coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

यसकारण गाँजा खेतीलाई वैधानिकता

फाइल तस्बिर

विष्णुप्रसाद खत्री

कुनै बेला नेपालका किसान र व्यापारीको परम्परागत आम्दानीको प्रमुख स्रोत भाङ, गाँजा, चरेस खेती थियो । जतिबेला यसको करोडौं करोड व्यापार÷कारोबार भई राज्यलाई ठूलो आम्दानी र किसानलाई कम मिहिनेतमा बढी आय आर्जन हुन्थ्यो । समाज झण्डै आत्मनिर्भर थियो, तर अहिले कृषि खेतीको लागत पनि उठ्दैन ।  

तत्कालीन समयमा पश्चिमी देशबाट विकसित उच्छृंखल हिप्पी संस्कृतिका कारण संसारभरि नै विकृति छायो । त्यसमा नेपाल पनि अछुतो रहेन ।  दुर्भाग्यवश, यो विकृत संस्कृतिले वातावरण अशान्त र बेचैन बनायो ।

जसका कारण धनी देशको आन्तरिक दबाबमा गाँजा, भाङ, चरेस खेती र कारोबार गर्नेलाई लागुऔषध कारोबारीका रूपमा कारबाही गर्नेगरी २०३३ सालदेखि यसमा प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि बन्द भयो । अधिकतर नेपालीको आयआर्जनको स्रोत मासियो । धनी देशको स्वार्थमा नेपाललाई गरिबीतिर धकेलेर आत्मनिर्भर अवस्थाबाट परनिर्भर बनायो र विकास–निर्माणका लागि अन्यसँग हात फैलाउनुपर्ने बाध्यता सिर्जना गरियो ।  

गाँजा, भाङ, चरेस प्राणघातक रोग क्यान्सरको समेत औषधि प्रमाणित भइसकेको अवस्थामा मानव कल्याणका निम्ति यसको खेतीलाई कानुनी मान्यता दिनु आजको आवश्यकता हो । 

मुलुकको यस्तो आर्थिक दूर्दशा मनन गर्दै गाँजा खेतीलाई वैधानिकता दिइयोस् भन्दै सर्वप्रथम सांसद विरोध खतिवडाले गैरसरकारी विधेयकका रूपमा संसदमा विधेयक पेस गर्नुभयो, भलै त्यो सफल हुन नसके पनि जनहितको आवाजका निम्ति माननीय खतिवडाज्यू धन्यवादका पात्र हुनुहुन्छ । पुनः यसपटक पूर्व कानुनमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै गैरसरकारी विधेयक पेस गर्नुभएकामा हाम्रो हार्दिक बधाई छ । विधेयक पारित भई भाङ खेतीले वैधानिकता पाओस् भन्ने हार्दिक शुभकामना ।  

कम लागतमा बढी आम्दानी हुने, व्यर्थै खेर जाने हाम्रो प्राकृतिक स्रोत गाँजा खेती गरी यसबाट औषधि उत्पादन गर्दै रोजगारी सिर्जना गर्न जरुरी छ । यसरी आत्मनिर्भर हुने बाटो खोलिदिन श्रद्धेय सबै माननीय सांसदज्यूमा सविनय आग्रह छ ।  

गाँजा खेतीको सदुपयोग : हिमाल, पहाड भित्री मधेससमेत नेपालका अधिकांश भूभागमा प्रशस्त उत्पादन हुने गाँजा खेती  नगदे बाली हो । थोरै मिहिनेतले पनि धेरै आम्दानी हुन्छ । गाँजा बहुआयामिक उपयोगी वस्तु हो ।  

(१) यसको पलाएको हरिया घाँसलाई दुई हातले माड्दा हातमा कालो लेउ–चोबले चरेसको लोला तयार हुन्छ । यो तोलाका हिसाबले राम्रो मूल्यमा बिक्री हुन्छ । त्यसलाई अझै प्रक्रियागत प्रशोधन गरेमा चरेसको तेल चरक पनि बनाइन्छ ।  

(२) यसको दानासहितका हाँगा सुकाएमा गाँजा/भाङ बन्छ । यो साधु, सन्त, नागा बाबाको अखडामा कक्कडका रूपमा प्रयोग गरिन्छ । यो भाङ पनि तोलाका हिसाबले नै बिक्री हुन्छ ।

(३) यसका दाना खाद्यान्नका रूपमा खाजा, अचार र भाङ घोट्टा आदि बनाई उपयोग गरिन्छ ।  

(४) गाँजाका बोटका डाँठ काटेर सुकाइन्छ र त्यसलाई पानीमा केही दिन भिजाई सफा रेशा धागो निकालिन्छ । यसलाई कतुवामा कातेर मसिनो तथा मोटो कपडा कार्पेट, भाङ्ग्रो तथा बोल्दो बनाइन्छ । मसिनो–मसिनो कपडाको गादो पार्ने बोल्दोर घाँगर पनि बन्छ । अझै रंगीन तथा ऊनी धागो मिसाउँदा सुन्दर सुट तथा कोट पनि बन्छ । यसको कपडा धेरै टिक्छ र जति धोयो उति चम्किलो हुन्छ । यो परम्परागत प्रविधिको सीपबाट राम्रो आम्दानी हुन्छ ।

(५) बाक्कल निकालेको डाँठ इँटा पोल्न र भान्सामा आगो बाल्न प्रयोग गरिन्छ ।  

पहाडका आदिवासी जनजाति– मगर, गुरुङ, तामाङले आफ्ना चाडपर्वमा परम्परागत पहिरन प्रयोग गर्छन । मसिनो बोल्दाको गादो बाँध्ने चलन छ । उँधौली र उँभौली पर्वमा यस्तो भेषभूषा बढी  प्रचलित छ ।

धार्मिक महत्व : हिन्दू परम्परामा पशुपतिमा हुने शिवरात्रिजस्ता ठूलठूला मेला/जात्रामा साधु, सन्त, नागा बाबाको अखडामा गाँजा शिवबुटीका रूपमा प्रयोग गरिन्छ ।  भाङमा ९८ प्रतिशत उपयोगी तत्व भएकाले यसलाई शिवबुटीका रूपमा लिने धार्मिक मान्यता छ । घरायसी औषधिका रूपमा जिउ, पेट तथा नसाको दुखाइ, पिसाब तथा मस्तिष्कसम्बन्धी रोगमा चरेस प्रयोग गरिन्छ । पछिल्लो समय भाङ, चरेसलाई क्यान्सर रोग उपचारमा समेत प्रयोग गर्ने गरी अनुसन्धान भइरहेको छ । सिंहदरबारस्थित वैद्यखानामा भाङ, चरेसबाट अनेक किसिमका तेल चरक बनाई मिसाई विभिन्न किसिमका औषधि तयार पारिन्छ ।  

औषधोपचारमा भाङ : भाङ, गाँजा, चरेस नेपालसहित संसारभर परम्परागत औषधिका रूपमा प्रयोग भइरहेका छन् । अझै यसबारेको अनुसन्धान विभिन्न मुलुकमा जारी छ ।

–यसै क्रममा सन् १९४० तिर भाङमा हुने ‘कन्नाबिनोइड्स’ तत्व हुन्छ र त्यसले क्यान्सर रोगमा फाइदा गर्छ भन्ने पत्ता लागेपछि अमेरिकामा कन्नाबिनोइड्स रिसर्च इन्स्टिच्युट नै खोलिएको छ ।  

–क्यान्सर रोग निको पार्न प्रचलित किमो तथा रेडियोथेरापी गर्दा क्यान्सर भएको अंगका कोषिका मार्छ/कमजोर पार्छ भने त्यसको पीडा खप्न नसकी मासिनको मृत्युसमेत हुन्छ । यसैकारण यसको विकल्पको खोजी भइरहेको छ ।  

–अमेरिकास्थित नेसनल क्यान्सर इन्स्चिच्युटको  प्रयोगशालामा क्यान्सर लागेको मुसामा भाङ प्रयोग गर्दा त्यसले क्यान्सर लागेका अंगका कोषिकालाई मार्नाका साथै पुनःजीवित पनि पारिएको पाइएको छ । यसरी स्वस्थ कोषिका वृद्धि हुन्छ भनेर प्रमाणित भएको छ । सन् २०१५ तिर अमेरिकन नेसनल इन्स्टिच्युट अफ ड्रग एभ्युजेजले भाङमा ट्युमर क्यान्सरविरुद्ध लड्न सक्ने तत्व रहेको थप तथ्य पत्ता लगाए ।  

–त्यस्तै लन्डनस्थित सेन्ट जर्ज विश्वविद्यालयका डाक्टर लिउले मस्तिष्क क्यान्सरका बिरामीलाई भाङमा भएका तत्वले क्यान्सरले मारेका अंगका कोषिकालाई पुनःजीवित पार्ने भएकाले रेडिएसन किमोथेरापीभन्दा भाङ नै बढी उपयोगी र प्रभावकारी हुन्छ भनेका छन् । यस्तै उनले ल्युकोमिया कोषविरुद्ध भाङको प्रयोगले क्यान्सर भएका कोषिकालाई स्वस्थ पारी पुनःजीवित पार्न सक्छ भन्ने पत्ता लगाए ।  

–सन् २०१० मा क्यान्सर अनुसन्धानकर्ता डेनिसहिलले आफूलाई प्रोस्टेड क्यान्सर हुँदा केही महिनासम्म भाङको तेल सेवन गर्दा निको भएको बताएका छन् ।  

–अमेरिका क्यान्सर सोसाइटीका अनुसन्धानकर्ता डाक्टर ओटिस ब्राउले भाङको कुन तत्वले क्यानसर रोग निको पार्छ भन्ने अनुुसन्धान गरिरहेका छन् । यसमा संसारभरिकै अनुसन्धानकर्ता जुटेका छन् ।  

यसमा गाँजा खेतीका लागि उर्वर भूमि मानिने नेपाल झन् पछि पर्न हुँदैन ।

समय र परिस्थितिअनुसार मानव कल्याणका निम्ति ऐन÷कानुन, नीति÷नियम, सन्धि÷सम्झौता बन्छन्÷गरिन्छन् । सन् १९६० तिर हिप्पी संस्कृतिले संसारभर विकृति फैलाएपछि संयुक्त राष्ट्र संघसमेतका अधिकतर देशले गाँजालाई लागुपदार्थ मान्दै यसमा प्रतिबन्ध लगाए । 

जसअनुसार नेपालले पनि सन् १९६१ मा संयुक्त राष्ट्र संघको बडापत्रमा निसर्त हस्ताक्षर गरी २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन लागू गरेको हो । तर गाँजा, भाङ, चरेस प्राणघातक रोग क्यान्सरको समेत औषधि प्रमाणित भइसकेको अवस्थामा मानव कल्याणका निम्ति यसको खेतीलाई कानुनी मान्यता दिनु आजको आवश्यकता हो । 

समाजमा विकृति फैलिन नपाउने गरी निश्चित मापदण्ड र सीमा तोकेर गाँजा खेतीलाई व्यावसायिक बनाउन सके राष्ट्रको आम्दानी बढ्नाका साथै जनजीविकामा पनि ठूलो मद्दत पुग्ने थियो । यो गरिबी निवारणको मुख्य माध्यम बन्न सक्छ । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय नेपाली भाङको ठूलो माग छ । यसले वैधानिकता पाएको २÷३ वर्षमै यहाँका किसान र राज्य अकल्पनीय रूपमा सम्पन्न हुनेछन् । जनतालाई कमाउने बाटो दिएपछि राज्यको प्रगति र उन्नति स्वतः हुन्छ ।

प्रकाशित: २८ असार २०७७ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App