coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कस्तो राष्ट्रियता?

विश्वेश्वरप्रसाद कोइराला जननिर्वाचित प्रधानमन्त्री भएका बेला भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा वक्तव्य दिँदै 'हाम्रो महान् देशको उत्तरी सीमा विशाल हिमाल हो' भनेपछि नेपाली प्रधानमन्त्रीले जोडदारसँग विरोधपत्र लेखी पठाउँदा ठूलो हलचलै मच्चिएको थियो। तत्काल नेहरूले आफ्नो बोली फिर्ता लिए र गल्ती स्वीकार गरेका थिए। अहिले ठीक यसको विपरीत तिनै विदेशी मन्त्री र तिनका कर्मचारीसमेत 'अहिलेका नेपालका शासकहरूलाई हामीले सत्तामा पुर्‍याएका हौँ' भनी विनाहिचकिचाहट उद्घोष गर्छन्। तर, सत्तासीनले विरोध त के चुँसम्म गरेको सुनिँदैन। बरु हाम्रा लागि 'विदेशी प्रभु' दाहिना भएछन्' भनेर मख्ख पर्ने स्थिति देखिन्छ। यस्तो देख्दा/सुन्दा र बीपीको त्यस्तो शानमान सम्झँदा अहिलेको स्थितिले चाहिँ सम्पूर्ण सचेत नेपाली बुद्धिजीवी वर्गको शिर लाजले निहुरिएको छ।
विश्वमा वीर जातिको देश भनेर चिनिएको नेपालको शासनमान खस्केको छ। साँच्चै भन्ने हो भने मुलुकको वर्तमान स्थितिले राणाकालीन प्रधानमन्त्री वीरशमशेरको पालाको झझल्को आउँछ। वीरशमशेर वकिल बनेर कलकत्ता बस्दा अंग्रेज अधिकारीसँग हिमचिम बढाएकाले विदेशीका हितैषी बनेका थिए। त्यतिबेला वीरशमशेर आफ्ना वंशका भाइ/भतिजालाई मारेर/पन्साएर सत्तासीन भएका थिए। एक हिसाबले भन्ने हो भने नेपालका अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराई पनि 'जनयुद्ध' पछि प्रधानमन्त्री भएका हुन्, जबकि उनीहरूले सञ्चालन गरेको 'जनयुद्ध' मा निमुखा र निहत्था जनताको अनाहकमा हत्या भएको थियो।
त्यतिमात्र होइन, भट्टराईले ५७ वर्षदेखि नेपालीले रोपेको संविधान सभाको बीउ अङ्कुराउनै नदिई निमोठिदिए। र, त्यसपछि उनको शासनशैली निरङ्कुशकतातर्फ उन्मुख छ। सभामुखले 'संविधान सभाको यो बिरुवा ननिमोठौँ, यसलाई बढाएर यसकै छायाँमुनि बसेर हामी अघि बढ्ने बाटो खोज्न सक्छौँ, होइन भने अँध्यारो सुरुङमा जाकिन्छौं' भन्दाभन्दै भट्टराईले त्यो आग्रह सुनेनन्। बरू लेनिनको कार्यलाई आदर्श मानेर महेन्द्रपथ पछ्याउदै अधिनायकी बाटोतिर लागे।
देश विकासमा आधारस्तम्भ बनेको आफ्नो देशको जनशक्तिलाई विदेशिन दिनुहँुदैन भनी जङ्गबहादुरले रोकेका थिए। तर पछि वीरशमशेरले ब्रिटिश अधिकारीलाई रिझाउन गोरखा भर्ती केन्द्र खोल्ने काम गरेका थिए। त्यही बाटो अनुशरण गर्दै अहिलेका प्रधानमन्त्री भट्टराईले आफू पदासीन हुनेबित्तिकै भारत गएर 'बिप्पा' सन्धिमा हस्ताक्षर गरेर आए। 'एयर मार्सल' र एयरपोर्टको स्तर सुधार्ने जस्ता संवेदनशील विषयमा पनि उनी अघि सरिसकेका थिए। विपक्षीको विरोध नहुने र सञ्चार माध्यमद्वारा जनतालाई सचेत नगराएको भए उनले धेरै विवादास्पद सन्धि/सम्झौतामा हस्ताक्षर गरिसकेका हुन्थे।
'स्वदेशको धन विदेशिन दिनुहँुदैन, स्वदेशमै स्वदेशी साधनस्रोतद्वारा उत्पादन बढाएर स्वदेशी महाजनद्वारा नै निकासी गरेर धन खैँचेर आफ्नो देशलाई सुखी, समृद्धशाली र बलियो बनाउनुपर्छ, खाद्य पदार्थ, लाउने बस्त्र, बस्ने बास अर्थात् गास, बास, कपास जनता सबैमा पुग्नुपर्छ, 'जनता मोटा-बलिया भए दरबार पनि बलियो हुन्छ' भन्ने पृथ्वीनारायणको विचार थियो। यो भावना जङ्गबहादुरमा पनि थियो, उनले देशको धन पनि विदेशिन नदिने नीति कडाइका साथ पालना गराएका थिए। 'जनबल धनबल स्वदेशमै रहनुपर्छ' भन्ने उनको दृढ धारणा थियो। निरङ्कुश शासक भए पनि यस्तो विदेशमा धनजन नपठाउने नियम पछिसम्म प्रतिपालन गरेको देखिन्छ। वीरशमशेरले यो नीति नियम तोडेर आफू सत्ताशक्तिमा पुग्नासाथ नेपालको धन विदेशी बैङ्कमा लगेर थन्काए। तोडाका तोडा, बोराका बोरा सुन चाँदी नगद विदेशी बैङ्कमा ओइरो लाग्यो।
अहिलेका हाम्रा 'मितव्ययी' प्रधानमन्त्री बाबुराम भट्टराईले चाहिँ राज्यको ढुकुटीको धन विभिन्न बहानामा आफन्त र कार्यकर्तालाई बाँडिरहेका छन्। जताततै फजुल खर्चमा धन ओइराइएको छ। जनताको रगत पसिना बगाएर सञ्चित गरेको ढुकुटीको धन आफ्नै लडाकुलाई बाँड्न झिकेकोमा पनि हिनामिना भएको छ। यो कस्तो मितव्ययिता हो?
अर्को कुरा गरिबका घरमा महिनैपिच्छे पाहुना लाग्न जाने प्रधानमन्त्रीको देखावटी शैली पनि विचित्रकै छ। यो क्रम उनले भारतका गान्धीवादी नेताको अनुकरणमा गरेका होलान्। यसका प्रवर्तक गान्धीले त सच्चा मनले समाज सुधारको ध्येयले यस्तो गरेका थिए। कछाड कसेर लगौटी लाएर सादगी स्वरूपले पैदल हिँडेर गरिब दलितकोमा पुग्ोर रुखासुखा खाएर बस्थे। कट्टर गान्धीवादका विरोधी हुँ भन्ने यी प्रधानमन्त्री बाबुराम भने हेलिकप्टरमा सवार भएर लावालस्कर लिएर टाइसुटमा सजिएर तामझामसँग गरिबकोमा पुग्छन् र भोज भतेर जमाउँछन्, गरिबको हिमायती हुँ भन्ने देखाउन गरेको उनको यो शैली गरिब देशको ढुकुटीमात्र रित्याउने खेल हो। किनकि प्रत्येकपल्ट उनको भ्रमणमा पन्ध्र/सोह्र लाख रूपियाँ खर्च हुने गरेको छ।
सिंहदरबारलाई गरिबको घर पुर्‍याएँ भनेर गर्व गर्छन्। अघिका राणा प्रधानमन्त्री पनि यसरी नै दरबारबाट निस्केर शयर शिकारमा गाउँ जङ्गलमा पुग्थे, देश भ्रमण गर्थे तर बाबुरामले जस्तो दरबार गरिबकोमा र जङ्गलमा पुर्‍याएँचाहिँ भन्दैनथे। उनको चाला पनि जनताले देखे/सुनेकै हुन्। अहिले यिनको पनि देख्दैछन्। अघि जनताले बुझ्दैनथे, अहिले सबैले यिनको कूटनीति बुझिसकेका छन्। आचार्य कौटिल्यले भनेअनुसार यस्ता कुरा धूर्त लक्षणमै मिल्छन्। राणाशासक जनतालाई भुसुनासरी ठान्थे। जुनसुकै व्यवस्थामा पनि अधिनायकवादी सोच भएका मान्छे आफूलाई सबैभन्दा जान्ने बुझ्ने र जनतालाई गन्दै नगन्ने हुँदारहेछन्। अहिलेका प्रधानमन्त्री भट्टराई पनि 'म नभई देशै चल्दैन, भताभुङ्ग हुन्छ' भन्ने प्रतिक्रिया दिन्छन्। सर्वाङ्ग नाङ्गिदासम्म पनि अधिनायकवादी चरित्र भएका व्यक्तिले आफूलाई राम्रै ठान्छन्।
अर्को उनको मितव्ययिताको नाटक थियो मुस्ताङ जीप। शपथ नखाँदै उनी यसमा सवार हुन थाले, अहो! उनको कत्रो वाहवाही चल्यो, कति नेपाली पत्रकारहरूले उनलाई आकाशै पुर्‍याए, अब गरिब देशको ढुकुटी बढ्ने भो भनेर। परन्तु उनको यो पनि कुटिल विज्ञापन थियो। उनका आफन्त, मन्त्री, कर्मचारीहरू प्रायः करोड पर्ने कारमा सवार भएर उनकै आसपास दौडिरहेकै थिए। आफ्नो उत्पादनको खपतका लागि व्यापारी, सिनेमाका निर्माता, नायक/खलनायकहरुले मात्रै करोडौँ खर्च गरेर विज्ञापन गराउँछन्। तर यहाँ नेपाली शासनका नायक स्वयं विज्ञापक बनिदिए। कस्तो विडम्बना!
अहिले नेपालका सत्तासीन शासकहरूको शक्तिकेन्द्रका विषयमा अनेकौं बहस हुन थालेका छन्। जे होस्, उनीहरूको भनाइ र गराइमा फरकपना देखिन्छ। तैपनि उनीहरू शक्तिशाली बनिरहेका छन्। सत्ताको, सम्पत्तिको सुखलाभ लिइरहेका छन्। तर स्वतन्त्र राष्ट्रको स्वाभिमानी जनताका लागि भने राम्रो देखिँदैन। 'एक लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्' अर्थात् एउटा लाज पचाएपछि संसार जितिन्छ भनेजस्तै भएको छ। तर उल्टै उनै देशको परिवर्तनकारी जनपक्षीय प्रगतिशील शक्ति हाँैं भन्दै फलाक्न थाक्दैनन्। देशप्रेमी, राष्ट्रभक्त, स्वतन्त्र राष्ट्रको शिर ठाडो पार्न चाहने, स्वाभिमानी राष्ट्रवादीहरूचाहिँ उनीहरूको नजरमा प्रतिगामी, परम्परावादी, परवर्तनविरोधी छन्। अथात् त्यस्तो कित्तामा दर्ज गर्न खोजिँदैछ। तर वास्तविकताको रहस्य खुलेपछि, जनजागरण बढेपछि र सबैमा चेतना जागेपछि मात्र सार्वभौम स्वतन्त्र नेपाल र नेपालीको शिर उँचो हुनेछ।

प्रकाशित: २ माघ २०६९ २२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App