११ कार्तिक २०७७ मंगलबार
विचार

जन्मदेखि आर्यघाटसम्मको दूरी

कुनै राज्यका मन्त्रीलाई सपनामा आएर कालराजाले भने– मन्त्री तिम्रो प्रधानमन्त्रीको आयु भोलिको साँझसम्म मात्र छ, साँझको सूर्य डुब्नासाथ मैले तिम्रो प्रधानमन्त्रीलाई लिएर जानुपर्ने हुन्छ । त्यसो त म कसैलाई पनि खबर नगरी आएर आफ्नो काम पूरा गर्छु, यो मेरो नियम हो तर तिम्रो र प्रधानमन्त्रीको सम्बन्ध राम्रो छ अनि मलाई उनको परीक्षा पनि लिने इच्छा भयो र मैले यो जुक्ति लगाइ तिमीमार्फत जानकारी दिने प्रयास गरेँ । भोलि बिहानै उठेर तिमीले यो जानकारी आफ्ना प्रधानमन्त्रीलाई दिनू । उनी अवश्य झस्कने छन् तर उनलाई दुईवटा विकल्प एक बोरा असर्फी र उनको वायुपंखी घोडा उनको अगाडि तयार गरिदिनू र भन्नू– तपाईंको आयु त एक दिनको मात्र छ । यी दुई चिजलाई जीवनको अन्तिम क्षणमा तपाईं जसरी प्रयोग गर्न चाहनुहुन्छ गर्नु रे भनेर सम्झाउनू । मन्त्री निद्राबाट झल्यास्स ब्युँझे, यस्तो साक्षात सपना छ तर विश्वास लागेको छैन । म प्रधानमन्त्रीकहाँ जाउँ कि नजाउँ ? नजाउँ अहिलेसम्म सेवा र साथ दिएँ, उहाँको जीवनको अन्तिम क्षण रहेछ भने त मलाई पश्चाताप हुनेछ । सपनाको खबर लिएर मन्त्री सबेरै प्रधानमन्त्री कहाँ पुगे र सपनाको बेलिबिस्तार लगाए ।  

प्रधानमन्त्री आश्चर्यमा परे ! उनले आफ्नो सपनामा पनि यस्तो सोच्न भ्याएका थिएनन् । तर मन्त्रीको सपना साँचो हो भने त मैले केही गर्नैपर्छ । पाँच मिनेट जति आँखा चिम्ले र मन्त्रीले अगाडि ल्याएर राखिदिएको असर्फीको बोरा घोडाको पिठ्युँमा बाँधेर आफू पनि घोडा चढेर दौडिए । यसरी दौडिए, घोडालाई कुदाएर कि कतै नरोकिइकन, पानीसम्म नपिएर कुदे । सूर्य अस्ताउनै लागेको थियो । अर्को राज्यको सिमानामा पुगे । घोडा रोके, घोडाबाट ओर्लिए र एउटा चौतारीमा आराम गर्न बसे । उनले आफूलाई स्यावासी दिए र घोडालाई पनि किनकि उनी मृत्युलाई झुक्क्याएर आफ्नो ठाउँबाट भागेर छिमेकी राज्यको सिमानामा पुग्न सफल भएका थिए । घोडालाई सुम्सुम्याए, माया गरे जीवनमा पहिलोपटक र भने– कति सेवा गरिस् तैंले मेरो ! आज पनि एकछिन कहीँ नरोकी तैंले यहाँसम्म पु-याइस् ।  

अरूलाई जान्ने र बुझ्ने कोसिस गर्नेले आफ्नो जीवनको गीता आफैँ पढ्न सके कति आनन्ददायक परिवर्तन आउँदो होला जीवनमा । 

यति भनेर टुसुक्क चौतारीमा के बसेका थिए, काल राजाले पछाडिबाट प्रधानमन्त्रीको काँधमा हात राखे र भने– घोडालाई त मैले पनि धन्यवाद दिनुपर्छ । तिम्रो मृत्यु यही स्थानमा हुनुपर्ने थियो तर १२ घण्टामा तिमी कसरी यहाँ पुग्छौ होला भन्ने मलाई चिन्ता थियो । सूर्यास्तसँगै लैजानु थियो मैले तिमीलाई, तिमी ढिलो हुन्छौ कि यहाँ पुग्न भनेर मलाई चिन्ता लागेको थियो तर घोडाले समयमै पु-याइदियो ।  

अर्को अचम्मचाहिँ मलाई के लाग्यो भने तिम्रो यो एक बोरा असर्फी आफ्नै गरिब जनतालाई बाँडेर आउँछौ भन्ने सोचेको थिएँ तर तिमीले त साथमै बोकेर ल्याएछौ । अब यही चौतारीमा राखिदेऊ यसलाई पनि । भोलि यही गाउँका नागरिक आएर बाँडेर लिन्छन् । स्वर्गमा यी सब चिज वर्जित छन् । प्रधानमन्त्री तिमीले आफ्नो अन्तिम १२ घण्टाको समय, आफ्ना परिवार, भाइ भारदार, स्वयंभित्रको अनुभूति गर्न छाडेर तिमी मेरो सम्पत्ति, मलाई नै चाहिन्छ भनेर बोकेर हिँडेछौ । तिमीले परीक्षाका रूपमा पाएको १२ घण्टालाई पनि सही सदुपयोग गर्न सकेनौ ?  

प्रधानमन्त्री राज्यबाट भागे पनि मृत्युबाट भाग्न सकेनन् । जति दौडे पनि, जता भागे पनि मृत्य आफ्नो समयमा आइ नै पुग्छ । त्यतिबेला कवि शिरोमणि लेखनाथ पौड्यालले बुद्धिविनोदमा लेखेका पंक्ति याद गर्नुको विकल्प रहँदैन शायद :

‘कहाँ थियो बास अघि म को थिएँ
कसोगरी यो पिँजडा लिँदो भएँ
कहाँ छ जानु कुन साथ लिकन
तँलाई मालुम छ कि यो कुरा मन’
भन्ने भावको बोध हुने थियो कि ?

प्रत्येक व्यक्तिको जीवनको आयु कति होला ? जन्मदेखि आर्यघाटसम्मको दूरीमा जीवन छ । यो अकाट्य छ, जसले जति धन दिएर, घूस खुवाएर आफ्नो पक्षमा, आफूले चाहेको समयमा आर्यघाट पुग्छु भनेर कुनै तिकडम लगाउनुको अर्थ छैन । कहिले भौतिक द्वन्द्ववाद त कहिले सर्वहारा वर्गका नाममा, कहिले साम्यवाद त कहिले अधिनायकवादका परिभाषा र प्रपञ्च रचे पनि अस्तित्वले सारा प्राणी र चराचर जगतसँग सहअस्तित्व कायम गरेर आफ्नो कार्य गरेको छ । समानता र सन्तुलनको अर्थ प्रकृतिलाई थाहा छ । कतिबेला कहाँ के हुनुपर्ने उसलाई थाहा छ । सूर्योदय र सूर्यास्तको समय हामीले घडी हेरेर केही हुनेवाला छैन, अस्तित्वको घडीअनुसार चलेको हुन्छ । कहिले बादल, कहिले घाम, कहिले पानी, यी सब प्रकृतिको आफ्नो नियम र समयमा चलेको हुन्छ । यिनको कुनै उद्देश्य पनि छैन । अस्तित्वले आफ्ना सिर्जनासँग कहिले र कहाँ द्वन्द्व गरेको छ र ? योग अर्थात् मिलनमा अस्तित्वको संरचना जीवित छ । मानिस त्यही अस्तित्वको एउटा अंश हो ।  मानिस हुनुको गुणवत्ता प्राकृतिक स्वभावमा बाँच्नु हो । तर स्वार्थ, लुट, भ्रष्टाचार, अराजकता, झुट, अन्याय, अनियमितता कहाँबाट भित्रियो ? के अन्यायचाहिँ अनन्तसम्म जीवित रहला ?  

अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसो गरी हो ?
गरी काव्य सुधा–रस–पान अरे
गर मानव जीवन सार्थक रे !

धरणीधर कोइरालाले व्यक्त गरेझैँ यो जीवनलाई सुन्दर बनाउन चाहिने गुण के हुन् ? मानव जीवन सार्थक बनाउन के हुनुपर्ने हो ? रूप, धन, पद, प्रशंसा, सन्तान, परिवार, अध्ययन ? के÷के हुन सक्लान् ? अहँ, यी विशेषण त्यतिबेला सुन्दर लाग्छन् जब व्यक्तिको मन, वचन र कर्म सुन्दर हुन्छन् । जब व्यक्तिसँग जोडिएका विशेषणले व्यावहारिक विशेषता जनाउन र प्रस्तुत गर्न थाल्छन् तब उसको स्वभाव र कर्म सबैलाई प्रिय लाग्छन् । अन्यथा उसको पदलाई कसैले मूल्य दिँदैन । जबसम्म प्रत्येक मनुष्यको जन्म र मृत्युको विशेषता उस्तै रहन्छ तबसम्म अस्तित्वले कोही उच र निच, सम्पन्न र गरिवबीचको भेदभाव छुट्टयाउन आवश्यक ठान्दैन । जन्मँदा साथमा के लिएर आयो र मृत्युको क्षणमा साथमा के लिएर जान्छ ? जन्मँदा मनुष्य भएर बाँच्ने संकल्प लिएर आउँछ र मृत्यु हुँदा उसको शील, स्वभाव, प्रेम र परोपकारी भावको गुणगान लिएर जान्छ । अन्यथा आफ्ना घमण्ड, भ्रष्ट आचरण, अराजकता, चतु¥याइँ सबै छाडेरै जानुपर्ने हुन्छ ।  

कोही किन बाठो र चतु¥याइँ बन्न खोज्छ ? कोही किन अरूलाई ठगेर, लुटेर, जीवनको अंकगणित मिलाएर सबैलाई मूर्ख बनाउने कोसिस गर्छ ? यी सब व्यर्थका प्रयास हुन् । अस्तित्वमा हुने अनुकूलता र प्रतिकूलता सबै परिस्थिति त आफ्नो जीवनमा प्रभाव पार्न सक्ने हुँदैनन् भने मानव निर्मित कृतिम विचारधारा र सोच कसरी स्थायी र व्यावहारिक हुन्छन् ? यो जीवन नै स्थायी छैन भने व्यक्तिले आर्जन गरेका भौतिक चिज स्थायी हुन्छन् र यति धेरै चलाखी र धुत्र्याइँको जरूरत ? स्वार्थबाट परमार्थ, अभावबाट स्वभाव, सम्मानबाट आत्मसम्मान र भ्रष्ट आचरणबाट सदाचारमा रूपान्तरण हुन सके जीवनमा पश्चाताप पर्ला त ?  

अरूलाई जान्ने र बुझ्ने कोसिस गर्नेले आफ्नो जीवनको गीता आफैं पढ्न सके कति आनन्ददायक परिवर्तन आउँदो होला जीवनमा । अरूको जीवनमा अन्धकार र अहंकार देख्नेले आफ्नो जागरण र मनका वृत्तिहरूबाट जागृत हुने कला जान्न सके कति सार्थक हुँदो हो जीवन । सत्कर्म, सद्भाव, सत्य र सदाचार मानिसका गोचर हुन् भन्ने स्मरण गराउन अरू कति समय कुर्नुपर्ने हो ? गहनरूपमा चेतना जागृत र सर्वोच्च आनन्दको अनुभूतिबाट वञ्चित हुनुपर्ने जत्तिको गरिबी अरू केही हुन सक्ला ? संसारबाट भित्र मोडिने कलाबाट वञ्चित हुनु भनेको आन्तरिक विकास र आत्मसम्मानबाट आफैँलाई पर धकेल्नु हो । हाम्रै संस्कारले हाम्रो पुर्वाद्र्ध बनेको छ र त्यसकै आधारमा भाग्य निर्माण भएको छ । आफैँले कोरेको भाग्यलाई, जीवनको उत्तरार्धलाई बिर्सेर अराजक बन्नुको साटो आफ्नो दिव्य सोच र समझको विकास गर्न सके जीवन आहा बन्दै अन्तिम क्षणको सुखद प्रतीक्षामा रहने थियो ।

प्रकाशित: १ आश्विन २०७७ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App