर्दा पीडितमा पर्ने प्रभाव कम आवेशात्मक हुने तथा धेरै नकारात्मक पनि नहुने हुन्छ जसले सामाजिकरूपमा संरक्षणप्रतिको सकारात्मक भावलाई कायम राख्न मद्दत पु-याउँछ। यसका लागि बृहत् सरोकारवालाको सहभागितासहितको दीर्घकालीन सोचको टड्कारो आवश्यकता छ।  

वन्यजन्तुबाट हुने जनधनको क्षतिलाई प्राकृतिकरूपमा आउने दैवीप्रकोपको संज्ञा दिइ तत्काल राहत, पीडितको पुनस्र्थापना तथा क्षतिपूर्तिका लागि जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिको संलग्नताबाट प्रकोपको प्रभाव सम्बोधन गर्न पनि सकिन्छ। प्रकोप भएको जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुन सक्ने सहयोग उच्चतम तहमा प्रयोग गरी घटनाको यथाशक्य छिटो सम्बोधन गर्नुपर्छ। प्राकृतिक कारणले ज्यान गुमाउन पुगेका व्यक्तिका छोराछोरीको पठनपाठन, बेसाहरा बन्न पुगेका एकल व्यक्तिका लागि उचित दक्ष ज्ञान प्रदान तथा साना तथा मझौला स्तरका स्थानीयरूपमा उद्यम सञ्चालन गर्न सबैको सहयोग पनि जुटाउन सजिलो हुन्छ।  

यसरी प्रकोपको सामूहिकरूपमा सम्बोधन गर्दा सामुदायिक संस्था, जस्तै– सामुदायिक वन उपभोक्ता समिति, मध्यवर्ती उपभोक्ता समितिलाई अग्रपंक्तिमा राखेर कार्यक्रमको अनुगमन तथा दिगोपना पनि कायम हुन सक्छ। स्थानीय स्वयंसेवकहरूको सुरक्षित परिचालन, जस्तै– बाघको विचरण क्षेत्र वरपर पर्ने बस्तीहरूमा स्थानीय युवाहरूको सञ्जालको प्रयोग उचित जनचेतना प्रवाहका लागि प्रभावकारी देखिन्छ। स्थानीय स्रोत व्यक्तिहरूको विकास गरेर वन्यजन्तुको आनीबानीका बारेमा नियमित जनचेतना कायम राख्न सकेमा मात्र पनि मानवीय भूलबाट हुने क्षति कम गर्न सकिन्छ।

बाघको विचरण क्षेत्र तुलनात्मकरूपमा धेरै हुने भएकाले विद्यमान आर्थिक तथा सामाजिक पक्षलाई ध्यानमा राखी तराई भू–परिधि क्षेत्रको संरक्षण रणनीतिलाई २०१८ को बाघ गणनाको परिणाम, हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्पन्न गरेको बाघको पारिस्थितकीय भारबहन क्षमता (इकोलोजिकल क्यारिङ क्यापासिटी) अध्ययन प्रतिवेदन, विगतका  वर्षहरूमा रेकर्ड गरिएका मानव–बाघ द्वन्द्वको संख्यात्मक अवस्था, विश्वव्यापीरूपमा आउन सक्ने कोभिड–१९ जस्तै महामारी, हाल चालु रहेका र योजनामा रहेका ठूला भौतिक पूर्वाधारहरूको प्रभावलाई आकलन गरी परिमार्जन गर्नुपर्ने देखिन्छ।  

त्यसमा पनि अति जोखिममा पर्ने समुदाय र वर्गलाई सुरक्षित गर्नु र बाघ तथा अन्य वन्यजन्तुको बासस्थानलाई प्रभावकारी व्यवस्थापन गर्ने काम आवश्यक मात्रामा र अति प्रभावित क्षेत्रमा भइनसकेकाले आगामी दिनमा अझ धेरै गनुपर्ने देखिन्छ। द्वन्द्वका घटनाको संख्या र घटनाका प्रकृतिहरूको जानकारी संकलन र विश्लेषण गरेर आगामी दिनका रणनीतिहरू बनाउने काम उत्तिकै महत्वपूर्ण छन्। सबै समस्याको एकै समाधान हुन नसक्ने कुरामा दुई मत कसैको छैन। त्यसैले बाढी, पहिरो जस्तै प्राकृतिक विपद्का रूपमा मानव (वन्यजन्तु) बाघको द्वन्द्वलाई हेरी बृहत् सरोकारवालाको सहयोगमा समस्याको धेरै हदसम्म निदान गर्न सकिन्छ।
(डब्लुडब्लुएफ नेपालमा तराई तथा जीविकोपार्जन कार्यक्रम प्रमुखका रूपमा कार्यरत।)

प्रकाशित: २४ कार्तिक २०७७ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App