यतिबेला नेपाली कांग्रेस चौधौँ महाधिवेशनको चटारोमा छ। पार्टीको विधानले निर्दिष्ट गरेको चार वर्षको कार्यकाल पूरा गरिसकेर विशेष परिस्थितिमा मात्र उपयोग गर्न पाइने थप एक वर्षको समयको सुविधा लिएर महाधिवेशनका प्रक्रिया सुरु गरिएका छन्। समयभित्रै महाधिवेशन सम्पन्न गरिएको भए अहिले चौधौँ महाधिवेशन सम्पन्न भएको पाँच महिना व्यतीत भइसक्थ्यो र सबै तहका कार्यसमिति नवीकृत नेतृत्व र पुनर्ताजगीका साथ क्रियाशील भइरहेका हुन्थे। पार्टीको आन्तरिक जीवनमा नयाँ नेतृत्व व्यवस्थापनको प्रभाव र गतिशीलताले संगठनात्मक ऊर्जा प्रवाहित हुन्थ्यो। संगठनको सबै तहमा नयाँ पुस्ताको उल्लेख्य उपस्थितिले पार्टीको आत्मविश्वाससमेत अभिवृद्धि भई ऊर्वर, उन्नत र सिर्जनात्मक विचारका साथ संभावित चुनौतीहरूको सहजै सामना गर्न सक्ने सामथ्र्य पैदा हुन्थ्यो।
अहिले ढिलो गरेर बेहोर्नु परिरहेको कार्यबोझ र झन्झटबाट पार्टी पूर्ण मुक्त भइसकेको हुन्थ्यो। र, आगामी दुवै तहका संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनका लागि सुव्यवस्थित तयारी गर्न पर्याप्त समय प्राप्त हुन्थ्यो। त्यसो हुन सकेन र अब चुकेको विगतलाई फर्काउन सकिँदैन। पार्टीले अनुत्पादकरूपमा गुजारेको समयको क्षतिपूर्ति त अब हुन सक्तैन तथापि सुरु भएको महाधिवेशनको प्रक्रियालाई नियमित राखी निर्धारित तिथिमा महाधिवेशन सम्पन्न गर्नु सम्बन्धित सबैको प्राथमिक दायित्व हो। यो हामी सबैको परम कर्तव्य र वास्तविकता हुँदाहुँदै पनि पार्टीभित्र उत्पन्न पछिल्लो विवादले समयभित्र महाधिवेशन आयोजनाका सन्दर्भमा गंभीर संशय पैदा भएको छ। तथापि पार्टीका नेता÷कार्यकर्ता यस जिम्मेवारीबाट विमुख हुने सुविधा कसैलाई पनि छैन।
महाधिवेशनको परिमार्जित कार्यतालिकाअनुसार प्रक्रियाको प्रारम्भसँगै पार्टी सदस्यहरूमाझ एउटा बहस सुरु भएको छ। चौधौँ महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा के÷के फेरबदल ल्याउला ? पार्टीका लाखौँ सदस्यको अपेक्षाअनुरूप चल्ने तदारुकता प्रदर्शित होला कि नहोला ? पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था, व्यक्तिको योगदानको उचित मूल्याङ्कन, पुराना र त्यागी नेता÷कार्यकर्ताको उच्च सम्मान, पार्टी सदस्यहरूको व्यवस्थित अभिलेख, पार्टी कार्यालयहरूको आधुनिक व्यवस्थापन, सबै तहका नेता तथा कार्यकर्ताका लागि गुणस्तरीय र नियमित प्रशिक्षण, पार्टी नेताहरूको जीवनशैलीमा आमुल सुधार अर्थात् सरल एवं साद्गीपूर्ण जीवनशैली, सिद्धान्तनिष्ठ पार्टी सदस्यहरूको ठूलो जमात, त्यागको भावना भएका जनताको सुखदुःखमा समर्पित नेता÷कार्यकर्ता आदि जस्ता कुरा स्थापित होलान् या नहोलान् ?
दैवले बचाइहाल्छन् नि भनेर दिन गनेर बस्ने कि पार्टीलाई युगसापेक्ष बनाउन थोरै मेहनत गर्ने ? आजको मूल प्रश्न यही हो।
यी र यस्ता अनगिन्ती चिन्ता र सरोकार व्यक्त हुन थालेका छन्। सँगसँगै आगामी संसदीय निर्वाचनमा थपिने तीसौँ लाख नयाँ मतदाताको ध्यानाकर्षण गराई कांग्रेसका पक्षमा मतदान गर्ने अवस्था सिर्जना होला या नहोला जस्ता प्रश्न पनि सँगै जोडिएर आउने गरेका छन्। त्यतिमात्र होइन, ’इनफ इज इनफ’ को ब्यानरमा सत्याग्रह गरिरहेका लोकतन्त्रवादी (लोकतन्त्रवादी यस अर्थमा कि गैरलोकतान्त्रिक चेतनाले सत्याग्रहको बाटो अवलम्बन गर्दैन) हरूलाई समेत कांग्रेसले ठाउँ दिने वातावरण सिर्जना गर्न सक्नुपर्छ। यी सबै पेचिला प्रश्नको तार्किक जवाफ र उपयुक्त समाधान महाधिवेशनले दिन सक्नुपर्छ।
आजसम्म नेपाली कांग्रेसको संगठनात्मक शैली बिल्कुलै परम्परागत देखिन्छ। मुख्य नेताहरूको चाहना नै पार्टी सञ्चालनको सूत्र जस्तो देखिन्छ। कतिपय अवस्थामा कार्यसमितिमा गरिने छलफल वैदिक कर्मकाण्ड जस्ता लाग्छन् र एक किसिमले यान्त्रिक आयोजनाझैँ प्रतीत हुन्छ। प्रजातन्त्र आएको यत्रो वर्ष भइसक्दा पनि स्थापित प्रजातान्त्रिक विधिबाट पार्टी चलाउने प्रयत्न नगर्नु ठूलो कमजोरी हो। प्रतिबन्धित कालमा धेरै विधि र पद्धतिको अनुशरणमा व्यावहारिक कठिनाइ थियो। आफ्नो ज्यान जोगाउनसमेत मुस्किल भएका बेला प्रक्रिया र विधिको अभ्यास गर्न असम्भव जस्तै थियो। तसर्थ ठूलो जोखिम उठाएर आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो। नेताहरूको बोली नै विधान थियो। तर प्रजातन्त्र पुनस्र्थापनापश्चात् समेत पार्टी सञ्चालनको परम्परागत शैलीमा कुनै सुधार हुन नसक्नुमा तत्कालीन र आजसम्मको पार्टी नेतृत्व दोषी छ।
प्रजातन्त्र, अभ्यासले मात्र सिद्ध हुने प्रणाली हो। यसका सिद्धान्तलाई व्यवहारद्वारा प्रमाणित गर्न सक्नुपर्छ। कम्युनिस्ट वा अन्य तानाशाही राजनीतिक प्रणालीहरू शासकको मनोगत चाहनामा चल्छन्। पञ्चायती व्यवस्था राजाको लहडमा चल्यो। अहिलेको सरकार प्रधानमन्त्री ओलीको मनचिन्ते झोली भएको छ, उनी जे चाहन्छन् त्यही कानुन र संविधान हो। तर प्रजातान्त्रिक सिद्धान्त अवलम्बन गरेका राजनीतिक दलहरूलाई यस्तो सुविधा हँुदैन। त्यसैले आजसम्म जे भयो भयो, चौधौँ महाधिवेशनपछिको कांग्रेस कस्तो होला भन्ने चासो र चिन्ता सबै शुभचिन्तकमा छाएको छ। एउटा संसार प्रसिद्ध संस्कृत श्लोक छ–
अरक्षितं तिष्ठति दैवरक्षितं सुरक्षितं दैवहतं विनश्यति।
जीवत्यनाथोअपि वने विसर्जितः अपि गृहे विनश्यति।।
अर्थात् दैवले रक्षा गरेपछि अरूले नगरे पनि बाँच्छ, दैवले मार्न चाहेपछि अरूले जोगाएर पनि जोगिँदैन र जंगलमा बेसहारा छाडे पनि कोही बाँच्छ भने जति सुरक्षा दिए पनि कोही नासिन्छ या मर्छ।
कांग्रेसका कतिपय आदत ठीक छैनन् र अबको महाधिवेशनबाट ती बानी बदल्ने संकल्प गरिनुपर्छ भन्ने आमपार्टी सदस्य र शुभचिन्तकको चाहना छ।
यो प्रसंग किन उद्धृत गरिएको हो भने नेपाल र नेपाली कांग्रेसका बारेमा एउटा चर्चा बेलाबेलामा चलिरहन्छ हाम्रो समाजमा। ‘कांग्रेस र नेपाललाई पशुपतिनाथले बचाइदिएको हो’– के यो कुरा सत्य हो त ? बिल्कुलै तर्कहीन र निराधार कुरा हो यो। नेपाललाई हाम्रा पुर्खाले र कांग्रेसलाई अग्रजहरूले बचाएको हो। तथापि राज्य चलाउने व्यक्ति र पार्टी चलाउने नेताहरूको अकर्मण्यताले नेपाली समाजमा यो ‘आहान’ जस्तो भनाइ प्रचलित भएको हो तर अबको बाटो त्यति सहज छैन। नेपाल बचाउन पनि र कांग्रेस जोगाउन पनि। त्यसैले महाधिवेशनको मुखमा पार्टी सदस्य र शुभचिन्तकमा गहिरो चिन्ता छाएको देखिन्छ। त्यसैले दैवले बचाइहाल्छन् नि भनेर दिन गनेर बस्ने कि पार्टीलाई युगसापेक्ष बनाउन थोरै मेहनत गर्ने ? आजको मूल प्रश्न यही हो।
विश्वविख्यात एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले भनेका छन्– ‘तीस वर्षसम्म बानी बनाऊ, त्यसपछि त्यही बानीले तिमीलाई बनाउँछ।’ अर्थात् तीस वर्षभित्र राम्रो आदत विकास गर, त्यसपछिको जीवन सुखद हुन्छ भन्ने उनको भनाइको अर्थ हो। व्यक्तिको जीवनमा मात्र होइन, संस्थाको जीवनमा पनि यही सिद्धान्त लागु हुन्छ। कांग्रेसका कतिपय आदत ठीक छैनन् र अबको महाधिवेशनबाट ती बानी बदल्ने संकल्प गरिनुपर्छ भन्ने आमपार्टी सदस्य र शुभचिन्तकको चाहना छ। आफ्ना शुभचिन्तक, अनुयायी र सदस्यहरूको अपेक्षा पूरा नगरिकन महाधिवेशन समापन भयो भने आयोजना फगत कर्मकाण्ड र यान्त्रिक अनुष्ठान बन्न पुग्नेछ, त्यसको कुनै अर्थवत्ता र गुणात्मकता रहने छैन।
केही यस्ता मुख्य विषय पनि छन् जसलाई कांग्रेस महाधिवेशनले सम्बोधन गर्नैंपर्छ। यसमा मूलतः पार्टी सदस्यको मूल्यांकन प्रमुख कुरा हो। आजसम्म कांग्रेसमा बिझाएको विषय हो यो। लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि पार्टीमा वर्षौँ योगदान पु¥याएका अनगिन्ती योग्य नेता÷कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेका अनेकौँ दृष्टान्त छन्। अधिकतम योगदान गरेका व्यक्ति नै किनारामा धकेलिएका छन्। यसले पार्टीभित्र चरम निराशा छाएको छ। योग्यता र क्षमता भएका नयाँ मानिस यस्तो अवस्था देखेर पार्टीभित्र आउन डराएका छन्। वर्षौँ काम गर्दासमेत पार्टीले उचित अवसर नदिने र आफूले पनि सोही दुर्दशा झेल्नुपर्ने हो भने किन कांग्रेस हुने भन्ने पेचिलो प्रश्न खडा छ। यसको समुचित र चित्तबुझ्दो जवाफ पार्टीले यस महाधिवेशनपश्चात् दिन सक्नुपर्छ। र, भन्न सक्नुपर्छ कि हामी सही मान्छेको सही मूल्यांकन गरेर आफूलाई प्रमाणित गर्छौँ।
पार्टीमा आजसम्म दण्डहीनता मौलाएको छ। नेतृत्वकै आडमा आन्दोलन र आमनिर्वाचनमा पार्टीलाई घात गर्नेहरू पुरस्कृत भएका छन्। संकटमा पार्टीलाई काँध हाल्नेहरूको पाटीमा बास भएको छ। आदर्श र सिद्धान्त जपेर पार्टीलाई मलजल गर्नेहरू रगतका आँसु बगाइरहेका छन्। सर्वस्वहरण, निर्वासन, जेल र यातना झेल्ने हजारौँ कार्यकर्ता उपेक्षित र तिरस्कृत छन्। लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान नभएका चाटुकार र अवसरपरस्त व्यक्तिहरू नेताका वरिपरि झुम्मिएका छन् र बारम्बार अवसर छोप्ने र नेतृत्वलाई दिग्भ्रमित पार्ने काममा उद्यत छन्। एक किसिमले ‘चोरलाई चौतारो र साधुलाई सूली’ भन्ने आहान चरितार्थ भएको छ। यस्तो अवस्थाबाट पार्टीलाई कसरी मुक्त गर्ने ? बदमासीलाई मोलाहिजा नराखी अर्थात् मुख नहेरी दण्डित गर्ने परिपाटी कहिले सुरु गर्ने ? आजको अहम् प्रश्न हो यो। यसको विश्वासिलो समाधान कांग्रेस महाधिवेशनको महत्वपूर्ण अभिभारा हो।
पार्टीका सदस्यहरूको इमान, योगदान र निरन्तरको मेहनत नै पार्टीको सम्पत्ति हो। यही देखेर नै नयाँ मान्छे पार्टीमा भित्रने हो। यसको अभावमा कुनै पनि राजनीतिक दल शिर ठाडो पारेर समाजमा उभिन सक्तैन। यसैबाट पार्टीको लोकप्रिय छविसमेत बन्ने हो। पार्टी नेतृत्वले आफू र आफ्ना सदस्यलाई यही गुरुमन्त्र दिने र सिकाउने हो। अहिले कांग्रेसलाई चाहिएको धेरै कुरा छैन। माथि चर्चा गरिएका महत्वपूर्ण कुराबाहेक पार्टीका पुराना नेता र सदस्यको सम्मान तथा नयाँ कार्यकर्ताको उचित व्यवस्थापन हो। नेताको नजिक पुगेपछि जो पनि साँढे हुने प्रवृत्ति पार्टीभित्र व्याप्त छ र नेता नजिकका व्यक्तिले जसो गरे पनि छूट पाउने परिपाटी हुर्किएको छ। यसको अन्त्य आजको आवश्यकता हो। नेताको नाम लिएपछि केही काम नगरे पनि हुने र बारम्बार अवसर भने पाइरहने ठूलो जमात छ पार्टीभित्र। यसले पार्टीभित्र काम गरिरहने व्यक्तिको हुर्मत लिएको छ। यस्तो आफ्नो धरातल नभएको टपरटुइयाँ र टुप्पो न फेदका कुरा गर्ने बकम्फुसे जमातलाई निरुत्साहित गर्नुपर्ने अर्को चुनौती छ।
अहिले पनि विभिन्न क्षेत्रमा क्रियाशील रहेर लामो समयदेखि पार्टीलाई सहयोग पु¥याइरहेको बुद्धिजीवी, व्यवसायीको ठूलो जमात छ। त्यसभित्रका केही चलाख व्यक्तिबाहेक कसैले पनि उपयुक्त अवसर पाएका छैनन्। जसले बढी अवसर पाएको छ ऊ नै पार्टीको सबैभन्दा ठूलो आलोचक देखिएको छ। पार्टीलाई उसले नै बढी उपदेश दिन्छ। अन्तरमनदेखि नै पार्टीलाई माया गर्ने व्यक्ति ओझेलमा छन् र यस्ता छद्मभेषी तत्वको चर्तिकलाबाट साह्रै आजित पनि छन्। तसर्थ कांग्रेसको चौधौँ महाधिवेशनको दृष्टि यसमा समेत पुग्नुपर्छ। महाधिवेशनले अंगीकार गर्नुपर्ने धेरै विषय छन् जसको पूर्ण चर्चा यस आलेखमा संभव छैन।
समग्रमा यस महाधिवेशनले पार्टीको गौरवपूर्ण इतिहासको आलोकमा कार्यकर्ताको आत्मसम्मान, मूल्याङ्कन, दण्डहीनता अन्त्य र सुरक्षित भविष्यको रेखाङ्कन गर्दै पार्टीलाई परम्परागत सबै रोगबाट मुक्त गरी नेपाली जनताको विश्वासिलो र भरपर्दो राजनीतिक पार्टीका रूपमा उभ्याउन सक्नुपर्छ।
प्रकाशित: २१ श्रावण २०७७ ०४:४४ बुधबार