८ वैशाख २०८१ शनिबार
विचार

रुकुम घटनाको मानवशास्त्र

दुई महिनाअघि रुकुममा कहालिलाग्दो घटना भयो। नवराज बिकलगायत उनका साथीहरूको क्रूर हत्या भयो। जसको चौतर्फी विरोध भयो। धेरै तर्क÷वितर्कपनि भए। दुःखलाग्दो कुरो, हामीकहाँ घटना हुन्छ, एकछिन माहोल तात्छ, अनि सेलाउँछ। घटनाको कुनै गहिरो अध्ययन नै हुँदैन ताकि फेरि नदोहोरियोस्। रुकुम घटना पहिलो घटना भने होइन। जातीय विभेदजन्य हत्यापटक पटक भइरहेको तथ्य पाउन सकिन्छ। वास्तवमा दलित भएकै कारण क्रूर हत्या कसरी गर्न सक्छ ?जातका कारण एक मान्छेले अर्को मान्छेलाई कसरी हत्या गर्न सक्छ ?हत्याराको सांस्कृतिक मनोविज्ञान कस्तो हुन्छ ? यसमा राज्य कसरी जिम्मेवार छ ? यो आलेखमा केलाउने प्रयास गरिएको छ।  

मस्तिष्क र संस्कृतिको सम्बन्ध
मान्छेले जे गर्छ, उसको मस्तिष्कले निर्देशित भएर गर्छ। अझ विशेषगरी अवचेतन मनले निर्देशित हुन्छ।सबै मानवीय संवेदना अवचेतन मनमा हुन्छ। माया, प्रेम, क्रोध, इष्र्या, घृणा इत्यादि सबै।अवचेतन मन अत्यन्त शक्तिशाली हुन्छ। यसले वास्तविकता नै परिवर्तन गर्न सक्छ।सफल मान्छे यसको सदुपयोग गर्छन्, असफलहरू दुरूपयोग। अवचेतन मनको एउटा अचम्मलाग्दोे विशेषताछ। त्यो हो–यसलाई सही र गलत नै थाहा हुँदैन। जे कुरा बारम्बार दोहोरिन्छ, त्यसलाई यसले सत्य ठान्छ।गोयबल्सले एक पटक  भनेका छन्– ‘झुटलाई पर्याप्त मात्रामा दोहो-याए सत्य बन्छ।’ उनको यो भनाइ अवेचतनको विशेषतामाआधारित छ।  

संस्कृति भनेको सामूहिक क्रियाकलाप हो। सांस्कृतिक क्रियाकलाप दोहोरिइरहन्छन्। दोहोरिनेहुनाले सांस्कृतिकरूपमा जे विश्वास, मूल्य, मान्यता छ, त्यसलाई अवचेतन मनलेसत्य ठान्छ। यसबाट प्रस्ट हुन्छ, अवचेतन मनलाई संस्कृतिले आकार दिइरहेको हुन्छ। निर्देशित गरिरहेको हुन्छ। त्यसैले अब दलित हत्याको कारण, संस्कृतिमा खोज्नु आवश्यक छ। कसरी हाम्रो संस्कृतिले हत्या गर्न प्रेरित गरिरहेको छ ? कसरी क्रूरतालाई सहज बनाइरहेको छ ?

जातीय संस्कृति
फ्रान्सका मानवशास्त्री लुइस डोमोले भारतीय हिन्दु समाजको संरचनागत अध्ययन गर्दै जातीय व्यवस्थाको सार शुद्ध र अशुद्ध सोचमा रहेको निष्कर्ष निकालेका छन्। नेपालमा जातीय व्यवस्था राज्यले नै संस्थागत गरेको इतिहास छ। यो कुरा बुझन मुलुकी ऐन पल्टाए पुग्छ। मुलुकी ऐनमा सानो–ठूलो, पानी चल्ने–नचल्ने इत्यादि जातको विभाजन गरिएको छ, जातकै आधारमा दण्ड सजाय तोकिएको छ।

संस्कृति प्रतीकात्मक हुन्छ। हरेक संस्कृतिले प्रतीकात्मक अर्थ दिइरहेको हुन्छजुन अत्यन्त शक्तिशाली हुन्छ। यति शक्तिशाली हुन्छ किहाम्रो दृष्टिकोण परिवर्तन गराउन सक्छ। संसार नै परिवर्तन गराउन सक्छ।अवचेतन मनले सही र गलत थाहा नपाउने हुनाले सांस्कृतिक (प्रतीकात्मक) अर्थहरू सत्यसँग मेल खानुपर्छ भन्ने हुँदैन। सत्य सापेक्षिकरूपमा प्रकट हुन्छ। संस्कृतिले जे अर्थ दिन्छ, त्यही नै सत्यका रूपमा स्थापित हुन्छ। उदाहरणका लागि, शिवरात्रिमा हिन्दु महिला पशुपतिका नग्न बाबाहरूलाई ढोग्न तँछाडमछाड गर्छन्। गैरहिन्दुका लागि यो अश्लील हुन्छ। तर हिन्दु महिलाका लागि अश्लील हँुदैन। किनकि यसरी ढोग्नुको फरक सांस्कृतिक अर्थ उनीहरूको अवचेतनमा सत्यका रूपमा गढेर बसेको छ। ढोग्नुको अर्थ अश्लीलतासँग नभई शिव भगवानको साक्षात्कारसँग जोडिएको छ। यसबाट बुझिन्छ, सांस्कृतिक अर्थ कति शक्तिशाली हुन्छभनेर। यथार्थ पनि परिवर्तन भइदिन्छ।वास्तवमा, त्यहाँ नग्नता नै छ। तर ढोग्नले नग्नता देख्दैन। अश्लीलता देख्दैन। अरुबेला त्यही नग्नता असाध्यै लाजको विषय बन्छ। तर त्यहाँ खुलेआम हुँदा पनि लाज हुँदैन। लाज एक संवेग हो। सांस्कृतिक अर्थले संवेगलाई पनि नियन्त्रण गर्न सक्तछ।  

बुझ्नुपर्ने कुरा, दलित हत्याराको मस्तिष्कभित्र संविधानभन्दा बलियो अर्को कानुन छ जसले हत्यालाई वैधता दिइरहेको छ।

विषयवस्तुतिर प्रवेश गरौँ। दलित हत्याको कारण थाहा पाउन दलितलाई कस्तो सांस्कृतिक अर्थ दिइएको छ, पत्ता लगाउनु आवश्यक छ। जातीय व्यवस्था यति अजीव छ कि यो व्यवस्थामा दलितहरू जन्मजातै अशुद्ध हुन्छन्। उनीहरूले नुवाएर सफा हातले छोए पनि फोहोर नै हुन्छ। कसैको घरभित्र बरु जनावर प्रवेश गरेअशुद्ध हँुदैन तर दलित प्रवेश गरे अशुद्ध हुन्छ। उनीहरूले कतै छोएअशुद्ध भइहाल्छ। सदियौँदेखिसमाजमाव्याप्त यो संस्कृतिलेदलितहरूमान्छे समान बाँच्न पाएका नै छैनन्। दलितको सांस्कृतिक अर्थ अशुद्धसँग जोडिएको छ। रूपमात्र मान्छेको तर कुनै पशुसरहछ। त्यसैले हामी सबैको अवचेतन मनमा दलित पशुझैँ चित्रित छ। मान्छेका रूपमा छैन।  

फेरि दोहो-याउन चाहेँ, अवचेतन मनले सही र गलत थाहा पाउँदैन। त्यसैले अवचेतन मनले दलितलाई मान्छेसरह बुझ्दैन। यद्यपि यो सत्य होइन। तर अवचेतनमा सत्यकारूपमा स्थापित छ। परिणाम के हुन्छ ?जब घटना हुन्छ, परिस्थिति असामान्य हुन्छ। अवचेतन मनत्यस्तो बेला झन्बढी सक्रिय हुन्छ। अवचेतन सत्य बाहिर प्रकट हुन थाल्छ।नग्न बाबालाई नग्न नदेखेझैं दलित मान्छे हो तर मान्छे देखिँदैन। त्यसैले घटनाको उत्कर्षमा जब हत्याराले उसको सामुन्ने कुनै दलित देख्छ, उसले कुनै पशुझैं देख्छ। मान्छे देख्दैन। परिणामस्वरूप उसले सहजै हत्या गर्न सक्छ। बाह्य आँखाबाट हामीले मान्छेले मान्छेलाई मारेको देख्छौँ तर दलित हत्याराले पशु हत्या भएको देख्छ।हामीलाई अत्यन्त क्रूर लाग्छ। हत्यारालाई लाग्दैन। हामीलाई अमानवीय लाग्छ। हत्यारालाई लाग्दैन। नग्न बाबालाई ढोग्दा लाजको संवेगलाई अवचेतन मनले गायब गरेझैं यहाँप्रेमलाई गर्छ।  

यहाँ एउटा प्रश्न महत्वपूर्ण छ–यस्तो अवस्था कसरी निर्माण भयो ? अवचेतनमा पशु चित्रित भएर। किन पशु चित्रित भयो ? दलितको सांस्कृतिक अर्थ अशुद्धसँग जोडिएर। किन अशुद्ध ठानियो ? जात व्यवस्था  भएर। जात व्यवस्था कसले ल्यायो ? उत्तर हो– राज्यले(मुलुकी ऐनमार्फत)।    

कानुुनी कुरा
हत्या गर्नुलाई संविधानले गैरकानुनी ठान्छ। तैपनि पटक–पटक दलित हत्या किन हुन्छ ?किन दलित हत्यारालाई कानुनले रोक्न सकेन ?यसको उत्तर पनि गहिराइमा खोज्नु आवश्यक छ। बुझनुपर्ने कुरा, दलित हत्याराको मस्तिष्कभित्र संविधानभन्दा बलियो अर्को कानुन छ जसले हत्यालाई वैधता दिइरहेको छ। हामीले पत्ता लगाउनु आवश्यक छ, उसको अवचेतनमा कस्तो कानुन छ ?त्यो कानुन कसरी निर्माण भएको छ ?

संस्कृति आफैंमा अलिखित कानुन हो। के गर्नुहुन्छ ? के गर्नुहुँदैन संस्कृतिले बताएको हुन्छ। संस्कृतिले मान्छेको अवचेतनमा बलियो नियम कानुन निर्माण गरिदिएको हुन्छ। ऊ त्यहीमार्फत बढी चलायमान हुन्छ। ऊ किताबी कानुनभन्दा त्यो कानुनसँग बढी नजिक हुन्छ। बढी जानकार हुन्छ। बढी विश्वास हुन्छ। बढी प्रिय हुन्छ।  

राज्यले संस्थागत गरेको जातीय व्यवस्थाले दलितलाई पानी नचल्ने जात भनेर घोषणा ग-यो।मान्छेझैं व्यवहार गरेन। यो संस्कृति सदियौँदेखिअभ्यासमा छ। विवाह एक विश्वव्यापी संस्कृति होजसमा कुनै जोडीको सुखद् भविष्य जोडिएको हुन्छ। विवाह कोसँग गर्ने, कोसँग नगर्ने ? संस्कृतिले नियम तय गरेको हुन्छ।जसले नवराजको हत्या गरे,उनीहरूको अवचेतनमा यस्तो कानुन छ–‘मान्छेको विवाहमान्छेसँग हुन्छ, पशुसँग हुँदैन। जसको पानी नै चल्दैन, ऊसँग जीवन चल्दैन।’ यो कानुन उनीहरूको दिमागमा अहिलेको संविधानभन्दा ज्यादा शक्तिशाली छ। कानुन उल्लङ्घन गर्दासजाय हुन्छ। हत्यालाई उनीहरूको अवचेतन कानुनले वैधता दिइरहेको छ।  

कसैको हत्या गर्नुहामीलाई गैरकानुनी लाग्छतर जसले हत्या गरे, उनीहरूको अवचेतनले कानुनसम्मत ठानेर हत्या गरेको हुन्छ।यो गम्भीर कुरा छ।नवराजका बुबाले उक्त विवाह सम्भव नरहेको बताएका थिए। वास्तवमा योे अभिव्यक्तिउनको भन्दा पनि संरचनाको हो। अवचेतन कानुनको प्रकटीकरण हो। राज्यले दलितलाई पानी नचल्ने जात भनेरघोषणा नगरेको भए उनीहरूअरू मान्छेसरह हुने थिए। अवचेतन कानुनले दलितहत्यालाई वैधता दिने थिएन।  

सामूहिक हत्या
फ्रान्सेली दार्शनिक तथा मानवशास्त्री बोग्लेका अनुसार जात व्यवस्थाको विशेषताहरूमध्ये एउटाअलगता (सेप्रेसन) पनि हो। जात व्यवस्थाले ‘हामी’ र ‘उनीहरू’ भन्ने विभेदकारी भावना जन्माउँछ। हामी ठूलो, उनीहरू सानो भन्ने भावना जन्माउँछ। अन्ततः यो पहिचानकारूपमा स्थापित हुन्छ। दुईजनाको वैवाहिक कुराले किन सामूहिक हत्याको रूप लियो ?

विवाहले केवल दुई व्यक्तिलाई जोड्दैन। केवल दुई परिवार जोड्दैन। दुई समूहलाई नै जोड्ने गर्छ। विवाहपश्चात दुई समूहबीच नै नयाँ–नयाँ साइनो जोडिन्छन्। नवराजलाई उनका सासू ससुरासँगैसम्बन्धित सबै दाजुभाइहरूलेज्वाइँ भन्नुपथ्र्यो। सम्बन्धित सबैले नवराजका बुबाआमालाई सम्धी सम्धिनी भन्नुपथ्र्यो इत्यादि। दुई परिवारको मात्र नभएर दुई समूहबीच नै साइनो जोडिन्थ्यो। जसको अवचेतनमा मान्छे समान छैनन्, तिनैसँग एकाएक साइनो लगाउनुपर्दा तथाकथित पहिचानमा संकट उत्पन्न हुन्थ्यो। मान्छे पहिचानका लागि मर्न र मार्न तयार हुन्छ। फलस्वरूप सामूहिकरूपमा हत्या भयो। राज्यले तथाकथित ठूलो र सानो जात भनेर विभाजन नगरेको भए त्यो अवस्था आउने थिएन।

निष्कर्ष  
यो आलेखको आशय, रुकुम हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिनुपर्छ भनेको होइन। ती दोषीभन्दा राज्यसंरचनाबढी जिम्मेवार छ। राज्यको यो दोष नसच्चिए यस्ता घटना फेरि हुने निश्चित छ। राज्य गम्भीर हुनु जरुरी छ–नेपाली समाजमा व्याप्त दलितकोसांस्कृतिक अर्थ कसरी परिवर्तन गर्ने ?हत्यालाई वैधता दिने सांस्कृतिक मनोविज्ञानद्वारा निर्देशित कानुन कसरी परिवर्तन गर्ने?वास्तवमा, यो परिवर्तन सम्भव छ। किनकिसांस्कृतिक अर्थहरू अपरिवर्तनीय हुँदैनन्। त्यसैले अब राज्यले प्रभावकारी कदम चाल्ने कि?
(मानवशास्त्रका विद्यार्थी)

प्रकाशित: १९ श्रावण २०७७ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App