३० श्रावण २०७७ शुक्रबार
विचार

गुरु को हुन् ?

सन्दर्भः गुरुपूर्णिमा

गुरु गोविन्द दोऊ खडे, काके लागूं पांय,

बलिहारी गुरु आपने, गोविन्द दियो बताय !

(सन्तकबीर)

मानिसको चाहना गोविन्द अर्थात् भगवान्लाई जान्नु, पाउनु र उनको आशीर्वादले जीवनलाई खुसी र आनन्दसाथ बिताउनु हो। तर, सन्तकविर भन्छन्, ‘गोविन्दलाई जान्न पहिले गुरुको पहिचान गर्नुपर्छ। गुरुले नै गोविन्द अर्थात् परम चेतनासम्म पुग्ने सहज मार्ग निर्देशन गर्छन्।’

गुरुको बारेमा ओशो भन्छन्, ‘गुरुले माटोमुनि पुरिएर रहेको बिउलाई अंकुरित गराएर फल दिने वृक्ष बनाइदिन्छन्।’

ओशो सिद्धार्थ भन्छन्, ‘आन्तरिक ज्ञान अर्थात् अध्यात्म यात्रामा मार्ग निर्देशन गर्न गुरुको आवश्यकता पर्छ। गुरु अर्थात् जीवनको अन्धकारबाट उज्यालोको यात्रामा मार्गनिर्देशन गर्ने गुणवत्ता। हुन त, जीवनमा जसले पनि सत्मार्गमा हिँड््न प्रेरित गर्छन्। सबै गुरु हुन्। जीवनको विकासमा, जीवन रूपान्तरणमा जसको योगदान रहन्छ, ती सबै हाम्रा गुरु हुन्।  

वास्तविक गुरुको पहिचान कसरी गर्ने ? गुरुले कसरी जीवनलाई रूपान्तरण गरी आनन्दको यात्रामा अघि बढाउँछन्, केही आयामलाई जान्न आवश्यक हुन्छ।

गुरु र शिक्षकमा अन्तर

ज्ञान दुई किसिमका हुन्छन्– भौतिक र आध्यात्मिक। संसारको विकास, बाहिरी किताबको ज्ञान, भौतिक विकासको मार्ग शिक्षकले देखाउँछन्। कसैको शिक्षालाई अध्ययन गरेर आफ्ना विद्यार्थीलाई ज्ञान दिन्छन्। बाहिरी विज्ञान, प्रयोगात्मक ज्ञान शिक्षकले बताउँछन्।  

अध्यात्म अर्थात् भित्रको ज्ञान, जसलाई अनुभूतिका आधारमा जान्न सकिन्छ, त्यो गुरुबाट प्राप्त हुन्छ। अन्तज्र्ञान, आत्मज्ञान, भित्रको ज्योति के हो र यसलाई कसरी अनुभव गर्ने त्यो ज्ञान र कला गुरुले दिन्छन्। अनुभवले खारिएको व्यक्ति गुरु हो, जसले शिष्यलाई आफूले जसरी अन्तर्चेतना, अन्तराकाश, निराकारलाई अनुभूतिबाट जान्ने कला प्राप्त ग¥यो, त्यो कला सिकाउन सक्छ। सद्गुरुले अन्धविश्वास र भनेको, सुनेको भरमा ज्ञान दिँदैन।  

गुरु ती व्यक्ति हुन्, जसले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्छन्। गुरु भेट्नुअघि व्यक्ति बहिर्मुखी हुन्छ, बाहिर–बाहिर अरूसँग नजिक हुन खोज्छ, जब गुरु भेट्छ, तब ऊ स्वयंभित्र अरूलाई होइन, आफूलाई खोज्न थाल्छ।

अधि र आत्मा मिलेर अध्यात्म शब्द बनेको छ। अधि अर्थात् विकास, अध्यात्म अर्थात् आत्मविकास। आत्मविकासको मार्ग निर्देशन गर्ने व्यक्ति नै गुरु हुन्। अन्तर्विकास र आध्यात्मिक विकासका लागि प्रत्येक व्यक्तिले आफूसँग शरीर, मन र विचार मात्र होइन, आत्मा पनि छ भन्ने कुरालाई बिर्सनु हुन्न। आजका मानिसको जीवनशैली, वासना, कामना र अपेक्षा देख्दा लाग्छ, ९० प्रतिशत व्यक्तिले आफूसँग आत्मा छ भन्ने बिर्सेका छन्। तिनै व्यक्तिलाई जागृत गराई नाद, नूर, स्वाद लगायत दिव्य ध्यान एवं चेतनासँग परिचित गराउने काम गुरुले गर्छन्। जब आत्मज्ञान प्राप्त हुन्छ, तब व्यक्ति सन्तदरियाले झैं भन्न सक्छ, ‘दरिया सुरज उगिया चहुदिस भयाउजास, नाम प्रकाशित देह में सकल भ्रमका नाश !’ जब अन्तज्र्ञान प्राप्त हुन्छ, तब देहरूपी समस्या र दुःख सानातिना घटना लाग्न थाल्छन्। यही दिव्य ज्ञानका लागि मानव जीवनमा गुरुको आवश्यकता छ।

जीवन र जगत्को ज्ञानका लागि गुरु  

संसारमा अड्केको र भड्केको व्यक्तिलाई प्रेम र ध्यानको मार्गद्वारा जीवन र जगत्को ज्ञान दिन सक्ने एक मात्र व्यक्ति गुरु हुन् भनेर ओशोले व्याख्या गर्छन्।  गुरु ती व्यक्ति हुन्, जसले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्छन्। गुरु त्यो आकर्षण हुन्, जब शिष्य गुरुको नजिक हुन थाल्छ, तब बिस्तारैबिस्तारै स्वयंसँग पनि नजिक हुन थाल्छन्। गुरु भेट्नुअघि व्यक्ति बहिर्मुखी हुन्छ, बाहिर–बाहिर अरूसँग नजिक हुन खोज्छ, जब गुरु भेट्छ, तब ऊ स्वयंभित्र अरूलाई होइन, आफूलाई खोज्न थाल्छ। म को हुँ जान्ने प्रयत्न गर्न थाल्छ। जब व्यक्ति आफ्नो नजिक हुन्छ, तब आत्मनिर्भर बन्न थाल्छ। जति आत्मनिर्भर हुने कला सिक्दै जान्छ, त्यति भयमुक्त र स्वतन्त्र हुन्छ। संसारको भीड र कुण्ठाबाट मुक्त भएर स्वयंभित्र डुब्ने फुर्सद पाउँछ। गुरुले अव्यवस्थित जीवन र अस्वस्थ मन स्थितिलाई रूपान्तरण गरेर सकारात्मक जीवन पद्धतिमा लैजान मद्दत गर्छन्। पदार्थसँग मात्र तादात्म्य जोडेर सतहमा हराइरहेको मानिसलाई भित्री ज्ञानको गहिराइसम्म पु¥याएर परमात्माको अनुभूति गर्न सक्ने स्थितिमा पु¥याउँछन्। गुरुले दिशाविहीन यात्रामा हिँडिरहेको मानिसलाई संसारको प्रेम, करुणा कायम राख्दै देवत्वसम्म पुग्ने यात्राको सत्मार्ग देखाउन मद्दत गर्छन्।  

भित्रको आनन्द पहिचानका लागि गुरु

आजका प्रायः मानिसलाई लाग्छ– सुख भौतिक सुख सुविधा र सम्पन्नतामा छ। सारा दुःख र संकट संसारबाट आउँछ। त्यसैले उसले त्यो दुःख मेटाई सुख प्राप्तिका लागि धन सञ्चय गर्छ। सम्बन्धलाई मधुरता दिने कोसिसमा लाग्छ। पद, सम्पन्नता, नाम र परिचयले केही स्थान मिल्छ समाजमा भनेर त्यसको आर्जनमा लाग्छ। बाहिरका सबै चिज प्राप्त गर्ने कोसिसमै जीवन ढल्किँदै जान्छ, उमेरले नेटो काटिसक्छ। न त कसैलाई खुसी बनाएर सुख मिल्छ, न त अरूबाट दुःख निवारण नै। संसारको प्रयासले अतृप्ति नै बाँकी रहन्छ। तैपनि, संसारको यो सब प्रयास ठीकै छ, तर दुःख कुनै दोस्रो व्यक्तिका कारण होइन, आफ्नो अपेक्षाका कारण आउने हो। दुःख र समस्या त्यतिबेला निर्मूल हुन्छ, जब व्यक्ति स्वयंमा आत्मज्ञान घटित हुन्छ। स्वयंको पहिचान, भित्रको आनन्दको पहिचानबाट व्यक्तिलाई तृप्ति मिल्छ। आत्मज्ञान प्राप्त व्यक्ति दुःख र सुखभन्दा परको स्थिति आनन्दमा रहन सक्छ। यसलाई कसरी प्रयोगबाट अनुभवमा उतार्ने त्यो कला गुरुले सिकाउँछन्।

अकारण सुख सिकाउने गुरु

संसारको ज्ञान, सुख, खुसी, सम्पन्नता कुनै कारणवश मिल्छ। जुन मिल्दा खुसी र नमिल्दा गुनासो अनि दुःख व्यक्त हुन्छ। बाहिरी सुख, सफलता क्षणभंगुर हुन्छन्। प्रेम, सुख, शान्ति बाहिरबाट अरुले दिने हो भन्ने भ्रम हुन्छ। केही गरी एउटा प्राप्त गर्नासाथ अर्कोको चाहना हुन्छ। मृगतृष्णारूपी चाहनाले सन्तुष्टि कहिल्यै मिल्दैन। जब दिव्य ज्ञान प्राप्त हुन्छ, तब व्यक्ति अकारण आनन्द, शान्ति, प्रफुल्लता र प्रशन्नताको अनुभूति गर्न थाल्छ। ऊ सानो कुरामा पनि खुसी हुन्छ, प्रकृति, अस्तित्व, सृष्टिका सबै संरचना र उपहारबाट खुसी हुन थाल्छ। व्यक्तिमा दिव्य प्रेमको विकास हुन थाल्छ। केही पाएर प्रेमको अनुभव गर्ने होइन कि केही दिनमा आनन्द मान्ने हुन्छ। आफ्नो भएर र आफ्नो सन्तुष्टि मिलेर प्रेम जाग्ने होइन, सृष्टिका हरेक सिर्जनाप्रति प्रेम बस्न थाल्छ। यो दिव्य प्रेममा आफूले आफैंलाई प्रेम गर्न जानेपछि व्यक्ति मोक्ष प्राप्ति, ब्रह्मज्ञानमा समेत उपलब्ध हुन सक्छ। यसका लागि सांसारिक ज्ञान र आत्मज्ञान के हो छुट्ट्याउन सक्नुपर्छ। संसारसँगै अध्यात्म, आन्तरिक शान्ति, सम्पन्नता र आनन्द के हो, त्यो ज्ञानलाई पहिचान गराउन गुरु आवश्यक हुन्छ।

मनुष्य जीवनको उद्देश्य थाहा पाउन

मनुष्य जीवन त्यसै प्राप्त भएको छैन। न्यूनतम आवश्यकता पूरा गर्नु, सन्तान जन्माउनु र संसारमै जीवन बिताउनु मात्र यसको उद्देश्य होइन। भौतिक सफलता मात्र मानव जीवनको उद्देश्य होइन। मानव जीवनमा गर्नुपर्ने चार पुरुषार्थ छन्– अर्थ, धर्म, काम र मोक्ष। यी चार पुरुषार्थ सन्तुलित हुन सके मात्र मानव जीवन सफल हुन्छ।  

अर्थ: अर्थोपार्जनविना जीवन सहज हुँदैन। धन, सुख, सुविधा, साधनको जोहो गर्नु र दैनिकी चलाउन आवश्यक चिज हासिल गरी जीवनलाई सहज बनाउने पुरुषार्थ पनि मानिसले गर्नुपर्छ।  

धर्म: धर्मको अर्थ हो, जीवनमा जति पनि अर्थोपार्जन भएको छ, त्यसबाट आफ्नो स्वार्थ मात्र पूरा होस् भन्ने चाहना नभई परोपकारमा पनि त्यो धन लगाउन सकौँ। दुःखी, असहायको सेवामा खर्च गर्न सकौँ र आफूमा धार्मिकताको गुण कायम राख्न सकौँ।  

काम: कामको अर्थ हो, आफूले आर्जन गरेको ९० प्रतिशत धन आफ्नो परिवार र सुखभोगमा लगाऔं। बाँकी १० प्रतिशत परोपकार र सेवामा लगाऔं।  

मोक्ष: मोक्षको अर्थ हो, आफ्नो आनन्दका लागि दोस्रोमा निर्भर नबनौँ। आफ्नो आनन्दका लागि आफैंमा आत्मनिर्भर बनौं। मोक्ष स्वयंको सम्पदा हो, जन्मसिद्ध अधिकार पनि हो। यसलाई प्राप्त गर्न दोस्रो व्यक्तिमा निर्भर हुनुपर्दैन। यो अनुभूतिको कला सद्गुरुबाट मात्र सम्भव हुन्छ।

प्रकाशित: २१ असार २०७७ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App