३१ श्रावण २०७७ शनिबार
विचार

प्रभावकारिताको कसीमा अनलाइन कक्षा

कोभिड–१९ महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन तीन महिनामा हिँड्दै गर्दा सहरी क्षेत्रका केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन थालेका छन्। विद्यार्थी भर्नाको महिना लागेस“गै केही न केही गरेर आफ्ना विद्यार्थी अन्यत्र नपठाउन र सके अरू विद्यालयका विद्यार्थी आफूतिर तान्न निजी विद्यालयहरूमाथि दबाब बढेको छ। अनलाइन कक्षा सुरु भएस“गै हिजोआज निजी विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीको व्यस्तता बढेको छ।

निःसन्देह आपसी दूरी कायम राख्न र सकेसम्म घरबाहिर नजान सरकारले सूचना जारी गरेको परिस्थितिमा शिक्षण र अन्तरक्रियालाई निरन्तरता दिन अनलाइन माध्यम सबैका लागि उपयुक्त बनेको छ। विद्यालयहरूले प्रतिकूल परिस्थितिमा पनि आफ्ना विद्यार्थीको शिक्षण गतिविधिलाई चालु राख्न सम्भव उपायको प्रयोग गर्नु सकारात्मक पक्ष हो। यसले विद्यार्थीको मात्र होइन, शिक्षक–शिक्षिकाको प्राविधिक ज्ञान पनि फराकिलो बनाउनेछ।  

यस्ता केही सकारात्मक पक्षको चर्चा गर्दै गर्दा विशेषतः साना कक्षाका स–साना नानीहरूको शिक्षणमा ध्यान दिनुपर्ने केही गम्भीर पक्षलाई भने उपेक्षा गर्नु उपयुक्त हुन्न। आजको सन्दर्भमा मुख्य प्रश्न, वास्तवमा विद्यार्थीहरूलाई केही सिकाउन अनलाइन कक्षा सञ्चालन गर्ने हो वा माथि भनिएजस्तै भर्नाको समयमा अन्यत्र विद्यार्थी नपठाउन वा अरू विद्यार्थी तान्न, अभिभावकलाई केही गरिरहेका छौँ भनी देखाउन यस्ता कक्षा सञ्चालन गर्ने हो ?  

अनलाइन कक्षाको प्रभावकारिता
चीनको पेकिङ विश्वविद्यालयले लकडाउनको अवधिमा विभिन्न शैक्षिक निकायले सञ्चालन गरेको अनलाइन कक्षाको प्रभावकारिताबारे हालै एक अध्ययन गरेको थियो। सो अध्ययनले त्यस्ता अनलाइन कक्षामा विद्यार्थी सहभागिता निकै कम भएको, सबै क्षेत्रका विद्यार्थीलाई समेट्न गाह्राे भएको, इन्टरनेटको गतिका कारण अनेकथरी प्राविधिक समस्या आएको आदि धेरै कारणले अनलाइन कक्षाको प्रभावकारिता न्यून भएको निष्कर्ष प्रस्तुत गरेको थियो।  

हामीकहाँ अनलाइन कक्षा सञ्चालन गरिरहेका अधिकांश विद्यालयमा निकै न्यून प्रतिशत मात्र विद्यार्थी अनलाइन कक्षामा सहभागी बनेका देखिन्छ। प्राविधिकरूपमा स्रोत सम्पन्न अभिभावकका छोराछोरी नै मात्र अनलाइन कक्षामा सहभागी बन्ने सक्ने देखिन्छ। अझ कतिपय अवस्थामा त शिक्षक–शिक्षिकास“ग समेत कक्षा लिनका लागि अत्यावश्यक प्राविधिक साधन नहुने अवस्था छ। कतिपय अभिभावकका घरमा इन्टरनेट सेवा नहुने र भएकाको पनि इन्टरनेटको छरितोपनाको समस्याले अनलाइन कक्षामा सहभागिता न्यून हुनु अस्वाभाविक होइन। इन्टरनेटको गतिमा एकरूपता नहु“दा कतिपय अवस्थामा त अनलाइन कक्षा ह“सिमजाकसमेत बन्ने गरेको छ।  

सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकामा रहेको शिक्षणलाई जागिरका रूपमा मात्र लिने प्रवृत्तिले लकडाउनमा आफ्ना विद्यार्थीलाई कसरी शिक्षणस“ग जोड्ने भन्ने विषयमा कुनै तदारुकता पाइँदैन।

यस्तो अवस्थामा अनलाइन कक्षा स–साना नानीहरूका लागि केही दिनको रमाइलोमा सीमित बन्ने सम्भावना बढी छ। अनलाइन कक्षाप्रति सुरुमा उनीहरूको उत्साह केही दिनभित्रै विकर्षणमा परिणत भएको देखिन्छ। तसर्थ, विद्यालयहरूले वास्तवमै कसैलाई देखाउन नभई आफ्ना विद्यार्थी र अभिभावकप्रतिको जिम्मेवारीबोधका साथ शैक्षिक गतिविधि गर्न खोजेको भए अनलाइन कक्षाको चल्ती हुरीकै पछि पछि मात्र नदौडी केही नया“ विधिको पनि खोजी गर्न जरुरी छ।  

अनलाइन कक्षाको नाममा सबै विद्यार्थी एकैचोटि कम्प्युटरको स्क्रिनमा देखापर्नुपर्ने विधि तल्लो कक्षाका लागि प्रभावकारी शिक्षण विधि हुन सक्दैन। बरु विद्यालयले सम्बन्धित कक्षाका लागि उपयोगी शिक्षण सामग्री शिक्षक वा शिक्षिकाले स–साना समयावधिका श्रव्यदृश्य छायांकन गरी अभिभावकलाई पठाइदिने र अभिभावकले ती शैक्षिक सामग्री आफ्ना नानीलाई देखाउने वा सिकाउने विधि प्रभावकारी हुन सक्छ। यो उपाय अवलम्बन गर्दा प्राविधिकरूपमा पनि कम मात्र जोखिम हुनसक्छ। अड्की अड्की कहिले ठूलो कहिले मसिनो गरी आउने शिक्षकको आवाजभन्दा चिने÷जानेका तिनै शिक्षक–शिक्षिकाबाट रोचक पाराले कथा सुनाएका श्रव्यदृश्यबाट उनीहरूले केही कुरा अझ प्रभावकारी तरिकाबाट सिक्न सक्छन्। त्यसकारण विद्यालय स्वयम्ले कक्षाअनुसारका शैक्षिक श्रव्यदृश्य सामग्री तयार गरी तिनै सामग्री अभिभावकसम्म पु-याउनु र त्यसमार्फत विद्यार्थीलाई सिकाउने विधि जुम वा गुगल क्लासभन्दा थप प्रभावकारी हुन सक्छ।  

विद्यालयहरूले गर्न सक्ने अर्को काम भनेको अभिभावकलाई साताको एक दिन कुनै पनि समय विद्यालयमा (सम्भव भए विद्यार्थीसहित) सहभागी भई गृहकार्य वा प्रोजेक्ट वर्कका लागि सामग्री वितरण हो। कतिपय विद्यालयले अभिभावकलाई मेसेन्जर वा इमेलमार्फत गृहकार्यका सामग्री पठाएको पनि देखिन्छ। तर, सबै अभिभावकको घरमा त्यसरी पठाइएका सामग्री प्रिन्ट गरी नानीहरूलाई गृहकार्य गराउन स्रोतसाधन नहुन सक्छ। तसर्थ, घरपायक पर्ने अभिभावकले विद्यालयमै नानीसहित पुगेर गृहकार्य सड्ढलन गर्ने र साधनस्रोत सम्पन्न अभिभावकले विद्युतीय माध्यममार्फत गृहकार्य सामग्री सड्ढलन गरी विद्यार्थीलाई शैक्षिक गतिविधिमा संलग्न गराउन सकिन्छ।  

विद्यालयले लकडाउनको समयमा घरमै बसेर पढ्न सकिने कक्षाअनुसारका उपयुक्त पुस्तक र चलचित्र वा कार्टुन सिफारिस गर्नुपर्छ। ती पुस्तक वा चलचित्र विद्यालय स्वयम्ले उपलब्ध गराउनु विद्यालयको दायित्व हो। विद्यालयको पुस्तकालयका पुस्तक विद्यार्थीले घरमा लगेर पढ्ने व्यवस्था गर्न विद्यालयले धेरै मेहनत गर्नुपर्दैन।  

निःसन्देह अनलाइन कक्षा सञ्चालन भएका विद्यालयमा विशेषतः कक्षा ५ सम्मका विद्यार्थीको निम्ति अनलाइन कक्षास“गै यस्ता विकल्पको पनि प्रयोग गर्नु थप प्रभावकारी हुने देखिन्छ। तर देशका अझ पनि बहुमत विद्यालय अनलाइन कक्षा वा अन्य कुनै पनि शिक्षण विकल्पमा गएका नै छैनन्। केही जिल्लामा अनलाइन कक्षा प्रभावकारी नभएको निष्कर्ष निकालेर सामाजिक दूरीसहित विद्यालयमै पठनपाठन थालनी गरेका छन्। देशभरका धेरै सामुदायिक विद्यालयमा त अहिले क्वारेन्टिन स्थल बनाइएका छन्। अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीका लागि अनलाइन कक्षा अपरिचित विषय नै छ। अनलाइन कक्षाले सामाजिक र शैक्षिक क्षेत्रमा उजागर गरेको विभेदको पाटो अलग छलफलको विषय हो। सरकारले औपचारिकतामा केही वैकल्पिक शिक्षण तरिका सार्वजनिक गरेको छ। तर तिनको उचित कार्यान्वयन हुन सकिरहेको छैन। सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकामा रहेको शिक्षणलाई जागिरका रूपमा मात्र लिने प्रवृत्तिले लकडाउनमा आफ्ना विद्यार्थीलाई कसरी शिक्षणस“ग जोड्ने भन्ने विषयमा कुनै तदारुकता पाइ“दैन। तथापि प्रतिकूल परिस्थितिमा आफ्नो क्षमता र परिस्थितिअनुकूल गर्न सकिने सम्भव सबै काम गर्नु नै समयको सही प्रयोग हुन सक्छ।

प्रकाशित: २३ असार २०७७ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App