६ वैशाख २०८१ बिहीबार
विचार

पुनः सामान्य अवस्थामा फर्कनु हुन्न

अरमिदा अलिस्जाहबना / इन्गर एन्डरसन  

कोभिड–१९ अघिको विश्व अहिले एकदमै आकर्षक देखिन्छ। यो रोग ठूलो संख्यामा बेरोजगारी र सामाजिक दूरीको अवस्था हेर्दा महाव्याधिअघिको सामान्य अवस्थामा फर्कने कुरा चित्ताकर्षक लाग्न सक्छ। तथापि सामान्य कस्तो थियो भन्ने कुरा हामीले स्मरण गर्न आवश्यक छ।

सामान्य कस्तो थियो भने हामीले उपयोग गर्ने ऊर्जाको ८५ प्रतिशत जीवावशेष इन्धनबाट प्राप्त हुन्थ्यो र हरेक वर्ष ७० लाख मानिस वायु प्रदूषणका कारण ज्यान गुमाउँथे। सामान्य भनेको यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम ३.५ सेन्टिग्रेडले बढ्ने र टापु राष्ट्रहरूको अस्तित्व मेटिनेतर्फको यात्रा थियो।

सामान्य भनेको हरेक ८ प्रजातिमा १ प्रजाति लोपोन्मुख अवस्थामा पुग्नु, वन क्षेत्र साँघुरिंँदै गएर ससाना कुनामा सीमित हुनु र वन्यजन्तुको गैरकानुनी व्यापार व्यापक मात्रामा हुनु थियो। सामान्यले यो महाव्याधि निम्त्याउनमा योगदान दियो।

हामीले के पनि स्मरण गर्न आवश्यक छ भने कोभिड–१९ ले स्वास्थ्य, रोजगार र अर्थतन्त्रहरूमाथि पारेको प्रभाव जलवायु परिवर्तनले निम्त्याउने भनी गरिएको आंकलनकै एउटा तीव्र रूपमात्र हो जुन कुरा केही स्थानमा देखापरिसकेको थियो। हामीले पुनर्लाभसहित अझ राम्रो सामान्य अवस्थाको आकांक्षा राखेनौँ भने हामीले रोगलाई नभई लक्षणहरूको मात्र उपचार गरिरहेका हुनेछौँ। हामीले पहिलाको भन्दा अझ राम्रो र बलियो पुनर्निर्माण गर्र्न आवश्यक छ।

कोभिड–१९ बाट दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग गर्ने एउटा प्रमाणित अवधारणाको लाभ उठाउने समय यही हो। 

धेरै सरकारले कोभिड–१९ पुनर्लाभलाई सहयोग पु-याउन पुनर्उत्थान र राहत सहायताको तयारी गरिरहेका छन्। एसिया प्रशान्त क्षेत्रको अर्थन्त्रमा खर्बौंँ डलर लगानी हुनेछ। यी पुनर्उत्थान कार्यक्रमले हामीलाई अझ राम्रो सामान्य अवस्था अर्थात बढी हरित र बढी समतामूलक सामान्यतर्फ डोहो¥याउनुपर्छ। कसरी ? ५३ वटा देशका २३० जना अर्थशास्त्रीबीच हालै गरिएको एक सर्वेक्षणले हरित, जलवायुमैत्री पुनर्उत्थानका कार्यक्रम आर्थिक पुनस्र्थापनाका लागि सबैभन्दा उत्तम विकल्प रहेको र त्यसले अल्पकालीन तथा दीर्घकालीनरूपमा उच्च आर्थिक लाभ दिने बताउँछ।

महाव्याधिअघि नै संयुक्त राष्ट्र संघले जलवायुमैत्री कदमले सन् २०३० सम्ममा २६० खर्ब अमेरिकी डलर बराबरको आर्थिक लाभ निम्त्याउने, ६ करोड ५० लाख नयाँ रोजगारी सिर्जना गर्ने र वायु प्रदूषणबाट हुने ७ लाख अकाल मृत्यु रोकिने कुरा निर्धारण गरेको थियो। हरित र समतामूलक पुनर्उत्थान कार्यक्रम अघि बढाउने कुरामा सरकारहरूसँग विकल्पहरू खाँचो छैन। उनीहरूले निर्माण क्षेत्रलाई ऊर्जा दक्षता र शून्य ऊर्जासहितका भवनहरूको निर्माण गर्न सहायता प्रस्ताव गर्न सक्छन्।  यो उच्च रोजगारी प्रदान गर्ने क्षेत्र हो र लगानी तत्कालै कार्यान्वयन गर्न सकिन्छ।

सडक जस्ता पूर्वाधारका लागि बजेट बढाउन हामी बढी उत्सुक हुन सक्छौँ तर धेरैभन्दा धेरै जनताको हित हुने उन्नत र हरित सार्वजनिक यातायात प्रणालीमा लगानी गर्न सकिन्छ। सार्वजनिक यातायातको क्षमता अभिवृद्धिले सडकहरूमाथिको भार कम गर्नुका साथै वायु प्रदूषण र उत्सर्जन न्यून गर्छ। बन्दाबन्दीले व्यावसायिक कार्यहरूलाई विकेन्द्रीकरण गर्न सूचना प्रविधिमा हामी बढी निर्भर हुन सक्छौँ भन्ने कुरा देखाएको छ जसबाट समयको बचत हुनाको साथै यातायात र यात्रामार्फत उत्पादन हुने कार्बन पनि कम हुन्छ। सरकारहरूले आफ्नो कार्यसञ्चालनका लागि सूचना प्रविधिका समाधानहरूमाथि लगानी गर्ने कम्पनीहरूलाई प्रोत्साहित गर्नेतर्फ सोच्न जरुरी छ।

कोभिड–१९ प्रकृतिले दिएको एउटा सन्देश हो। जलवायु संकट पनि हो। सामान्यले काम गरिरहेको छैन। हामीले अझ राम्रो र बलियो पुनर्निर्माण गर्नुपर्छ।  

धेरै उद्योगलाई पुनस्र्थापित हुन आर्थिक सहायता खाँचो पर्नेछ। कम्पनीहरूलाई जलवायु तटस्थतातर्फ कदम चाल्नुपर्ने सर्त समावेश गर्ने सरकारहरूका लागि योभन्दा राम्रो समय प्राप्त हुने छैन। सरकारले सहायता प्रदान गर्ने वायुसेवा कम्पनीहरूलाई उत्सर्जन कम गर्नेतर्फ प्रतिबद्ध बनाउँदै साहसी कदम चाल्न आग्रह गर्नुपर्छ। त्यसै पनि, यो उद्योगको दिगोपना र त्यहाँ कार्यरत लाखौँ व्यक्तिको रोजगारी प्रत्याभूत गर्न यो कार्य अत्यावश्यक छ। यसमा उदाहरण प्रस्तुत गर्ने सरकारहरूले आफूले प्रदान गर्ने सहायतालाई ऊर्जा दक्षताको लक्ष्यहरूसँग जोड्ने काम गरेका छन् र छोटो दूरीको हवाई यात्रालाई रेलयात्राले प्रतिस्थापन गरिरहेका छन्।

त्यसैगरी सवारी उद्योगलाई प्रदान गरिने आर्थिक सहायतालाई विद्युतीय सवारी साधन तथा ब्याट्री उत्पादन र दक्ष प्रविधिमा लगानी गर्नेतर्फ निर्देशित गर्न सकिन्छ। र, जीवावशेष इन्धन क्षेत्रको पुनर्उत्थानका लागि आर्थिक सहायता प्रदान गरिनु हुँदैन। विश्वमा जीवावशेष इन्धनमा प्रदान गरिने अनुदानको झण्डै एकतिहाइ विकासोन्मुख एसियाली राष्ट्रहरूमा दिने गरेको पाइन्छ। कोभिड–१९ पुनर्लाभको समय यस्ता अनुदान हटाउने र कोइलामा थप लगानी नभएको सुनिश्चित गर्ने सही समय हो। यसबाट सरकारले गर्ने बचत सार्वजनिक स्वास्थ्य र नवीकरणीय ऊर्जामा लगानी गर्न सकिन्छ। पुनर्उत्थानका लागि पैसा कहाँबाट आउँछ भन्ने प्रश्नको एउटा उत्तर यो पनि हो।

एसिया प्रशान्त क्षेत्रमा सरकारहरूसँग आवश्यक मात्रामा पुनर्लाभका कार्यक्रममा गरिनुपर्ने लगानीका लागि आर्थिक स्रोत अभाव छ। यसको अर्थ विद्यमान स्रोतहरू उच्च आर्थिक लाभ प्रदान गर्ने क्षेत्रमा परिचालन गर्नुपर्छ। यसले अतिरिक्त राजस्व संकलन प्राथमिकताको विषय रहेको पनि देखाउँछ।

इन्धनको मूल्य अहिलेसम्मकै न्यून रहेको अवस्थामा कार्बन उत्सर्जनमा शुल्क लगाउने र कृषि तथा जीवावशेष इन्धनमा प्रदान गरिने अनुदानमा सुधार ल्याने कार्य विशेष प्रभावकारी हुन सक्छ र त्यसबाट अनुदान हटाउँदा पर्ने सामाजिक प्रभाव पनि कम हुन जान्छ। हरित यातायात र ऊर्जा दक्षता सुधारलाई प्रोत्साहित गर्न उच्च कार्बन उत्सर्जन गर्ने सवारी साधनमा उच्च शुल्क लगाउने र कम उत्सर्जन गर्नेलाई छूट दिने फिबेट्स जस्ता कार्यक्रमले राजस्व वृद्धि गर्ने धेरै विकल्प प्रदान गर्छन्।

त्यसैगरी ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका परियोजनालाई ग्रिन बन्डस्  (हरित ऋणपत्र) ले पनि आर्थिक सहयोग प्रदान गर्न सक्छ। चीन, जापान र गणतन्त्र कोरियाबाहिर यस क्षेत्रमा हरित ऋणपत्रको अभाव छ। कोभिड–१९ बाट दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग गर्ने एउटा प्रमाणित अवधारणाको लाभ उठाउने समय यही हो।  

कोभिड–१९ प्रकृतिले दिएको एउटा सन्देश हो। जलवायु संकट पनि हो। सामान्यले काम गरिरहेको छैन। हामीले अझ राम्रो र बलियो पुनर्निर्माण गर्नुपर्छ।  
(अरमिदा अलिस्जाहबना संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिव हुनुहुन्छ। इन्गर एन्डरसन संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम (युएइपी) को कार्यकारी निर्देशक हुनुहुन्छ।) 

प्रकाशित: १८ असार २०७७ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App