१० कार्तिक २०७७ सोमबार
विचार

‘नायक’का अनिल कपुर र कुलमान घिसिङ

मैले केही दिनअघि एउटा स्थापित अनलाइनमा एउटा खबर पढें, जसको शीर्षक थियो- इन्भर्टर र जेनेरेटरको व्यापार बढ्दा व्यवसायी चकित। खबरअनुसार त्यस्तो व्यापार बढ्नुमा मुख्य कारण थियो- अघोषित रूपमा झ्याप्पझ्याप्प बत्ती जानु, विद्यार्थीको अनलाइन कक्षा चल्नु र विद्युत् प्राधिकरणबाट कुलमनको बर्हिगमन। केही समयका लागि बत्ती त कुलमानका पालामा पनि गइरहन्थ्यो, तर उनी त्यहाँ हुँदासम्म लोडसेडिङ हुँदैन भन्ने हामी सबैको बुझाइ थियो। तर उनको बहिर्गमनपछि चितुवा कराउनु र बाख्रा हराउनु एकैचोटि भएको हो वा नियोजित हो, छुट्याउन गाह्रो छ।  

बलिउड अभिनेता अनिल कपुरले अभिनय गरेकाे ‘नायक’ फिल्मका विभिन्न दृश्य र परिदृश्यसँग कुलमानको नियति मिल्ने भएको हुँदा त्यसकै सेरोफेरोमा यो आलेख तयार पारेको छु।  

किनभने कुलमानभन्दा अघिका प्राधिकरणका निर्देशकले तामाकोसी परियाेजना बने पनि लोडसेडिङ पूर्ण रूपमा अन्त्य हुँदैन भनेका थिए। त्यसैलाई आधार मानेर पनि हुन सक्छ- व्यापारीहरूले प्रशस्तै सोलार, इन्भर्टर र जेनेरेटर ल्याएका थिए, अहिले रोकिएको त्यसको व्यापार बढाउन प्राधिकरणले विद्युत् अनियमितता गर्न खोजेको हो भन्ने आम जनताको बुझाइ छ। 

हुन त ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका उच्चपदस्थ अधिकारीलाई बोलाएर प्रणाली दुरुस्त राख्न निर्देशन दिएका छन्। यो देखावटी हो वा साँच्चै नागरिकले अविछिन्न रूपमा बिजुली उपभोग गर्न पाउँछन्, त्यो त भविष्यले नै बताउला।  

उनको बहिर्गमनपछि चितुवा कराउनु र बाख्रा हराउनु एकैचोटि भएको हो वा नियोजित हो, छुट्याउन गाह्रो छ।  

कुलमान प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभन्दा पहिलेका निर्देशक चाहे अर्जुन कार्की हुन् चाहे मुकेश काफ्ले दुवैले सावर्जनिक कार्यक्रममा पटकपटक तामाकोसी बनिसकेपछि पनि जबसम्म कुलेखानीजस्ता जलाशय प्रकृतिका विद्युत् गृह बन्दैनन् तबसम्म लोडसेडिङ अन्त्य हुँदैन अर्थात् अमरिश पुरी प्रवृत्तिमै लोडसेडिङ समस्या कसैले समाधान गर्न सक्दैन भन्ने हो। चिलिमे जलविद्युत् आयोजनामा प्राधिकरणअन्तर्गतको कम्पनी बनाएर त्यसमा जनतालाई पनि सामेल गराएर एउटा आकर्षक प्रतिफल दिने कम्पनी खडा गरेका व्यक्तिलाई ऊर्जामन्त्री राधा ज्ञवालीले सरुवा गरेर जिम्मेवारीविहीन अतिरिक्त समूहमा ल्याएर थन्क्याइदिइन्। 

अहिले कुलमानका पक्षमा भइरहेको सडक आन्दोलन र सामाजिक सञ्जालमा हुने बहस केही मत्थर भएको देखिन्छ। यता कुलमानलाई सरकारले पुनर्नियुक्त पनि गरेको छैन र अन्त कतै पठाउँछ कि भन्ने पनि स्पष्ट छैन। स्वंय कुलमानले भविष्यको योजना के बुनिरहेका छन् भन्ने पनि सार्वजनिक भएको छैन। अहिले देखिएको सन्नाटालाई बलिउड अभिनेता अनिल कपुरले अभिनय गरेकाे ‘नायक’ फिल्मका विभिन्न दृश्य र परिदृश्यसँग कुलमानको नियति मिल्ने भएको हुँदा त्यसकै सेरोफेरोमा यो आलेख तयार पारेको छु।  

अनिल कुपर एउटा पत्रकार हुन्छन्। एकदिन अन्तर्वार्ताका क्रममा उनले कडा प्रश्न गरेर प्रदेशका मुख्यमन्त्री (अमरिश पुरी) लाई हायलकायल पार्छन्। प्रदेशमा विकास हुन नसकेको र भ्रष्टाचार भएको भनेर प्रश्न गर्छन्। तर मुख्यमन्त्रीले राज्य आफ्नो तवरले ठीकसँग सञ्चालन गरेको दाबी गर्छन्। तर अन्तर्वार्ता लिने पत्रकारले विभिन्न तथ्य प्रस्तुत गर्दै मुख्यमन्त्रीको दाबीलाई गलत साबित गरिदिन्छन्।

त्यसरी प्रश्न गर्ने पत्रकारलाई ती मुख्यमन्त्रीले एकदिन भए पनि मुख्यमन्त्री बनेर देखाउन चुनाैती दिन्छन्। सुरुमा त्यत्रो ठूलो जिम्मेवारी लिन नसक्ने भन्दै पन्छिन खोजेका पत्रकार मुख्यमन्त्रीले निकै कर गरेपछि अन्ततः एकदिनकाे मुख्यमन्त्री बन्न तयार हुन्छन्। 

एकदिनका लागि मुख्यमन्त्री भएका पत्रकार अनिल कपुरलाई अनेक समस्या आइपर्छन्। समस्या समाधान गर्ने उनको अनौठो शैलीअनुसार उनले जसले भ्रष्टाचार गर्छ, उसलाई तुरुन्तै निलम्बन गरिदिन्छन् र गलत गर्नेहरूमा भय पैदा गराउँछन्। चलचित्र अगाडि बढ्दै जाने क्रममा कलेज पढ्ने छात्रालाई गुण्डाहरूले विभिन्न प्रकारका हिंसा गरिरहेका हुन्छन्, तर त्यो रोक्न स्थानीय प्रहरीले केही पनि गरेको हुँदैन। त्यसलाई राजनीतिको संरक्षण प्राप्त ठूलो गुण्डा नाइकेले सञ्चालन गरेको हुन्छ। त्यस्तो गुण्डा नाइकेलाई ठीक पार्न उनी मैदानमै उत्रिएर उनीहरूसँग ‘फाइट’ गर्छन्।  

यो प्रसंगलाई कुलमानसँग जोड्दा, विभिन्न विद्युत् आयोजना तथा प्रसारण लाइन बनाउने क्रममा खासगरी ठूला राजनीतिक पार्टीमा संरक्षण प्राप्त नेता तथा कार्यकर्ताले वा माफियाले विभिन्न अवरोध खडा गरेर कि परियोजना बिथोल्ने कि मुआब्जाका नाममा ठूलो करम असुल्ने गर्छन्। त्यस्तासँग कतिपय अवस्थामा परियोजनाकै कर्मचारीको समेत मिलेमतो हुन्छ भन्ने समाचार पनि सुनिन्छ। यस्तो प्रवृत्ति रोक्न कुलमान आफैं गएका छन्।

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल छ, जसमा त्रिशूली करिडोरमा बनिरहेको प्रसारण लाइनलाई अवरोध गर्ने एक स्थानीय नेतालाई अनिल कपुरले फिल्ममा गरेजस्तै फाइट नगरे पनि निकै ठूलो स्वरमा हप्काउँदै उनलाई प्रशासन लगाएर थुनिदिनेसम्मका कुरा गरेका छन्। त्यसले एउटा नायकले कस्तो कस्तो भूमिका निर्वाह गर्नुपर्दो रहेछ भन्ने देखाउँछ। त्यति मात्र होइन, वर्षौंदेखि अलमलिइरहेको काबेली करिडोरको प्रसारण लाइनलाई पनि उनी आफंै गएर स्थानीयसँग वार्ता गरी मिलाएका छन्। यसरी फिल्डमै गएर उनीभन्दा अघिका निर्देशकहरूले समस्या समाधान गरेको समाचार वा भिडियो हेर्न पाइएको छैन।  

एकदिनको मुख्यमन्त्री हँुदा नायक अनिल कपुरले अनियमिततामा संलग्न सबैलाई कारबाही गर्छन्, कर छलेर गरिएका सबै व्यापारका सञ्चालकलाई आह्वान गर्दै करको दायराभित्र ल्याउँछन् र भ्रष्टाचारको मुख्य जड स्वंय मुख्यमन्त्री अमरिश पुरीलाई उनले गिरफ्तार गराएर जेल पठाउँछन्। यी सबै काम गर्दा उनले भनिरहेका हुन्छन्, ‘मैले कुनै ठूलो काम गरेको छैन, मैले त केवल एउटा मुख्यमन्त्रीले जे काम गर्नुपर्ने हो, त्यही मात्र गरेको हुँ।’ यसैगरी हाम्रा कुलमानले पनि विद्युत् प्राधिकरणमा आएर कुनै नयाँ वा ठूलो काम गरेका होइनन्, एउटा प्राधिकरण निर्देशकले जे गर्नु पर्ने हो, त्यति गरेका हुन्।  

एकदिनको मुख्यमन्त्री हुँदा उनले जे काम गरे तापनि उनमा कुनै ठूलो महत्वाकांक्षा पलाएको हुँदैन। एउटा पत्रकारका रूपमा उनले आफ्नो जागिरलाई निरन्तरता दिँदै आफ्ना आमा, बुबा र श्रीमतीसहितको परिवारको कल्पना गरेका हुन्छन्, जुन एउटा आम मान्छेको चाहना हुने गर्छ। तर सत्ताले उनलाई ठूलो चुनौती ठान्छ र उनलाई प्रताडित गर्न थाल्छ। त्यस क्रममा महानगरपालिकाले उनको घर नै भत्काइदिन्छ। अहिले बलिउड अभिनेत्री कंगना रणावतको कार्यालय भवन उद्धव ठाकरेको सरकारले भत्काएजस्तै। 

यस्तैमा अनिल कपुरलाई विभिन्न पार्टीले आफ्ना दलमा आबद्ध हुन आग्रह गर्दै प्रलोभन देखाउँछन्।  यस्तै नेपालका विभिन्न ससाना पार्टीका नेता÷कार्यकर्ता, जसले माइतीघर मण्डलामा आन्दोलन गरेर आफ्ना टाउका समेत प्रहरीको लाठीबाट फुटाएका छन्, ले कुलमानलाई आफ्नो पार्टीको नेतृत्व गर्न लगाउँछौं र उनलाई हामी देशको प्रधानमन्त्रीमा प्रस्ताव गर्छौं भनिरहेका छन्।  

उल्लिखित चलचित्रमा एउटा बडो मार्मिक अर्थात् अनिल कपुरको जीवनलाई नयाँ मोड दिने दृश्य छ। उनी आफैं विभिन्न पार्टीले प्रलोभन देखाए तापनि एउटा पत्रकारकै रूपमा रहेर सामान्य जीवन जिउन चाहन्छन्। ठीक त्यसैगरी अहिले कुलमानको मौनता हेर्दा उनले पनि एउटा सामान्य जीवन नै जिउन चाहेको तथा कसैको आग्रह वा प्रलोभनमा पर्न नचाहेको देखिन्छ। अनिल कपुरकी पे्रमिका (रानी मुखर्जी) र उनका बाबुले राजनीतिलाई एउटा फोहोरी खेल ठान्छन् र प्रेमिकालाई श्रीमतीका रूपमा पाउने हो भने राजनीतिको फोहोरमा जान नहुने सर्त राख्छन्। 

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल छ, जसमा त्रिशूली करिडोरमा बनिरहेको प्रसारण लाइनलाई अवरोध गर्ने एक स्थानीय नेतालाई अनिल कपुरले फिल्ममा गरेजस्तै फाइट नगरे पनि निकै ठूलो स्वरमा हप्काउँदै उनलाई प्रशासन लगाएर थुनिदिनेसम्मका कुरा गरेका छन्। 

अनिल कपुले एकदिनको मुख्यमन्त्रीका रूपमा गरेको काम जनताले महसुस गरेका हुन्छन् र उनले आगामी सरकारको नेतृत्व गर्नुपर्छ भन्दै विशाल संख्या भेला हुन्छन् र त्यो देख्दासम्म पनि उनले राजनीतिमा प्रवेश गर्ने चाहना राख्दैनन्। जब एउटा अपाहिज (अपांगता भएका) किशोरले उनलाई भन्छ– ‘मेरो देश मजस्तै अपाहिज छ, त्यसलाई सपाहिज बनाउने कोही छैन?’ यसपछि भने अनिल कपुर एकाएक राजनीतिमा संलग्न हुने मनस्थितिमा पुग्छन् र अन्ततः विभिन्न बाधा÷अड्चन पार गर्दै प्रदेशलाई समृद्ध बनाउँछन्।  

उनबाट देशको ठूलो तप्का खासगरी युवा जमातले सकेसम्म विद्युत् प्राधिकरणमै नभए कुनै सार्वजनिक जीवन त्यसमा पनि राजनीतिमा आएर देशको कायापलट गर्ने अभियानको नेतृत्व गरुन् भन्ने देखिएको छ।

अहिले कुलमानको नियति पनि अब उनले कुन बाटो लिन्छन् भन्नेमा आएर अड्किएको देखिन्छ। एकातर्फ उनीसँग विद्युत् क्षेत्रको प्राविधिक र व्यवस्थापकीय सीप छ, जुन सीपको प्रयोग गरेर कुनै जलविद्युत् कम्पनीको नेतृत्व गरेर तनावरहित सुखी पारिवारिक जीवन जिउन सक्छन्। अर्कातर्फ उनबाट देशको ठूलो तप्का खासगरी युवा जमातले सकेसम्म विद्युत् प्राधिकरणमै नभए कुनै सार्वजनिक जीवन त्यसमा पनि राजनीतिमा आएर देशको कायापलट गर्ने अभियानको नेतृत्व गरुन् भन्ने देखिएको छ। किनभने साच्चै हाम्रो देश नेपालपनि अपाहिज भएको छ, जसलाई सपाहिज बनाउने कोही छैन ?

प्रकाशित: २२ आश्विन २०७७ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App