२३ असार २०७७ मंगलबार
विचार

विद्यालय शिक्षा फिनल्यान्डबाट सिकौं

फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । ‘प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ड असेस्टमेन्ट’ (पिसा) तथा ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) का तथ्यांकले फिनल्यान्डको शिक्षापद्धतिमा अभ्यस्त भएका विद्यार्थीको उपलब्धिस्तर उच्च देखाएबाट शिक्षामा फिनल्यान्डको मोडल र प्रयोग विश्वकै लागि अनुकरणीय रहँदै आएको छ । कोभिड–१९ का कारण बन्दाबन्दी बढ्दै जाँदा नेपालका धेरै अभिभावक आफ्ना बालबालिका स्कुल नगई घर बसेकै कारण बर्बाद हुन्छन् कि भनेर चिन्तित भइरहेका सन्दर्भमा फिनल्यान्डको बालमैत्री शिक्षण पद्धतिको जानकारीले बच्चाको अनौपचारिक सिकाइमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

फिनल्यान्डमा नेपालमा जस्तो दुई साढे दुई वर्षमा बच्चालाई स्कुल पठाइँदैन । त्यहाँ त सात वर्ष नपुगुन्जेल बच्चाले घरमै आमाबाबुसँग बालसुलभ व्यवहार गरी बालमस्तिष्कलाई विकसित पार्ने अवसर पाउँछ । सात वर्ष पुगेपछि मात्र स्कुल जान थालेको बच्चा किताबको भारी र गृहकार्यको रन्कोले तर्सिनुपर्दैन, बरु ऊ स्कुलमा पनि बच्चाजस्तै गरी रमाउन सिक्छ । कक्षाकोठामा शिक्षकले कति र कुन कुन पाठ पढायो ? वा, बच्चा स्कुल जान थालेपछि कति पढ्यो भन्ने विषयले महत्व पाउँदैन । स्कुलमा बच्चा खुसी हुन सक्यो कि सकेन भन्ने विषय महत्वपूर्ण मानिन्छ । विद्यार्थीलाई एक–आपसमा तुलना गरेर राम्रो र नराम्रो वा पढ्न सक्ने र नसक्ने भनी वर्ग विभाजन गर्न पाइँदैन । जान्ने–नजान्ने सबै विद्यार्थीसँगै बसेर सिक्ने वातावरणको सिर्जना गर्न प्रतिस्पर्धालाई जोड दिइन्न । प्रतिस्पर्धी भावनाले विद्यार्थीमा असन्तोष, इष्र्या र द्वेष सिर्जना गर्ने भएकाले सहयोगात्मक भावना अभिवृद्धि गर्ने किसिमका क्रियाकलापमा जोड दिइन्छ । त्यसो त फिनल्यान्डका स्कुलमा विद्यार्थीलाई समय–समयमा परीक्षा लिने र राम्रो अंक ल्याउनेलाई पुरस्कृत गर्नेजस्ता गतिविधि समेत गरिँदैन ।  

बच्चा १६ वर्ष नपुगुन्जेल विद्यालय शिक्षा हासिल गर्छ, त्यसपछि एउटा मात्र स्तरीकृत परीक्षामा सहभागी हुन्छ । १६ वर्ष भन्दाअघि कक्षा स्तरणका लागि विद्यार्थीले न परीक्षा दिनुपर्छ, न त आधारभूत उत्तीर्णांक नै ल्याउनुपर्छ । शिक्षकले पढाइलाई भन्दा सिकाइलाई जोड दिन्छन् र विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त हरेक कुरालाई व्यवहारमार्फत प्रयोगात्मक रूपमा सिक्ने अवसर दिइन्छ । कुन विद्यार्थी पढाइमा सबल, कुन कमजोर नछुट्याईकन छिटो सिक्न नसक्ने विद्यार्थीलाई अतिरिक्त सहयोग गरी सक्षम बनाइन्छ ।

सन् १९८० मा फिनल्यान्डले सामाजिक असमानतालाई अन्त्य गर्ने उद्देश्यसाथ प्रयोगमा ल्याएको यस मोडलले जनताको आर्थिक स्तरमा मात्र होइन, एकता, सहिष्णुता र सहयोगी भावनाको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । नेपालमा गृहकार्य नदिने स्कुललाई अभिभावकले कमै मात्र पत्याउँछन् । अनि, स्थानीय तह र विद्यालय स्वयंलाई पाठ्यवस्तु निर्धारण गर्ने र मूल्यांकन गर्ने अधिकार दिने विषयमा विश्वासको संकट देखिन्छ, तर फिनल्यान्डमा शिक्षा पूर्णतः विकेन्द्रित रूपमा छ । यसैले त्यहाँका शिक्षक आफ्नै किसिमले पढाउन स्वतन्त्र हुन्छन् । प्रतिदिन चार घन्टा मात्र कक्षामा बस्ने विद्यार्थीलाई पढाइलेखाइसम्बन्धी कुनै पनि गृहकार्य दिइँदैन, अर्थात् स्कुलबाट घर फर्केपछि स्कुलका बारेमा चिन्ता गर्ने अवस्था नै सिर्जना हुँदैन । स्कुलमा खाना–खाजाको व्यवस्था तथा पर्याप्त आराम र खेलकुदको अवसर पाउने भएकाले बच्चा स्कुल जाँदा खुसी हुन्छन् । 

फिनल्यान्डमा जान्ने–नजान्ने सबै विद्यार्थी सँगै बसेर सिक्ने वातावरणको सिर्जना गर्न प्रतिस्पर्धालाई जोड दिइन्न । प्रतिस्पर्धी भावनाले विद्यार्थीमा असन्तोष, ईर्ष्या र द्वेष सिर्जना गर्ने भएकाले सहयोगात्मक भावना अभिवृद्धि गर्ने किसिमका क्रियाकलापमा जोड दिइन्छ । 

शिक्षा नीतिको निर्माण नगरपालिका र स्थानीय सरकारद्वारा हुने व्यवस्था रहेको फिनल्यान्डमा राष्ट्रिय पाठ्यक्रम बोर्डको गाइडलाइनमा रहेर शिक्षकले पूर्णतः स्वतन्त्र रूपमा पाठ्यवस्तु, शिक्षणविधि र क्रियाकलाप चयन गर्न सक्छन् । पढाउने विषयभन्दा बच्चासँगको आबद्धता र विश्वासलाई जोड दिइने भएकाले बच्चाले विद्यालयमा पारिवारिक र मायालु वातावरण पाउँछन् । देशभरका सबै विद्यालय सरकार मातहतमा रहने मात्र नभई पूर्णतः राज्यको लगानीमा सञ्चालित भएकाले शिक्षा निःशुल्क छ । यसैले विद्यार्थी बस चढेर घरभन्दा टाढाको स्कुलमा जाने वा गुणस्तरमा शंका लागी स्कुल छान्नुपर्ने अवस्था रहँदैन ।  

शिक्षाको गुणस्तर शिक्षकलाई तर्साएर वा काममा लदाएर आउनै सक्दैन । यसैले फिनल्यान्डमा शिक्षकलाई सामाजिक सम्मान मात्र होइन, आर्थिक रूपमा समेत सबल बनाउन राम्रो पारिश्रमिकको व्यवस्था गरिएको छ । हामीकहाँ जस्तो अन्य क्षेत्रमा असफल भए शिक्षक बन्ने भन्ने मानसिकता त्यहाँका स्कुलमा पाइँदैन । स्नातकोत्तर डिग्री प्राप्त गरेका योग्य र राम्रो आचरण भएका व्यक्ति मात्र शिक्षक बन्न योग्य मानिन्छन् । उनीहरूलाई आकर्षक पारिश्रमिकका अतिरिक्त हरेक विद्यालयमा सुविधासम्पन्न स्टाफ रुम र अन्य आवश्यक सुविधा प्रदान गरिएको हुन्छ । शिक्षकको ध्येय कति पाठ पढाउनेभन्दा बच्चाको वृद्धि र सिकाइका बीच तादात्म्य ल्याई उनीहरूलाई सभ्य र शिष्ट मानव बनाउने विषयमा केन्द्रित हुन्छ । विद्यालयको भौतिक वातावरण मात्र बालमैत्री नभएर मनोसामाजिक पक्ष बालविकास र सिकाइ केन्द्रित बनेको हुन्छ । पढाइभन्दा सिकाइमा जोड अनि मनोपरामर्शलाई उच्च महत्व दिने फिनल्यान्डका स्कुलमा ‘खुसी’ हुनुलाई केन्द्रमा राखेर अन्य शिक्षण क्रियाकलाप सञ्चालन गरिन्छन् ।

बच्चा १६ वर्ष पुगेपछि तीनवर्षे अपर सेकेन्डरी स्कुल वा व्यावसायिक स्कुलमा भर्ना हुन्छन् । तीन वर्षको पढाइ पूरा गरेपछि दुवै थरी विद्यार्थी विश्वविद्यालय प्रवेश गर्न सक्छन् । सामान्यतः ४३ प्रतिशत विद्यार्थी १६ वर्षपछि व्यावसायिक शिक्षामा संलग्न हुने गरेको तथ्यांकले देखाउँछ । कक्षामा निकै कम बस्ने तर लामो बिदा पाउने अनि पारिवारिक वातावरणमा सिक्दै हुर्कने अवसर पाएका फिनल्यान्डका विद्यार्थी संसारका अन्य पद्धतिबाट शिक्षित विद्यार्थीसँग विश्व बजारमा प्रतिस्पर्धा गर्दा सधैँ उच्च र अब्बल स्थानमा रहने गरेका छन् ।  

नेपालमा फिनल्यान्डमा जस्तै शिक्षामा राज्यको लगानी नरहेको भए पनि विद्यार्थी र शिक्षकलाई तर्साएरै गुणस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने गलत मानसिकतालाई हटाउँदै कलिला बालबालिकालाई घरभन्दा टाढाका स्कुलमा पठाउने कामलाई रोक्ने वातावरण बनाउनुपर्छ । वार्षिक परीक्षालाई जोड दिएर सिक्नभन्दा घोक्न प्रेरित गर्ने हाम्रो शिक्षण पद्धतिलाई सिकारुमैत्री र व्यावहारिक बनाउने दिशामा राज्य तथा सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ । ‘फलामे ढोका’का रूपमा रहेको  एसईई र अन्य परिक्षाका माध्यमबाट विद्यार्थीलाई सधैँ दबाब र भयमा राख्ने वातावरणको अन्त्य गरी विद्यालय र शिक्षकलाई विश्वास गर्न सक्ने वातावरणको निर्माण गर्नुपर्ने देखिन्छ ।  

शिक्षा र स्वास्थ्यमा पूर्णतः राज्यको लगानी हुनुपर्ने कुरालाई फिनल्यान्डको शिक्षाले प्रमाणित गरिसकेकाले हामी पनि यी क्षेत्रलाई सरकारीकरण गर्दै विकेन्द्रीकरणका माध्यमबाट शिक्षाको गुणस्तर सुधार्ने काममा लाग्र्नैपर्ने देखिन्छ ।  

घर बस्दैमा वा परीक्षा दिन नपाउँदैमा बच्चाको सिकाइ कमजोर नहुने भएकाले बच्चाबच्चीलाई जतिखेर पनि पढपढ भनेर पढ्ने कामबाट नै वाक्क र विरक्त पार्नु हुँदैन । घरमा वा विद्यालयमा कोरा सिद्धान्तका सट्टा व्यावहारिक र समसामयिक कुरा सिक्न प्रेरित गर्दा बालबालिकाको सिकाइ उपलब्धि अर्थपूर्ण बन्ने अपेक्षा गर्न सकिन्छ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुन् ।)

प्रकाशित: ६ असार २०७७ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App