२३ असार २०७७ मंगलबार
विचार

हराएको ज्ञान

राजा गीर्वाणयुद्धविक्रम शाहले नेपालमा पहिलो पुस्तकालय (१८६९ साल भदौ १५) खोले । जसको हाकिम केदारनाथ झा थिए । ज्ञानका स्रोत बचाउने प्रयास अज्ञानीले गर्दैन । वसन्तपुर दरवारमा खोलिएको पुस्तकालय जंगबहादुर राणाले थापाथली दरवारमा सारे १९०४ सालमा । उनी ठूला ज्ञानी होइनन् तर ज्ञानको महत्व बुझेका शासक थिए ।

गृष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ ग्रन्थमा ज्ञानका लागि नेपालमा भएका सत्कर्मको चर्चा गरेका छन् । वि.सं. १९०० मा कास्कीमा विद्वान्हरूले खोलेका ‘पण्डित पुस्तकालय’ राजधानी बाहिर खुलेको पहिलो पुस्तकालय हुनुपर्छ भन्थे देवकोटा । नरेन्द्रविलास पाण्डेको सम्पादनमा प्रकाशित ‘नयाँ किरण’ पत्रिकामा २०३८ सालमा काम सुरु गरेँ मैले । पुतलीसडकस्थित सो कार्यालयमा यदाकदा भेट हुन्थ्यो देवकोटासँग । देवकोटा आफैंमा पुस्तकालय थिए । ‘नेपालको राजनीतिक दर्पण’ ग्रन्थका तीन/चार वटा ठेली पढेपछि मात्र २००७ सालपछिका यावत् कृत्य–कुकृत्य बुझिन्छ । देवकोटा राजनीतिक घटनाक्रम मज्जाले सुनाउँथे ।  

नेपाली पुस्तकालयको इतिहासमा तौलिहवाको पशुपतिप्रताप, पाल्पाको धवल पुस्तकालय, बुटवलको महावीर, बाग्लुङ पुस्तकालय पुराना हुन् भने वीरशमशेरदेखि जयपृथ्वीबहादुर सिंहलगायतले ज्ञानभण्डार बचाउन ठूलो यत्न गरेका देखिन्छ ।

चन्द्रशमशेरका सबैभन्दा ज्ञानी छोरा हुन् केशरशमशेर । संसार भ्रमण गर्ने प्रथम नेपाली उनै हुन् । पचपन्न हजार पुस्तक संकलन गरे उनले । केशरकी पत्नी कृष्णचन्द्रदेवीले २०२६ सालमा केशरमहलसहित पुस्तकालय, स्वप्न बगैँचा सबै सरकारलाई दिइन् ।

ज्ञानीमात्र होइन, रसिक पनि थिए केशर । साहित्य, संगीत र कलाका पारखी थिए । ‘रत्नश्री’ पत्रिकाका सम्पादक तथा पुराना पत्रकार मदनदेव भट्टराई भन्छन्– राजा त्रिभुवनका भिनाजु भएकाले उनी राजदरवारमा गएर राजासँग तास खेल्थे । देश÷देशान्तरका विषयमा छलफल गर्थे । जोक्स सुनाउँथे । एकदिन केशरले विन्ति गरेछन्– ‘सरकार, कुनै कुरा मन परेपछि मन थाम्न सकिँदैन । त्यस्तो बेला के गर्ने ?’ युवावस्थाका राजाले हाँस्दै भनेछन्– इच्छा लागेको कुरा सम्भव भएसम्म भोग गर्ने ।

केही हप्तापछि केशरले प्रेमिकालाई महलमा भित्र्याए । जेठी श्रीमतीले दरवारमा उजुरी गरिछन् । केशरलाई राजाले बोलाएर सोधे– ‘के गरेको त्यस्तो ?’

केशरले जवाफ दिएछन्– ‘इच्छा लागेको कुरा सम्भव भएसम्म भोग गर्ने’ हुकुम भएको थियो । हुकुम शिरोपर गरेँ सरकार !’ मन्त्री, राजदूत र राजाका सल्लाहकार भएका केशरको ज्ञान उदेकलाग्दो थियो । संस्कृतका प्राचीन ग्रन्थदेखि अंग्रेजीका नवीन शैलीका साहित्यका बारेमा पनि उनलाई धेरै कुरा थाहा थियो ।  

आफ्नो खुर्केर अरूको टाँस्ने बुद्धिलाई ज्ञान भनिँदैन, त्यो अज्ञानता र दिग्भ्रम हो ।

हामीमध्ये धेरैलाई भ्रम छ, ज्ञान भनेको अक्षरमा मात्र हुन्छ । त्यसो भए निरक्षरसँग भएको ‘ज्ञान’ के हो त ? त्यो सिपमात्र होइन । एउटा पुस्ताले अर्को पुस्तालाई दिने ज्ञान अक्षरमा मात्र सीमित हुँदैन । अक्कलमान नकर्मीले हजारौँ युरोपेलीलाई ‘पानीघट्ट’ बनाउन र चलाउन सिकाए । त्यो कितावी होइन, व्यावहारिक ज्ञान थियो । विश्वविद्यालयले हरेक साल हजारौँलाई प्रमाणपत्र दिन्छ । हामी उनीहरूलाई ‘शिक्षित’ भन्छौँ । ती सबै ज्ञानी होइनन् । कितावी ज्ञानलाई मात्र ज्ञान र नगद वा जिन्सीलाई मात्र धन भन्नु पनि अज्ञानको परिचय हो । अक्षर नचिनेका कलाकार, संगीतकार आदिको ज्ञानलाई ज्ञान मान्ने कि नमान्ने ? बहस आवश्यक छ ।

एडम स्मिथको मोटो ग्रन्थ ‘द वेल्थ अफ नेसन्स’ जगत् प्रसिद्ध छ । उनले हरेक नागरिक राष्ट्रको सम्पत्ति हो भनेका छन् । राम्रो स्वेटर बुन्ने, टपरी गाँस्ने र रैथाने अन्न, फलफूल वा तरकारी फलाउने आमा, दिदी, बहिनी सबै राष्ट्रका धन हुन् । ठेकी, मादल, डमरु आदि बनाउने चुनारा हुन् वा प्रशस्त तरकारी फलाउने कोइरीहरू, सबै राष्ट्रका सम्पत्ति हुन् । परम्परागत ज्ञान र सिपमा विश्वास गरेर मेहनत गरिरहे भने उनीहरू निरक्षर नै भए पनि भोकै पर्दैनन् ।

गाइनेहरू पुरानो ज्ञानबाट विमुख हुँदैछन् । धनुर्विद्यामा पारंगत पूर्व तराईका सतार (सन्थाल) प्रचण्ड गर्मीमा पनि कृषिकर्ममा सक्रिय रहन्छन् । चेतना बढेपछि पुराना पेसा र ज्ञानबाट टाढिँदैछन्, तनहुँका बोटेहरू । आफ्नो खुर्केर अरूको टाँस्ने बुद्धिलाई ज्ञान भनिँदैन, त्यो अज्ञानता र दिग्भ्रम हो । काठमाडौँ उपत्यकालाई मन्दिरमय र सुन्दर बनाउने संस्कार र संस्कृति नेवार जातिबाट अरूले पनि सिक्नुपथ्र्यो ।

हनुमानढोका (काठमाडौँ) क्षेत्र र त्यस वरपरबाट झण्डै दुई सय वर्षपहिले इलाम पुगे वैद्यहरू । वैद्य पेसा हराउँदै गयो । इलामका पूर्वसांसद भगवतीदास श्रेष्ठ (वैद्य) र प्रा. युद्धप्रसाद वैद्य जस्ता पुराना पुस्ताका अग्रज भन्छन्– इलामलाई समुन्नत बनाउन विभिन्न जातजातिको योगदान छ ।

राउटेहरू काठका ठेकी आदि बनाउन सिपालु छन् । स्कुल–कलेजमा पढेर शिक्षा लिए पनि परम्परागत ज्ञानबाट विमुख हुन नपर्ने वातावरण बनाउन सकिए मात्र राष्ट्र स्वावलम्वी बन्छ । स्वच्छ हिमनदी र झरनाको पानी खेर जाने तर सहरमा ‘बोतलको पानी’ टेबलमाथि राखेर बैठक गर्नेहरूले स्वदेशलाई माया गर्छन् भने स्वदेशी ज्ञान सिकाएर नयाँ पुस्तालाई परम्परागत सिपप्रति गर्व गर्न प्रेरित गर्नुपथ्र्यो ।  

पुराना पत्रकार तथा साहित्यकार मदन रेग्मीले दराजबाट पत्रिकाका ‘कटिङ’ निकाल्दै देखाए– ‘भारतले दश राष्ट्रबाट हरेक वर्ष अर्बौं रुपियाँ जम्मा गर्छ । यसरी भारतीयहरूले रेमिट्यान्स कमाउने राष्ट्रमा नेपाल पनि एक हो ।’ टाइम्स अफ इन्डियाले गरेको सर्वेक्षण थियो त्यो । पुस्तकको ज्ञानले होइन, हजाम, मोची, सूचीकार, व्यापारी, टेक्निसियन आदि काम जानेका लाखौंँ भारतीयले नेपालबाट अर्बौँ रुपियाँ लैजान्छन् । समाजमा स्वावलम्वी र इमानदारको जति इज्जत हुन्छ, परावलम्वीको हुँदैन । पुर्खाले त्यसै उखान बनाएनन्– ‘उत्तम खेती, मध्यम व्यापार, निर्घिणी चाकरी (जागिर) ।’ खेती भनेको माटोसँगको प्रत्यक्ष नाता हो । बदलिँदो समाजमा स्वावलम्वी व्यवसायलाई खेती मान्न सक्छौंँ हामी । तन, मन, धन स्वदेशमा समर्पण गर्ने प्रयास गरेनौँ भने भावी पुस्ता विदेशीका नोकर मात्र बन्नेछन् । दिप्स शाहले ठिकै लेखिन्– अबको रोजगारी, खेतबारी ।

'सयौँ करोडको सम्पत्तिले ‘सम्पन्न’ व्यक्ति ज्ञानमा विपन्न छ भने ऊ दरिद्र नै हो ।'

फ्रेन्च पत्रकार, साहित्यकार र दार्शनिक अल्बर्ट कामुको कथन छ– ‘स्वतन्त्रता नौलो कुरा होइन । अझ राम्रो जीवन बाँच्ने मौका हो ।’ अरूलाई नेता बनाउन भोकै घाममा कुद्नेहरूमध्ये धेरैको जीवन औँसीको रात भएको देखिन्छ । हजारौँलाई मार्गदर्शक र अभिभावक मान्दै वडासम्म नेता पैदा गर्ने जनताले सोच्नुपर्छ, जब समाज र राष्ट्रलाई संकट पर्दा त्यस्ता नेता निर्भीक बनेर बोल्न सक्दैनन् भने उनीहरूको के काम ? जनता भोट हाल्ने र कर तिर्ने कामका लागि मात्र जन्मेका हुन् ? होइन भने न्याय पाउन अदालतको ढोका ढक्ढक्याइरहनुपर्ने किन ? स्वतन्त्रताको अर्थ चिच्याउने छूटमात्र हो ? किमार्थ होइन ।

हजारौँ असल पुस्तक जीवनका मार्गचित्र (रोडम्याप) हुन् । लाखौँ स्वावलम्वी र इमानदारहरू पाठशाला हुन् । प्रसिद्ध लेखक, दार्शनिक र ज्ञानीहरू आफैँमा संस्था हुन् । वुद्ध, कन्फ्युसियस, शंकराचार्य सबैले असल र सफल बन्न ज्ञान चाहिन्छ भनेका छन् । सयौँ करोडको सम्पत्तिले ‘सम्पन्न’ व्यक्ति ज्ञानमा विपन्न छ भने ऊ दरिद्र नै हो । राजधानीमा महल बनाएर बसेका कतिपय धनाढ्य चौथो वा पाँचौँ घरको छिमेकीले पनि चिन्दैन भन्ने गुनासो गर्छन् । आफ्नो मात्र सुखसयल हेर्ने तर समाजलाई कुनै योगादन नगर्नेहरूको संख्या बढ्दा नवीन पुस्ताले संस्कारबाट विमुख बन्नुपर्ने अवस्था आउँछ ।

लाइबेरियाका विद्वान् केनेथ बि. क्लार्क लेख्छन्– ‘स्वतन्त्र राष्ट्रले आफैँ निर्णय गर्छन् । प्राकृतिक स्रोत–साधनको सदुपयोग आफैँ गर्छन् । सेनाले राष्ट्रको सिमाना बचाउँछ र सरकारले जनताको रक्षा गर्छ । बहुसंख्यक जनता कर्तव्य र अधिकार बुझ्न सक्ने हुन्छन् । राष्ट्र सर्वोपरि हुन्छ भन्ने चेतना व्यापक हुन्छ । राष्ट्रले गर्व गर्ने व्यक्तिले राजनीतिक नेतृत्व लिन्छन् । त्यहाँ सुशासन हुन्छ । जनता ढुक्क हुन्छन् र उनीहरूको ज्ञानको भण्डार राष्ट्रका निम्ति सदुपयोग हुन्छ ।’

सार्वभौमसत्ता, क्षेत्रफल, सरकार र जनता मात्र राष्ट्रका अपरिहार्य होइनन् । सबैभन्दा ठूलो कुरा इतिहासको ज्ञान, वर्तमानको अठोट र भविष्यको स्पष्ट मार्गचित्र हो । ज्ञानका शत्रु ‘पदेन–ज्ञानीहरू’ जब राजनीतिमा सक्रिय हुन्छन्, उनीहरूको कलह, अभिमान, दास मानसिकता र निकृष्ट सोचले राष्ट्र बर्बाद बन्छ ।

‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल’ भनेझैँ अभाव, दुःख र आर्थिक संकटसँग जुध्ने प्रतिभाशालीहरूलाई पहिलेका शासकले माया गरेका उदाहरण धेरै छन् । राष्ट्रका निम्ति असल काम गर्नेहरूलाई खोजीखोजी सहयोग गर्थे । राजा महेन्द्रले धेरैलाई घर/जग्गा दिएर ‘योगदान गरिरहनू’ भन्दै ज्ञानको रक्षा गरेका प्रसंग सुनाउँछन्, बूढापाका ।

चीनका प्रसिद्ध साहित्यकार लु सुन (झाओ सुरेन) को रचनालाई त्यहाँका विद्वान्–विदुषीले अन्धकारको दीपक भनेका छन् । ‘सफलता स्वर्गबाट पृथ्वीमा झर्दैन’ भन्ने कविता सुनाउँदै एक चिनियाँले भनेका सम्झन्छु– लु सुनका कविता पढेपछि निदाउन लागेको मान्छे पनि झंकृत भएर जुर्मुराउँछ ।

ज्ञानभन्दा शक्तिशाली केही छैन । जब राष्ट्रबाट ज्ञान हराउन थाल्छ तब हामी कमजोर बन्छौंँ । ज्ञानीहरू अमूल्य सम्पत्ति हुन्् । घूस–कमिसन खाएर, नाजायज काम गरेर ‘धनी’ हुने धेरै छन् तर ज्ञानी हुने छोटो बाटो छैन । मूर्ख शासकहरूले हेलाँ गरेका चाणक्य जस्ता ज्ञानी हजारौँ सालपछि पनि ज्ञानका स्रोत मानिएका छन् । तसर्थ, नयाँ पुस्तालाई धनले होइन, ज्ञानले सवल र परिपूर्ण बनाउन आवश्यक छ ।  

नेपालका हरेक जाति, व्यक्ति र समुदायको उन्नयनका लागि उनीहरूको क्षमता, प्रतिभा र सिपको सदुपयोग गर्नुपर्नेमा राजनीतिक स्वार्थका लागि आफू अनुकूल व्याख्या गरियो । एउटा जातिलाई शोषक र अर्कोलाई शोषित मान्दै सबैको मानमर्दन, अपमान र अपव्याख्या गरियो । राष्ट्र निर्माणको अटुट प्रक्रियामा सबैलाई समेटेर ‘नेपाली’ माने पुग्नेमा संविधानले जात–जातको पर्खाल लगाइदियो ।

इलामका काले दमाईँले सय वर्षभन्दा पहिले नै निजी खर्चमा साँघु बनाएर समाजसेवा र परोपकारको उपमा प्रस्तुत गरे । हरिहर उपाध्याय (गौतम) ले पश्चिम क्षेत्रको शिक्षाको विकासमा अतुल्य योगदान गरे । सोलुखुम्वुका साम्दे शेर्पा (चन्द्रशमशेरका मित) समाजसेवामा प्रसिद्ध थिए । उदाहरण हरेक ठाउँमा छन् । राष्ट्रलाई केही दिन चाहने धेरै थिए पहिले । अहिले देश भत्काएर घर बनाउन खोज्ने धेरै भए ।

१९०७ साल धादिङ चरङ्गे फेदी अचानेमा जन्मेका अच्युतानन्द (उपाध्याय) नेपालमा विमान बनाएर उडाउने पहिलो व्यक्ति थिए । डा. प्रपन्नाचार्य (काले राई) लिखित ‘वेदमा के छ ?’ भन्ने ग्रन्थमा हजारौँ वर्षपहिले बनेको पुष्पक विमानको चर्चा छ । अच्युतानन्द शायद त्यस्तै ज्ञानले उत्प्रेरित भए । साहित्यकार बालकृष्ण समले अच्युतानन्द (विमान पण्डित) सँग भेटेको प्रसंग उल्लेख गरेका छन् । विज्ञानमा रुचि राख्ने गेहेन्द्रशमशेरले आफ्ना बुबा श्री ३ वीरशमशेरलाई विमान पण्डितका बारेमा जाहेर गरेर दश हजार रुपियाँ दिलाइदिएको बालकृष्णले लेखेका छन् ।

‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल’ भनेझैँ अभाव, दुःख र आर्थिक संकटसँग जुध्ने प्रतिभाशालीहरूलाई पहिलेका शासकले माया गरेका उदाहरण धेरै छन् । राष्ट्रका निम्ति असल काम गर्नेहरूलाई खोजीखोजी सहयोग गर्थे । राजा महेन्द्रले धेरैलाई घर/जग्गा दिएर ‘योगदान गरिरहनू’ भन्दै ज्ञानको रक्षा गरेका प्रसंग सुनाउँछन्, बूढापाका ।

वीरशमशेरले विमान पण्डितलाई भनेछन्– ‘पण्डित, तिमीले राम्रो उद्योग गरेछौं । जेठालाई दश हजार दिनू भन्दिएको छु । ऋण तिर ।’ विमान बनाउँदा ऋण लागेका पण्डित खुसी भए । बीस वर्ष प्रयास गरेर पण्डितले नेपाली आकाशमा दुई सिट भएको विमान केहीबेर उडाएको कुरा गाउँगाउँसम्म पुग्यो । बीस वर्षमा ऊबेलाको नौ हजार ऋण लागेर ‘वैज्ञानिक’ पण्डितको आर्थिक अवस्था जर्जर भयो । ज्ञान खोज्ने क्रममा आफैँलाई रित्याए उनले ।

आज पनि कैयन् प्रतिभाशालीहरू केही गर्ने प्रबल इच्छाले उद्वेलित छन् । ज्ञान, सिप, क्षमता र जाँगर छ तर ढाडस दिने कोही छैनन् । भग्नहृदयले अभावग्रस्त अवस्थामा पनि ज्ञानको रक्षा गर्न चाहनेलाई नै बचाउन सकिएन भने ज्ञान विस्तारै हराउँछ । नेपालबाट दुर्लभ ज्ञान क्रमशः हराइरहेकै छ र हराउँदै जान्छ । त्यस्तो बेलामा ज्ञानेन्द्रीय अर्थहीन बन्छ ।

प्रकाशित: १२ असार २०७७ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App