६ वैशाख २०८१ बिहीबार
विचार

परीक्षा स्थगन हुँदा सबै विद्यार्थी खुसी छन् ?

विष्णुप्रसाद शर्मा 

कोरोना महामारीले जनजीवन अस्तव्यस्त बनाएको छ । जसबाट अति प्रभावित क्षेत्रमा शिक्षा पनि पर्छ । संसारका धेरै मुलुकसँगै नेपालमा पनि साढे ३ महिनादेखि शैक्षिक गतिविधि ठप्पप्रायः  छन् । चैतको दोस्रो हप्तादेखि मुलुकमा लकडाउन लागू भएसँगै अधिकतर वार्षिक परीक्षा अवरुद्ध भएका छन् । विशेषतः ‘आइरन गेट’ मानिने एसइईलगायत विश्वविद्यालय स्तरका परीक्षा स्थगनले आम विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ । हरेक विषयका दुई अभिन्न पाटा : सकारात्मक र नकारात्मक हुन्छन् । परीक्षा हुन नसक्नु र आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने निर्णयले धेरैजसो  विद्यार्थीलाई परीक्षा नै नदिई पास भइने कुराले नकारात्मक ऊर्जा मिलेको छ भने परीक्षामा सामेल भएर उच्च नतिजाको आस गरेका विद्यार्थीमा भने यसले नराम्रो प्रभाव पारेको देखिन्छ ।

जुनसुकै तहका विद्यार्थीलाई पनि परीक्षा भन्नेबित्तिकै एक किसिमको डर सिर्जना हुने र सोहीअनुरूप तयारीमा लाग्ने हाम्रो शैक्षिक संस्कार छ । यस्तो अवस्थामा परीक्षा नै दिन नपाई मूल्यांकन गर्ने आधार अर्कै भइदिँदा धेरैजसो विद्यार्थीमा नैराश्यता उत्पन्न भएको छ । काठमाडौंको एक प्रतिष्ठित निजी स्कुलबाट एसइई तयारी गरिरहेका मनोज (नाम परिवर्तन) ले  परीक्षा नहुने निर्णयले पढाइप्रति रुचि नै हराएको  बताए । ‘ परीक्षाको सम्पूर्ण तयारी गरेको थिएँ, ४ जिपिए ल्याउने उद्देश्य थियो, अब त स्कुलले नै नम्बर पठाउने रे, खै कस्तो पो हुने हो,’ उनले भने । उनका यी शब्द प्रतिनिधि हुन् । परीक्षा हुँदैन भन्नेबित्तिकै सबै जना खुसी हुन्छन् भन्ने हाम्रो गलत मान्यतामा उनको भनाइले चोटिलो प्रहार गरेको छ । तसर्थ  परीक्षा स्थगनले कतिपय यस्ता अब्बल विद्यार्थी, जो परीक्षामा सहभागी भई उज्ज्वल भविष्य बनाउने सपना देखिरहेका थिए, उनीहरूलाई भने यो परिस्थितिले पीडा दिइरहेको सहजै अनुमान गर्न सकिन्छ ।  

परीक्षा हुन नसक्नु र आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने निर्णयले धेरैजसो  विद्यार्थीलाई परीक्षा नै नदिई पास भइने कुराले नकारात्मक ऊर्जा मिलेको छ भने परीक्षामा सामेल भएर उच्च नतिजाको आस गरेका विद्यार्थीमा भने यसले नराम्रो प्रभाव पारेको देखिन्छ ।

विद्यालयले अघिल्लो वर्ष सम्पन्न गरेका विभिन्न त्रैमासिक परीक्षालाई आधार बनाएर सही नतिजा दिन सकेका खण्डमा केही हदसम्म भए पनि नकारात्मक प्रभाव कम हुन सक्छ । प्याब्सनले विज्ञप्ति जारी गर्दै विद्यालयलाई विद्यार्थीको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष भई सही मूल्यांकन गर्न र त्यसका प्रमाणित आधारको अभिलेख राख्न आग्रह गरेको छ । शिक्षा मन्त्रालयले तयार गरेको कार्यविधिअनुरूप विद्यार्थीको मूल्यांकन गर्ने शैली सही हुन सकेका खण्डमा मात्र आम विद्यार्थीमा नतिजाको नैराश्यता कम हुन सक्छ । तर त्यसो हुनेमा शंका नै छ । विभिन्न किसिमका दबाब तथा अस्वस्थ पुरानै परिपाटीका आधारमा मूल्यांकन हुने हो भने विद्यार्थीलाई त्यसको पीडा जीवनभर पर्ने देखिन्छ ।  

तसर्थ यस विषयमा भइरहेका टीकाटिप्पणी, शंका/उपशंका निवारण गर्दै विद्यालयहरूले आफ्ना यथार्थ कुरो स्पष्ट राख्न जरुरी छ । यतिबेला आफूप्रतिको जनविश्वासलाई डगमगाउन नदिने जिम्मेवारी विद्यालयहरूको काँधमा आइपरेको छ । विद्यालयले आन्तरिक मूल्यांकन गर्दा आफ्नो दायित्व, जवाफदेहिता र इमान्दारिता प्रस्तुत गर्दै वास्तविक नतिजा सार्वजनिक गर्नुपर्छ ।  

समस्या जटिल बनेपछि मात्रै समाधानका उपाय खोज्ने हाम्रो पुरानै परम्पराको सिकार शिक्षा मन्त्रालय बनेको छ । एक वर्षदेखि ९–१२ कक्षालाई माध्यमिक शिक्षामा समावेश गरिएको छ । कक्षा १ देखि ११ सम्म त स्कुलले गर्ने मूल्यांकनकै आधारमा नतिजा प्रकाशन गर्दा समस्या हुँदैन, तर कक्षा १२ सहित विश्वविद्यालय स्तरका परीक्षाको मूल्यांकन कसरी गर्ने ?  कक्षा १२ र  विश्वविद्यालय स्तरका परीक्षाको मूल्यांकन आन्तरिक रूपमा गर्न सम्भव छ ? छ भने आगामी वर्ष सञ्चालन हुने परीक्षाको प्रावधान के हुने ? यस्तै महामारी तथा संकटका बेला आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक आदि हरेक गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक प्रावधान बनाइएन भने आगामी दिनमा पनि अहिलेको जस्तै जटिल अवस्था आउनेमा शंकै छैन । एसइईजस्तै अलमलमा परेको कक्षा ११ को परीक्षा पनि विद्यालय स्तरबाटै मूल्यांकन हुने प्रावधान बनाइएको छ, यसबाट कक्षा ११ का विद्यार्थीमा पनि माथि उल्लिखित किसिमकै मनोसामाजिक समस्या सिर्जना गरेको पाइन्छ ।  

कोरोना महामारीले सबै व्यक्तिलाई घरभित्र सीमित गराइरहँदा विशेषगरी विद्यार्थीमा मनोसामाजिक समस्या सिर्जना भएको छ । समूहमा रमाउने, खेल्ने बालबालिका घरमै कैद हुनुपर्दा उनीहरूको शारीरिक÷मानसिक क्रियाकलाप अवरुद्ध भएका छन् । यसले बालबालिकामा चिडचिडाहट उत्पन्न हुने, अभिभावकसँग पनि दिक्क मान्ने, विद्युतीय सामग्री ज्यादै प्रयोग गर्नेसम्मका प्रभाव देखिएका छन् । तसर्थ यस्ता विभिन्न समस्याबाट बचाउन शिक्षक, विद्यालय प्रशासनलगायत स्वयं अभिभावकको पनि गहन भूमिका जरुरी छ ।  

विज्ञान÷प्रविधिमा भर्खरै वामे सर्दै गरेको नेपालमा अनलाइन तथा दूर शिक्षाका कक्षा केही हदसम्म सफल भएका छन्, तर यी र यस्ता कार्यक्रम कक्षा सञ्चालनमै  सीमित हुनाले विद्यार्थीको परीक्षालगायत मूल्यांकन क्रियाकलाप भने अगाडि बढाउन सकिएको छैन । तसर्थ यस्तो विषम परिस्थितिमा पनि कसरी सबै क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने वैकल्पिक विधि बनाउन जरुरी छ । यसो गर्न नसकेको खण्डमा अबको शिक्षा कतातिर मोडिने हो, अनुमान गर्न गाह्रो छ ।  

हरेक असहज परिस्थितिले अवसर पनि सिर्जना गर्छ भनेझैं अहिलेको महामारीले पनि अति पुराना प्रावधान हटाई विज्ञान र प्रविधियुक्त आधुनिक प्रणाली विकास गर्न मार्गप्रशस्त गरेको छ । एसइईलगायत परीक्षा स्थगनले आज विद्यार्थीले भोग्नुपरेको समस्या भोलिका दिनमा कसैले भोग्न नपर्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता हो । आम विद्यार्थीको चाहनाबमोजिम विज्ञान र व्यवस्थापन विषयलाई प्राथमिकता दिइरहेको अवस्थामा मानविकी र शिक्षा अध्ययन गर्ने कोही नहुने अवस्था आएको छ । विगतका वर्षमा मानविकी र शिक्षा संकाय पढ्नु भनेको रहर भन्दा पनि बाध्यताजस्तै बनेको थियो । पक्कै पनि आन्तरिक मूल्यांकनले कम्तीमा व्यवस्थापन विषय पढ्न मिल्ने गरी ग्रेड दिन विद्यालय बाध्य हुने देखिन्छ । यसले गर्दा यो वर्ष  मानविकी र शिक्षा संकायमा भर्ना हुने विद्यार्थीको संख्या अत्यन्तै कम हुने अनुमान गर्न सकिन्छ । आन्तरिक मूल्यांकनले विद्यार्थीको ग्रेड बढ्ने निश्चित छ, योसँगै एप्लस÷ए आउँदा विज्ञान, बिप्लस÷बि आउँदा व्यवस्थापन र यसभन्दा कम ग्रेड आएका खण्डमा मानविकी र शिक्षा पढ्ने÷पढाउने चलन रहेको हाम्रो समाजमा यसपालि प्रकाशन हुने एसइईको नतिजाले मानविकी र शिक्षा संकाय सञ्चालन गरिरहेका कलेजको भविष्य कस्तो हुने हो, हेर्न बाँकी छ ।  

हरेक असहज परिस्थितिले अवसर पनि सिर्जना गर्छ भनेझैं अहिलेको महामारीले पनि अति पुराना प्रावधान हटाई विज्ञान र प्रविधियुक्त आधुनिक प्रणाली विकास गर्न मार्गप्रशस्त गरेको छ । एसइईलगायत परीक्षा स्थगनले आज विद्यार्थीले भोग्नुपरेको समस्या भोलिका दिनमा कसैले भोग्न नपर्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता हो । 

अन्त्यमा, हरेक तहमा अध्ययनरत विद्यार्थीलाई पनि यो संकटको घडीमा आफूलाई परिस्थितिबमोजिम कसरी अगाडि बढाउने र  अध्ययनलाई निरन्तरता दिने भन्ने ज्ञान कोरोना महामारीले दिएको छ । हामी कामना गरौं– अहिलेको यो महामारी अन्त्य भएसँगै हाम्रा भावी पिँढीले यस्तो संकट भोग्न नपरोस् । तसर्थ हरेक विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो वैकल्पिक शैक्षिक प्रावधान विकासमा जुट्न जरुरी छ ।  

शर्मा उपप्राध्यापक हुन् ।

प्रकाशित: २५ असार २०७७ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App