२२ असार २०७७ सोमबार
विचार

ज्ञानको भ्रम

मतदाता सबैभन्दा जान्ने हुन्छन् अनि उनीहरूले बेठीक गर्दैनन् भन्ने मान्यताको जगमा प्रजातान्त्रिक शासन पद्धति स्थापित हुन्छ। स्वतन्त्र बजारमा आधारित पुँजीवादी व्यवस्थाको मूलमन्त्र उपभोक्ता सदैव ठीक हुन्छन् भन्ने नै हो। त्यस्तै, आधुनिक शिक्षाले विद्यार्थीलाई आफ्नो प्रगतिलाई केन्द्रमा राख भन्ने सल्लाह दिन्छ। तर मतदाताले उचित ज्ञान प्राप्त गर्न सकेनन्, उपभोक्ताले सेवा र साधनबारे पूर्ण जानकारी पाएनन् अनि शिष्यले के गर्दा आफ्नो उन्नति÷प्रगति हुन्छ भन्ने कुरा ठम्याउन सकेनन् भने लोकतन्त्र, अर्थव्यवस्था र शिक्षा नीति सबै असफल हुन्छन्। अन्ततः समाज र मुलुक दुवै विफल हुन्छ। अब प्रश्न उठ्छ– राष्ट्रलाई ओरालो लाग्न नदिन कसरी सही सूचना लक्षित समूहसम्म प्रवाह गर्ने ?  

पटक्कै ज्ञान नभएको विषयमा समेत नेपालीले आफूलाई दक्षका रूपमा प्रस्तुत गर्ने गरेको देखिन्छ÷सुनिन्छ। ‘साइन्स’ देखि ‘होम साइन्स’ सम्म सबै विषयमा पारड्गत भएजस्तो गरी तर्क गर्छन् उनीहरू। गफ लगाउने अभ्यास केबल नेपालमा मात्र सीमित छ कि यस्तो प्रचलन अन्यत्र पनि छ भनी हेर्नु अन्यथा होइन। यसै प्रसंगगमा संसारका सबैभन्दा शक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाको उदाहरण उपयुक्त होला। ‘ग्लोबल वार्मिङ’ का कारण रफ्तारले वातावरणीय परिवर्तन भएको वैज्ञानिक प्रमाणहरूका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विपरित धारमा देखिए। मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण कम हुन्छ भन्ने वैज्ञानिक निचोड हुँदाहँुदै त्यसलाई समर्थन गर्न हिच्किच्याए उनी। ट्रम्पका अभिव्यक्ति विज्ञानका आधारभूत मान्यता विपरित भए पनि उनका समर्थकहरू अभैm आफ्ना नेता ठीक रहेको भन्न छाडेका छैनन्। नेताले कुतर्क गर्ने अनि कार्यकर्ताले अक्षरशः पालन गर्ने संस्कारको सिकार अमेरिका त भयो भने गरिब मुलुकको अवस्था के होला, भन्नै परेन।  

अभिव्यक्ति हेर्दा प्रधानमन्त्री ओली ट्रम्पसँग तुलनायोग्य देखिए। सर्वोच्च पदमा पुगेपछि पानीजहाज, ग्यासको पाइपलाइन जस्ता हाँस्यास्पद तर्कहरू आए। टुक्काको नवीन चरणमा संसारलाई तहसनहस बनाएको कोरोना भाइरसका सम्बन्धमा ओलीले बेसार जस्ता मसला सेवन गर्ने बानीलाई उद्धरण गर्दै नेपालीलाई कोरोनाले नछुने दाबी प्रस्तुत गरे। तर भाइरसकै कारण नागरिकहरू मृत्यु वरण गर्न पुगे भन्ने खबरकै बीचमा आएका प्रधानमन्त्रीका बेसारसम्बन्धी दाबीलाई कसरी मूल्यांकन गर्ने ? ज्ञात रहोस्, बेसार जम्बुदीपमा प्रयोग हुने खाद्यान्नमध्ये ‘मेडिकल’ अनुसन्धानमा सर्वाधिक परीक्षण भएको मसला हो र यस पंक्तिकारसमेत विगतमा उक्त परीक्षणमा सहभागी भएको निवेदन गरेँ। हालसम्मको अनुसन्धानले बेसारमा ‘मेडिसिनल भ्यालु’ भएको ठोस प्रमाण देखिएन। यद्यपि, थप अन्वेषणले फरक नतिजा नल्याउला भन्ने कहाँ छ र ?  

नेताले कुतर्क गर्ने अनि कार्यकर्ताले अक्षरशः पालन गर्ने संस्कारको सिकार अमेरिका त भयो भने गरिब मुलुकको अवस्था के होला, भन्नै परेन।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू नेतृत्वमा छँदा देशमा धस्रने होइन, बरु भ्यागुतो जस्तो उफ्रने आर्थिक वृद्धि हुने एैलान गरे। मुलुकको अर्थतन्त्र आकासिने उनको घोषणा यथार्थभन्दा निकै टाढा थियो। त्यसबेला नेता भट्टराईका आर्थिक प्रगतिका उद्घोष ओलीका अहिलेका दाबीभन्दा फरक थिएन र कार्यकर्तासमेत पृथक थिएनन्। भट्टराई र ओलीमात्र होइन, नेपालका धेरै नेताले भिन्न भिन्न समयमा आधारहीन गफ दिएका वृतान्तको लेखाजोखा राख्न आवश्यक रहेन।  

नेतामात्र होइन, कलेजको मुखै नदेखेको सर्वसाधारणसमेतले आयुर्विज्ञान जस्तो क्लिष्ट विधामा समेत आत्मविश्वासका साथ भाषण गरेको सुनिन्छ। यसरी प्रधानमन्त्रीदेखि सामान्य नागरिकसम्म सबैले पटक्कै ज्ञान नभएको विषयमा समेत आफूलाई विषयगत दक्षका रूपमा प्रस्तुति दिने गरेको देखियो। सिप भएको विषयमा बोल्ने र उपयुक्त जानकारी बटुलेर मात्र अभिव्यक्ति दिने भन्दा मौका परे जुनसुकै सवालमा बोल्न पछि नपर्ने संस्कार देखियो। यस्तो अनौठो अभ्यास नेपालमा मात्र हो कि अन्यत्र पनि देखिन्छ भन्ने कौतुहलता हुनु अन्यथा भएन। त्यसै सन्दर्भमा एउटा अनुसन्धानको चर्चा सान्दर्भिक देखियो।  

जान्दै नजानेको विषयमा अन्धाधुन्द प्रस्तुति दिने बानी कुनै स्थानविषेशको समस्या हो वा ‘ग्लोबल डिजिज’ हो त्यसको एकीन गर्न आवश्यक रहेको ठहर गरे ‘साइकोलोजिस्ट’ समूहले। त्यसै क्रममा धेरै देशका मनोविज्ञानविद्हरूले संसारका विभिन्न भागमा बस्ने व्यक्तिको ज्ञानको भण्डार र विशेषज्ञ प्रतिक्रियाका बीच के÷कस्तो सम्बन्ध छ भनी अध्ययन गरे। विभिन्न विधाका दक्ष जनशक्ति र उसले दिने अभिव्यक्ति विश्लेषण गर्दा संसारका अधिकांश मानिसमा एउटै चरित्र देखियो। ज्ञान नै नभएको विषयमा समेत आफूलाई दक्षका रूपमा प्रस्तुत गर्ने बानी भूमण्डलीकरण भएको पाइयो। कतिपय अवस्थामा पुस्तक नै नसमाएको व्यक्तिले समेत अर्थशास्त्रीसँगको हिमचिमका आधारमा आफूलाई ‘इकोनोमिस्ट’ का रूपमा प्रस्तुत गरेको देखियो। सामाजिक सञ्जालमा आएका बेनामी लेखको आधारमा समेत व्यक्तिले आफ्नो धारणा बनाएकोसमेत पाइयो। त्यतिमात्र होइन, युक्रेनको एउटा अनुसन्धान समूहले विषयगत दक्षता र आत्मविश्वासका साथ गफ दिने बानीका बीच विपरित सम्बन्ध स्थापित भएको पायो। ज्ञानको गहिराइ पटक्कै नभएको व्यक्तिले सबैभन्दा आत्मविश्वासका साथ प्रस्तुति दिएको देखियो भने बौद्धिक वजन गहकिलो भएको व्यक्तिले कम गुड्डी हाँकेको पाए। अदक्ष व्यक्तिले ठीक÷बेठीक ठम्याउन नसक्ने भएकाले दृढताका साथ प्रस्तुति दिनु अन्यथा भएन नै। अनि जान्दै÷नजानेको विषयमा गफ दिने मामलामा महिला पुरुषभन्दा अघि रहेकोसमेत अनुसन्धानले देखायो। बेसारको ‘मेडिसिनल भ्यालु’ को ज्ञान भएको व्यक्तिले केपी ओलीभैmँ संसद्मा गएर बेसार खाने भएकाले नेपालीलाई कोरोनाले नछुने भन्न कहाँ सक्छ र ?

अभिव्यक्ति हेर्दा प्रधानमन्त्री ओली ट्रम्पसँग तुलनायोग्य देखिए। सर्वोच्च पदमा पुगेपछि पानीजहाज, ग्यासको पाइपलाइन जस्ता हाँस्यास्पद तर्कहरू आए।

सन् २०१७ मा ब्राउन विश्वविद्यालयका प्राध्यापक स्टिभेन स्लोम्यान र युनिभर्सिटी अफ कोलोराडोका प्रोफेसर फिलिप फर्नब्याचले संयुक्तरूपमा ‘द नलेज इल्युजन’ (ज्ञानको भ्रम) भन्ने पुस्तक प्रकाशित गरे। व्यक्तिले हासिल गरेको यथार्थ ज्ञानभन्दा आफूलाई सदैव क्षमतावान प्रस्तुत गर्छ भन्ने निचोडमा पुगेको उक्त पुस्तक मननयोग्य देखियो। व्यक्तिको आफ्नो बौद्धिक दाबी र उसले हासिल गरेको यथार्थ ज्ञानबीचको अन्तरसम्बन्ध स्थापनाका खातिर आफ्ना उत्खनन् र अन्यत्र भएका अनुसन्धानलाई आधार मानेर उक्त पुस्तक लेखेको उनीहरूले बताए। विगतको अनुसन्धानसँग मिल्ने गरी संसारका सबै व्यक्तिमा आफूले जानेको भन्दा निकै गहकिलो व्यक्तित्वका रूपमा आफूलाई प्रस्तुत गर्ने अनौठो बानी रहेको देखायो उक्त पुस्तकले समेत।  

धेरथोर गुड्डी हाँक्ने बानी सबैमा हुने भए तापनि उपल्लो पदमा भएका व्यक्तिको प्रभाव क्षेत्र ठूलो हुने भएकाले उच्च आसनमा बस्ने मानिसले अभिव्यक्ति दिँदा सत्यताका सम्बन्धमा अझ बढी ध्यान दिन आवश्यक देखियो। अनुसन्धानले गर्दा सबै विषयका अध्ययन दिनानुदिन क्लिष्ट भए। अर्थशास्त्रकै विद्यार्थी भए पनि ‘इकोनोमिक्स’ कै पनि सबै पक्षको विषयगत ज्ञान हासिल गर्न कठिन हुन्छ। त्यस्तो अवस्थामा कुशल राजनीतिज्ञले कुनै पनि अभिव्यक्ति दिनुअघि विषयगत ज्ञान भएका दक्षहरूसँग सल्लाह गर्ने अनि उनीहरूकै सुझाव र सम्मतिमा आफ्ना धारणा पस्कनु आवश्यक हुन्छ। योग्यसँग सल्लाह लिएर बोल्नुको बदला आफ्नो ज्ञानको भ्रमको सिकार भएर अन्टसन्ट बक्दा मुलुकले आर्थिक व्ययमात्र बेहोर्नु पर्दैैन बरु नेताका कारण नागरिकले समेत लज्जा बेहोर्नुपर्ने देखियो।  

प्रधानमन्त्रीको पानीजहाजको लहडी भाषणको प्रतिरक्षामा मुलुक र नेकपाले कति मूल्य चुकायो लेखाजोखा होला नै। देशको कार्यकारीमात्र होइन, पदअनुरूप सबैका आआफ्ना प्रभाव क्षेत्र हुने भएकाले उनीहरूका अभिव्यक्तिसमेत यथार्थपरक हुन आवश्यक छ। सुसूचित नागरिकको भोटले मात्र प्रजातन्त्र संस्थागत हुन सक्ने भएकाले सबै तह र तप्कामा सत्य समाचारको प्रवाह आवश्यक देखियो। ज्ञानको भ्रममा पर्नुभन्दा सत्यको खोजी सबैका लागि लाभदायक हुन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक देखियो। झुटको खेती गर्नेभन्दा तथ्यपरक अभिव्यक्ति दिनेलाई उच्च मूल्यांकन गर्ने संस्कार अहिलेको आवश्यकता देखियो। कसले सत्य भन्यो अनि कसले भ्रमको खेती ग¥यो त्यसको यथार्थ दर्शाउने दायित्व त अन्त्यमा बौद्धिक जमातकै हो क्यार ! 

प्रकाशित: १६ असार २०७७ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App