२३ असार २०७७ मंगलबार
विचार

बुद्धिमान् मानिसको कोरोना परीक्षण

वर्गीकरण विज्ञानका पिता स्विडिस वैज्ञानिक कार्ल फोन लिनेयाले सन् १७५८ मा ‘होमोसेपिन्स’ ‘बुद्धिमान् मानिस’ नामकरण गरे । यो लामो अवधिमा मानव समाजले निकै संक्रमण सामना गर्नुपर्यो । धेरैजसो संक्रमण स्थानीय स्तरका नै थिए भने कम्तीमा दुई विश्वव्यापी पानडेमिक ।

 सन् १९१८–१८१९ मा स्पेनिस फ्लुको पानडेमिक थियो । सय वर्षअगाडिको विश्वमा अहिलेको जस्तो द्रुत आवतजावतका साधन नभएकाले संक्रमण लामो समय लगाएर फैलन्थ्यो । त्यसबेलाको स्वास्थ्य विज्ञानको स्तर आजको अगाडि पक्कै टीठलाग्दो थियो । एलेक्ट्रोन माइक्रोस्कोपमा भाइरस देख्न सक्ने तथा विषाणुसम्बन्धी अरू परीक्षण गर्ने क्षमता त्यसबेला थिएन ।  

प्रथम विश्वयुद्धको समयले गर्दा मानिसको जमघट अनिवार्य थियो । सिपाहीहरू झन मारमा पर्थे । स्पेनिस पानडेमिकले राजादेखि सबै स्तरका मानिस गरिकन त्यो समयको एकतिहाइ जनसंख्या बिरामी परे । रोग तीन लहरमा दोहोरियो । दोस्रो लहरमा झन् क्रूर भएर । समुच्चा १ करोड ७० लाखदेखि ५ करोड मानिस मरेका अनुमान गरिन्छ । १५ महिनाको समयमा पानडेमिकले लिएको ज्यान पहिलो र दोस्रो विश्वयुद्ध मिलाएर भन्दा बढी थियो । त्योबेला भेन्टिलेटर र फोक्सो प्रत्यारोपणको कुरै भएन । ५ वर्षमुनिका बच्चा, २०–४० वर्षका ऊर्जापूर्ण व्यक्ति र ६५ वर्षमाथिका बाजे÷बज्यैमा मृत्युदर उच्च थियो । 

अमेरिकामा मात्रै करिब ७लाख मानिसको मृत्यु भयो । कोभिड–१९ पानडेमिकको पहिचान आजको विज्ञानले छोटो समयमै गर्यो तर २१ औँ शताब्दीको द्रुत यातायात सुविधाको सहायताले कोरोनाले आधा वर्ष नपुग्दै पूरा विश्व परिक्रमा मात्र गरेन, एकैपल्ट संसारलाई नै बन्द गरेर राख्न सफल भयो । कसरी र कहिलेसम्म कोभिड–१९ को जेलखानाबाट मुक्त हुन मिल्ला भन्ने प्रतीक्षामा संसारका थुप्रै देश छन् ।  

तीन देशको प्राक्कल्पना

स्विडेन, बेलारुस र मेक्सिको तीन देशले लकडाउनको नीति अपनाएका छैनन् । तर ती देशले पनि आफ्नो सिमाना छिर्न सबैलाई अनुमति प्रदान गरेका छैनन् । कोरोनालाई छल्न सकिन्न । त्यसैले बरु सक्दो बढी मानिस भाइरसबाट संक्रमित भएको खण्डमा तिनीहरूको शरीरले रोग क्षमता विकास गर्नेछन् र ती फेरि यसबाट बिरामी पर्ने छैनन् । ती देशका शासकहरूले यो तर्कलाई आधार मानेर आफ्ना राज्यभित्र शिक्षण संस्था, होटेल, पसल, फ्याक्ट्री इत्यादि कुनै पनि ठाउँलाई बन्देज लगाएका छैनन् । एकथरीका मानिसले यो निर्णयलाई चित्ताकर्षक तर नारकीय र क्रूर तरिकाले गरिएको आफ्नो देशका नागरिकमाथिको परीक्षण भनेका छन् ।  

स्विडेनमा ५४ हजारभन्दा बढी मानिस कोभिड–१९ संक्रमित भएका छन् भने त्यसको चरम असर ५ हजारभन्दा बढी व्यक्ति गुमाइसके । ती कोरोना संक्रमितमा कत्तिको रोग प्रभाव मुक्ति प्रदर्शन हुन्छ त्यो हेर्ने अति पराक्रमी तथा साहसपूर्ण निर्णय भए पनि अर्कोतिर हजारौँ मान्छेको ज्यान च्याँखे राखेर खेलिएको निष्ठुर जुवा पनि हो यो । त्यस्तोखालको धारणा व्यक्त भए पनि कैयौँ लकडाउनको नीति अपनाउने देशमा बिरामी हुनेको संख्या उच्च मात्र हैन, मृत्यु हुनेहरूको संख्या पनि ज्यादै धेरै भएकाले कुन तर्क उत्तम हो, अहिले भन्न मिल्ने प्रमाण उपलब्ध छैनन् । ती तीन देशले गरेको निर्णयलाई संसारले जसरी लिए पनि तिनीहरू कार्यान्वयनमा छन् र बाँकी संसारभन्दा खराब अवस्थामा प्रदर्शित भएका छैनन् ।

आफ्नै विशेषताले परिचित केही देश

कोभिड–१९ को लडाइँमा देखाएको सफलतालाई ध्यानमा राखेर ताइवान, सिङ्गापुर, दक्षिण कोरिया, आइसल्यान्ड, न्युजिल्यान्ड जस्ता देशको चौतर्फी तारिफ भएको छ । तिनीहरूले लकडाउन अपनाए र अझै पनि अपनाउँदैछन् तर विवेकपूर्ण । तिनीहरूले आफ्नो सिमाना पूर्णरूपमा बन्द गरेका छन् तर आफ्ना नागरिक भित्र्याउनुपर्दा इमानदारी, कडाइ र पूर्ण अनुशासनका साथ त्यसको पालना गर्छन् । तिनीहरू सबैको तुरुन्तै परीक्षण हुन्छ र त्यहीअनुसार पूर्ण निगरानीमा राखिन्छ । संक्रमितको समयमै पहिचान गरेर अरूलाई संक्रमण फैलाउनबाट रोक्न प्रयत्न गरिन्छ । नयाँ संक्रमित देखिएको आधारमा लकडाउनको स्तर निर्धारण गर्छन् । यसरी अर्थतन्त्रमा पर्दै गरेको नराम्रो असरलाई केही राहत दिन्छन् ।  

ती देशउदाहरणीय र विशिष्ट छन् । किनभने सर्वप्रथम आफ्नो कामप्रतिको इमानदारी र जिम्मेवारी बोध गर्नाले, अनुशासन र काममा खट्ने भएकाले । देशले बनाएको नियम सबै नागरिक जुनसुकै ओहोदामा भए पनि इमानदारीका साथ पालना गर्ने भएकाले । त्योबाहेक माथि उल्लिखित देशको स्वास्थ्य प्रणाली र जनस्वास्थको चासो उच्चस्तरको पहिलेदेखिकै हो र त्यो तिनीहरूले आफ्नै मेहनतले खटेर बनाएका हुन् । भन्नैपर्ने हुन्छ कि ती देश मानवमा आइपर्न सक्ने यस्ता पानडेमिकसँग लड्न केही मात्रामा सधैँ तयार भएकै हुन्छन् । तर तिनीहरूसमेत यो असामान्य स्थिति एकै छिनमा समाधान गर्न सक्दैनन् तर ती धैर्यपूर्वक प्रयत्नरत रहन्छन् वास्तविकतालाई बुझेर ।

महाव्याधिमा हारेका देश

विश्वलाई स्वास्थ्य क्षेत्रमा ठूलो गुन लगाएका युरोपेली देशहरू कोरोनाको युद्धमा प्रथम देखिन सकेनन् । आधुनिक स्वास्थ्य उपचारमा उच्च स्थान ओगटेका भए पनि युरोपेली देश तथा अमेरिकाले आफ्नो कोभिड–१९ पीडितहरूको मृत्यु संख्या घटाउन नसकेर (खास गरेर ब्रिटेन, फ्रान्स, इटाली, स्पेन र अमेरिका) आमजनस्वास्थ्यको चासोमा ती निकै कमजोर छन् भन्ने प्रमाणित भयो । कैयौं देशमा कोभिड–१९ वृद्धवृद्धा मार्ने अभियान जस्तो देखाप¥यो । 

यद्यपि १०० वर्ष नाघेका पनि कोभिड–१९ जितेर घर फर्केका उदाहरण त्यहाँ नभएका होइनन् । हाल प्रायः ती सबै देशमा लकडाउनले बढी खुकुलो रूप लिइसकेको छ । तर भाइरस पूर्ण नियन्त्रणबाट अझै धेरै टाढा छ । सबै प्रकारका सवारी साधन सामान्य अवस्थामा फर्किन त्यति सजिलो छैन । हवाई यातायात अझै निर्णयकै पर्खाइमा छ । ती देश भ्याक्सिनको आशा जगाइरहेछन् र त्यसको माध्यमबाट आफ्नो डुबेको अर्थतन्त्र उतार्न कल्पना गर्दैछन् । खोपको उदयले निकट भविष्यमै मानिसलाई राहत देला भन्ने यथार्थलाई धेरै वैज्ञानिकहरू मृगतृष्णाको संज्ञा दिन्छन् ।  

नेपाल र कोरोनाको शिक्षा

सरकारले देशव्यापी लकडाउन जारी गरेर भाइरस आयात रोक्ने महत्वपूर्ण निर्णय लियो । छिरेका २–३ जना पोजेटिभ संक्रमणको समयमै निदान तथा व्यवस्थित क्वारेन्टाइनमा राखेर भाइरस फैलिनबाट रोक्न सफल भयो । जब भारतमा कोभिड–१९ त्रास उत्पन्न गराउँदै त्यहाँ काम गर्ने हाम्रा नेपालीको भागाभाग भएर मातृभूमि छिर्ने लर्को लाग्यो, सरकारले तिनीहरूप्रति गरेको निर्णय र व्यवहार अमानवीयमात्रै हैन, ‘बुद्धिमान मानिस’ को पगरी सुहाउने पटक्कै भएन । ती नेपाली सन्तान दशगजा पर रही बिनाकुनै कसुर दण्डित भए र एकापसमा भाइरस बाँड्दै कोटीकोटी देउता जप्न थाले । तर अकल्पनीय साहस बोकेर महाकाली तैरने तथा चोर बाटो आफ्नै घर छिर्नेबाहेक सबै देश निकालाको अलिखित कष्ट र पीडा भोग्न बाध्य भए ।  

दसाैं हजार र लाख सन्तानले यो दण्ड भोगेपछि सरकारले छिर्न अनुमति दियो । त्यसबेलासम्म ती भोक र मुटुमा नराम्रो चोट भएकामात्र थिएनन्, थुप्रै कोभिड–१९ का सिकार पनि थिए । देशको जनस्वास्थ्य र स्वास्थ्य क्षेत्र वर्षौँदेखि ज्यादै सीमित संख्यामा भएकाले आवश्यक परीक्षण हुन पाएन । क्वारेन्टाइनमा राखिए पनि तिनीहरूले पाउनुपर्ने इज्जत पाएनन् । बरु मुलुकी ऐनमा विदेशबाट फर्किएर आएका ‘पतिया पुर्जी नपाएका’ लाई जस्तै दुव्र्यवहार गरियो । विदेशबाट पठाएको पैसाको आडबाट चलेको सरकारले ती अर्थ धान्न टेवा दिनेलाई नै त्यो व्यवहार गर्नु सबैभन्दा ठूलो भूल थियो ।  

अहिले देश कोरोना महायुद्धमा पलपलमा हार बेहोर्दैछ आफ्नै भूलका कारणले । तीन तहकै सरकारले आपसमा सहयोग र सहकार्य गरेर सम्पूर्ण नागरिकलाई जातभात, धर्म, विश्वास र आस्थामा कुनै भेदभावबिना समेटेर महायुद्धमा जानुपर्ने, त्यो बिलकुलै भएन । अहिले लकडाउन केही खुकुलो गरिएको देखिए पनि सुरुको एक महिनापछि नै त्यो अप्रभावकारी भइसकेको थियो । आमजनताले भित्रैदेखि महायुद्धमा भाग लिने वातावरण नबनुन्जेल युद्ध परिणाम देशको पक्षमा हुनेछैन । 

जनस्वास्थ्य र स्वास्थ्य क्षेत्रमा देशमा भएका सबै चिकित्सक, परिचारिका, माइक्रोबायोलोजिस्टहरूलाई समेटेर आवश्यकताअनुरूप छोटो प्रशिक्षण दिएर सातै प्रान्तमा तलब सहित पठाउनुपर्छ । सुन्दा पनि कान थुन्ने मन हुन्छ, कर्णाली प्रदेशमा मात्रै ८५ प्रतिशत मेडिकल अफिसरहरूको दरबन्दी रित्तो छ । यो असामान्य परिस्थितिमा पनि सरकार लोकसेवा पर्खँदैछ कि क्याहो ? हेक्का रहोस्, जति आत्तिए पनि कोरोना महायुद्ध नेपालका निम्ति सुरुको अवस्थामा छ । हामीले होस पु¥याएनौँ भने भाइरस हड्बडिएर युद्ध क्षेत्रबाट भाग्नेवाला छैन ।

भिडाइदिएको ‘बुद्धिमान् मानिस’ को मर्यादा राख्न पनि इमान्दार, अनुशासित, उत्तरदायी भएर तीनै तहका सरकारको कमजोरी सच्याउँदै जनसहभागितालाई प्राथमिकतामा राख्दै महाव्याधिको चक्र तोड्नुको विकल्प छैन । त्यसका निम्ति सबै संक्रमित पहिचान गरेर संक्रमण फैलाउन रोक्ने । तोकिएका नाकाबाट मात्र प्रवेश गराएर अनिवार्य परीक्षण र व्यवस्थित क्वारेन्टाइनमा राख्ने । उच्च प्राथमिकतामा मास्क, भौतिक दूरी र हात हाइजिन राख्ने । लकडाउन खुकुलै भए पनि बिनाकाम कतै नजाने र आफू, परिवार र समुदायलाई जोगाउन प्रत्येक नागरिक सचेत हुने । नबिर्सने, यो कोरोनाको पहिलो लहर हो । दोस्रो, तेस्रो पनि आउन सक्छ । तर्सने होइन, सतर्क र सुरक्षित भएर काममा व्यस्त रहने ।

(वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट, मेडिकेयर हस्पिटल)

प्रकाशित: १० असार २०७७ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App