२३ असार २०७७ मंगलबार
विचार

अकर्मण्य हाकिमलाई तीनवटा खाम

प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा हुने असफलता एवं कमजोरीलाई उजागर गर्न डेभिड भेलान्टे तथा सुसेन स्किनरले एउटा कथा तयार गरेका छन् । यस कथाले हाम्रोजस्तो देशको सिंगो राष्ट्रिय राजनीति र प्रशासनलाई इंगित गरेको बुझ्न सकिन्छ । यो कथा परम्परागत शैलीको एउटा अक्षम नेतृत्व र संगठनलाई लक्षित गरी बनाइएको हो ।  

कथाअनुसार, भर्खर कामबाट हटाइएको वा सरुवा गरिएको हाकिम र नयाँ आएको हाकिमबीच बरबुझारथ हुन्छ । नयाँ हाकिमले साबिक हाकिमलाई आफ्नो कार्यकालमा भए÷गरेका कार्य सम्पादनको तरिका आफूलाई पनि सिकाउन अनुरोध गर्छ । साबिक हाकिमले आफू जाँदाजाँदै नयाँ हाकिमलाई तीनवटा खाम हस्तान्तरण गर्दै भन्छ, ‘जब तपाईंलाई कार्य सम्पादनमा मुस्किलको घडी आउँछ, त्यतिबेला पालैपालो यी खाम खोल्नुहोला ।’ यति भनेर ऊ बिदा हुन्छ ।  

नयाँ हाकिमले काम गर्न थालेको लगभग एक वर्ष पुग्न थाल्छ । उसलाई समस्याले च्याप्दै ल्याएको छ । चाहेजस्तो सेवा प्रवाह हुन सकेको छैन । बाहिरफेर हाकिमका विरुद्ध आवाज उठ्न थाल्छन्, नाराबाजी सुनिन थाल्छ ।  तनावमा रहेको हाकिमलाई झ्वाट्ट पुरानो हाकिमले दिएका खामको सम्झना आउँछ । उसले पहिलो नम्बरको खाम झिक्छ र अरु खाम यथावत राख्छ ।

नयाँ हाकिमलाई पुरानो हाकिमले काम गर्ने तरिका लेखिएको तीनवटा खाम दिन्छ । जसमध्ये पहिलोमा ‘निवर्तमान हाकिमलाई दोष लगाऊ’, दोस्रोमा ‘संगठनलाई पुनर्गठन गर’, र तेस्रोमा ‘अब नयाँ आउने हाकिमका लागि तीनवटा खाम तयार गर’ भनी लेखिएको हुन्छ ।

पहिलो खाम

यस खामभित्रको कागजमा लेखिएको थियो, ‘निवर्तमान हाकिमलाई दोष लगाऊ  ।’

पहिलो खाम पढेपछि उसलाई ज्ञान खुल्छ– जति पनि काम सम्पन्न हुन सकेको छैन, पुरानो हाकिमको कारणले नै हो । उसका लागि पहिलो खाम मन्त्रसरह भयो । आफूले गर्न नसकेका कामको अपजस पुरानोलाई दिँदै जान्छ । ग्राहक पनि ‘हो त !’ भन्ने भ्रममा पर्छन् । पहिलो खामले केही समय धान्यो ।  

परिस्थिति सधैँ उस्तै रहँदैन । लामो समय जनता, ग्राहकलाई बेवकुफ बनाउन गाह्रो पर्छ । हाकिमको निकम्मापन बिस्तारै सार्वजनिक हुँदै जान्छ । ऊ अप्ठेरोमा पर्दै जान्छ । यत्तिकैमा उसको कार्य अवधिको एकतिहाई समय सकियो । तर, जनता उसको कामबाट सन्तुष्ट भएनन् । उसलाई छटपटी हुन थाल्यो ।  

अब भने ऊ दोस्रो नम्बरको खाम खोल्न बाध्य हुन्छ ।  

 

दोस्रो खाम

जसमा लेखिएको थियो– ‘संगठनलाई पुनर्गठन गर ।’

बस्, अब के चाहियो ? उसले ठान्यो– अहो, यो त झनै रामवाण होला जस्तो छ ।  

उसले शाखा, प्रशाखा, फाँट, एकाई भताभुंग बनायो र पुनर्संरचना ग¥यो । कर्मचारीलाई यताको उता, उताको यता पा¥यो । फाँट, शाखाहरूको नाम पनि नयाँनयाँ दियो । केही मान्छे करारमा राख्यो । दश–आठ महिना उसले ‘मैले अब आमूल परिवर्तन गर्न खोज्दै छु’ भनेजसरी जनतालाई तरंगित पा¥यो ।  

यस्तैमा दिनहरू अलमलिँदै गए । परिवर्तनको कुनै गुञ्जायस देखिएन । नराम्रा आक्षेप र आलोचना यत्रतत्र फैलिए । ‘यो पनि उही ड्याङको मूला रहेछ’ भन्ने टिप्पणी जनताबाट आउन थाल्यो । ऊ अब आफ्नो कार्यकालको अन्तिम उत्तराद्र्धमा छ । समय काट्न पनि धौ–धौ भइसक्यो । ऊ हतास हुन थाल्यो । पहिलेका खामले अलिअलि टिकाउने काम गरेकै हुन् भन्ने भान उसलाई परेको थियो । अब केही नलागेर अन्तिम खाम खोल्न ऊ बाध्य भयो ।  

तेस्रो खाम

ठूलो उत्सुकतावश उसले तेस्रो नम्बरको खाम खोल्यो, जसमा लेखिएको थियो– ‘अब नयाँ आउने हाकिमका लागि तीनवटा खाम तयार गर ।’  यस्तो विस्मयकारी वाक्य देखेर आश्चर्य र निन्याउरो मुस्कान तरंगित भए उसको अनुहारमा । बाफ रे !  

नेपालको सन्दर्भमा तीन खाम  

यस प्रसंगलाई नेपालको परिवेश र परिप्रेक्ष्यमा हेरौँ ।  पञ्चायतकालीन ‘नमिता, सुमिता काण्ड’ अनि मदन भण्डारी र जीवराज आश्रित हत्याको उदाहरण दिएर ‘कुनै कुनै मुद्दा पत्ता लाग्न वा समाधान हुन कैयौं वर्ष लाग्न सक्छ’ भनेर कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे सरकार नकच्चरोपन देखाइरहन्छ । मेलम्चीको पानी केही महिनामा आउने कुरा निकालेर जनता भुलाइराख्छ । आफ्ना योजनामा कुनै प्रश्न नआए हामीले मात्र यस्तो गर्न सक्छौँ भन्ने, नराम्रो प्रतिक्रिया आए यो त पहिलेकै सरकारबाट आएको हो, हामीले त अहिले कार्यान्वयन गर्न खोजेको मात्र हो भन्ने गरिन्छ । यसरी पहिलो खाम खोलेर साबिकवालालाई दोष लगाउने गरिन्छ ।  

यस्ता अनेकन् सन्दर्भमा काम गर्न नसकेको कुरा जब सर्वजनित हुन्छ, सरकारले नयाँ उपाय निकाल्न थाल्छ– हावाद्वारा बिजुली निकाल्ने, पूर्व–पश्चिम राजमार्ग र केरुङ–काठमाडौं–पोखरा रेलमार्ग बनाउने, पानीजहाज चलाउने आदि–आदि ।  

यी हुनै नसक्ने विषय त होइनन्, तर वर्तमानमा जनताले हातमुख जोर्ने सुविधा खोजेका छन् ।  यही क्रममा साबिक मन्त्रालयको नाम फेर्न, विभाग, कार्यालय थपघट गर्न, सचिवसँग कार्यसम्पादन करार गर्न र फेरि केही दिनमै सचिव सरुवा गर्न लागिन्छ । जिल्ला प्रमुखलाई यताको उता, उताको यता गर्नु त बायाँ हातको काम भइहाल्यो । आफूलाई जोगाउन यस्ता कैयौँ हतकण्डा अपनाइन्छ ।  

वाइडबडी जेट खरिद, ६ वर्षअघि नै गोकर्ण रिसोर्टको करार नवीकरण र पाथीभरा सरकारी जग्गा लिज प्रकरण परिदृश्यमा हुँदाहुँदै अर्को एकांकी नाटक ‘ललिता निवास’ राजनीतिक–प्रशासनिक मञ्चमा देखापर्छ । नेता, प्रशासक, तिनका सन्तान, जग्गा दलाल, साहु–व्यापारी सबै पात्रको अभिनय कुशलता देखेर दर्शक जनता ‘किंकर्तव्यविमूढ’ बनेर हेरेको हेरेकै हुन्छन् । विश्वासपात्रहरूको भ्रष्टाचारी  नियतजस्ता विषयले झस्काइराखेका बेला फेरि तराई–काठमाडौं हल्लाउने दलबदल अध्यादेशको ताण्डव मञ्चन हुन्छ । तर, चर्को हुटिङले गर्दा यो नृत्य मञ्चबाटै खुर्मुरिन्छ र तुरुन्तै लकडाउनमा पर्छ । यसले सानै भए पनि सन् १९७२ को अमेरिकी ‘वाटरगेट’ काण्डको सम्झना गराउन खोज्छ ।  

कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा निजामती र निजी क्षेत्रलाई प्रयोग गर्दा सुस्तता एवं भ्रष्टाचारी जालोले प्रश्रय पाउँछ भनेर दोस्रो खामको प्रयोग गर्दै नागरिक प्रशासनलाई लŒयाएर सैनिक प्रशासनलाई विश्वास गरियो । गुणस्तर र मूल्यको मामिलामा यो पक्ष पनि कमजोर भएको देख्न–सुन्नमा आयो । दुई विशाल छिमेकीबीच सन्तुलित प्रतिरक्षात्मक अस्तित्व कायम गर्ने बाध्यता हामीलाई भए पनि हाम्रोजस्तो भौगोलिक अवस्थितिमा सैन्यगत सोचले त्यति महŒव नराख्ला । सायद यसै कारणले होला हाम्रो देशमा सेनाको प्रयोग विकास–निर्माण र स्वास्थ्य सामग्री खरिदमा भएको । पहिले–पहिले कुनै पनि मन्त्रीले रक्षा मन्त्रालय आफ्नो भागमा नपरोस् भन्ने चाहन्थे र प्रधानमन्त्री आफैँ लिन बाध्य हुन्थे । तर, अहिले यसैमा ‘चार्म’ भएको पनि अनुभव हुँदै आएको छ ।  

उपरोक्त पृष्ठभूमिमा सोच्दा प्रशासनिक अव्यवस्थापनलाई दर्शाउन व्यंग्यका रूपमा निर्माण गरिएको तीनखामको कथा सायद नेपालकै लागि लक्षित गरिएको होझैँ लाग्छ । तसर्थ अब नेपालको राजनीतिक हुन्डरीमा तेस्रो खाम खोलेर कुनै सक्सेसर (हाल) खोजिन्छ वा प्रिडिसेसर (साबिक)लाई नै नवीकरण गरिन्छ, हेर्नु छ ।

(लेखक वरिष्ठ व्यवस्थापनविद् हुन् ।)

प्रकाशित: ६ असार २०७७ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App