३१ श्रावण २०७७ शनिबार
विचार

प्रश्नहरूको पासो

एकान्तमा चिन्तन गर्दा हजार प्रश्नको उत्तर खोज्छ मनले। सरिसृप अर्थात ‘रेप्टाइल’ जातका प्राणी उड्न जन्मिएकै होइनन्, त्यसैले घस्रिँदै बाँच्छन्। अल्पविकसित राष्ट्रका अविकसित जनता जस्तै हुन्छ उनीहरूको जीवन। हवाईजहाजमा उड्नु आकाशको स्पर्श होइन। अनन्त अन्तरिक्ष, अन्त्यहीन आकांक्षा, अथक, अहर्निश कष्ट र ज्वारभाटा देखेर–भोगेर मान्छे कहिले भावविभोर, हर्षविभोर र द्रवित बन्छ। त्यही मान्छे कहिले रुन्छ, कहिले मुसुक्क हाँस्छ। उमेर छिप्पिएर के भो, मन बालकै हुन्छ। वृद्ध मुहारमा यदाकदा देखिन्छ त्यो बालक। तर निरन्तर संकटले असमयमै रोगी र वृद्ध बनाउँछ।  

अरूलाई खुसी पार्ने ठेक्का लिएर जन्मेका होइनौँ हामी। उपकार, सद्व्यवहार, सहयोग गर्छौँ तर ठुसुक्क पर्नेहरू सबैलाई मुसुक्कमा अनुवाद गर्न सक्दैनौँ। सोक्रेटसले विष पिएको घटना आज करोडौँ मानिसको नियति बनेको छ। अपमान, कुन्ठा, तिरस्कार, घृणा र अभिशापको विष पिएर बाँचेका योग्य मानिस धरतीका हरेक कुनामा छन्। उनीहरूले जीवन बुझेका हुन्छन्।

पश्चिमी गोलाद्र्धको सुसंस्कृत राष्ट्र मानिन्छ, ब्रिटेन। यसको अर्थ दूधले नुहाएर हुर्केको होइन। पचासौँ राष्ट्रलाई घोडा चढेर ‘कहिल्यै नअस्ताउने सूर्यको देश’ कहलियो ब्रिटेन। कुनै युगमा अमेरिकाको पनि मालिक थियो। सन् १७७६ मा ब्रिटेनको दासत्वबाट मुक्त हुनुअघिसम्म अमेरिकीहरूको शिर झुकेको थियो। स्वाधीन बन्न ठूलो संघर्ष ग¥यो अमेरिकाले। ब्रिटेनले गरेका हजारौँ अत्याचारका कथा आज पनि गवेषकहरूका लागि अध्ययनकै विषय छ। उनीहरू प्रश्न गर्छन्– ‘संसारलाई ‘डेमोक्रेसी’ सिकाउने ब्रिटेन आफू किन साँचो अर्थमा ‘डेमोक्र्याट’ थिएन ? अनन्त शक्तिको उन्मादले व्यक्ति र राष्ट्र निरंकुश बन्छ। त्यस्तो भयबाट संसारलाई उन्मुक्ति दिने उपाय के छ त ?’ प्रश्न अनुत्तरित छ।

जर्ज मोनबिटले लेखेका छन्– ‘केन्याका जनताले स्वतन्त्रता माग्दै विद्रोह गर्न थालेपछि ठूलो कैदखाना बनाएर ब्रिटेनले सन् १९५० मा हजारौँलाई थुन्यो। ‘किकुयु’ भनिने रैथाने समुदायले हाम्रो जमिन हामी नै भोग गर्छौँ भन्नु अन्याय थिएन तर दश लाखभन्दा धेरैलाई थुनेर आवाज दबाइयो।’ जर्नेल एरिक ग्रिफिट जोन्सले यो स्वीकार गरेका छन्। सन् २०१२ मा केन्याका जनताले झण्डै चालीस वर्षपहिले अत्याचार गर्ने ब्रिटेनसँग क्षतिपूर्ति मागे। त्यो चर्चाको विषय भएन। किनभने ‘श्वेतहरू सर्वोच्च हुन्छन्’ भन्ने मनोग्रन्थीले लन्डनका शासकहरूलाई थिचेको हुनुपर्छ। दरिद्र र कम विकसित मुलुकहरूलाई प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताको पाठ सिकाउनेहरूको व्यवहार, इतिहास र प्रवृत्तिको अध्ययन नै नगरी हामी अनेक संस्था खोलेर उनीहरूका दास बन्दैछौँ किन ? तातो फलामे सिक्रीको माला लगाएझैँ विदेशी दान चपाउनेहरूलाई यस्ता प्रश्नले पोल्छ होला। जो विदेशीलाई विवेक बुझाएर बन्धक र बँधुवा बनेका छन्, उनीहरूले मानव अधिकार सिकाउने ? स्वतन्त्रताको पाठ पढाउने ? हामीलाई आपसमा लडाउने ? विदेशीका नन्दी–भृंगीलाई धुरीमा चढाउने ? राजनीतिमा यो विद्रुप दृश्य पटक–पटक देखिँदैछ।

सल्यानतिर उक्लिन दाङबाट सजिलो, इलाम जान झापाबाट सजिलो भएझैँ चीनतिर उक्लिन नेपाललाई आधार इलाका बनाउन खोजिएको छ।

केही वर्षअघिको कुरा हो। भिक्षु बनेर नेपालमा बसेको सिक्किमको एउटा सोझो केटालाई ‘तिब्बत स्वतन्त्र हुनुपर्छ’ भन्ने पक्षको प्रदर्शनमा सहभागी गराइयो। जानकारहरू भन्छन्– पचास हजार रुपियाँ ‘प्रिपेड घुस’ खुवाएपछि ऊ जे पनि गर्न तयार भयो। कथित मानव अधिकारवादी ठगहरूको षडयन्त्र बुझेन लठेब्राले। उसको पोशाक (चिवर) पेट्रोल छर्केर पहिले नै तयार पारिएको थियो। प्रदर्शनका क्रममा ‘तिमीले लुगामा आगो लगाउनु, भिडियो खिचेर पाँच÷दश सेकेन्डमै निभाइदिउँला’ भनिएको रहेछ। उसले पत्यायो। शरीरमा आगो लगायो। ‘पत्रकार’ भनिएका विदेशीका केही कर्मचारीले फोटो खिचिरहे। आगो निभाउने कोही भएन। उसलाई ‘चीन विरोधी’ तिब्बती शरणार्थी भन्दै आत्मदाह ग¥यो भन्ने प्रचार गरियो। तिब्बत कहाँ पर्छ, उसलाई थाहा थिएन। अस्पतालमा छट्पटाएर मरेछ त्यो युवक। विदेशीका लागि जासुसी गर्नेहरू मिलेर राष्ट्रलाई नै आत्मदाह गराउलान् कि भन्ने शंका बढ्दैछ अहिले। यस्ता घटनाको सूक्ष्म अध्ययन गरेर किन सत्यको उद्घाटन गर्न सक्दैनन्, जिम्मेवार व्यक्ति, सञ्चारमाध्यम र संस्थाहरू ?  

चीन र अमेरिकाबीच बढेको तनावले नेपाललाई अनिश्चित भविष्यतिर धकेलिरहेको छ। चीनको सिमानासँग जोडिएका चौधवटा राष्ट्र तथा हङकङ जस्ता स्वशासित क्षेत्रमा के भइरहेको छ भन्ने सम्पूर्ण आयाम नबुझेसम्म सबै कुरा छर्लङ्ग हुँदैन।

सन् २०११ मा भारत र अमेरिकाबीच आणविक सम्झौता हुँदा त्यसको विरोध गर्ने ‘द एसियन एज’ की पत्रकार सीमा मुस्तफालाई जागिरबाट किन हटाइयो ? त्यति बुझे पुग्छ, नेपालका श्रमजीवी पत्रकारले। अन्तर्राष्ट्रिय शक्तिको खेलमा बुद्धिजीवीमात्र होइन, जंगी, प्रहरी, निजामतीलगायत राष्ट्रका हरेक तह र तप्का ध्रुवीकृत हुँदै जान सक्ने खतरा देखिन्छ। नीति–निर्माताहरू कतै न कतै संलग्न हुँदै गए भने राष्ट्र कसरी असंलग्न रहन्छ ? फलामको गलबन्दी घाँटीमा कसेझैँ प्रश्नै÷प्रश्नको मुण्डमाला लगाएर ठिङ्ग उभिएको छ, सिंहदरवबार। नामै त सिंहदरवार। त्यहाँ उक्लिएपछि दुःखी स्याल पनि आफूलाई सिंह ठान्न थाल्छ। पहिले राजदरवारले बनाएका ‘सिंह’ हुन्थे। अचेल विदेशीलाई मालिक स्वीकार गरेपछि मात्र पदेन सिंह बन्न पाइन्छ। होडबाजी र ‘घले दौड’ उस्तै छ।

खाल्क र पार्चम समूहमा विभक्त थिए अफगान कम्युनिस्टहरू। राजतन्त्र हटेपछि मस्कोका कम्युनिस्ट नेताहरूले एकता गराइदिए। हफिजुल्ला अमिन खाल्क नेता थिए भने बाब्राक कार्माल र नुर मोहमद तराकी ‘पार्चम’ समूहका नेता थिए। नेपालमा एमाले र माओवादीको दुश्मनी जस्तै उनीहरू एक–अर्कालाई देख्नै नसक्ने। एकता गराइदिए विदेशीले। राजा फ्याँकेर राजाभन्दा शक्तिशाली भएका महमद दाउदको सरकारलाई कम्युनिस्ट जर्नेलहरूले अपदस्थ गरे। सन् १९७८ को कुरा हो, यो। सन् १९७३ सम्म राजतन्त्र हुँदा सेना विभाजित र कमजोर थिएन तर राष्ट्रिय एकता बिथोल्न राजा हटाउनै पर्छ भन्दै विदेशी डिजाइनअनुसार राजा जहिर शाहलाई हटाइएको थियो। सेनाले प्रधानमन्त्री दाउद र उनको परिवार समाप्त गरिदियो। मन्त्रीहरू मारिए। नुरमहमद तराकी सर्वेसर्वा भए। कम्युनिस्ट पार्टीका सर्वोच्च पनि उनै भए। गणतन्त्र घोषणा गरे उनले तर ६ महिनापछि मारिए।

अमेरिकाले चासो देखाएर परिस्थितिलाई कम्युनिस्ट विरोधी बनाउन चाहेको थियो। सन् १९७८ मा काबुल र मस्कोबीच सैनिक सहकार्य गर्ने सम्झौता भयो। एक वर्ष नबित्दै धुलो उडाउँदै एक लाख जति रसियन सैनिक पसे, अफगानिस्तानमा। राष्ट्रवादीहरू ‘देखि जान्ने, सुनिजान्ने किनाराका साक्षी’ मात्र भए। हेर्दाहेर्दै सुन्दर देश युद्ध मैदान भयो। कारण थियो, विदेशी स्वार्थकेन्द्रित राजनीति।  

खम्पा विद्रोहका नाइकेहरू वाङ्दी र हिसीलाई विभाजित गराएर राजा वीरेन्द्रले नेपाली सेनामार्फत ‘अमेरिकी योजना’ असफल बनाइदिए।

पाकिस्तानसँग सिमाना जोडिएको अफगानिस्तान पुरानो राष्ट्र हो। महाभारतमा गान्धार नरेशको प्रसंग आउँछ। अचेल कान्दाहार भन्छन् गान्धारलाई। ऊबेला शकुनी राजा थिए। समय बित्दै जाँदा लाखौँ खुनीहरू पैदा भए। ‘धर्मयुद्ध’ गर्ने योद्धा (मुजाहिद्दिन) विदेशीले पैदा गरे। रणधीर सुब्बाले सिगार तान्दै भन्थे– ‘हेर्नूस् भाइ, मार्ने र मर्ने नेपाली नै हुनेछन्। नेपालको स्वतन्त्रता कमजोर भयो भने काठमाडौँ चै काबुल बन्छ है।’ माओका पालामा चीनमा राजदूत भएका पाँचथरका ती लिम्बू कालिम्पोङमा हुर्किए। २००७ सालपछि नेपाली राजनीतिमा सक्रिय भए गोर्खा परिषद्मा।

भविष्यद्रष्टा थिए पहिलेका मान्छे। नाडी छामेर पचासौँ रोग बिसेक पार्ने योग्य कविराजझैँ राष्ट्रको सुदूर भविष्य हेरेर घटनाको विश्लेषण गर्थे उनीहरू। पछिल्ला वर्षहरूमा त नेपाली कूटनीति ‘कि लाउ माया उहीतिर, कि लाउ माया मैँतिर, नलाऊ माया दुईतिर’ भन्ने गीतझैँ भएको छ। ‘बिआरआइ’ र ‘एमसिसी’ मध्ये दोहोरी गीतको एउटा टोलीमा उभिन बाध्य पार्ने हिसाबले प्रश्नहरूको पासो थापिएको छ। यसमा सैनिक मुख्यालयमात्र ध्रुवीकृत हुन बाँकी देखिन्छ।

अमेरिका र सोभियत संघबीच पानी बाराबार छँदा राजा महेन्द्रले ती दुवै शक्तिको सद्भाव कसरी जुटाए होलान् ! यो प्रश्नमा घोत्लिँदा एक÷एकवटा राष्ट्रका बब्रुबाहन भइसकेका भाइरसहरू नांगै नाचेझैँ लाग्छ। हुँदाहुँदा, अमेरिकाले ‘चीनबाट खतरा बढेको’ कारण देखाएर दक्षिण तथा दक्षिणपूर्व एसियामा फौज राख्ने घोषणा ग-यो। यो भनेको तिम्रो घरमा खतरा छ भनेर सिरकमा घुस्रिन आएजस्तो हो। सल्यानतिर उक्लिन दाङबाट सजिलो, इलाम जान झापाबाट सजिलो भएझैँ चीनतिर उक्लिन नेपाललाई आधार इलाका बनाउन खोजिएको छ। ‘साउथ चाइना सी’ क्षेत्रमा बढेको अमेरिकी चासो नै पासो बन्दैछ।

राष्ट्रको भन्दा परराष्ट्रको चिन्ता गर्नेहरू धेरै भएपछि स्वदेशको भन्दा विदेशको मायाले तान्छ उनीहरूलाई। भोट हाल्ने नेपाली नै हुन् तर राजनीतिज्ञहरूलाई शक्तिशाली बनाउने काम विदेशीले गरिरहेका छन्। त्यसैले उच्च तहमा बस्नेको ‘राष्ट्रवाद’ गीतको भाका जस्तो मात्र भयो। सालैजो र बरिलै भन्या जस्तो।  

अब पनि टुलुटुलु हेरेर बस्ने हो भने हामी राष्ट्रिय स्वतन्त्रताका मलामी बन्ने निश्चित छ। राष्ट्र गम्भीर संकटमा छ। समयमै उपचार हुन सकेन भने धराशायी बन्ने सम्भावना बढ्दै गएको छ। पराधीन राष्ट्रमा पनि सुख, शान्ति, समृद्धि हुन सक्छ तर स्वाभिमान हुँदैन। राष्ट्रिय स्वाभिमान सजीव रहेन भने राष्ट्र निष्प्राण बन्छ। त्यसको क्षतिपूर्ति अरूले दिएको अनुदान, ऋण वा सहयोगबाट हुँदैन। अर्बौँ डलर प्राप्त हुने लोभमा राष्ट्रको अस्तित्वमाथि खेलाँची गरियो भने हजारौँ वर्ष पुरानो राष्ट्र नेपाल परतन्त्र बन्न सक्छ। आर्थिक संकट पर्दा जे पनि गर्नुपर्छ भन्नु आमा, छोरी, बुहारी बेचेर धनी हुन खोज्नु जस्तै हो। संकटसँग स्वतन्त्रता, सम्मान र स्वाभिमान साट्ने कि नसाट्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

‘ब्रिटिस–गोर्खा’ सेनामा लामो अनुभव हासिल गरेका साम कोवानले ‘एसेज अन नेपाल, पास्ट एन्ड प्रेजेन्ट’ पुस्तकमा नेपालमा खम्पा विद्रोह, माओवादी विद्रोहलगायत आरोह÷अवरोहको सूक्ष्म विश्लेषण गरेका छन्। २०१७ सालमा खम्पाले मुस्ताङ क्षेत्रमा सशक्त गतिविधि सुरु गर्दा अमेरिकी गुप्तचर संस्थाको प्रत्यक्ष सहयोग थियो भन्ने कुरा उनले पुष्टि गरेका छन्। झन्डै चार हजार खम्पा विद्रोहीले चीनबाट तिब्बतलाई टुक्र्याउन चाहेका थिए। खम्पा विद्रोहका नाइकेहरू वाङ्दी र हिसीलाई विभाजित गराएर राजा वीरेन्द्रले नेपाली सेनामार्फत ‘अमेरिकी योजना’ असफल बनाइदिए। पहिले अरूका लागि काम गर्नेहरू गुफामा बस्थे। अचेल राजधानीका सोफामा बस्छन्। यो राष्ट्रिय सुरक्षा नीतिको असफलता हो कि होइन ? विश्लेषण हुनुपर्छ।

विदेशीसँग ‘म्याच फिक्सिङ’ गरेको अभियोगमा सन् २०१५ मा नेपालको राष्ट्रिय फुटबल टिमका सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री, अञ्जन केसी जस्ता खेलाडी विवादमा परे। तर अदालतबाट सफाइ पाए। राष्ट्रिय राजनीति र कूटनीतिका कैयन् खेलाडीले विदेशीसँग ‘म्याच फिक्सिङ’ गरेर राष्ट्रघाती काम गर्दा पनि छूट पाइरहेका छन्। राष्ट्रलाई हानि नोक्सानी गर्ने भेलुपिलाई प्रभाकरण, लेन्डुप दोर्जे, क्विजलिङ र मिरजाफरहरू नेपालका सञ्चारमाध्यममा दिनहुँ देखिन्छन्। राष्ट्रवादी र राष्ट्रघातीको तुलना गर्दा बितेका तीस वर्षयता नेपालमा राष्ट्रघातीकै प्रभुत्व देखिन्छ। के हामीले खोजेको यही हो ? होइन भने सत्य–असत्य विश्लेषण गरेर हामी जनताले राष्ट्रघातीहरूलाई किन कठोर दण्ड दिन सकिरहेका छैनौँ त ? यो प्रश्नले थप शंका पैदा गर्छ। के हामी पनि परतन्त्र हुन तयार छौँ ? राष्ट्रिय स्वतन्त्रता प्यारो छ भने नेपाली जनताले राष्ट्र बचाउन केही गर्नुपर्छ कि पर्दैन ?

प्रकाशित: १९ असार २०७७ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App