१५ आश्विन २०७७ बिहीबार
विचार

प्राधिकरणमा कुलमानको विकल्प छ ?

उज्यालोका लागि मात्रै होइन, आधुनिक युगमा मानिसको दिनचर्यामा पनि बिजुली अति आवश्यक वस्तु भइसकेको छ। अझै यसो भन्नु उचित हुन्छ कि बिजुलीबिना मानिसको दैनिकी नै अवरुद्ध बन्छ। हो, विगतमा हामीले बिजुलीको अभावमा अँध्यारोको सामना गर्नुपरेको थियो। अँध्यारो भगाउनका लागि हाम्रै बाजे–जिजुबाजेको पालामा प्रयोग हुने टुकी, ढिब्री, सलेदो र मैनबत्तीको शरणमा पुगेका थियौँ हामी। अनि बिजुलीको अभावमा हाम्रो दैनिकी नै अवरुद्ध बनेको थियो। यस्तै असहज परिस्थितिमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए कुलमान घिसिङ, २०७३ साल भदौ २९ गतेका दिन।  

लोडसेडिङले हायलकायल भएका जनता कुलमान घिसिङको आगमनसँगै निकै आशावान भए। लोडसेडिङको अन्त्य नै नभए पनि यसको अवधि घटाएर मानिसको दैनिकीलाई अलिकति भए पनि सहज बनाइदेलान् भन्ने आशा सबैको मनमा पलायो। एउटा कुशल व्यवस्थापकको भूमिका निर्वाह गरेर कुलमान घिसिङ कार्यकारी निर्देशकको जिम्मेवारी पाएको दुई महिनामै लोडसेडिङ अन्त्यको संकेत दिन सफल भए। उनले २०७३ साल कात्तिक १४ गते लक्ष्मीपूजाको दिनको साइतमा देशलाई लोडसेडिङमुक्त गर्ने कार्य परीक्षणका रूपमा सुरुवात गरेका थिए। यो परीक्षण सफल भएको आधारमा २०७३ साल चैत १ गतेदेखि देशव्यापीरूपमा लोडसेडिङ अन्त्य गरियो। तत्काल यसको सम्पूर्ण श्रेय कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको व्यवस्थापकीय टिमले पायो। त्यहाँउप्रान्त नेपाली जनताले लोडसेडिङको पीडा फेरि बेहोर्नुपरेको छैन। यसको सम्पूर्ण श्रेय कुलमानलाई नै जान्छ। त्यसैले अचेल नेपाली जनजिब्रोमा बिजुली र कुलमान एक–अर्कामा पर्यायवाची शब्दजस्तै भएका छन्।

हामीले अझै बिर्सेका छैनौंँ बिजुलीबिनाका ती अँध्यारा रातहरू र अप्ठ्यारा दिनहरू। गाउँघरमा टुकी, ढिब्री, सलेदो र मैनबत्ती अनि सहरमा जेनरेटर, इन्भर्टर र सोलारको सहयोगमा अँध्यारो हटाइ उज्यालो ल्याउने कसरतमा हामीले भोग्नुपरेको भुक्तमान अझै सम्झन्छौँ। त्यतिखेर हाम्रो दैनिकी हाम्रो कामसँग भन्दा लोडसेडिङको तालिकासँग अभ्यस्त थियो। हामी दिनमा पटक–पटक हेथ्र्यौं लोडसेडिङको तालिका। हाम्रो दैनिकी नै लोडसेडिङको तालिकासँग आबद्ध थियो। अर्थात् हामी लोडसेडिङको तालिकासँग अभ्यस्त थियौं। हामी लोडसेडिङको तालिकाअनुसार चल्थ्यौँ। हाम्रो जीवनको एउटा अभिन्न अंग बनेको थियो लोडसेडिङको तालिका। अनि कसैकसैको कामै लोडसेडिङको तालिका बनाउनु थियो। हप्तैपिच्छे नयाँ तालिका बन्नु र लोडसेडिङको समय फेरिनु एउटा नियमितता नै बनेको थियो। त्यो अरूचिकर र असहज नियमितताको शृङ्खलालाई कुलमान घिसिङले भत्काइदिए। त्यसकारण हामी कृतज्ञ भयौँ कुलामानप्रति।  

महामारीको बेलामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले कुलमान जस्तै स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई प्राधिकरणको  कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने विश्वास नेपाली जनतालाई फिटिक्कै छैन।

त्यतिखेर कसैले सोचेकै थिएन लोडसेडिङ अन्त्य हुन्छ भनेर। देशका एकसेएक विज्ञहरू विद्युत्को माग, आपूर्ति र उत्पादनको प्रक्षेपण गर्दै थिए। बढ्दो सहरीकरण र औद्योगिकीकरणसँगसँगै बिजुलीको बढ्दो मागअनुरूप बिजुली उत्पादन भई आपूर्ति हुन नसक्दा स्वयं विज्ञहरू नै लोडसेडिङ कम नहुने र नहट्ने बताइरहेका थिए। कुनै कुनै विज्ञ र विद्वान्ले त नेपालमा कहिल्यै पनि लोडसेडिङ अन्त्य नहुने घोषणा नै गरेका थिए। तर कुलमान घिसिङले कुशल व्यवस्थापकको भूमिका निर्वाह गरेर ६–७ महिनाभित्रै लोडसेडिङ अन्त्य गरिदिए। झलमल्ल बिजुली बालिदिएर नेपाली जनताका घरदैलामा उज्यालो छरिदिए। यतिमात्रै होइन, वर्षौँंदेखि घाटामा चलिरहेको संस्थालाई नाफा पनि कमाइदिए।  

त्यतिखेर जुन हदसम्म लोडसेडिङ गरियो, त्यो गर्नुपर्ने अवस्था थिएन। जिम्मेवार पदाधिकारीहरूको द्रव्यमोहले नेपाली जनताको उज्यालोको सपनालाई अँध्यारोसँग साटेका थिए। कमिसनका लागि व्यापारीसँग साँठगाँठ गरेर गर्नै नपर्ने लोडसेडि गरेका थिए। जेनरेटर, इन्भर्टर र सोलारका ठूला व्यापारीसँग चर्को कमिसनको खेल खेलेर नेपाली जनताको उज्यालोको सपनासँग पनि खेलाँची गरेका थिए। उपलब्ध बिजुलीलाई कसरी व्यवस्थापन गर्ने र चुहावट कसरी नियन्त्रण गर्ने भन्दा पनि हप्तैपिच्छे नयाँ लोडसेडिङ तालिका बनाएर पस्किनु त्यतिखेरका जिम्मेवार पदाधिकारीको महत्वपूर्ण काम बनेको थियो। अनि उज्यालोको सपना देख्ने नेपाली जनताले दिनमा १८ घन्टासम्मको चर्को लोडसेडिङ झेल्नुपरेको थियो। चर्को लोडसेडिङले सारा विकास–निर्माणको काम ठप्प पारेर देशलाई नै कैयौँ वर्ष पछाडि धकेलेका थिए। देशका जिम्मेवार पदमा बस्ने द्रव्यपिशाचहरूले व्यक्तिगत स्वार्थका लागि यतिसम्म नीच कर्म गर्न सक्दारहेछन् भन्ने ज्वलन्त उदाहरणका रूपमा रहेको छ नेपालको तत्कालीन लोडसेडिङको अवस्था।

कुलमान घिसिङका पक्षमा यति सकारात्मक कुरा लेख्नुको अर्थ यो होइन कि उनको विकल्पमा अरू कोही छैन वा अरू कोही हुनै सक्दैन। कुलमानको जत्तिकै व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने व्यक्ति अरू हुँदै नभएको पनि होइन। तर इच्छाशक्ति र कुलमानको जत्तिको इमानदारी, निष्ठा र जिम्मेवारीबोधको अभाव अहिलेको मुख्य समस्या हो। कुलमानले जस्तै कुनै व्यक्तिगत स्वार्थ र राजनीतिक दबाबमा नपरी इमानदारीपूर्वक आफ्नो व्यवस्थापकीय जिम्मेवारी पूरा गर्ने दृढ इच्छाशक्ति भएको जुनसुकै मान आए पनि जनतालाई स्वीकार्य छ। तर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको भूमिकामा रहने व्यक्ति नेताहरूको इच्छा र निर्देशनअनुसार चल्ने राजनीतिक दलको गोटीचाहिँ हुनुहुँदैन। बिचौलिया र माफियाको चंगुलमा परेर फेरि लोडसेडिङ दोहो¥याउनेचाहिँ हुनुहुँदैन। जनताको चाहना यत्ति हो।

हो, एकथरी मानिसका लागि निकै प्रिय छन् कुलमान। अर्काथरी मानिसका लागि उस्तै अप्रिय छन् कुलमान। कुलमानलाई प्रिय मान्नेहरू भन्दा अप्रिय मान्नेहरू शक्तिशाली छन्। तिनले चाहे भने जे पनि गर्न र गराउन सक्छन्। तैपनि कुलमानलाई मन पराउनेहरू उज्यालोलाई निभ्न नदिने संकल्पमा छन् भने कुलमानलाई मन नपराउनेहरू चाहिँ पुनः अँध्यारोको साम्राज्य फैलाएर लाभको व्यापार गर्न उद्यत छन्। साँच्चै भन्ने हो भने यतिखेर उज्यालो र अँध्यारोको द्वन्द्व छ। जसरी पनि उज्यालो कायम रहोस् भन्ने जनताको चाहनामा कुठाराघात गर्न उद्यतहरूको सलबलाहट बाक्लै छ।

अब हामीले यहीँनेर अलिकति गम्भीर भएर सोच्नुपर्ने बेला पनि भएको छ। के कुलमानको विकल्प कुलमानमात्रै हो त ? अवश्य होइन। कुलमानको विकल्पमा अरू धेरै कुलमानहरू नभएका होइनन्। तीप्रति नेपाली जनतालाई विश्वास छ। तर विश्वास हाम्रो सरकारप्रति छैन। सरकारले कुलमानजस्तै सक्षम, इमानदार र कुशल व्यवस्थापकीय अनुभव संगालेको व्यक्तिलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्छ भन्ने कुरामा संशय छ नेपाली जनतालाई। यो संशय सरकारको कार्यशैलीले जन्माएको हो। महामारीको बेलामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले कुलमान जस्तै स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने विश्वास नेपाली जनतालाई फिटिक्कै छैन। महामारीको बेला जनतालाई राहत दिन तत्पर रहनुपर्ने सरकार बिचौलिया, व्यापारी र माफियालाई काखी च्यापेर भ्रष्टाचारको आहालमा मस्तले डुबेको र राज्यका प्रमुख पदहरूमा आफन्त र आसेपासेहरूलाई नियुक्त गर्दै बसेकाले सरकारप्रतिको जनताको विश्वास टुटेको हो। त्यसैले फेरि अँध्यारोको साम्राज्यमा हराउन नचाहने उज्यालोप्रेमी नेपाली जनताको चाहना कुलमानलाई नै निरन्तरता दिइयोस् भन्ने हो। कुलमानलाई नदोहो¥याइ अर्को व्यक्तिलाई नियुक्त गरे फेरि लोडसेडिङ होला भन्ने भयले भयभीत छन् नेपाली जनता।

यद्यपि कुलमानलाई फेरि पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककै रूपमा हेर्न चाहने उज्यालोप्रेमी नेपाली जनताले भावावेशमा आएर कुलमानलाई देवत्वकरण गर्ने र उज्यालोका विरोधीलाई राक्षसीकरण गर्ने काम पनि गरिरहेका छन्। यसो गर्नु उचित नहुन सक्छ। हामीले कुलमानका बारेमा धेरै सकारात्मक कुरा गरिरहँदा सरकार कुलमानप्रति नकारात्मक बन्ने खतरा पनि छ। कुलमानको समर्थनमा हल्ला गरिरहँदा नजानिँदो गरी उनलाई हानि पु¥याउने काम हामीले गरिरहेका हुन सक्छौँ। यतातर्फ पनि हामी सचेत हुनुपर्छ। अन्धसमर्थन र अन्धभक्ति दुवै हानिकारक हुन सक्छन्। बहुमतको सरकार हो, सबै शक्ति सरकारसँगै छ। सरकारले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने पुष्टि सरकारकै कार्यशैलीले गरिरहेको छ।  

जनताको भावना र कुलमान स्वयंको व्यवस्थापकीय कार्यकुशलतालाई हेरेर सरकार आफैँले उनलाई दोहो¥याए ठीकै छ। सरकारले कुलमान जस्तै अरू कसैलाई नियुक्त गरे भने त्यो पनि ठीकै छ। सरकारले अरू नै कसैलाई त्यो पदका लागि योग्य ठानेको छ र फेरि लोडसेडिङ दोहो¥याउँदैन भन्ने विश्वास छ भने उसैलाई नियुक्त गर्न दिउँ। उसको काम पनि हेरौँ। भोलिदेखि नै उसले फेरि लोडसेडिङ त कसरी गर्ला ? र कुन मुखले गर्ला ? अब त लोडसेडिङ गर्नुपर्ने कुनै कारण पनि छैन। लोडसेडिङ गरिहालेछ भने किन गरिस् भनेर प्रश्न गर्ने अधिकार त हामीलाई छ नि। भलै प्रश्न सोध्नेसित सरकारले द्वेष किन नराखोस्।  

विद्युत् प्राधिकरण एउटा संस्था हो। यहाँ हरेक कुरामा सामूहिक प्रयास हुन्छ। कुलमानले पनि यही गरेका हुन्। भोलि आउने कार्यकारी निर्देशकले पनि यही गर्ने हुन्। लोकतन्त्रमा कुनै संस्थामा पनि कसैको तानाशाही प्रवृत्ति चल्दैन। लोकमानको एकल प्रयासले मात्रै अहिलेको उपलब्धि सम्भव भएको पनि होइन।

आफ्ना बारेमा धेरै चर्चा र अफवाह फैलिएपछि कुलमान स्वयंले प्रेस विज्ञप्ति प्रकाशित गरेरै भनेका छन्– ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आमउपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धिहरू हासिल गर्न सम्भव थिएन।’ यो यथार्थलाई मनन गरौँ। कुलमानको विकल्प छ भन्ने सोचौँ। कुलमानको विकल्पमा अरू कोही नभए जस्तो नगरौँ।

प्रकाशित: २८ भाद्र २०७७ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App