१३ मंसिर २०७९ मंगलबार
विचार

संयम, आत्मानुशासन र सावधानी

हामी कोरोना कहर भोग्दैछौँ। यद्यपि कोरोनाको अर्थ–सामाजिक असरको अन्तिम लेखाजोखा हुन बाँकी नै छ। नेपाल राष्ट्र बैंकले साउन २१ गते सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा लकडाउनको अवधिमा नेपालमा सञ्चालित उद्योग÷व्यवसायमा सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको छ भने उद्योग÷व्यवसाय क्षेत्रमा २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती भएको छ। यसैगरी उद्योग÷व्यवसाय क्षेत्रमा कार्यरत् कर्मचारी÷मजदुरको तलब औसतमा १८.२ प्रतिशतले कटौती भएको छ। यसबाट नेपालीको चुलोदेखि समग्र अर्थतन्त्रसम्मै प्रत्यक्ष असर परेको देखिन्छ।

कोरोनाले समाज र अर्थतन्त्रमा दूरगामी असर पर्ने निश्चित छ। अहिले त हामीसँग केही विषादजन्य अनुभव र अनुभूतिमात्रै छन्। कोरोना कहरको वास्तविक पीडा कस्तो हुन्छ ? त्यसको अनुमानमात्रै गर्न सक्छौँ हामी। कोरोनाको वास्तविक पीडा भुक्तभोगीलाई मात्रै थाहा होला। भोकले तड्पिएर मरेका मलर सदा र सूर्यबहादुर तामाङलाई थाहा होला। उपचारै नपाएर अस्पतालको बेडमा छट्पटाउँदै प्राण त्यागेका राजु सदालाई थाहा होला। कि त कोरोना कहर खेप्न नसकेर आत्मदाह गर्ने सिद्धार्थ आउजीलाई थाहा होला। हामी त समाचार पढेर र हेरेर कोरोना कहरको अन्दाजमात्रै गरिरहेछौँ। यसो त यो कहरले कुनै न कुनै रूपमा हामीलाई पनि असर पारेकै छ। अब कोरोनाबाट बच्नका लागि हामीमा संयम, आत्मानुशासन र सावधानी हुनु आवश्यक छ।  

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्न अपिल गरेका छन्। नेपालमा लकडाउन खुलेपछि मानिस सामान्य अवस्थामा जस्तै विनासावधानी निर्धक्क हिँड्डुल गर्न थालेकाले संक्रमण पुनः बढेपछि संक्रमणको जोखिम न्यूनीकरणका लागि उनले यस्तो अपिल गरेका हुन्। संक्रमणको जेखिम न्यूनीकरण गर्न एक–अर्काबीच निश्चित भौतिक दूरी कायम राख्नु सबैभन्दा उत्तम उपाय मानिएको छ। कमसेकम एक मिटरको भौतिक दूरी कायम राख्न सके संक्रमणको जोखिम निकै कम हुने विज्ञहरूको भनाइ छ। त्यो भन्दा पनि अझ महत्वपूर्ण कुरा हो– संयम, आत्मानुशासन र सावधानी। यी तीन कुरालाई पालन गर्न सक्यौँ भने कोरोना भाइरस संक्रमणको जोखिम निकै कम हुन्छ।

पशुपतिको साँढेझैँ ज्ञानी भएर एकै ठाउँ बसिरहनुपर्ने अवस्थामा पशुपतिका चकचके बाँदरझैँ लखरलखर हिँडिरहेका छौँ, डुलिरहेका छौँ।

नेपालकै विज्ञहरूले पनि नेपालमा अहिलेकै जस्तो लापरबाही बढे कोरोनाबाट मृत्यु हुनेहरूको लास उठाउनै समस्या आउने चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको भन्दै यदि समयमै उचित निर्णय नलिइएमा मुलुकले भयावह अवस्था भोग्नुपर्ने बताएका छन्। उनले सरकारले ७७ वटै जिल्लामा २१ दिनसम्म कफ्र्युसहितको लकडाउन गरी भारतीय सीमा पूर्णरूपमा बन्द गर्न आग्रह गरेका छन्। यस्तो गर्न नसकेमा कोरोनाबाट मुत्यु हुनेहरूको लास उठाएर नभ्याउने उनले बताएका छन्। यो विषम परिस्थितिमा व्यक्ति र मानव अधिकार भनेर बस्न नहुने र नेपालीलाई लकडाउन मात्रैले पनि नहुने पनि उनले बताएका छन्।

कोरानाको हटस्पटका रूपमा रहेको वीरगन्जका चिकित्सकले कोरोना संक्रमण नियन्त्रण र उपचारमा प्रभावकारी समन्वय नभएको गुनासो गरेका छन्। संक्रमण फैलिने क्रम रोक्न तथा संक्रमितको उपचार गर्न थप पहल नभए वीरगन्जमा मृतकको संख्या गन्नै नभ्याइने अवस्था आउन सक्ने नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन्।  

स्वास्थ्यमन्त्री स्वयंले पनि थप सजगता र सावधानी नअपनाउने हो भने कोरोना संक्रमण भयावह हुने बताइरहेका छन्। तर सजगता र सावधानी अपनाउनेतर्फ न जनता सेचत छन् न त सरकारकै तत्परता देखिएको छ। विज्ञहरूले संयम, सजगता र सावधानी अपनाउन सुझाइरहेका छन् तर सरकारलाई भने नसुन्ने, नबुझ्ने र नटेर्ने बानी परेको छ। अर्थात सरकार आफ्नै हठमा छ। आफ्नै दम्भमा छ। ‘इनफ इज इनफ’ नारासहित आमरण अनशन बसेका युवाप्रति निरपेक्ष बनेको छ सरकार। कोरोनाको जोखिम छिटो व्यवस्थापन गर भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका युवामाथि लाठी र पानीको फोहोरा बर्साउँछ सरकार। सरकारका लागि कोरोनाको जोखिम व्यवस्थापन होइन, सत्ता व्यवस्थापन प्राथमिक मुद्दा बनेको छ। शीर्ष नेताहरू दिन÷रात पार्टीको बैठकमा व्यस्त छन्।  

अवस्था सामान्य भएको देखाएर हतारहतार लकडाउन खोलेर सफलताको श्रेय लिने सरकारको अभीप्साले गर्दा जनताको ज्यान जोखिममा परेकै हो। दिनहुँ संक्रमितको संख्या बढिरहेको छ। मृत्यु दर पनि बढिरहेको छ। यसले कोरोनाको संक्रमण भयावह हुने संकेत गरेको छ। साउनको अन्तिमसम्ममा संक्रमण उत्कर्षमा पुग्ने अनुमान गरिएको छ। अवस्था गम्भीरोन्मुख भएपछि साउन २० गते प्रधानमन्त्रीले २० जना जनस्वास्थ्य विज्ञसँग परामर्श गर्दै कोरोनाको जोखिम व्यवस्थापनका लागि थप रणनीति तय गर्ने प्रयास गरे। यद्यपि जनस्वास्थ्य विज्ञहरूले लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कम्तीमा दुई हप्ता पुनः लकडाउन गर्न सुझाए पनि प्रधानमन्त्री स्वयंले भने फेरि पछाडि फर्किनुभन्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्णरूपले पालन गर्दै अघि बढ्नुपर्ने अडान लिए। तत्काल सवारी साधनमा जोर÷बिजोरमात्रै लागु भयो।  

जसरी सरकार अटेरी छ, उसैगरी हामी जनता पनि अटेरी छौँ। सरकारले भन्नकै लागि भए पनि सावधानी अपनाउन भनिरहेकै छ। हामी भने असावधान भएर हिँडिरहेका छौँ। पशुपतिको साँढेझैँ ज्ञानी भएर एकै ठाउँ बसिरहनुपर्ने अवस्थामा पशुपतिका चकचके बाँदरझैँ लखरलखर हिँडिरहेका छौँ, डुलिरहेका छौँ। स्यानिटाइजर लगाइराख्ने झन्झट पनि हामीले छोडिसक्यौँ। मुखमा मास्क लगाउन पनि बिर्सिसक्यौँ। भीडभाड गर्न र भीडभाडमा जान थालिसक्यौँ हामी। हाम्रो व्यवहारले यस्तो देखाइरहेछ कि अवस्था सामान्य भइसक्यो तर होइन। अवस्था झन्झन् जटिल हुँदै गइरहेको छ। कोरोना संक्रमणको जोखिम झन्झन् बढिरहेको छ। दिनहुँ सरकारले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कोरोनाको अद्यावधिक तथ्यांकले पनि यही संकेत गरिरहेको छ। संक्रमित र मृत्यु हुनेको ग्राफ झन्झन् माथि चढिरहेको छ। यो भनेको भयावह स्थितिको संकेत नै हो।  

हामी भने भयभित हुन छाडिसक्यौँ। हिजोका दिनमा कोरोना संक्रमणको जोखिम थोरै र डर धेरै थियो भने अहिले जोखिम धेरै र डर थोरै भएको छ। सरकारले कोरोना लाग्दैमा मरिने होइन, त्यसैले कोरोना लाग्दैमा आत्तिहाल्नुपर्दैन भनेर जनतालाई सकारात्मक सन्देश दिन खोजिरहेको छ। हामी भने यही सकारात्मक सन्देशले हो कि मनबाट डरै भागेर हो, डराउन छाड्यौँ र निर्धक्क भएर हिँड्न थाल्यौँ। हाम्रो अघि र पछि हामीसँगसँगै हिँडिरहेको कोरोनालाई हामीले बेवास्ता गरिरहेछौँ। त्यसैले कोरोना पनि हामीसँगसँगै हाम्रो घरभित्र छिरिरहेछ।  

कोरोनाको संक्रमण अब समुदायस्तरमै फैलिइसकेको छ। यसमा कुनै शंकै छैन। सरकारले समुदायस्तरमा कोरोना संक्रमण फैलिइनसकेको दाबी गरे पनि त्यो दाबीमा अब कुनै सत्यता छैन र कुनै बलियो आधार पनि छैन। किनभने कुनै ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा पनि संक्रमण देखिनु र समुदाय–समुदायमा कोरोना संक्रमितहरू भेटिनुले कोरोना संक्रमण समुदायस्तरमै फैलिइसकेको सिद्ध हुन्छ। समुदायस्तरमा संक्रमण फैलिनु भनेको जोखिमको स्तर बढ्नु हो। अब पनि हामीले सजगता र सावधानीसहितको जीवनशैली नअपनाउने हो भने जुनसुकै बेला हामी स्वयं पनि कोरोना संक्रमणको सिकार हुन सक्नेछौँ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता स्वयंले जुनसुकै बेला बढी जनघनत्व भएको काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भयावह हुन सक्ने चेतावनी दिएका छन्। बाहिरी आगमनबाटै काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही दिनदेखि रातको समयमा काठमाडौँ प्रवेशमा रोक पनि लगाइएको छ। तर यो मात्रै समाधान होइन। काठमाडौँ बाहिरबाट आएर सिधै काठमाडौँ उपत्यकाका घर तथा कोठामा छिर्नेहरूले काठमाडौँमा कोरोना संक्रमणको जोखिमलाई उच्च तहमा पु-याएका छन्। आफू त असुरक्षित भए नै, तिनले अरूलाई पनि असुरक्षित बनाइरहेका छन्। त्यस्ता व्यक्तिको पहिचान गरी क्वारेन्टिनमा पठाउनका लागि स्थानीय बासिन्दाले नै पहल गर्नुपर्ने खाँचो पनि देखिएको छ। आफ्नो घर÷कोठामा भाडामा बस्नेहरू भनेर चूप लागेर बस्नु वा जानकारी लुकाउनु आफ्नै लागि घातक हुन सक्छ।

प्रकाशित: २८ श्रावण २०७७ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App