३१ श्रावण २०७७ शनिबार
विचार

अभिशप्त सदाहरू र निर्लज्ज सरकार

राज्यको उपेक्षामा सधैँ सदाहरू नै परे र मरे। बालक कमल सदाले आफ्नो शरीर बिसाउन एक टुक्रा जमिन पाएनन्। वृद्ध मलर सदा भोकले मरे। युवा राजु सदा उपचार नपाएर मरे। यो संयोगमात्र हो कि नियमित आकस्मिकता हो ? राज्यको चरम उपेक्षामा किन सदाहरू जस्ता निरीह नागरिकमात्रै पर्छन् ? सरकारसँग यसको जवाफ छैन। किनभने सरकारलाई नागरिकप्रति दायित्वबोध नै छैन। सरकार हरेक संवेदनशील विषयलाई उपेक्षा गर्दैछ। त्यसैले कोरोनाले भन्दा सरकारको उपेक्षाले जनताको ज्यान लिँदैछ।  

सरकार आवाजविहीनहरूलाई सुन्दैन। आवाजविहीनहरूको आवाज बन्नुपर्नेहरू राजनीतिको छायाँमा अर्थलाभ गर्न व्यस्त छन्, मस्त छन्। सरकार आफूले जे गरेको छ, त्यही सही हो र त्यही सत्य हो भन्ने भ्रम पालेर बसको छ। त्यो भ्रमभित्र पनि अनुचित दम्भ र अहम् छ। आदेश र फर्मानमात्रै जारी गर्नमै बेफुर्सद छ सरकार। जनताले आवश्यक सेवा पाए÷नपाएको हेर्ने र बुझ्ने फुर्सद र चासो पनि छैन सरकारलाई। अनि नागरिकचाहिँ सरकारको भ्रम र अहम्बाट सिर्जित पीडा भोग्न अभिशप्त बनेका छन् र बनिरहेछन्।

राजु सदा, मलर सदा, सूर्यबहादुर तामाङ, जोद्धिप्रसाद र सिद्धार्थ आउजीहरूको मृत्यु स्वाभाविक मृत्यु थिएन। ती राज्यको उपेक्षा र उदासीनताका सिकार बनेका थिए। लोकतन्त्रमा पनि तिनले पञ्चायतमा भन्दा पनि तुच्छ मृत्युवरण गर्नुपरेको थियो। राज्य तमासेमात्र बनेको छ। शासकहरू भोगविलासमा डुबेका छन्। राज्यको तमासे प्रवृत्ति र शासकहरूको भोगविलासका कारण नागरिकहरू पीडा सहेर बाँच्न विवश छन्, अभिशप्त छन्। यो पीडाले उत्पन्न गर्ने आक्रोशको परिणाम राज्य र शासकहरूले अवश्य भोग्नुपर्नेछ। नागरिकको आशा, अपेक्षा र सपनासँग खेल्नेहरूले एकदिन पराजित हुनैपर्नेछ।  

कमल सदा
२०७४ सालको साउन महिना। लगातार झरीले सप्तरीको कुलारी गाउँ डुबानमा प-यो। त्यहीबेला फुदन सदाका बिरामी परेका ८ वर्षीय छोरा कमल सदाको त्यही बेला मृत्यु भयो। सदा परिवारको संस्कारअनुसार जमिनमा गाड्नुपर्ने थियो कमलको शव। तर पानीले पूरै गाउँ डुबाएको थियो। कतै जमिन देखिएन। कतै माटो देखिएन। कतै हिँड्ने बाटो पनि देखिएन। शव घरमा राखिराख्ने कुरा पनि भएन। अनि विकल्पको रूपमा देखियो कुलारी गाउँभन्दा अलि पर मदमस्त भएर बग्दै गरेको कोसीको धमिलो पानी। 

सरकार हरेक संवेदनशील विषयलाई उपेक्षा गर्दैछ। त्यसैले कोरोनाले भन्दा सरकारको उपेक्षाले जनताको ज्यान लिँदैछ। 

कमलका बुबा फुदन घरमा थिएनन्। उनी मजदूरीका लागि धरान गएका थिए। झरी र बाढीले गर्दा उनी आफ्नो घरमा आउन पनि पाएका थिएनन्। त्यसैले २०७४ साल साउन २९ गतेका दिन कमलका ठूलो बुबाले कमललाई कम्बलमा बेरेर त्यही कोसीको धमिलो पानीमा बगाइदिए।  

कमलले आफ्नै जन्मथलोमा आफ्नो शरीर बिसाउनका लागि एक टुक्रा जमिन पनि पाएनन्। आफ्नो शरीर पुर्नका लागि एक थुप्रो माटो पनि पाएनन्। उनी अनागरिकझैँ भएर बाँचे र अनागरिकझैँ भएर मरे। अनि अनागरिकझैँ भएरै कोसीको धमिलो पानीमा बग्दैबग्दै बिलाए। हरेक वर्ष यसैगरी अरू धेरै कमल सदाहरू कोसीको धमिलो पानीमा बिलाउँछन्, बिलाइरहेछन्।

मलर सदा  
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले बन्दाबन्दी चलिरहेको थियो र अझै चलिरहेछ। मानिस एकान्तवासमा थिए र छन्। बन्दाबन्दीले बेरोजगार बनेका सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर पाँच, पथरी रामपुरका मलर सदा सिदहा (खाद्यान्न) को जोहो गर्न कोदालो र छाता बोकेर घरबाट निस्किए। घरमा चार दिनदेखि चुलो नबलेपछि उनी चिन्तामा डुबेका थिए। तर चार दिनदेखि पेटमा अन्नको गेडा नपरेका भोका मलर सदा खेत खन्दाखन्दै खेतमै ढले। उनकी श्रीमती जलेश्वरीले उनलाई अस्पतालसम्म पनि लान सकिनन्। चार दिनदेखि भोकै बसेका सदा परिवारमा मलरलाई अस्पताल लाने पैसा थिएन। अन्ततः मलरले अस्पताल नपुगी भोककै कारण सदाका लागि संसार छाडे।  

‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने शासकको नारालाई गिज्याउनुपर्ने थियो मलरको मृत्युले। तर शासकको यो नाराले नै ‘तँ भोकै मरिस् ?’ भनेर भोकले मरेको मलर सदालाई गिज्याएजस्तो भयो। शासकहरूको हरेक नाराले गरिब नागरिकलाई निरन्तर गिज्याइरहेकै छ। गरिबको पीडा र आँसु शासकका लागि ठट्टा बनेको छ। त्यसैले हाम्रा शासकहरू निरन्तर ठट्टा गरिरहेछन्।

राजु सदा
धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीको अति विपन्न दलित बस्तीका हुन् राजु सदा। विपन्न अवस्थाकै कारण घरको आर्थिक जिम्मेवारी निभाउन रोजगारीका लागि भारत पसेका थिए उनी। भर्खरै १६ वर्षका मात्रै भएका राजु दक्षिण भारतको चेन्नईको होटेलमा काम गर्न पुगे। त्यहींँ काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका आए।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गरिएको बन्दाबन्दीले उनी बेरोजगार भए। गाँस र बासको पनि समस्या भएपछि उनी साथीहरूसँगै घर फर्किए। तर घर फर्किनु नै उनका लागि दशा भयो। चेन्नइबाट आठ दिन लगाएर घर आइपुग्दा राजु खुसी थिए।  

राजु साथीहरूसँगै १४ जेठमा गाउँ आइपुगेका थिए। कोरोनाको शंकामा उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टिनमा राख्यो। त्यहीँ उनलाई पखाला लाग्यो। तर पखाला किन लाग्यो भनेर सोधखोज भएन। पेट दुखेर राजु आइसोलेसनमा तड्पिरहे। उनलाई के भयो भनेर सोधखोज गर्न स्वास्थ्यकर्मी कोही पनि आएनन्। कोरोना हो भनेर आइसोलेसनमा राखिएकाले परिवारले राजुको हेरचाह पनि गर्न पाएनन्।  

नमुना संकलन भएको १४ दिनपछि रिपोर्ट आयो। राजुको रिपोर्ट नेगेटिभ आयो। तैपनि राजु र उनको परिवार खुसी हुन पाएनन्। किनकि त्यतिन्जेलसम्म अस्पतालको चरम उपेक्षाले राजु धेरै गलिसकेका थिए। उनी पीडाले छट्पटाउँथे। पीडाले छट्पटाउँदा अस्पतालको बेडबाटै खसे। भुइँमै पनि छटपटाइरहे। तर उनको पीडामा डाक्टर वा नर्स कसैलाई दया लागेन। पीडाले छट्पटाउँदै असार ९ गते बिहान ४ बजे राजु सदाले सदाका लागि संसार छाडे।  

राजुको मृत्युले विह्वल बनेका उनका पिता अशेश्वरले रुँदै भनेका छन्– ‘बरु चेन्नइको सडकमा भीख मागेर खाँदै बसेको भए बाँच्थ्यो होला, दशा लागेर देश आएछ।’ साँच्चै दशा लागेरै अनेक दुःख सहेर देशमा आएजस्तो भयो राजु सदालाई। देशमा कोरोना उपचारका नाउँमा झण्डै दश अर्ब रुपियाँ खर्च भएको हिसाव पेश गरेको छ सरकारले। तर सर्वसाधारणको स्वास्थ्यमाथि राज्यले कसरी खेलबाड गरिरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो राजु सदाको मृत्यु। राजु सदा जस्ता अरू धेरै गरिब नेपाली क्वारेन्टिन नामको यातनागृहमा पीडा र तनावले छट्पटाइरहेका छन्। शासकहरू भने भोगविलासको आनन्दमा डुबिरहेका छन्। पीडितको आवाज नसुनेझैँ गरिरहेका छन्। उनीहरूलाई नागरिकको रोदन र क्रन्दनले छोएको छैन।

मधेसका कमल सदा, मलर सदा र राजु सदाहरू अनागरिकझैँ मर्दै गर्दा मधेसलाई आफ्नो बिर्ता ठान्ने र मधेस र मधेसीको हक, हित र अधिकारको कुराले सडक र सदन थर्काउने मधेसी मसिहाहरू यतिखेर कहाँ छन् ? आफ्नै शरीर बिसाउन एक टुक्रा जमिन नपाएका कमल सदा, भोकले मरेका मलर सदा र उपचारै नपाएर मरेका राजु सदाको आत्माले तिनीहरूलाई शान्तिले निदाउन दिने छैनन्।

आमसर्वसाधारणको आलोचनालाई सधैं नकारात्मक दृष्टिले हेर्ने सरकार आफ्नो बचाउ र अहंकारमा चुर्लुम्म डुबेको छ। त्यसैले राजु सदा पीडाले छटपटाउँदै मरेको भिडियोलाई सरकारलाई दोष देखाउन बनाइएको नक्कली भिडियो भनेर पन्छिन बेर लाउने छैन हाम्रो निर्लज्ज सरकार। अझै भन्नेछ– सरकारले कि कोरोना प्रभावित हरेक क्षेत्रमा सरकारले आवश्यक व्यवस्था गरेको छ। अव्यवस्थाको पहाड चुलिएको अलिकति पनि आभास छैन सरकारलाई। त्यसैले सरकार सफलताको आत्मरतिमा रमाइरहेको छ।  

क्वारेन्टिन यातनागृह जस्तै भएका छन्। अनि कोरोना संक्रमण र मृत्युको माध्यम बनेको छ क्वारेन्टिन। त्यसैले उपचारको आशामा बसेका कोरोना संक्रमितहरू क्वारेन्टिनबाटै भाग्दैछन्। पछिल्लोपटक दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका ९२ मध्ये २१ जना कोरोना संक्रमितहरू असार ११ गते बिहीबार राति भागे। आफूहरूलाई कोरोना भाइरस देखिएको १२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको र खाने व्यवस्था राम्रो नभएको भन्दै उनीहरू क्वारेन्टिनबाट भागेका थिए। यसअघि पनि मुलुकका विभिन्न क्वारेन्टिनबाट यसरी नै कोरोना संक्रमितहरू भागेका थिए।  

क्वारेन्टिन यातनागृह जस्तै भएको र त्यहाँ हेरचाहको त कुरै छाडौँ, मानवीय व्यवहारसमेत नहुने हुँदा संक्रमितहरू भाग्न बाध्य छन्। बझाङ छविसपाथिभेरा गाउँपालिका–७ का ३० वर्षीय युवकले क्वारेन्टिनमै आत्महत्या गरे। क्वारेन्टिनमै मृत्यु हुनेहरूको संख्या पनि दर्जनौँ पुगिसक्यो। निर्लज्ज सरकारलाई यो यथार्थको हेक्का भए पो ! मलर सदाहरू भोकै मर्दै गर्दा शीतलनिवासमा रात्रिभोज चल्छ। राजु सदाहरू जीवनजल नपाएर छटपटाउँदै मर्दै गर्दा सिंहदरबारमा बेसारे प्रवचन चल्छ। सीमा मिचिएको विषय उठान हुँदा सदनमै ठट्टा गर्ने मुड चल्छ शासकलाई। यति निर्लज्ज सरकारले कमल सदा, मलर सदा र राजु सदाको जस्तै अभिशप्त जीवन जिउनबाट मुक्ति पाई समृद्ध नेपालका सुखी नेपाली बन्ने अपेक्षा गर्न सक्छौँ त हामी ?

प्रकाशित: १९ असार २०७७ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App