१५ आश्विन २०७७ बिहीबार
विचार

नेपाली संक्रमणकालीन वर्ग संघर्षका अनिवार्य सर्त

उत्पादनका साधनमा व्यक्तिगत स्वामित्व र परस्पर विरोधी वर्गको प्रादुर्भाव भएदेखि शोषित र शोषकहरूबीच जीवन–मरणको भीषण संघर्ष चलिरहन्छ । यसले अन्ततोगत्वा समाज परिवर्तन र बदलावका लागि क्रान्तिको न्यायोचित बाटोतर्फ लाग्न मान्छेलाई डो¥याउँछ । यो संघर्षले प्रतिक्रियावादी सामन्त र पुँजीजीवी वर्गको प्रभुत्व खत्तम गर्छ । यसले उत्पीडित, श्रमिक, वर्गको शासनसत्तामा पहुँच स्थापित गर्छ । यही विचारका आधारमा पुरानो निरंकुश सामन्ती राजतन्त्र अन्त्य र नयाँ राजनीतिक वर्गले शासनसत्ता लिएको छ ।  

अब देश संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनामा आउँदैछ । तर त्यसलाई संस्थागत गर्न संविधानसभाको निर्माण र भङ्ग हुँदै अहिले ५ वर्षदेखि जनसंविधान निर्माणको अन्तिम प्रक्रियामा नेपाली राजनीतिक वर्गहरू आफ्नो वर्ग स्वार्थअनुसार अन्तरसंघर्षमा छन् । सामन्तवादको नाइके राजतन्त्र ढल्यो तर अहिले पुँजीजीवी वर्ग र अग्रगामी क्रान्तिकारी वर्गबीच आफ्नो स्वार्थअनुसारको संविधान बनाउन भीषण टकराव चालु छ ।  

यो संक्रमणकालीन अवधिमा वर्गसंघर्ष रोकिँदैन, भीषण आँधीबेहरीका साथ चलिरहन्छ । सत्ताबाट हटाइएको सामन्तवादी, जमिन्दार, पुँजीजीवी वर्ग आफ्नो सत्ता क्रान्तिकारी श्रमिक वर्गले लिएकाले उसका लागि यो सहने विषय पनि होइन । तर बेलायतमा सन् १९४० मा क्रमबल (पुँजीपतिहरू) को नेतृत्वले सामन्तवादविरुद्ध सशक्त संघर्ष गरे जस्तै नेपालका राजनीतिक पुँजीजीवी वर्गले पनि कम्युनिस्ट क्रान्तिकारी वर्गसँग मिलेर सामन्तवादको राज्यसत्ता खतम गर्न सहयोग ग¥यो । तर यो पुँजीजीवी वर्ग अन्तिम अग्रगामी क्रान्तिकारी वर्ग होइन । यो पश्चगामी र यथास्थितिवादी राजनीतिक धारबाट नेपाली राज्य संरचनामा आफूलाई स्थापित गर्न खोजिरहेको छ ।  

त्यसैले यो वर्गले आफ्नो स्रोतसाधन, सम्पत्ति, सुखशान्ति अमनचयन तथा सत्तामाथिको असीमित अधिकार अन्त्य हुने हो कि भनेर गरिब, दलित, उत्पीडित, आदिवासी, जनजाति, मधेसी, महिला, मुस्लिमलाई बढी अधिकार सुम्पने जनसंविधान निर्माण गर्न डराइरहेको छ । यसकारण यथास्थितिवादी पुँजीजीवी वर्गको वर्गस्वार्थविरुद्ध दलित उत्पीडित सर्वहाराले जनपक्षीय संविधान निर्माणमा निर्ममतापूर्वक लड्नुपर्छ । 

दलित, उत्पीडित, गरिब सर्वहारा वर्गविरुद्ध पुँजीजीवी वर्गले संघर्ष गर्दा विभिन्न तौरतरिका प्रयोग गर्छ।  

दलित, उत्पीडित, गरिब सर्वहारा वर्गविरुद्ध पुँजीजीवी वर्गले संघर्ष गर्दा विभिन्न तौरतरिका प्रयोग गर्छ । उसले आफ्नो प्रतिक्रियावादी चरित्रको उपयोग गर्दै देशको राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका सचेत निर्माणका पहलहरूको संरचनागत स्वरूपहरूको कार्य भताभुङ्ग पार्छ र देशलाई बर्बादीमा धकेल्छ । त्यसको सानो नमुना पुँजीजीवी वर्गले नयाँ संविधान बन्न नदिन बाधा खडा गरेकोबाट बुझ्न सकिन्छ । यो वस्तुगत यथार्थलाई सचेत विश्लेषण गरी अग्रगामी क्रान्तिकारी वर्गले देशीय सामन्तवाद, घरेलु प्रतिक्रियावाद दुवैको विदेशी प्रतिक्रियावादी शक्तिमा अन्तरघुलित भएर आउने निर्मम अन्यायपूर्ण आवाजविरुद्ध भीषण संघर्ष गर्नैपर्छ ।  

पुरानो वर्गको अन्त्य र तत्काल त्यहाँ नयाँ वर्गको शासनसत्ता आउनेबित्तिकै वर्ग संघर्ष अन्त्य हुँदैन । त्यो संक्रमणकाल हो त्यहाँ वर्गसंघर्ष चालु रहन्छ । त्यो संघर्ष यस्तो अवस्थासम्म चल्छ जुनबेला राजनीतिकरूपमा क्रान्तिकारी अग्रगामी वर्गको प्रभुत्व कायम रहने अवस्था आउँछ । के नेपाली सन्दर्भमा क्रान्तिकारी राजनीतिक वर्गहरू एकताबद्ध भएर शान्तिपूर्णरूपमा संविधानको माध्यमबाट पुँजीजीवी वर्गको सत्ता सर्वहारा वर्गको हात पार्ने लडाइँ पूरा गर्न सक्छ ? मालेमावादले समय, परिस्थिति र देशको अवस्थाअनुसार वर्ग संघर्षको रूप बदलिन्छ भन्छ, त्यस विषयमा यी क्रान्तिकारी वर्गले आमरूपान्तरणका लागि निर्णय गर्न जरुरी छ । संविधानमार्फत पुँजीजीवी वर्गबाट शासनसत्ता खोसेर दलित जनजाति, मधेसी, महिला, मुस्लिम, गरिब, विपन्न, मजदुर र किसान वर्गमा शासन चलाउने हक स्थापित गर्ने हो ।  

अझै प्रतिक्रियावादी शासनसत्ता निर्मुल भइनसकेको अवस्था हो अहिले । यो सामन्ती पुँजीजीवी वर्गको प्रभुत्व रहेको प्रतिक्रियावादी शासन प्रक्रिया समाजको अस्तित्वबाट लोप भइनसकेको र उसले अहिले अग्रगामी क्रान्तिकारी राजनीतिक शक्तिविरुद्ध कठोर प्रतिरोध गरिरहेको छ । यसको उदाहरण संविधानसभा विघटन गरेर यथास्थितिवादी राजनीतिक पार्टीहरूले जनसंविधान बनाउन खडा गरेका बाधा हो । उनीहरू आफ्नो प्रतिरोध अझ चर्को पारिरहेका छन् । यही अवस्थामा सामन्त पुँजीजीवी वर्गविरुद्ध विजेता बनेर आमजनसमुदाय तथा अन्य राजनीतिक वर्गको साथ लिएर जनसंविधान निर्माण गर्ने अन्तिम पहल क्रान्तिकारी अग्रगामी वर्गको लक्ष्य हुनपर्छ । नेपाली क्रान्तिकारी वर्गले शान्ति स्थापनाको प्रक्रिया एक अहं कार्यनीतिको सवाल मानेर अघि बढ्नुपर्छ । वर्ग संघर्षको भीषण प्रक्रियालाई चुम्दै, नयाँ वर्ग संघर्षको क्रमिक विकासंलाई ग्रहण गर्दै सामन्त, जमिन्दार र पुँजीजीवी वर्गको प्रभुत्व रहेको शासनसत्तालाई क्रान्तिकारी वर्गले जित्नुपर्छ ।  

यथास्थिति संरचनाको पक्षपोषक शोषक वर्गको दमन र पुँजीजीवी वर्गको उत्पीडनको प्रभावलाई प्रतिरोध गर्न दलित, आदिवासी, जनजाति, मधेसी, महिला, मुस्लिमलाई जुझारु संघर्षशील धारबाट स्पातिलो बनाउनैपर्छ । यो शोषित, उत्पीडित वर्ग क्रान्तिप्रतिको रुझानमा धारिलो नबने उसले भोग्दै आएको शोषणको प्रभावबाट मुक्त हुनै सक्दैन । त्यसकारण यो क्रान्तिकारी वर्गलाई आमधक्का र परिवर्तनको राजनीतिक प्रक्रियामा सामेल गराउने र उनीहरूका अधिकार सुनिश्चितताको प्रतिबद्धता कायम गर्नैपर्छ । यसमा बाधा हाल्ने पुरानो पछौटे चेतना बोकेको प्रतिक्रियावादी वर्गलाई जितेर नयाँ न्यायपूर्ण वर्ग संरचनामा आर्कषित गर्ने राजनीतिक प्रक्रिया अघि बढाउनुपर्छ ।  

साथै अग्रगामी, क्रान्तिकारी वर्गले सामन्ती, पुँजीजीवी वर्गलाई समाजवादको सामाजिक स्वरूपमा फेर्ने हो, त्यसका लागि यो जनसंविधान निर्माण प्र मुख सर्त हो । यही नै संक्रमणकालीन वर्ग संघर्षको स्वरूप हो । हामी यो संक्रमणकालमा सामन्तवाद र पुँजीजीवी वर्गविरुद्ध भीषण लडाइँ लड्ने कार्यनीतिका साथ अघि बढ्नुपर्छ । यसले कठोर मोडबाट गुज्रिएको हतासलाग्दो दिनबाट आमजनसमुदायलाई मुक्त गर्ने एउटा उच्च छलाङको स्वरूप दिनेछ ।

प्रकाशित: २५ भाद्र २०७७ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App