८ वैशाख २०८१ शनिबार
विचार

झरीमा रुझ्दै भात चपाइरहेका अनुहार

बिहानै सामाजिक सञ्जालमा एक अधबैँसे पुरूषले भात खाइरहेको तस्बिर देखेँ । पानी परिरहेको छ । ती मानिस आफ्नो टाउकोले प्लेटलाई भिज्नबाट जोगाउँदै गाँस मुखमा हाल्दैछन् । संभवतः त्यो तस्बिर खुला मञ्चमा रहेको पुरानो बसपार्कको हो । त्यस्ता तस्बिर देख्दा मन कुँडिन्छ । हाम्रा प्रधानमन्त्री केपी ओलीले कुनैबेला बोलेको सम्झन्छु– धनी हुन काम गर्नुहोस् । भात त सरकारले खुवाउँछ ।

कोरोना भाइरसको संक्रमण रोक्न राज्यले देश बन्द आह्वान गरेको आधा वर्ष बित्यो तर सरकारको नेतृत्व गर्नेलाई यसले खासै छोएन । हाम्रा र उसका मुद्दा फरक–फरक हुन पुगे । जनताको बुझाइ गलत छ भनेर साबित गर्न हरप्रयत्नमा सरकार लागिरह्यो । यसले भुल्न पुग्यो, हरेक युगले आफ्ना परिस्थितिअनुरूप सामूहिक चित्त निर्माण गरेको हुन्छ । समूहले आफ्नो सर्वोपरि हितका लागि उपलब्ध स्रोत र साधनका आधारमा मौजुदा समयका लागि पीर, मर्का वा समस्या समाधान गर्नका लागि पहिचान गर्ने तार्किक विधि नै जनविवेक हो ।

सत्ताको शिर जनविवेकविरुद्ध निरन्तर वक्तव्य र कार्यक्रममार्फत उठ्नु सबैभन्दा दुर्भाग्यपूर्ण अवस्था हो । यस आलेखले जनताको बुझाइलाई लत्याएर उनीहरूको मानमर्दन गर्ने र त्यसो गर्न प्रयोग हुने भाषाको समीक्षालाई केन्द्रमा राखेर यस्तो प्रवृत्तिको विवेचना गरेको छ । जस्तोसुकै परिस्थितिमा पनि सार्वजनिक पद भनेको व्यक्तिगत पहुँच र रवाफका लागि होइन भन्ने मान्यतामा यो आलेख अडेको छ ।  

हालको महामारीले झण्डै दुईतिहाइको बहुमत प्राप्त वामपन्थी सरकारलाई आफ्नो अक्षमता पुष्टि गर्न एउटा वितर्क गर्ने आधार दिएको छ । सत्ताको बागडोर सम्हालेपछिको आधा समय अलमलमा बितेको सरकारका लागि बाँकी आधा समय महामारीको पृष्ठभूमिमा आफ्ना अभीष्ट सिद्धिमा कसरी लाग्ने भन्ने कुरामा बितेर जानेछ भन्ने प्रायः निश्चित भएको छ । हिजोका सपनाको हिसाव अब दिनु नपर्ने भएको छ– कोभिड–१९ अबका दिनको सरकारी अस्त्र हो । यसलाई नै भन्छन्– लौकाको बोटमा स्याउ फलेको । हो, नेपाल कम्युनिस्ट पार्टीको खातामा निर्वाचनमा चौका पराेस्, महामारीमा छक्का प-यो ।  

जनविवेकलाई कौडीको मूल्य नदिने रणनीति विषयान्तर हो । यसलाई सार्वजनिक पदमा बसेर गरिने गैरतार्किक अभ्यासबारे समाचार पढ्दा पत्याउन गाह्रो हुन्छ । हाम्रा प्रधानमन्त्री आठ लाखभन्दा बढी संगठित कार्यकर्ता भएको कम्युनिस्ट पार्टीको प्रथम अध्यक्ष भएको हुनाले मानिसले उनले जे बोले पनि विश्वास गर्ने ठूलो समूह छ । कोरोना संक्रमणको ग्राफ सबैभन्दा माथिल्लो विन्दुमा पुग्दा असारको २९ गते भानु जयन्तीका दिन एक सभामा उनले राम नेपालको ठोरीमा जन्मिएको दाबी गरे । त्यो कार्यक्रम भाषासम्बन्धी, अनुवादसम्बन्धी वा नेपाली भाषाका आदिकविसम्बन्धी थियो । विषयान्तर गरेर त्यसमा रामायणको प्रमुख पात्र नै मूल विषय बनाइयो । त्यस्तै सदनमा सरकारको कोरोनासम्बन्धी धारणा राख्दै उनले भने– बेसार पानी खाएर एक÷दुईपटक हाच्छिउँ गर्दा कोरोना ठीक हुन्छ । लोकले हेरिरहेको हुन्छ उनलाई । तर्कको मर्यादामा रहनु सबैले पर्छ ।  

जनताको समझको सबैभन्दा बढी परिहास गर्ने मोर्चाको नेतृत्वमा प्रधानमन्त्री नै देखिनु सबैभन्दा अंसगतिपूर्ण हो ।  

परम्परावादी बौद्धिक नेपालले विगतमा सभ्यताको सबैभन्दा उच्चतम विन्दु हासिल गरेको ठान्छन् । त्यो भूतको प्राप्तिलाई अहिले पुनर्जागृत गराउनुपर्छ भन्ने उनीहरूको संगठित अभीष्ट हो । यस्ता व्यक्तिको मुख प्रधानमन्त्रीको कानसम्म पुगेको छैन भन्न सकिन्न । विगतलाई मानव कल्याणको सबैभन्दा महत्वपूर्ण युग देख्ने यो वर्ग नेपालको आजको विवेकलाई हिजोको मर्यादाको वर्खिलाप मान्छ । नैतिकता स्खलित भएको युग मान्छन् । अझै अगाडि आउने समय भनेको राक्षसीय युग हुन्छ भन्ने मान्यता यसको हुन्छ । समयअनुसार मानवीय इच्छा र आकांक्षामा परिवर्तन आउँछ भन्ने कुरा स्वीकार गर्न नचाहने यस्तो समूहको प्रभावले भूतको गीत, भजन आलाप गर्दा सार्वजनिक हितभावको चेत खुम्चिएको आभाष हुन्छ ।  

एसिडपीडित किशोरी मुस्कान खातुनसँग प्रधानमन्त्रीको भेटमा सबैभन्दा ठूलो ठट्टा भयो । मुस्कानले देशका अभिभावकलाई सोधिछन्– मलाई एसिड प्रहार गर्नेलाई किन छाडियो ? प्रधानमन्त्रीको जवाफ आएछ– म अबदेखि एसिडको ओसारपसार बन्द गराउँछु । व्यापार नियन्त्रण गर्छु । देशका अभिभावक ती युवतीको बिग्रेको अनुहारमा दुर्घटना देख्छन्, अपराधी उनको दृष्टिमा अटाउँदैन । उनको आफ्नै अन्दाज छ, यो देशमा एसिडको कारोबार भएको हुनाले मुस्कान खातुनको अनुहार जलेको हो ।

निकुञ्जमा घर भत्काएको होइन, गोठ भत्काएको हो भन्न सक्ने मुटु भएका नेतृत्व र छाउ गोठलाई महिला मुक्तिको बाधक मानेर सेनालाई प्रयोग गरेर ग्रामीण भेगका संरचना भत्काउन लगाउने सक्ने विवेकले जनविवेकलाई पूर्णरूपमा धावा बोलेको देख्छु । जनताको समझको सबैभन्दा बढी परिहास गर्ने मोर्चाको नेतृत्वमा प्रधानमन्त्री नै देखिनु सबैभन्दा अंसगतिपूर्ण हो । उनको आश्चर्य पनि अभिव्यक्त हुन्छ, जनता कुरै बुझ्दैनन् ! हामीलाई पनि आश्चर्य लाग्छ, के भनेको होला ! मुस्कान खातुनले उनलाई एसिड हान्ने व्यक्तिको कुरा गरेकी थिइन् । प्रधानमन्त्रीको ध्यान तुरुन्त अम्लीय तत्वको कारोबारतिर गयो । हो, उनले त्यसको व्यापारमा समस्या देखे । त्यो समाचार पढ्ने/सुन्नेहरूले के के समस्या देखे, त्यसको हिसाब बिस्तारै आउनेछ ।

स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी हुनुपर्छ भनेर हामीले समाजवादी गन्तव्यतर्फ जोड गर्ने जनता र मौजुदा अवस्थाको संरक्षण गर्ने सरकाको रस्साकस्सी चलिरहेको बेला नेपालमा कोरोना भाइरस आइपुग्यो । परिहास र ख्यालठट्टामा व्यस्त नेतृत्वले उत्तरदायित्व बिर्सेको भान हुन्छ । जनअपेक्षा र सरकारी प्राथमिकताबीच ठूलो अन्तर छ । केही समयअगाडि सरकारले बाघको संख्या बढेकामा ठूलो तक्मा भिरेर हिँडुलाझैँ गरेको थियो । त्यसको केही समयपछाडि धार्मिक भावनाले नेतृत्व ओतप्रोत भयो । हो, रत्नाकार डाँकु रामको भक्तिले वाल्मीकिमा रूपान्तरित भएका थिए भन्ने जनविश्वास छ । प्रधानमन्त्रीलाई त्यही सही लाग्यो । तर्कसंगत व्यवहार र कारण परिणामको अनिवार्य सम्बन्धभन्दा बाहिर राजनीतिले बाटो पहिल्यायो ।

एक शताव्दीअगाडि वि.सं. १९७७ मा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे र प्रकाशन गरे । राणाहरूले त्यसमा ठूलो विद्रोहको भाव देखे । उनलाई जेलमा सडाइयो । उनको मृत्यु भयो । एक सय वर्षको अन्तरालमा महामारीको समयमा सरकारले सर्पको खेतीका लागि ७२ करोड अनुदान दिएर आफ्नो उदारभाव देखायो । यहि हो हामीले मारेको फड्को ? यही हो हामीले चाहेको सामाजिक रूपान्तरण ?

सरकारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सर्प खेती गर्नका लागि सो रकम अनुदान उपलब्ध गराएको छ । मलाई कुनै पनि अर्थमा सर्पको खेती गरेर विष उत्पादन गर्नुहुँदैन भन्ने लाग्दैन तर त्यस्तो काम कसले गर्ने हो ? कहिले गर्ने हो ? वर्तमान समयको सबैभन्दा चुनौतीपूर्ण कुरा भनेको के हो ? यी कुरा मूल्यहीन हुन त ?  

महावीर पुन जस्ता मानवतावादी, विज्ञान प्रविधिको अनुसन्धानका कुशल व्यवस्थापकका लागि सरकारको मुठी सधैँ कसिन्छ । सरकारी ढुकुटी किन आफ्नो दलका वरिष्ठ नेताको संस्थालाई सर्पको खेती गर्नतिर लहसिन्छ ? किसान गाई भैँसीको दूध सडकमा पोखिरहेका छन् । तिनीहरूले बजार पाउन सकेका छैनन् । किसानका गोलभेँडा बारीमा कुहिएका छन् । निषेधाज्ञाको मारमा परेका गरिब, मजदूर र किसान भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । सरकार बंगलादेशसँग कृषि मल पैँचो माग्न निस्केको छ । कुन बाटो हो ? कुन बाटो होइन ? कसले भनिदिनुपर्ने हो यो सरकारलाई ?

लाग्छ, जनविवेकलाई वर्तमान नेतृत्वले मन, वचन र कर्मले लघारिरहेको छ । जनतालाई लघुताभाषको अनुभूति गराएको छ । जनता अनैतिक, अविवेकी, अटेरी र छाडा छन्, सरकालाई यस्तो लाग्छ । सरकार सोच्छ, मेरा आदेश, कार्यक्रमको विरोध मात्र गर्छन् जनता । जनताको भावना, विवेक र आकांक्षा नै सरकारका वैधताका आधार हुन् । यी आधारमा रहिरहेको भए नेतृत्वले कोरोनालाई ठट्टाको विषय बनाएर बेसार पानी सिफारिस गर्ने आँट गर्दैनथ्यो । मुस्कान खातुनको अनुहारको छाला डढेको देख्दा एसिडको कारोबार मात्र उसको समस्या हुँदैनथ्यो । त्यस्तो सरकारलाई जनताको घर गोठ जलाउनुपर्ने आवश्यकता साउन मासमा आइलाग्दैन् । निकुञ्जका हात्ती सरकारी सेना बनेर मानिसको बस्तीमा छिर्दैनथे । हो, जनताको मनोभाव बुझ्ने सामथ्र्य भइदिएको भए सरकारको प्राथमिकता कोरोनाको महामारीमा सर्पको खेती हुँदैन्थ्यो ।  

यसरी सत्ताले निरन्तर होच्याउँदा स्वाभाविकरूपमा जनताको मन कुँडिएको छ । निषेधले सत्तालाई जनविवेकमाथि प्रहार गर्न सहज बनाइदिएको छ । यसले नेतृत्वप्रतिको व्याप्त अविश्वास र अनास्थालाई बाहिर आउन पनि दिएको छैन । एउटा जत्थाले कारण र परिणामको अत्यावश्यकीय सम्बन्धमाथि प्रहार गर्न थालेपछि के हुन्छ ? स्वाभाभिक तर्कलाई सधैँ हतोत्साहित गर्न सकिन्छ ? यस्तो अवस्थामा समाजले एउटा बलियो हस्तक्षेप जन्माउने चेष्टा गर्छ । कहिलेकाहीँ त्यस्तो हस्तक्षेपकर्ता सुन्दर बान्कीको जन्मन्छ । उसले समाजको अभीष्टलाई आत्मानुभूति गर्छ । कहिले त्यही जनभावनामा टेकेर एउटा कुरूप अनुहार जन्मन्छ । दश वर्षे जनयुद्ध भोगेको समाजले अहंकार र निजी उन्मादले भरिएको कुरूप चेहेरा हेर्न सक्दैन । त्यो पुरानो बसपार्कको सडकमा झरीमा रुझ्दै भात चपाइरहेको नेपाली नागरिक ठट्टाको मुडमा छैन् ।

प्रकाशित: ३० भाद्र २०७७ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App