७ वैशाख २०८१ शुक्रबार
विचार

छुवाछूत र विभेद कहिलेसम्म ?

त्यो युग फरक थियो । बुझाइ र जीवन व्यवहार फरक थियो । श्रमलाई सम्मान गर्ने तर उचनिचको आधारमा । पैसा धेरै आउने, दिमागी र उपल्लो तहका कामकाजी वा अर्को शब्दमा भन्दा दरबार राजपरिवार र कर्मचारी तन्त्रमा माथिल्लो ओहदामा भएका अझ थप थर र समुदायको हिसाबले जयस्थिति मल्लकालीन जातीय विभाजनको आधारमा काम वा कर्मको आधारमा गरिएको उचनिच सामुदायिक तथा जातीय आधारमा गरिएको विभाजन र त्यसका आधारमा पहिचान गरिएका विभाजित वर्ग वा समुदाय । छुद्र शब्दमा भन्नुपर्दा आफ्नो राजनीति र सत्ता टिकाउन गरिएको एउटा महत्वाकांक्षी शासककोअदूरदर्शी निर्णय । 

जसले नेपालीनेपाली बीचको आदर्श सम्बन्धलाई कालान्तर हुँदै अत्याधुनिक नेपाल बन्दासम्म पनि जातीय आधारमा मानिसमानिस बीच गरने बहिष्करणलाई निरन्तरता दिइरहेको छ । तर अचम्मको यथार्थ के पनि हो भने, नेपालको अनुहार फेर्छु भन्ने राजनैतिक दर्शन बोक्दै सामाजिक रूपान्तरण सहितको नयाँ नेपालको आत्मसात् र अनुभूति दिलाउने नयाँ नारासहित दश वर्षे सशस्त्र द्वन्द्वपछि नयाँ नेपालको खाकासहित कोरेका नयाँ संविधान २०७२ मा प्रत्याभुति गराएका नेपाली नागरिकका मौलिक हकका धारा र बुँदागत व्यवस्थाले नेपाली नागरिक बीच कुनै विभेद नराखी संसारकै उच्चतम मानव अधिकारका मुद्धा र सवाललाई सम्बोधन गर्न सफल भए तापनि व्यवहारमा घरको दैलोदेखि टोलछिमेक हुँदै समाजसम्म जातीय बहिष्करण र विभेद बिउँति नै रहनु मानव अधिकारका सवालमा अत्यन्त निन्दनीय व्यवहार हो भन्छु म ।

समाजका नउठाई नहुने मुद्धाहरूमा अनुसन्धान गरेर कागजी र व्यावहारिक अनुसन्धानपछि मात्र लेख्न मन पराउने म जस्ता पत्रकारिता र नीतिशास्त्रका विद्यार्थीले समाजको बेथितिले हैरान दिन्छ । यदि रुकुम र जाजरकोट सोती घटनामा कुनै जातीय रंगको राजनीति नभएको भए र त्यो घटना विशुद्ध जातीय घटना भएको भए मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघले सन् १९४५ पछि गरेको मानव अधिकारको महासन्धि र त्यसपछि गरिएका विविध अन्तराष्ट्रिय नीति, दस्तावेज र कानूनमा नेपाल सरकारले गरेको अनुमोदन मात्र होइन नेपालका दलगत राजनैतक पार्टीहरू, मानव अधिकारकर्मीहरू र विभिन्न जातीय तथा वर्गीय मानव अधिकारकर्मी र त्यसका अभ्यासकर्ताहरूले आफना सिद्धान्त र व्यवहारलाई टुकुचामा बगाउँदा केही फरक पर्दैन अबका दिनहरूमा ।

फेरि फर्कौ पुराना माहौलतिर । म निकै सानो थिएँ । कक्षा चारपाँचतिर । हाम्रा एक साथी थिए । नेवा समुदायकै जातको आधारमा कथित तल्लो जात वा अछूत । हामीसँगै खेल्थ्यौं, पढ्थ्यौं  र घर आउनेजाने गर्दथ्यौं । आमा कामकाजी हुनाले घरमा को आयो गयो खासै थाहा हुन्थेन । त्यसैले हामीलाई उनी कुन जात वा समुदायको थाहा हुने कुरै भएन । तर हाम्री हजुरआमाले एक दिन सँगै खेलेको देख्नुभएछ । हजुरआमाले तँलाई तल्लो जातसँग खेल्ने भन्दै इटाको टुक्राले हिर्काउनुभयो । नातिनीलाई लागोस् भनेर होइन तर्साउनकै लागि हिर्काएको भए पनि त्यो टुक्राले मेरो खप्पर फुटाउन भ्याएछ । टाउकोबाट बगेको रगत थिच्दै म मखन टोलको मामाघरबाट न्यूरोडतिरको बाटो हुँदै आफ्नो घरतर्फ दगुरें । मेरो यस्तो अवस्था देखेर आमा आत्तिनुभयो तर कसले गर्दा टाउको फुट्यो त्यो आमालाई कहिले बताइन ।

घाउ निको भयो । तर साथीसँगको प्रेम र संगतको आलो रगत कहिले सुकेन । कालान्तरमा व्यावहारिक विविधताका कारण साथीसँग बिस्तारै सम्बन्ध छुट्यो । तर, हजुरआमाको आँखा छलीछली उसको घर खेल्न गएको र उनकी आमाले प्रेमसाथ नानी भन्दै तातो बारा र छोइलाचिउरा खाजा खुवाएको अझै बिर्सेको छुइन । 

नानी, अब धेरै हाम्रामा आउनेजाने नगर है भनेर घर हिँड्ने बेला ती आमाले  भनेको कुराले मन कटक्क खान्थ्यो । तर मलाई भने साथीसँग छुट्टिन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बाल्यकालको पवित्र मन हुने कारणले यो तल्लो जात भनेको के होला भनेर कहिलेकाहीँ म घोत्लिन्थे । भक्तपुरतिर गुठी, श्राद्ध वा कुनै अवसरमा भोजभतेर हुँदा निमुखा किसान वर्गलाई मटानमा अलग्ग राखेर खुवाउने गरेको देख्थें । 

फेरि बिहे वर्तमन, गुठीगानाको बेला तिनै वर्गले दियोबत्ती र भगवान्कोे मूर्ति खटमा राखेर पूजा, विहेमा लगायतका उत्सवहरूमा सहभागी गराइएको देख्थें । मटानमा राखेर खुवाएको देख्दा कुंदिएको मेरो बालहृदय पवित्र काममा संलग्न गराइएको देख्दा पक्कै अचम्म लाग्थ्यो । मेरो सानो मथिंगलले त्यो जातीय विभेदको व्यवहारमा देखिएको फरकफरक पाटालाई विश्लेषण गर्नै सक्दैन थियो ।

कथित जातका कुरा र त्यसका फरक पाटा

अब, जातको अर्को पाटो । म आफू नेवा समुदायको पर्छु र गौरव गर्छु । साथमा विचारहरू प्रक्षेपण गरी रहँदा मेरो समुदायमा देखिएका वास्तविक जात वा समुदायको राजनीतिका विषयमा बहस गर्न मन पराउँछु । अहिलेको संविधानले समेत पहिचान गरेको सदियौेंखि आर्थिक, राजनैतिक र सामाजिक रूपले पछाडि परेका र पारिएका कथित दलित शब्दलाई म आफै खास मन नपराउने भए तापनि यो शब्द प्रयोग म गर्न बाध्य छु ।

दलितको सवालमा मेरा खास केही दृष्टिकोण छन् । मेरो दृष्टिकोण अरूलाई सही नहुन पनि सक्छ र समुदायको सवालमा नेवामा दलित छैन भन्छु म । गरीब भएर दलित भएका हुन । नेवामा दलितको मुद्धाभन्दा नेवाभित्रको फरक समुदाय बीचको उचनिच बढी छ । त्योे खासमा श्रम विभाजन र संस्कृति जोगाउन संस्कार र परम्परासँग जोडीएको छ ।

म एक जना महिला चिन्छु । उनले किसान समुदायसँग २०२० सालको मुलुकी ऐन अवतरणपछि  भागी बिहे गरेकी थिइन् । भखैरै मुलकी ऐनले छुवाछूत र विभेदको अन्त्य गरेको कानूनी दफा र अधिकार प्राप्त भएको जल्दोबल्दो सामाजिक अवस्था । तर त्यो बेलाको समाजमा कथित उपल्लो मानिने गरीब किसानसँग भागी बिहे गर्दा समाजले उनका बाबु र परिवारको हुर्मत लिनसम्म लिएँ । समाजमा इज्जत र इमानदारीको बलमा बाँचेका गरीब बाबलेु उनै छोरीको विरह र समाजको बहिष्करण खप्न सकेनन् र मानसिक तनावले नै उनको अवसान भयो । बाँकी दिदीबहिनीलाई राम्रा घरबाट बिहेको प्रस्ताव आए पनि दिदीको वास्तविकता थाहा पाएपछि उनीहरूको बिहे गर्न पर्नसम्म मुश्किलमा परयो  ।

अन्तर्जातीय विवाहको कारण सामाजिक पारिवारिक जीवन डाँवाडोल बन्यो उनीहरूको । आफन्तहरू उनीहरूसँगको नाता देखाएमा आफ्न्ना छोरीचेलीको राम्रा घरमा बिहे नहुने डरले सम्बन्ध देखाउदैनथे ।  उता ती छोरीले पनि पाउनसम्म दुख पाइन् । ससुरालीले नस्विकारेका कारण आत्मसम्मान जागेर होला उनका श्रीमानले आफ्नै समुदायको अर्को  बिहे गरे । छोरीलाई मामाघर र माइतीपट्टिका कसैका जन्मदेखि मरनसम्मका क्रियाकर्ममा निम्तो हुन्थेन । कालान्तरमा उनै महिलाकी छोरी किसान वर्गभन्दा तल्लो मानिनेसँग बिहे गरिन् । कान्छी छोरीले किसानभन्दा माथिल्लोसंँग । 

अब जब दुवै छोरी माइत आउँथिन् तब ती महिलाले जेठी छोरीलाई भान्छा बाहिर मटानमा भात खुवाउँथिन् भने ज्वाइँ आउँदा बैठक कोठामा । श्रीमानको मृत्यु हुँदा नेवाः परम्पराअनुसार सात दिनको कर्मकाण्ड न्हैनुमा (सात दिनमा पितृको नाममा राखिने चौरासी व्यञ्जन) राख्न ती कथित तल्लो जातकी छोरीलाई दिइनन् । किसानभन्दा उपल्लो जातमा बिहे गरेकी चोखी  रे भन्दै सो कर्मकाण्ड कान्छी छोरीलाई गर्न लगाइन् । जुन श्रीमानसँग बिहे गर्दा उनी समाज, साथीभाइ र इष्टमित्रबाट बहिष्कृत भइन्, उनैले आफ्नो छोरीलाई भान्छा छिर्न दिइनन् । बाबुको काजकृयामा सम्मिलित नगराई अपमान तथा विभेद गरिन् । जातीय विभेदका कारण वर्षौं अगाडि बेहोर्नुपरेको आफनो पीडा चटक्क बिर्सेंर आफ्नै छोरीलाई विभेद गरिन् । यस्ता थुप्रै कथा र वास्तविकता हाम्रो सबै खाले समाजमा अझै पनि जिउँदो छ ।

विगतमा जयस्थिति मल्लले राजनैतिक प्रभुत्व कायम राख्न कार्य वा श्रमका आधारमा गरिएको नेपालीनेपाली बीचको विभाजन कालान्तरमा संस्कृति बन्यो र  संस्कृति जगेर्नाका लागि बनेको फरकपन र विभाजनपछि समाजमा हैकम जनाउन र ठालू बनिरहन जिउँदो राख्दै गयो यो समाज               जातका कथित कथाहरू । वास्तवमा यो जातका कथाहरु  मात्र पारिवारिक सामुदायिक र ब्यक्तिगत अहम र बडप्पन देखाउने राजनीती मात्र हो भन्ने बुझाई समाजमा कैले आउने हो  र यो वास्तविकता र सामजिक व्यवहारका मुद्धामा हाम्रो पुस्ताले चर्को र विवेकशिल बहस कैले गर्ने हो ?

संसार अहिले जातीय विभेद र बहिष्करणका विरुद्ध छन् । अमेरिकामा काला जातिमाथि ज्यादतीका विरुद्ध सवै वर्ग आन्देलित बनेका छन् र न्यायका लागि पहल गरिरहेका छन् । किनकि अमेरिकी जनतालाई राम्रो थाहा छ यो जातका मुद्धा अहिले नै किनारा नलागेमा भविष्यमा सबै वर्गका सन्ततिले दुख पाउने छन् । तर त्यही अमेरिकामा आप्रवाशी समुदायले त्यहाँका रेड इण्डियनहरूमाथि गरिएको विभेद र ज्यादतीमाथि भने कहिले बहस गर्दैन ।

एउटा चेतना र जागरण अव हामी नेपाली बीच पनि आउनुपर्छ । त्यो के भने संविधानले प्रत्याभूति दिएका हरेक मौलिक हकका भाग र धाराहरूलाई समय स्थान र मानिसका भावना समेतलाई ध्यानमा राखी अभ्यास गर्न आवश्यक छ । मधेसलाई पहाडले विभेद गरेको देख्छ ।   यहाँ विभेद छ  । तर मधेसले मधेसी मधेशीबीच गर्ने विभेदमा अब पुनरावलोकन गर्ने कि नगर्ने ? यादव, सिंह, राजपुत, कायस्थहरूले आफना मानव अधिकारका कुरा गर्दा मधेसकै थारु, साह, तेली, मुसहर, डोम र चमारका मानव अधिकारका कुरालाई प्रश्रय दिने कि नदिने ? पहाडमा ब्राहमण क्षेत्री जनजातिहरूले आफनो मानव अधिकारका मुद्धा उठाउँदा कथित विश्वकर्मा, दमाई  , कामी, सार्कीजस्ता निमुखा वर्गको न्यूनतम मानव अधिकारका सवालमा साथ दिने कि नदिने ?

थप कथित दलितका विषयमा भन्नुपर्दा दलित दलित बीचको उचनिच र परम्परालाई कायम नै राख्ने हो वा मानव अधिकारका सवाललाई सर्वोपरी राखी मानिसले मानिसलाई गर्ने व्यवहारलाई जीवनमा उतार्ने हो ? आफूलाई सधैं तल्लो तहको सम्झ्ने र कथित उपल्ला जातका छोरीचेली बिहे गर्दैमा आफूमाथि पुग्ने वा जातीय क्रान्ति वा सामाजिक क्रान्ति गरेको सम्झिने गुलामी मानसिकता नमरेसम्म जात र जातीय बहिष्करणका सवालमा घिनलाग्दो राजनीति गर्नेहरूलाई मलजल गर्ने र हराभरा गर्ने वातावरण रहिरहन्छ । 

अहिलेको संविधानले सारा नेपालीलाई समावेशी रूपमा जोडेर एक हुन निर्देशित गरेका धारागत प्रावधानलाई आदर गर्दै सर्वप्रथम नेपाली र्हौ भन्ने भावनालाई प्राथमिकता दिन मानव कल्याणका दृष्टिले उत्तम हुने छ । यदि अझै पनि मानिसको पहिचान उसको योगदानलाई जातीय आधारमा मात्र मूल्यांकन गरिरहने हो भने विश्वसँग उदाहरण छ इथोपिया लगायतको ।  कि यो जातको भूतले हामी नेपाली कसैलाई पनि कहींको छोड्नेवाला छैन । यो अत्यन्त संवेदनशील मानव अधिकारका सवालमा हाम्रो वर्गले बहस गर्नुपर्ने आजको अवश्यकता हो । 

प्रकाशित: १० असार २०७७ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App