१० मंसिर २०७७ बुधबार
विचार

भारतका दलित नेता रामविलास पासवानलाई सम्झिँदा

फाइल तस्बिर : रामविलास पासवान

यही अक्टोबर ९ तारिख बिहानै मेरो मोबाइलमा टुङटङ  आवाज आयो। अनेक म्यासेज आइरहने हुँदा सधैंजस्तो वास्ता गरिनँ। तर केही क्षणपछि मोबाइल खोल्दा भारतका उपभोक्ता सरोकार तथा खाद्य वितरणमन्त्री रामविलास पासवानको देहावसान भएको खबर रहेछ! त्यसपछि केही भारतीय च्यानल हेरें, उनको निधनबारे खासै ठूलो खबर बनाइएको रहेनछ। 

विहारको हाजीपुरबाट आजीवनजस्तो सांसद बनेका र कांग्रेस वा भाजपा, जसकाे सरकार होस्, मन्त्री पद लिन सफल, त्यसमा पनि बहालवाला मन्त्रीको निधन भएकाे घटनालाई सामान्य रूपमा लिइएको देख्दा मलाई आश्चर्य लाग्यो। अनि नेपालमै रहेका उनलाई नजिकबाट चिन्ने केही व्यक्तिलाई सम्पर्क गरें। उनीहरूसँग मैले भारतको दलित आन्दोलनमा नेता पासवानको के विशिष्ट योगदान छ भन्ने जिज्ञासा राखें। तर उल्लेख्य पक्ष केही नभएको जानकारी पाएँ।

विहारको हाजीपुरबाट आजीवनजस्तो सांसद बनेका र कांग्रेस वा भाजपा, जसकाे सरकार होस्, मन्त्री पद लिन सफल, त्यसमा पनि बहालवाला मन्त्रीको निधन भएकाे घटनालाई सामान्य रूपमा लिइएको देख्दा मलाई आश्चर्य लाग्यो।

तर उनै त्यस्ता दलित नेता हुन्, जाे अम्बेडकरद्वारा स्थापित आरक्षण कोटाको धेरै लाभ लिनेमध्ये एक थिए भन्दा अत्युक्ति नहोला। भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।  

यहाँ भने उनकाे नेपाल साइनबारे चर्चा गर्न चाहन्छु। रामविलास पासवान- आजीवन सार्वजनिक पदमा मात्र हाेइन, धेरैजसो भारत सरकारको मन्त्री रहे। लगभग नेपालका गच्छदारजस्तै। जुनसुकै पार्टीको सरकार भए पनि त्यसमा सहजै अटाउने उनी सक्रिय राजनीतिक जीवनमा चारपटक नेपाल आएको देखिन्छ। नेपालका केही दलित नेता उनलाई भारतमा बारम्बार भेटेर आउने गरेका थिए। तर भेटबाट उनीहरूले तथा नेपालको दलित आन्दोलनले के लाभ लिए त भनेर गम्दा खासै केही देखिन्न। 

उनकाे तेस्रो नेपाल-भ्रमण हुनुपर्छ- याे पंक्तिकार पनि उनीसँग लगभग २ दिन बिताउने अवसर पाएको थियो। प्रथम संविधान सभाको चुनावपछि प्रचण्ड प्रधानमन्त्री थिए। नेता पासवानलाई नेपालमा ल्याउने चाँजो मिलाएका थिए- नेपालका दलित नेता विश्वेन्द्र पासवानले। त्यतिबेला उनी पनि सभासद थिए। संसदमा एक्लै रोस्टम घेरेर चर्चामा आएका उनको सम्बन्ध प्रचण्डसँग पनि राम्रै थियो। 

रामविलासलाई विश्वेन्द्रले वीरगन्जमा आफ्नो पार्टी दलित जनजाति पार्टीको एउटा विशेष भेलाको उद्घाटन तथा सम्बोधन गराउन नेपाल झिकाएका थिए। जतिबेला रामविलास रसायन तथा मलमन्त्री थिए। विश्वेन्द्र पासवानको निजी पहलमा भएको भ्रमण भए पनि उनले नेपालमा राम्रै स्वागत पाए, जसकाे व्यवस्था सरकारी तथा जनस्तरबाट भएका थिए। 

त्यतिबेला विश्वेन्द्रसँग मेरो राम्रो चिनजान तथा भारतीय मन्त्री रामविलासको भ्रमण सहज बनाउन पनि भूमिका खेलेको हुँदा मैले उनलाई स्वागत गर्न जाने क्रममा जीवनमा पहिलोपटक विमानस्थलको भिआइपी कक्षमा जाने अवसर पाएकाे थिएँ। दिल्लीबाट सीधै काठमाडौं अवतरण भएपछि बुद्ध एयरको सिमरा उडानबाट वीरगन्ज जाने कार्यक्रम थियाे। तर उडान झन्डै २ घण्टा ढिला भएकाले उनीसँग केही संवाद गर्ने अवसर प्राप्त भयाे। रामविलास बहालवाला मन्त्री भएकाले उनकाे स्वागतका लागि नेपालका लागि भारतीय राजदूत राकेश सुद पनि विमानस्थल पुगेका थिए। 

दुवै सँगै भएको अवसर उपयोग गर्दै मैले भारतीय दूतावासले नेपालमा लाखौं रुपैयाँ छात्रवृत्ति बाँड्ने तथा भारतमा पनि पढ्ने अवसर दिने गरेकाे तर त्यसबाट यहाँका कुनै दलितले फाइदा लिन नसकेका कुरा जानकारी गराएँ। साथै भारतले आफ्ना दलितका लागि विशेष आरक्षण व्यवस्था गर्न सक्छ भने नेपालका दलितका लागि पनि त्यस्ताे केही व्यवस्था गर्न सक्दैन भनेर पनि सोधें। 

भारतीय दूतावासले वितरण गर्ने छात्रवृत्तिमा भारततका दलितले तिरेको कर पनि हुने तथा त्यहाँका दलित र यहाँका दलितबीच भाइचारा सम्बन्धसमेत भएको हुँदा भारतीय दूतावासले नेपालमा वितरण गर्ने छात्रवृत्ति तथा अन्य विकासका सहयोगमा यहाँका दलितको पनि हक हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि राखें। यो कुरालाई मन्त्री रामविलासले गम्भीरतपूर्वक सुने र स्पष्टीकरण माग्ने शैलीमा राकेश सुदलाई प्रश्नसमेत गरे। तर राजदूत सुदले यसकाे खासै प्रस्ट जवाफ दिएनन् र विषय पन्छाउने काम मात्र गरे। 

भोलिपल्ट अघिल्लो दिनकै कार्यक्रम सकाएर रामविलास पुनः काठमाडौं आए र हामी उनलाई डोमेस्टिक टर्मिनलमा स्वागत गर्न पुग्यौं। भ्रमण निजी भए पनि भारतका बहालवाला मन्त्री भएको हुँदा उनका विषयमा नेपाली सञ्चारमाध्यमले महत्वसाथ समाचार बनाउलान् भन्ने अपेक्षा गरिएकाे थियो, तर सीताराम यचुरी, जो सांसद र भाकपाका नेता हुनुबाहेक अन्य महत्वपूर्ण पदमा नहुँदासमेत उनीबारे यथेष्ट समाचार बनाउने नेपाली सञ्चारमाध्यमले रामविलासको भ्रमणलाई भने पूरै उपेक्षा गरे। 

अन्यले त गरे गरे, सरकारी समाचार संस्था रासस र गोरखापत्रले समेत मतलब गरेनन्। हामीसँगको भेटमा उनले आफ्नो भ्रमणबारे के समाचार छ भनेर सोधे। उनी सञ्चारमाध्यममा निकै चासाे दिने नेता रहेछन् र आफ्नै मातहत तीन/चारवटा अखबार प्रकाशन गराउँदा रहेछन्। तर आफ्नाबारे नेपाली सञ्चारमाध्यमले समाचारै बनाएनन् भन्ने सुन्दा उनी एकछिन स्तब्धै भए।

निर्धारित कार्यक्रमअनुसार उनको औपचारिक भेटघाट कार्यक्रम प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राष्ट्रपति रामवरण यादवसँग थियो। भेटघाटमा मैले पनि विश्वेन्द्र पासवान सँगसँगै हिँड्ने मौका पाएको थिएँ। हरेक भेटघाट दुई किसिमका थिए। पहिलो चरणमा प्रतिनिधिमण्डलका सबै सदस्यले औपचारिक भेटघाट गर्न पाउने रहेछन्। अनि दोस्रो चरणमा दुई जनाबीच मात्र गोप्य भेटघाट हुने रहेछ। यो नियम नेपालका उल्लिखित तीनै जना शीर्षस्थ नेतासँगका भेटमा लागू भयाे।

हामी भएका बेला सामान्य कुराकानी र दुई देशको हितबारे छलफल भए। दाेस्राे पटककाे व्यक्तिगत छलफलमा के कुरा भए, मेरो जानकारीमा आएन। त्यतिबेला नेपालकाे संविधान निर्माण चरणमा थियो। अतः विश्वेन्द्रजी र मेरो चाहना रामविलासको भ्रमणमार्फत संविधानमा दलितका अजेन्डाले प्राथमिकता पाउन् भन्ने थियो। खासगरी प्रचण्ड र गिरिजामार्फत नेपालको संविधान निर्माणमा भारतीय शीर्षस्थ दलित नेताको पनि चासो छ भन्ने ध्यानाकर्षण गराउनु थियो। 

पहिलो संविधान सभाले दलित समुदायको राजनीतिक प्रतिनिधित्व गराउँदा जनसंख्याको अनुपातअनुसार दिइने कोटाअन्तर्गत क्षतिपूर्तिस्वरूप केन्द्रमा ३, प्रदेशमा ५ र स्थानीय तहमा १० प्रतिशत अतिरिक्त सिट व्यवस्था गर्ने कुरालाई सैद्धान्तिक रूपमै अंगीकार गरेकाे थियो, तर त्याे प्रावधान दोस्रो संविधान सभामा आइपुग्दा कता हरायो, पत्ताे नै पाइएन। 

नेपालका तीन जना भिआइपीसँग भेटघाटपछि भारतीय दलित नेता रामविलासले होटल एभरेस्ट सेराटनमा दलित तथा केही गैरदलित अगुवाको विशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो। तर त्यही दिन दिउँसो ४ बजे दिल्ली फिर्ती उडान पनि भएको हुँदा उनले धेरै समय दिन पाएनन्। मेरोसमेत विशेष पहल र सहयोगमा कार्यक्रम आयोजना भएको हुँदा मैले दलितका सवाल राख्ने अवसर पाएँ। लिखित सम्बाेधन क्रममा मैले अघिल्लो दिन विमानस्थलमा भनेका कुरा पनि दोहोर्‍याएँ। र, नेपाल-भारतका दलितबीच कायम भाइचारा सम्बन्धको व्याख्या गरें। तर नेता रामविलास, आफ्नो संक्षिप्त सम्बोधनमा मैले उठाएका विषयमा खासै प्रवेश गरेनन्, नचाहेर हाे वा नसक्ने भएर, आजसम्म मैले बुझ्न सकेको छैन।

विश्वेन्द्रजीले आफ्नो सम्बोधनमा उनलाई पटकपटक दलितका मसिहा भनेर सम्मान दिइरहनुभएको थियो, तर त्यसको हकदार उनी नभएको मेरो ठहर छ। 

सोचें- भारतको एउटा बहालवाला मन्त्रीले आफ्नै देशको दूतावासले दिने छात्रवृत्तिमा सम्बन्धित देश (नेपाल) का दलितलाई पनि प्राथमिकता देऊ भन्न पनि नसक्ने, मन्त्रीको हैसियत कस्ताे हाे! नेपालबाट फर्केपछि पनि उनले आफ्नो देशको परराष्ट्र मन्त्रालयमार्फत नेपालका दलितका लागि केही व्यवस्था गर्न लगाउलान् भन्ने ठूलो आशा गरेकाे थिएँ, तर त्यसो गरिएको कहिल्यै सुन्न पाइएन। विश्वेन्द्रजीले आफ्नो सम्बोधनमा उनलाई पटकपटक दलितका मसिहा भनेर सम्मान दिइरहनुभएको थियो, तर त्यसको हकदार उनी नभएको मेरो ठहर छ। 

अहिले रामविलास पासवान दिवंगत भइसकेका छन्। जाे जीवनभर दलितकै नाम र राजनीतिमार्फत लाभको पद लिन सफल भइरहे, तर उनको त्यत्रो राजनीतिक उचाइबाट आम दलितले के पाए, मैले अहिलेसम्म थाहा पाउन सकेको छैन। तर पनि उनमा नेपालको संविधानमा दलितका अजेन्डाले प्राथमिकता पाउन् भन्ने चाहना देखिन्थ्यो। त्यसलाई दुई छिमेकी देशका दलित समुदायबीचको एउटा विशिष्ट सद्भावका रूपमा लिनुपर्छ भन्ने मेरो धारणा छ।  

अन्त्यमा, नेता रामविलास पासवानप्रति हार्दिक श्रद्धान्जलि! 

प्रकाशित: १४ कार्तिक २०७७ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App