८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

लैंगिक हिंसामा पुरुष अपराधबोध

सुरुमै भन्नुपर्छ– एक पुरुषको हैसियतले महिला हिंसाका पक्षहरूको कुरा गर्नु काँचो काम हुन सक्छ। महिलाविरुद्धको यौन हिंसामा लगभग अकाट्यरूपमा पुरुषको संलग्नता देखिने यथार्थका बीच पुरुषले यी हरफहरू लेख्नुलाई ढोंगको रूपमा पनि लिन सकिएला तर यथार्थ जस्तो भए पनि स्वीकार गर्नैपर्छ। नारी जगत् आफैंँमा मानव समाजको आधा अंशमात्र होइन, बरु त्यसको सर्जक, पालक र पोषक पनि हो। महिलाको गर्भमा पालित पोषित भएर महिलाकै शरीरबाट सिँचित हुँदै धरातलमा आँखा खोलेको र तिनै ममतामयीको दश धारा दूध पान गरेर आफ्ना कोमलतम पलहरूमा जीवित रहेको पुरुषले महिलामाथि नै अमानवीय हिंसा गर्नुको जति निन्दा गरे पनि कम हुन्छ। र, यो निन्दा कुनै पुरुषको मुखबाट हुनु कताकता असहज र बनावटी पनि लाग्न सक्छ। तर पुरुषहरूबीच पनि सबै आपराधिक वा कामुक मानसिकताका मात्र हुँदैनन् पक्कै। आजीवन नारीको सम्मान गर्ने र आफ्नो जीवनसँग जोडिएका नारी पात्रप्रति समर्पित हुने पुरुषलाई पनि आजभोलि सुनिने, पढिने र देखिने चरम यौनिक हिंसाका घटनाले दुखित र धेरै हदसम्म लज्जित बनाएको महसुस एक पुरुषका रूपमा मलाई हरदम हुन्छ।  

यौन हिंसाका विषयमा कान्तिपुरमा चैत ८ गते प्रकाशित सविता बिमलीको र असार १२ गते प्रकाशित अमृता अनमोलको लेखले महिलाविरुद्ध हुने यौनजनित हिंसाका विविध रूप, त्यसको समग्र परिवेश र हालको विकराल परिस्थितिलाई प्रतिनिधित्व गरेका छन्। पक्कै पनि हरेक घर÷परिवारको मेरुदण्डको भूमिका निर्वाह गर्ने महिलालाई यस्ता घटनाले अतिशय दुखित र आक्रोशित बनाउँछ नै। बढ्दो आपराधिक परिवेशले छोराका आमाहरूलाई र छोरीका आमाहरूलाई उत्तिकै तनावग्रस्त बनाउँछ। एकातर्फ छोराहरू आपराधिक प्रवृत्तिमा लाग्लान् भन्ने र अर्कोतिर छोरीहरू अपराधको सिकार होलान् भन्ने। अमृताले लेख्नुभएजस्तै हाम्रो समाजमा छोरीप्रतिको धारणा र व्यवहार निकै पिछडिएको मानसिकताबाट  प्रेरित छ। सानै उमेरदेखि छोराहरूलाई छोरीहरूभन्दा बढी सबल, पौरखी, गरिखाने र आत्मनिर्भरका रूपमा पालनपोषण गरिन्छ। अर्कोतिर अधिकांश छोरीको मानपटलमा उनीहरू ‘अर्काको घर जाने’, अबला, गरिखान नसक्ने र परनिर्भरका रूपमा स्थापित गरिन्छ। जसले गर्दा उनीहरू सानैदेखि बाबु, दाजुभाइ र अन्य नाता पर्ने पुरुषमाथि निर्भर हुन्छन्। बाटोमा पछि लाग्ने, भान्छामा पछि खाने, पढाइका अवसरमा पछि पर्नेदेखि लिएर मोटरसाइकलको पछाडिको सिटमा बस्नेसम्मका कतै स्पष्ट र कतै सूक्ष्म विभेदको सिकार छोरीहरू भइरहेकै छन्।  

नारी जगत् आफैंँमा मानव समाजको आधा अंशमात्र होइन, बरु त्यसको सर्जक, पालक र पोषक पनि हो।

यसरी पछि लाग्नुपर्ने अवस्था कमजोरीका कारण नभई परिस्थिति, परिवेश र बाध्यताका कारण आउने गर्छ। कम शिक्षा पाएकी आमा बाबुभन्दा कमजोर नै हुन्छिन्, कम अवसर पाएकी पत्नी पतिसामु आफूलाई कमजोर नै ठान्छिन्, घरमा दाजुभाइ समान स्वतन्त्रता र अवसर नपाएकी छोरी आफूलाई कमोजोर नै ठान्छिन्। यही कारणले मेरी हजुरआमा आजीवन निरक्षर भएर बित्नुभयो। यही कारणले मेरा मामाहरूले थोरै भए पनि पढ्न पाए तर मेरी आमाले किताब र विद्यालयको मुख देख्न पाउनुभएन। यस्तै विभेदले नै नारीहरूलाई आजीवन पछौटे, कमजोर र कुण्ठित बनाउँछ। यसरी पछि लाग्ने र संरक्षक खोज्न बाध्य बनाइएका कैयन् बालिका, किशोरी, युवती र बयस्क महिलाहरू पुरुषमाथि बढी निर्भर पर्ने क्रममा नै यौनिक हिंसाको सिकार बनेका छन्।  

भावनात्मक कोमलता र शारीरिक सुन्दरता नारीका विशेषता हुन्। ती दुवै उनीहरूको सबल पक्ष भए पनि त्यसलाई संरक्षण गर्न उनीहरूमा हुनुपर्ने मानसिक शक्तिको प्रवद्र्धन यथेष्ठरूपमा भएको पाइँदैन। त्यसको साटो पुरुषलाई नारीका ती विशेषताको पहरेदारका रूपमा समाजले उभ्याउँछ। सम्पत्ति कसैको र संरक्षक कोही अरू नै हुँदा त्यो तथाकथित संरक्षकको पौरुषेय अभिमानको प्रतीक पनि नारीको कोमलता र सुन्दरता बन्न जान्छ। त्यसले गर्दा पुरुषलाई चोट पु¥याउन होस् वा पुरुषको फोस्रो पौरख देखाउन होस्, नारीको कोमलतामाथि कुठाराघात गर्ने काम अनादिकालदेखि चलेकै छ। युद्धमा हुने महिला हिंसा र यौन शोषण, कट्टर समाजमा हुने ‘अनर किलिङ’, तेजाव आक्रमण, दाइजो प्रथादेखि लिएर द्रौपदीको चीरहरण, सीताको अपहरण र अहिल्याको पाषाणकरण सबै त्यही पुरुषको संरक्षक बन्ने वा कुनै पुरुषमाथि प्रतिशोध लिन ऊसँग गाँसिएकी नारीमाथि अन्याय गर्ने मानसिकताको उपज हो। बाबु वा दाजुभाइसितको बैरी साँध्न पनि छोरी÷चेलीको इज्जत लुटिन्छ। त्यतिबेला लुटिने छोरी÷चेलीलाई एक व्यक्तिको रूपमा भन्दा पनि ती बाबु वा दाजुभाइको सम्पत्तिका रूपमा हेरिन्छ। पत्नीलाई जुवामा हारिन्छ, छोरीको कन्न्यादान गरिन्छ र विधवालाई धर्मको नाममा सती पठाइन्छ। प्राचीनकालदेखि नै रहेको यस्तो अमानवीय विभेदमा इतिहास, पुराण र धार्मिक ग्रन्थका अनेकन आख्यानले थप मलजल गरेका छन्। शायद ती ग्रन्थकार र आख्यानकार पनि पुरुष भएका कारण नारी दृष्टिकोण र ढुकढुकीले स्थान पाउन सकेन होला। आधुनिक समाजमा समेत नागरिकता, सम्पत्तिको अधिकार र पारिवारिक पहिचानका सन्दर्भमा सो विभेदलाई सामान्यरूपमा आजसम्म स्वीकार गरिएकै छ।

नारी र पुरुष प्राकृतिकरूपले एकअर्काका पुरकको रूपमा सृष्टि भएका हुन् र तिनमा लैंगिक र यौनिक आकर्षण हुनु स्वाभाविक हो।  

बहुपत्नी प्रथा, राजा÷महाराजा र घरानिया पुरुषका विवाहेत्तर सम्बन्ध आदिलाई हाम्रो समाजले आफ्नो संस्कृतिको स्वाभाविक विशेषताका रूपमा स्वीकार गरेको पाइन्छ। यदाकदा महिलाले सोही किसिमको जीवनचर्या अपनाउँदा पुरुष समाजले कसरी लिन्छ भन्ने बुझ्न त द्रौपदीको कथा नै पर्याप्त हुन्छ होला। यस्ता विभेदकारी चलन, संस्कार र मान्यतालाई आफ्नो संस्कृतिका रूपमा जबसम्म महत्व दिइन्छ र तिनको नकारात्मक पक्षको वस्तुगत विवेचना गरिँदैन तबसम्म हाम्रा छोरा, दाजुभाइ र बाबुहरूले नारी जातिलाई सबल र सक्षम व्यक्तिका रूपमा भन्दा आफ्नो जीवनको गहनाका रूपमा हेर्ने क्रम पूर्णरूपमा हट्ने अपेक्षा गर्न सकिंँदैन। सो प्रवृत्ति कम गर्न सर्वप्रथम बालिका, किशोरी र वयस्क सबै महिलालाई हरेक पुरुषले आफूसमानको एक पूर्ण, सम्मानयोग्य र सबल व्यक्तिको रूपमा हेर्ने चेतनाको विकास हुनु जरुरी छ। कमसेकम भविष्यको पुरुष पुस्तामा सो संस्कार विकास गर्न आजका छोराहरूको शिक्षादीक्षालगायत घरमा बाबु÷आमाको समेत ठूलो दायित्व हुन्छ। जब हरेक छोरामा छोरीप्रति सम्मान र समानभावको विकास हुन्छ तबमात्र नारीलाई अबला र भोग्याको रूपमा हेर्ने क्रम कम हुने आशा गर्न सकिन्छ।  

नारी र पुरुष प्राकृतिकरूपले एकअर्काका पुरकको रूपमा सृष्टि भएका हुन् र तिनमा लैंगिक र यौनिक आकर्षण हुनु स्वाभाविक हो। नारीको सुन्दरता एवम् कोमलतामा पुरुषको आकर्षण हुनु प्राकृतिक हो तर सो आकर्षण जब होच्याउने प्रवृत्तिमा परिणत हुन्छ तब आपसी सम्मानको ठाउँ बल प्रयोग, थिचोमिचो र ह¥यासमेन्टले लिन थाल्छ। त्यसपछि पनि त्यो प्रवृत्ति मौलाइरहन पाउँदा आपराधिक गतिविधिमा परिणत हुन्छ। यो यस्तो अपराध हो जसले कैयन् पीडितको जीवन नै नष्ट गरेको छ भने जो जीवित छन् उनीहरूको पनि मनोभावनालाई आजीवन नमेटिने चोट प्रदान गरेको छ। उनीहरूको सामान्य जीवन बाँच्ने आधारभूत अधिकार र सपनाका सहस्र टुक्रा भएका छन् जुन जस्तोसुकै प्रयासले पनि पुनः जोडिन सक्दैनन्।  

घरमा प्रेम दर्शाउने नाममा गरिने सूक्ष्म शोषण हुन् वा शिक्षालयमा गरिने मानसिक दुव्र्यवहार सार्वजनिक यातायातका साधनमा गरिने ठेलमेल हुन् वा मेला÷महोत्सवको भिडभाडमा हुने अवाञ्छित दुव्र्यवहार हुन् वा विवाहेत्तर सम्बन्ध, द्वन्द्वमा हुने नारी शोषण हुन् वा दिनानुदिन समाचारमा आउने बलात्कारका अमानवीय घटना हुन्, सबैजसो उत्पीडनको घटनामा पुरुष पीडक र नारी पीडित भएको नै पाइन्छ। आफ्नी आमाको सम्मान गर्ने, जीवनको पूर्णता र दैनिक क्रियाकलापमा आफ्नी जीवन संगिनीमा पूर्ण निर्भर हुने र नारीसँगकै सहकार्यका कारण पारिवारिक र सामाजिक जीवनमा पूर्णता पाउने हरेक पुरुषका लागि नारीमाथिको यो उत्पीडन लज्जाको विषय हो। हरेक यस्ता घटनाले सामान्य पुरुषको मन छुन्छ र उसको पुरुषत्वमा सानै भए पनि अपराधबोध थपिन्छ। यो हरेक जिम्मेवार र सहृदयी पुरुषले दिनानुदिन भोग्नुपर्ने नियति हो। यो हीनताबोधबाट मुक्ति पुरुषले तबमात्र पाउनेछ जब हरेक नारी खुला आकाशमा पुरुष जत्तिकै स्वतन्त्र र भयरहित भएर जीवन बाँच्न र आफ्ना सपना सकार गर्न सफल हुनेछन्। त्यो क्षण नारी जगतको मात्र नभएर समग्र मानव सभ्यताकै उच्च उत्थानको क्षण हुनेछ।

प्रकाशित: १ श्रावण २०७७ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App