महाभारतमा पाँच पाण्डवमध्ये एक धनुर्धारी अर्जुन निसाना लगाइ द्रौपदीलाई पाउन सफल हुन्छन्। पानीको छायाँमा घुमिरहेको माछाको आकृति हेरेर निसाना लगाउनुपर्ने पाञ्चाल नरेश द्रुपदको सर्त उनले पूरा गरेपछि पाञ्चाली पाणिग्रहण सम्भव भएको हुन्छ। द्रौपदीलाई लिएर घरमा आएका उनीहरूले बाहिरबाटै ‘माता ! हामीले भिक्षा लिएर आएका छौं’ भन्छन्। माताको आज्ञा हुन्छ, ‘जे ल्याए पनि आपसमा बाँडेर लिनू।’
उनीहरू धर्मसंकटमा पर्छन्। त्यो युगमा मातृआदेश उल्लंघन सम्भव थिएन। महाभारत एक महाकाव्य हो, यसलाई अभिधा, व्यञ्जना र लक्षणामा अथ्र्याउन सकिन्छ। विवाहपछि पाण्डवहरूको समय द्रौपदीका लागि भागबन्डा हुन्छ। अर्थात् पाँचै दाजुभाइ द्रौपदीका पति हुन्छन्। द्रौपदी महाभारतकी केन्द्रीय पात्र हुन्। उनलाई तत्कालीन परिस्थितिमा ‘सत्ता’ का रूपमा बुझ्न सकिन्छ। उनकै वरिपरि घुम्छ यो महान् कथा।
प्रत्येक युगमा सत्ताका लागि महाभारत भइरहन्छ। फरक यति हो, त्यसका पात्र फेरिन्छन्। वीर भोग्या वसुन्धरा अर्थात् वीरलाई धरती अर्थात् सत्ताभोगको अवसर प्राप्त हुन्छ। आज आफूलाई त्यही वीरका रूपमा प्रस्तुत गर्नेहरूको कमी छैन।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यतिबेला महाभारत चलिरहेको छ जहाँ आलोपालो प्रणाली छ। केहीअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्झौता गरेका हुन्¬– ओलीले पूरा समय प्रधानमन्त्री चलाउने र दाहाल पार्टी कार्यकारिणी बन्ने।
त्यो महाभारतमा मातृआदेशविरुद्ध जाने कसैको हिम्मत थिएन। यो महाभारतमा राष्ट्रमाताको आदेश पालना हुन सकेन। त्यो महाभारत १८ दिनमा सकिएको थियो। यो महाभारत सकिन १८ महिना पनि कम होलाजस्तो छ।
नेकपाभित्र यतिबेला महाभारत युद्धपूर्वको स्थिति छ– अन्तिमपटक भए पनि शान्ति प्रस्ताव लैजाने। पाण्डवलाई पाँच गाउँ दिएर युद्ध रोक्न श्रीकृष्णले शान्ति प्रस्ताव लगेका थिए। उन्मादमा रहेका कौरवका निम्ति त्यो प्रस्ताव स्वीकार्य हुन सकेन।
अहिलेको ‘नेकपा महाभारत’ पछि नेपालमा पनि सिद्धान्तको राजनीति पराजित हुने देखिन्छ। वामपन्थी राजनीतिको यात्रा पराजयतर्फ सुरु भइसकेको छ।
महाभारत युद्ध हुनुअघि जस्तै दाहाल पक्षले आफ्नो माग ओलीसमक्ष प्रस्तुत गरिरहेको छ। यो मागमा वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ छ। यसपटक दाहालले नेकपाका अन्य वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतको साथ पाएका छन्। पार्टी केन्द्रीय सचिवालय, स्थायी कमिटीका बहुमत सदस्य यतिबेला दाहाल पक्षसँग छ भनिँदैछ। केन्द्रीय कमिटीले निर्णय गर्न पाउने हो भने पनि आफ्नै पक्ष हाबी हुने दाहाल पक्षको दाबी छ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा सत्ता साझेदारी आधा–आधा गर्ने सहमति भएको थियो। पछि राष्ट्रपति भण्डारीको उपस्थितिमा सत्ता साझेदारीबाट दाहाल हट्ने सहमति भएको हो। दाहालले पार्टी चलाउने र ओलीले सत्ता, यो सहमतिको पालना नभएपछि फेरि पार्टी एकीकरण भएकै बेलाको स्थितिमा नेकपा प्रवेश गरेको छ।
यतिबेला नेकपाभित्र को कौरव र को पाण्डव पक्ष हो, यहाँ त्यो छुट्ट्याउने उद्देश्य होइन। सत्ता उन्मादले युद्ध अर्थात् फुटतर्फ कसरी लैजान्छ भन्ने देखाउन भने नेकपाभित्रको अहिलेको परिस्थिति महाभारतभन्दा कम छैन। महाभारत आत्मसम्मानको पीडाबाट सिर्जित युद्ध हो। नेकपामा पनि यही स्थिति छ।
हिजो नेकपामा ओलीको हैसियत सीमित थियो। तथापि, एकीकृत महाकाली सन्धि पारित गर्ने बेला उनले तत्कालीन पार्टी महासचिव माधवकुमार नेपाललाई बलियो साथ दिएका थिए। महाकाली सन्धि पारित गरेकै कारण पार्टी विभाजन भयो। त्यो बेला नेताहरू वामदेव गौतम र सिपी मैनालीले पार्टी संसदीय दल विभाजन गरी नेकपा माले बनाएका थिए। पार्टी विभाजित हुँदा पनि त्यसलाई सशक्तरूपमा लैजाने काम एमालेका तत्कालीन नेताद्वय नेपाल र ओलीले गरेका थिए।
महाभारतका भीष्म पितामहसरह विभाजनको पीडा अध्यक्ष मनमोहन अधिकारीले भोगेका थिए। विभाजनपछि सम्पन्न संसदीय निर्वाचनमा मालेले एक स्थान पनि जित्न सकेन। केहीपछि गौतम फेरि एमालेमा प्रवेश गरे। गुट, फुट र विभाजनको इतिहास भएको कम्युनिस्ट दललाई फेरि एकै ठाउँमा ल्याउने काम एमाले र माओवादीको एकीकरणले ग¥यो। त्यो एकीकरणले पर्याप्त शक्ति आर्जनसमेत ग¥यो।
शक्ति आर्जनपछि अहिले कसले कसलाई हेप्यो भन्ने परिरहेको छ। जसरी महाभारत युद्धपछाडि बदलाको भावना छ, त्यही भावना यतिबेला नेकपाभित्र देखिँदैछ। ‘अन्धाको छोरो अन्धै हुन्छ’ भनेर द्रौपदीले दुर्योधनप्रति गरेको अट्टाहास होस् वा कौरवसभामा द्रौपदीलाई नंग्याउँदाको क्षण होस्, महाभारतका निम्ति आधार तयार भएका छन्। यता नेकपाको महाभारतमा प्रधानमन्त्री ओलीलाई ठूलो कुर्सी र कार्यकारी अध्यक्ष दाहाललाई सानो कुर्सी राखिएकाजस्ता प्रसंग पनि यतिबेला चर्चित छन्।
अवसर पाएर पनि शासन गर्न नसक्ने र देशलाई समृद्धितिर लैजान नसक्ने शक्तिका रूपमा भविष्यसम्म नेकपाको महाभारतलाई चित्रण गरिनेछ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा रहेका ओलीविरुद्ध नेकपामा कुनै वातावरण बनेको थिएन। उनलाई कुनै एक पदबाट हटाउने भन्ने सोच्न सकिने कुरा थिएन। तथापि, नेपालले दलभित्र ‘विधि र प्रक्रिया’मा ध्यान दिन आग्रह गर्दै ‘एक व्यक्ति एक पद’को कुरा गरिरहेका थिए। नेकपाभित्र अहिलेको परिस्थिति एउटा चोटले बनेको होइन, अरू सबैको अस्तित्व सिध्याउन खोज्दा आएको परिस्थिति हो।
नेकपाभित्र कुनै एक नेतामात्र आफैँमा बलिया छैनन्। जसले अन्य नेतालाई आफूतिर मिलाउन सक्छ, उही बलियो हुने अवस्था छ। ओली आफूनिकट हुँदा नेपाल बलिया थिए। वामदेव गौतम र सिपी मैनाली सँगै हुँदा तत्कालीन एमालेमा नेपाललाई हाराबारा खेलाएकै थिए। गौतमले साथ दिएपछि पार्टीमा ओली बलियो हुँदै आए। कहिले झलनाथ खनाल, कहिले गौतमलाई उनले आफ्नो पक्षमा राखे। पार्टी एकीकरणपछि ओली र दाहाल दुई ‘पाइलट’ ले नेकपारूपी जहाज उडाउन थाले। ओली त्यो बेलासम्म कसैले छुन नसक्ने रहे, जतिबेलासम्म दुई पाइलटले मिलेर जहाज चलाइरहे। त्यो शक्तिले माधव नेपाललाई तेस्रो वरियताबाट चौथोमा झार्नसमेत सम्भव भएको थियो। शक्ति आर्जन हुँदै गएपछि दाहालको हैसियत ओलीको आज्ञापालकमै सीमित भएपछि अहिलेको परिस्थिति आएको हो। उनले पनि नेपाललगायतका नेतालाई साथ लिएर ओलीलाई चुनौती दिन थालेका हुन्।
नेकपा बनेपछि धेरैमा आशा सञ्चारित भएको थियो। मुलुकमा स्थायित्व आएको र त्यसबाट समृद्धितर्फ यात्रा हुन्छ भन्ने आमनागरिकमा परेको थियो। संविधान जारी भई निर्वाचनबाट बलियो सरकार बनेकाले यसले लोकतन्त्रलाई बलियो बनाउँछ, विचार र अभिव्यक्ति स्वतन्त्रता सुदृढ हुन्छ भन्ठान्नेर नागरिक समाज पनि खुसी भएको हो। जब ओली सरकार केन्द्रमा देखियो, त्यसले चौतर्फी आक्रमण सुरु ग¥यो। लोकतान्त्रिक मूल्य÷मान्यतामा सबैभन्दा बढी प्रहार हुन थाल्यो। उनले आफ्नो पार्टीका नेतादेखि बुद्धिजीवीसम्मलाई उल्लीबिल्ली पार्न थाले।
नेकपामा पनि महाभारत युद्धको दुन्दुभि सुरु भइसकेको छ। यो युद्धमा जुन पक्षले जिते पनि पराजित हुने लोकतान्त्रिक आकांक्षा हो। झन्डै दुईतिहाइको शक्ति लिएर पनि मुलुकलाई आशाको सन्देश दिन नसकेको सरकारप्रति अब ठूला अपेक्षा छैनन्। महाभारत युद्धमा पाण्डवले जिते पनि शासन गर्न सक्ने मनोदशामा ती रहेनन्। युद्धमा कुनै पनि शस्त्र नउठाएका कृष्णको सम्पूर्ण यदुकूलसमेत समाप्त हुन पुग्यो। शासनमा मन नलागेपछि पाण्डवले नाति परीक्षितलाई सिंहासनमा राखेर हिमालय पर्वततिर लाग्नुप¥यो।
अहिलेको ‘नेकपा महाभारत’ पछि नेपालमा पनि सिद्धान्तको राजनीति पराजित हुने देखिन्छ। वामपन्थी राजनीतिको पराजयतर्फ यात्रा सुरु भइसकेको छ। अवसर पाएर पनि शासन गर्न नसक्ने र देशलाई समृद्धितिर लैजान नसक्ने शक्तिका रूपमा भविष्यसम्म नेकपाको महाभारतलाई चित्रण गरिनेछ। अहंकारको दावानल जल्नु अवश्यम्भावी छ। बस्, यो युद्धको प्रत्यक्ष विवरणका निम्ति ‘सञ्जयदृष्टि’ आवश्यक छ।
प्रकाशित: ४ श्रावण २०७७ ०५:२१ आइतबार