२० श्रावण २०७७ मंगलबार
विचार

सफलताको श्रेय लिने हतारो

‘...भएका सबै उपाय अवलम्बन गरेर मुलुकमा कोरोना संक्रमितको संख्या सयमा सीमित राख्ने गरी सरकारले काम अघि बढाएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको दाबी छ।’

वैशाख ३ गते रेडियो कान्तिपुरबाट प्रसारित समाचारको एक अंश हो यो। समाचारको यो अंश कान्तिपुरको अनलाइन संस्करणमा पनि उपलब्ध छ। त्यसदिन नेपालमा काठमाडौँका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  

दुई जनामा संक्रमण पुष्टि हुँदा नै काठमाडौँमात्र होइन, सिँगै देशका जनता डराएका थिए। कोरोना संक्रमण फैलिने भयले सबै भयभीत बनेका थिए। उता सरकारले ठुल्ठूला तयारीका कुरा गरे पनि व्यवहारमा त्यस्तो केही देखिएको थिएन। त्यसैले संक्रमितहरूको संख्या विस्तारै बढ्न थाल्यो। खासगरी भारतलगायत विदेशबाट नेपालीहरू स्वदेश फर्कन थालेपछि नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो। किनभने भारतलगायत विदेशबाट फर्कने नेपालीले नै कोरोना भाइरसको संक्रमण बोकेर आएका थिए। स्थानीयस्तरमा संक्रमण भएको थिएन र अझै पनि स्थानीयस्तरमा संक्रमण नफैलिएको सरकारको दाबी छ।

मुलुकमा कोरोना संक्रमितहरूको ग्राफ माथि चढ्दै गर्दा सरकारको दाबी झुटो सावित हुँदै गयो। कोरोना भाइरस संक्रमणविरुद्धको सरकारको तयारी र कार्यसम्पादन फितलो भएको प्रमाणित हुँदै गयो। झन्डै दुई महिनाको लकडाउनको अवधिमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको नाउँमा गफबाहेक सिन्को पनि भाँचेको पाइएन। परिणामतः संक्रमितहरूको ग्राफ धेरै माथि चढ्यो। आतंकित नै हुनुपर्ने स्थिति भयो। सरकार भने तथ्य लुकाउनमै व्यस्त रह्यो। भुसको आगोझैँ भित्रभित्रै फैलिइसकेको कोरोना संक्रमणले देशका सबै जिल्लालाई प्रभावित पा-यो। आज १८ हजारभन्दा बढीको संख्यामा कोरोना भाइरसबाट संक्रमित हुँदा सरकारको संक्रमितको संख्या सयमा सीमित राख्ने दाबीले स्वयं सरकारलाई गिज्याइरहेको महसुस हुन्छ। तर सरकारले यस्तो महसुस गरेको देखिएको छैन। सरकार निर्लज्ज छ।  

दुई महिनाको लकडाउनमा नेपाली नागरिक निकै भयभीत भए। आर्थिक तथा सामाजिक समस्या भोगे। निकै पीडा र कष्ट सहे। दैनिक जीवन नै कष्टकर बन्यो। आर्थिक क्रियाकलाप ठप्प हुँदा दैनिक ज्याला मजदूरी गरी खाने वर्गले भोकको सामना गर्नुप-यो। सरकारले प्रदान गरेको राहतले एक हप्ता पनि नधान्ने अवस्थामा गरिब मजदूरले सडकमै भोकै मृत्युवरण गरेको समाचार पनि सुन्नु र देख्नुप-यो।  

भारतलगायत विदेशबाट नेपाली आउने क्रम घटेसँगै संक्रमितको संख्या पनि घटेको देखिएको छ। तर संक्रमणको जोखिम र खतरा भने घटेको होइन।

लकडाउनमात्रै कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको अन्तिम उपाय होइन र आर्थिक क्रियाकलापलाई विस्तारै सुचारु नगरे भोलिका दिनमा ठूलै आर्थिक संकट आइपर्ने सत्यलाई मनन गर्दै असार १ गतदेखि लकडाउन केही खुकुलो पारेपछि जनजीवन सामान्यतर्फ फर्कन थाल्यो। तर जनजीवन सामान्यतर्फ फर्कंदै गर्दा संक्रमणको जोखिम भने बढ्यो। समय बित्दै जाँदा मानिसले कोरोना भाइरसको संक्रमणको डर र भयलाई बिर्सिँदा वा त्यस्तो भय र डर आफसेआफ कम हुँदा मानिसले अपनाउने सावधानीमा कमी आयो र लापरबाही बढ्न थाल्यो। यही मौकामा कोरोनाले द्रुतगतिमा संक्रमण फैलाउने मौका पायो। जेठ अन्तिममा ५ हजार ७ सय ६० को संख्यामा रहेको संक्रमितको संख्या असार अन्तिममा १७ हजार १ सय ७१ पुग्यो।  

समय बित्दै जाँदा डर र भय पनि आफैँ कम हुँदै जाने रहेछ। काठमाडौँका दुई जनामा कोरोना संक्रमण पुष्टि हुँदा हामीमा जुन डर र भय पैदा भएको थियो, त्यस्तो डर र भय अहिले पटक्कै छैन। सुरुका दिनमा कतै एक वा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको समाचार सुन्दा भयभीत हुने हामी, अहिले दिनमा सयौँको संख्यामा संक्रमण पुष्टि भएको समाचार सुन्दा वा अखबारमा पढ्दा कुनै प्रतिक्रिया नजाउने भएका छौँ। हाम्रो मनबाट कोरोना संक्रमणको डर र भय हटिसकेको छ। पूर्ण लकडाउनका बेला आफ्नो गाउँ–टोलमा नौलो र अपरिचित मान्छे नआऊन् भनेर बाटो छेक्नेसम्मको उपाय अपनाएका हामी, आज आफैँ मुखमा मास्क लगाएको भरमा जताततै निर्धक्क हिँड्ने भएका छौँ। कोरोना भाइरस पनि हामी सँगसँगै हाम्रै वरिपरि उसैगरी निर्धक्क हिँडिरहेको सत्यलाई हामीले ख्याल गर्न सकेका छैनौँ अथवा ख्याल गर्न बिर्सेका छौँ। त्यसैले हाम्रै टोलछिमेकमा कोरोना संक्रमित भेटिन थालेका छन्।  

भारतलगायत विदेशबाट नेपाली आउने क्रम घटेसँगै संक्रमितको संख्या पनि घटेको देखिएको छ। तर संक्रमणको जोखिम र खतरा भने घटेको होइन। कोरोना परीक्षणको दायरा फराकिलो बन्न नसक्दा सम्भावित संक्रमितहरूको पहिचान नै हुन सकेको छैन। झन् अहिले त सरकार आफैँ पनि संक्रमणको दर घटेको देखाउन उद्यत छ। दैनिक १५ हजारको कोरोना परीक्षण गर्ने घोषणा गरेको सरकारले अहिले दैनिक सरदर चारदेखि साढे चार हजारको संख्यामा पनि परीक्षण गर्न सकेको छैन। यसरी परीक्षणको दायरा नै नबढेको अवस्थामा अथवा परीक्षणको दायरा नै घटेको अवस्थामा संक्रमितहरूको संख्या घटेको देखाएर कोरोना भाइरस संक्रमणको जोखिम घटेको र सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा सफल भएको देखाउन लालायित बनेको देखिन्छ। तर यथार्थ भने उल्टो छ। संक्रमणको जोखिम घटेको नभई परीक्षणको दायरा घटेको कारण संक्रमण पुष्टिको संख्या घटेको मात्रै हो। कोरोना भाइरसको संक्रमण भने भुसको आगोझैँ समुदायस्तरसम्मै फैलिइसकेको दाबी सम्बन्धित विज्ञको छ।

तथ्यांकमा संक्रमितको संख्या घटे पनि जोखिम घटेको छैन। तथ्यांकमा संक्रमित घट्नु भनेको जोखिम सकिनु होइन। परीक्षणको दायरा घटाउँदामात्रै संक्रमितको संख्या घटेको हो। असार दोस्रो सातासम्म दैनिक औसत आठ हजारको हाराहारीमा पिसिआर परीक्षण गरिँदै आएकोमा अहिले दैनिक औसत चारदेखि साढे चार हजारको हाराहारीमा मात्रै पिसिआर परीक्षण हुने गरेको छ। दैनिक औसत आठ हजारको पिसिआर परीक्षण गर्दा १६ देखि १७ प्रतिशतसम्म संक्रमण पुष्टि हुने गरेकोमा पछिल्लो समय परीक्षण घटाइएपछि संक्रमित १.९ देखि २ प्रतिशतभित्र सीमित बनेको छ। परीक्षण नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक हो।

सरकारले परीक्षण कार्यविधि नै परिवर्तन गर्दै क्वारेन्टिनमा रहेका तर लक्षण नदेखिएकालाई परीक्षण नगरीकनै घर पठाउने गर्नाले पनि संक्रमितको संख्या स्वाट्टै घटेको अनुमान गर्न सकिन्छ। अन्तर्राष्ट्रिय क्षेत्रले जे ग¥यो हामीले पनि त्यही गर्न थाल्यौँ। हाम्रो आफ्नो देश र परिवेश सुहाउँदो विधि र प्रक्रियालाई अपनाएर परीक्षणलाई निरन्तरता नदिँदा समुदायसम्म संक्रमण फैलिँदा पनि संक्रमितको संख्या घटेको देखिनु स्वाभाविक देखिँदैन। अहिलेसम्म उपत्यकामै संक्रमितको संख्या चार सयको हाराहारीमा पुगेको छ। ललितपुरको नख्खु टोल, काठमाडौँको कोटेश्वर, सहिद गंगालाल अस्पताल, शंखमूल, बूढानीलकण्ठ नगरपालिका, कपन, विमानस्थल, डिल्लीबजार, मनोहरा, भक्तपुरको बोडेलगायतका १२ स्थानबाट तीन हजार नमुना लिएर परीक्षण गर्दा तीन जनामा मात्रै संक्रमण देखिएको सरकारको दाबी छ। उनीहरूको ट्राभल हिस्ट्री भने देखिँदैन। यसले समुदायमा संक्रमण फैलिइसकेको देखाउँछ।  

देशभर ट्राभल हिस्ट्री नभएका संक्रमित छदेखि सात प्रतिशतको हाराहारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ भने उपत्यकामा ०.१८ प्रतिशत रहेको बताइएको छ। नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै संक्रमणको लक्षण देखिएको इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यसैगरी अहिलेसम्मको तथ्यांकको आधारमा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२१ प्रतिशत छ। मृत्यु हुनेमा ५० वर्षभन्दा माथिका धेरै छन्। ५१ देखि ६० वर्षको उमेर समूहमा १.४४, ६१ देखि ७० वर्ष उमेर समूहमा १.५ प्रतिशत, ७१ देखि ८० वर्ष उमेर समूहमा ३.९२ प्रतिशत र ८० वर्ष माथिको उमेर समूहमा मृत्यु दर ८.३३ प्रतिशत रहेको पनि इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  

अब त झन् लकडाउन पनि खुल्यो। सरकारी कार्यालयहरू पूर्णरूपमा खुलेका छन्। सार्वजनिक यातायात पनि सुचारु भएको छ। बजार खुलेका छन्। उद्योग तथा कलकारखाना पनि खुलेका छन्। यसले गर्दा मानिसको आवतजावत तथा सम्पर्क बढेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसक्दै यसरी मानिसको भीडभाड र सम्पर्क बढ्नाले कोरोना भाइरसको संक्रमणको जोखिम थप बढेको छ। तर परीक्षण कम भएकै कारण संक्रमण पुष्टि हुनेको संख्या घटेको आधारमा जोखिम घटेको आकलन गर्नु भुल हुनेछ। व्यापकरूपमा परीक्षण गर्दै चरणबद्धरूपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा सम्बन्धित विज्ञहरूसँग कुनै परामर्श नै नगरी मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै लकडाउन खोल्दा समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम झन् बढेको छ। त्यसैले हतारमा गरिएको लकडाउन खोल्ने निर्णय असान्दर्भिक र अपरिपक्व छ। यसले पछुताउनुपर्ने पनि अवस्था आउन सक्छ।

समय बित्दै जाँदा मानिसमा कोरोना भाइरस संक्रमणको डर कम हुँदै गएको सत्य हो। सधैँ घरमै बसेरमात्रै जीवन निर्वाह नचल्ने हुँदा पनि बाध्य भएर मानिस घरबाट निस्केका हुन्। कोरोना संक्रमणबाट हुने मृत्यु दर कम भएकाले पनि मानिसमा बिस्तारै ‘कोरोना लाग्दैमा मरिने होइन क्यारे’ भन्ने सोच बढेको छ। विभिन्न कारणले मनमा डर हराएकाले मानिस निर्धक्क बाहिर हिँड्न थालेकाले कोरोना संक्रमणको जोखिम घट्नुको साटो बढेको देखिन्छ। झन् समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको अवस्थामा लकडाउन पनि खुलेकाले अब सजगता नअपनाउने हो भने संक्रमणको जोखिम झन् बढ्ने र संक्रमणको अवस्था पुनः भयाबह हुन सक्नेछ। यस्तो अवस्थामा जोखिम घटेको देखाएर आफ्नो सफलताको श्रेय लिने सरकारको अभीप्सा पक्कै उचित होइन।

प्रकाशित: ८ श्रावण २०७७ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App