११ कार्तिक २०७७ मंगलबार
विचार

कुलमान किन ?

अहिले देश पूरै कुलमानमय भएको छ भन्दा अत्युक्ति नहोला। सामाजिक सञ्जालदेखि सडकसम्म उनको समर्थनमा बोल्नेहरू देखिन्छन्। मिडियामा पनि उनीसँग सम्बन्धित समाचार, विचार, अन्तर्वार्ता आइरहेका छन्।  

कुलमान स्वयं भने आफ्ना समर्थकलाई कोरोना महामारीका बेला बाहिर ननिस्कन आह्वान गरिरहेका छन्। आखिर यस्तो किन भइरहेको छ ? यसको समाजशास्त्रीय तथा राजनीतिशास्त्रीय दृष्टिकोणबाट बहस हुनुपर्ने देखिन्छ।

हामी नेपालीले अनेकतन्त्र भोग्दै आएका छौँ। तर, ती कुनै पनि तन्त्रले आमजनताको जीवनमा ताŒिवक भिन्नता ल्याउन नसकेको यथार्थ हो। आधुनिक जीवनको पर्यायका रूपमा लिइन्छ, बिजुलीलाई। हामीले त लोकतन्त्रकालमा पनि १८ घन्टाभन्दा बढी समय बिजुलीविहीन भएर बस्नुप¥यो। यसरी बिजुलीविहीन भएर बस्नुपर्दाको कष्ट आम जनताले कुन हदसम्म व्यहोर्नुपरेको थियो भन्ने आम गृहिणीदेखि ठुल्ठूला व्यक्तिले दिएका अभिव्यक्तिबाट थाहा हुन्छ।  

जब नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा कुलमान आए, लोडसेडिङ कम हुँदै गयो। कुलमानले कुनै चमत्कार गरेका होइनन् भन्ने सबैले बुझेका छन्। उनले आफ्नो व्यावसायिक धर्मअनुसार जे गर्नुपर्ने हो, त्यही गरेका हुन्। त्यति गर्दा उनले यो स्तरको वाहवाही पाउनु, जनता आफ्नो ज्यानको समेत पर्वाह नगरी सडकमा आउनु र प्रहरीको लाठीबुट खानु– यो कस्तो अचम्मलाग्दो विषय हो ?  

०६२÷६३ को जनआन्दोलनताका पनि सुरुसुरुमा दलहरूको स–साना जुलुस नै हुन्थे, पछि त्यसले जनसागरको रूप लिँदा राजतन्त्र नै ढलेको सर्वविदितै छ। अहिले ओलीतन्त्रले पनि त्यही रूपको नियति भोग्नुपर्ला भन्दा त्यो यति बेलासम्म अतिशयोक्ति हुन सक्छ, तर परिस्थिति यस्तै रहिरह्यो र उसले राजतन्त्रले जस्तै आफूलाई सच्याएन भने त्यो नियति भोग्नुनपर्ला भन्न सकिँदैन। आखिर एउटा सहसचिव तहको कर्मचारीका लागि देशमा यस्तो परिस्थिति किन निर्माण भइरहेको छ ?  

अबको कम्तीमा दुई कार्यकाल कुलमानले चलाउन पाए भने नेपालको समृद्धिमा विद्युत् प्राधिकरणको मात्रै एकतिहाइभन्दा बढीको योगदान हुन सक्छ।

विद्वान् बर्तोल्त ब्रेख्तले भनेका छन्, ‘जुन देशले नायक खोजेको हुन्छ, त्यो देश दुर्भाग्यशाली हुन्छ।’

के हामी नेपाली दुर्भाग्यशाली नै भएकाले कुलमानको अनुहारमा हामीले देश हाँक्ने नायक खोजिरहेका छौँ ? हामी धेरैले अनिल कपुर अभिनीत बलिउड चलचित्र ‘नायक’ हेरेको हुनुपर्छ। सो चलचित्रमा अनिल कपुरले कसरी र कुन मूल्यमा एउटा भ्रष्ट राज्यलाई सुशासन र सदाचार सिकाउँछन् भन्ने देखाइएको छ। 

यो त फिल्मी कुरा भयो। मलाई लाग्छ, अहिले धेरै नेपाली तथा देशको हित चाहने आम बुद्धिजीवीले समेत कुलमानमा त्यही बलिउड शैलीको नायकत्व देखेको हो कि ! कुलमानले पनि आफ्नो कार्यकालमा सस्तोमा सिएफएल जिटुजी प्रक्रियाबाट ल्याएर बिजुली बचाउने अभियान चलाउँदा भ्रष्टाचारको आरोप खेप्नुप¥यो र उनले आरोप प्रमाणित भए टुँडिखेलमा झुन्डिएर मर्छु भन्नेसम्मको अभिव्यक्ति दिनुप¥यो। अतः उज्यालो नेपाल बनाउनमा उनले पनि कम सास्ती र अवरोध भोग्नुनपरेको होला भन्न सकिँदैन। त्यसैले पनि उनी वास्तविक जीवनको नायक साबित भइसकेका छन्।  

उनले ३५ अर्ब सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा मात्र ल्याएनन्, सो अवधिमा हामी उपभोक्ताले विद्युत् मूल्यवृद्धिको चर्को भार पनि खेप्नुपरेन। त्यसको बारेमा अत्यन्त कम चर्चा भएको हामी देख्छौँ। अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि आयल निगमले भाउ बढाइरहन्छ। उनले एक अन्तर्वार्तामा भनेका छन्– नेपालमा अब बिजुली महँगो हुने होइन, झन् सस्तो हुँदै जान्छ।  

खासगरी निजी क्षेत्रले बनाएका आयोजना ३० वर्षपछि सरकारको स्वामित्वमा आउँछन्। त्यसको सञ्चालन खर्च अत्यन्त कम हुन्छ। साथै त्यो प्राधिकरणको वा राज्यको सम्पत्ति पनि हुने हुँदा अबको पुस्ताले सित्तैमा पनि बिजुली पाउन सक्छन्। त्यति मात्र नभई उनकै कार्यकालमा भारतसँग इनर्जी बैंकको अवधारणा अनुसार विद्युत् आदान–प्रदान गर्ने तथा बंगलादेशलाई बिजुली बेच्ने कुरा पनि सार्वजनिक भयो। भारतको बाटो भएर बंगलादेशलाई बिजुली बेच्नु त्यति सजिलो नहोला, किनभने भारतले नेपालको समृद्धि त्यति देख्न चाहँदैन। 

तर, त्यसमा सरकारले राम्रो नीति लियो र नेपाल, भारत तथा बंगलादेशको संयुक्त उपक्रम भएका कम्पनीमार्फत उत्पादन तथा प्रसारणका परियोजना सञ्चालन गर्न सक्यो भने बंगलादेशसँगको विद्युत् व्यापार सजिलो हुन सक्छ। तर, यसका लागि कुलमानजस्तो इमानदार तथा दूरदृष्टि प्रशासकको जरुरत पर्छ। अबको कम्तीमा दुई कार्यकाल कुलमानले चलाउन पाए भने नेपालको समृद्धिमा विद्युत् प्राधिकरणको मात्रै एकतिहाइभन्दा बढीको योगदान हुन सक्छ। बंगलादेशले अबको ४० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने भनिसकेको छ। अहिले हाम्रो आफ्नै उत्पादन १३ सय मेगावाट हुँदा त लगभग आत्मनिर्भर हुन थालिसक्यौँ भने आगामी तीन वर्षमा उत्पादन हुने पाँच हजार मेघावाटमध्ये एक हजार मेघावाट निर्यात गर्न सक्यौँ भने पनि हाम्रो समृद्धिको ढोका खुल्न सक्छ।  

कुलमानलाई सरकारले पुनर्नियुक्तिको ढोका बन्द गरेको छैन भन्ने खबर बाहिर आइरहेको छ। उनले पुनर्नियुक्ति पाएर विगतको कार्यकालमा जस्तै काम गर्ने मौका पाए भने अहिलेको ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारामा सहयोग पुग्छ नै।  

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भगवान्सँग नेपालमा एउटा असल नेता पठाइदेऊ भनी आग्रह गरेको गीत तथा प्रहसन धेरैपहिले सार्वजनिक गरेका थिए। तीनै मदनकृष्णले स्पष्ट शब्दमा भनेका छन्– कुलमानले देशको ७७ वटै जिल्लामध्ये कुनै पनि ठाउँमा चुनाव जित्न सक्छन्। अर्थात् उनले आफ्नो गीतमा खोजेको जस्तो नायकत्व कुलमानमा देखेको हुनुपर्छ। उनको कामलाई वाहवाही गर्ने तथा उनका लागि ज्यान फाल्न समेत तयार जनताको सेवा उनले कसरी गर्न चाहन्छन् भन्ने स्पष्ट छैन। उनले चाहे भने कुनै पनि ठाउँबाट चुनाव जित्न सक्लान् तर उनी एक्लैले चुनाव जितेर अहिलेको प्रणालीमा तात्विक भिन्नता ल्याउन सक्ने देखिँदैन। यसका लागि उनले राजनीतिक दल खोल्नुप¥यो वा कुनै दलमा समाहित हुनुप-यो, तर त्यो राजनीतिक यात्रा त्यति सजिलो र सहज पक्कै छैन। यसमा कुलमान स्वयं तयार देखिएको छनक पाइँदैन।

 जसरी भारतको दिल्लीमा केजरीवालको पार्टीले दोस्रो चुनावमा त्यहाँको ६० सिटमध्ये ५७ सिटमा विजय हासिले गरेर कांग्रेस आई र बिजेपीको पत्तासाफ गरिदिए, तेस्रो चुनावमा समेत बहुमत ल्याएर सरकार चलाइरहेका छन्। खासगरी बिजुली, खानेपानी तथा सार्वजनिक शिक्षामा जनतालाई देखिने र महसुस हुने सुधार ल्याएका छन्। त्यस्तै खालको काम कुलमानले पनि गर्न सक्छन्। नेपाली जनताले नायकत्व खोजे पनि उनीहरूले नेपाललाई युरोप वा अमेरिकाजस्तो खोजेका छैनन्। जसरी अहिले २४ घन्टा बिजुली आउँदा खुसी छन्, त्यसरी नै शिक्षा, स्वास्थ्य तथा रोजगारको राम्रो वातावरण देशभित्रै बन्दै छ भन्ने अनुभूत मात्रै गर्न पाए पनि जनता रमाउनेछन् र उज्यालो भविष्यको सपना देख्नेछन्। 

प्रकाशित: ११ आश्विन २०७७ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App