प्राचीनकालमा श्रीविजय देश (हाल इन्डोनेसिया) सभ्यताको केन्द्र थियो। शैलेन्द्र वंशका राजाहरूको प्रतापमय गाथा देशदेशान्तरसम्म फैलिएको थियो। त्यस्तै, बौद्धधर्मको पवित्र भूमि थियो, महलद्वीप। ब्रिटेनबाट ६६ वर्षपहिले स्वाधीन सो राष्ट्रमा राजाहरूले शासन गर्दा द्वीपमालाजस्तो ठाउँलाई मालद्वीप भनियो। विदेशीले शासन गर्न थालेपछि मालदिब्स भन्न थाले। प्राचीनकालका महलहरू समुद्रमा हराए। महलद्वीप अर्कै भो।
एउटा राष्ट्रले प्राचीन धर्म–संस्कृति कसरी गुमाउँछ भनेर अध्ययन गर्दा इन्डोनेसिया, मालदिब्स, सिंगापुर जस्ता उदाहरण भेटिन्छन्। सम्राट अशोककै पालामा बौद्ध धर्मको केन्द्र बनेको मालदिब्समा जब अरब राष्ट्रका व्यापारीहरू आए, त्यसपछि द्रव्यले देश दबायो। स्थानीय महिलाले मुसलमान व्यापारीबाट सन्तान जन्माउन थाले। बौद्ध धर्म किम्बदन्ती बन्दै गयो। यस्तै सनातन धर्मावलम्वी राष्ट्र श्रीविजयमा द्रव्यको जय भएपछि प्राचीन धर्मको पराजय भयो।
ब्रिटिस व्यापारी केनेथी सि. किमर वीरगन्जबाट डोलीमा चढेर बाइस घन्टापछि भीमफेदी पुगेका थिए, चन्द्रशमशेरका पालामा। भूगोल, भूराजनीति, इतिहास र नेपाली जनताको स्वभावका कारण नेपाल अनौठो, अनुपम र अतुल्य छ भनेका छन् विदेशी विद्वान्ले। सिल्भाँ लेभीले स्वीकारेका छन्– नेपाल, सिलोन (हालको श्रीलंका) र काश्मीर भारतको सुरक्षाभित्र बस्न सक्दैनन्। (स्रोत: नेपाल एन्ड द वल्र्ड, ऋषिकेश शाह)
केनेथी किमरले नेपाल प्रचुर सम्भावनाको देश भनेका छन्। हिरा, सुन, विविध रत्न आदि मात्र होइन, हरेक साल पचासौँ अर्ब डलर फाइदा हुने युरेनियमका खानी छन् नेपालमा। चीन–भारतबीच युद्ध चर्काएर नेपालमा घरजम गर्न खोज्ने अमेरिकी चासो राष्ट्रिय सुरक्षाका लागि पासो बनेको छ। नेपाल ठूलो द्वन्द्वमा फस्न सक्छ भन्ने बुझेर राजा वीरेन्द्रले राष्ट्रिय सुरक्षाको रक्षा गर्न शान्ति क्षेत्र प्रस्ताव ल्याएको प्रा. कृष्ण खनालको विश्लेषण छ। श्रीधरकुमार खत्रीद्वारा सम्पादित ‘रिजनल सेक्युरिटी इन साउथ एसिया’ (सिनास, सन् १९८७) मा प्रा. कृष्ण खनालले शान्ति क्षेत्रको प्रस्ताव राष्ट्रिय सुरक्षामा केन्द्रित रहेको तर्क गरेका छन्। आज चीन, अमेरिका, भारत र युरोेपेलीको ‘गौँडा’ भएको छ नेपाल।
राष्ट्र रक्षाकै लागि चीनले पाकिस्तानलाई दिने भनिएको एक अर्ब रुपियाँको सैनिक सहायता मञ्जुर गरे, प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोले। अमेरिकी कठपुतली भनेर बौद्धिक समुदायमा भुट्टोको छवि धमिलो पारिदिने विदेशी नै थिए। चीनसँग गाँसिएपछि उनको पतन भयो। सैनिक सरकारले उनलाई रुचाएन। अन्त्यमा, सैनिक कमान्डर तथा राष्ट्राध्यक्ष जियाउल हकले भुट्टोलाई झुण्ड्याए। भुट्टो राष्ट्रहितका लागि काम गरिरहेका थिए तर विदेशी शक्तिको प्रभावमा परेर सैनिक सरकारले उनको प्राण लिएको कतिपयको विश्लेषण छ। त्यसपछि पाकिस्तान अशान्त भयो।
चीन–भारतबीच युद्ध चर्काएर नेपालमा घरजम गर्न खोज्ने अमेरिकी चासो राष्ट्रिय सुरक्षाका लागि पासो बनेको छ।
‘द मिथ अफ इन्डिपेन्डेन्स’, ‘इफ आइएम एसासिनेटेड’ लगायतका उनका ग्रन्थ देशभक्तिको भावनाले ओतप्रोत पाइन्छन्। भुट्टोकी छोरी बेनजिरद्वारा लिखित ‘डटर अफ डेस्टिनी’ तथा ‘डटर अफ द इस्ट’ पुस्तकमा पिताको प्रशंसा छ तर आलोचकहरूले जुल्फिकरलाई देशघाती मानेका छैनन्। सन् १९७९ अप्रिल ४ (२०३५ चैत २२ गते) झुण्ड्याइएका भुट्टोलाई पश्चिमाबाट प्रभावित भन्ने धेरै छन् तर उनको शालीन, भद्र, अध्ययनशील र राष्ट्रवादी चरित्रका बारेमा नकारात्मक टिप्पणी थोरै पाइन्छ। ‘बर्न टु बि ह्याङ्ड’ (झुण्डिनै जन्मेको) पुस्तकमा जुल्फिकर बाँचेको भए भारत–पाकिस्तान सम्बन्ध र पाकिस्तानको छवि यति बिग्रने थिएन भनेकी छन् सायदा हमिदले। भारतीय नागरिक सायदाको पुस्तक चर्चित भयो। भुट्टोका बारेमा अप्रकाशित कुरा पनि आए। सत्य उद्घाटन भएपछि मिथ्या लुक्न थाल्छ। सूर्योदयपछि अन्धकार हराउँछ। ‘तमसो मा ज्योतिर्गमय’ भनिएको त्यही हो।
पुर्खाले दुःखले आर्जन गरेको चलअचल सम्पत्ति मासेपछि धेरैजना कंगाल भएका छन्। काठमाडौँमा एक जना धनाढ्य राणा रहेछन्। हरेक साल नयाँ दुलही लिएर हनिमुन मनाउन विदेश जान्थे भन्ने कुरा बूढापाकाबाट सुनेको। आफ्नो करोडौँको सम्पत्ति सकेर पाटीमा बस्ने भएछन्। यात्रीलाई बस–ट्रक चढाएबापत कमिसन लिएर पेट पाल्ने गर्दारहेछन्। राष्ट्र बचाउन सकिएन भने त्यस्तै हुन सक्छ। उदाहरण हजारौँ हुन सक्छन्, नियति एउटै हुन्छ।
नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहका वचन मानेको भए सालमा एक सय करोड (एक अर्ब) रुपियाँको चामल सिमानापारिबाट ल्याउनुपर्ने थिएन। अर्थनीति, राष्ट्रिय सुरक्षा, आन्तरिक प्रशासन, धर्म/संस्कृति, सभ्यता र राष्ट्रिय एकता कमजोर हुने थिएन। दिव्यउपदेश मूलनीतिको आधार बनाइएको भए राष्ट्र स्वावलम्बी हुने थियो। जनशक्तिलाई हेलाँ गरेर विदेशीको धनशक्तिमा राष्ट्र आश्रित बन्नुपर्ने भीखतन्त्र आउने थिएन। नेपाली किसान/मजदूरले हँसिया/हथौडा अंकित झण्डा बोक्नेहरूलाई सलहका अवतार मान्नुपर्ने दिन आउने थिएन। राष्ट्रियता, समाजवाद, प्रजातन्त्र, साम्यवाद र राष्ट्रवादका नारा लगाउने दलहरूले रुँदैरुँदै स्वदेश फर्केका नेपालीलाई सिमानामा एक छाक भात दिन सकेका छैनन्। चुनावका बेला भोट हाल्ने मेसिन मात्र भए जनता। यसरी दल र जनताको नाता टुट्दैछ। राष्ट्रप्रति कसैको माया घटेको छैन तर सबैलाई ढुक्क पार्ने भरपर्दो शक्ति नहुँदा नेपाली भविष्यप्रति भयभीत छन्।
पचासौँ हजार एनजिओ र सयौँ आइएनजिओलगायत क्षेत्रमा कैयन् राष्ट्रद्रोही छन्। उनीहरूकै दबाब र प्रभावमा सरकार चल्ने र ढल्ने गर्छ।
राष्ट्र, राष्ट्रहित र राष्ट्रको सुरक्षा हरेक सरकारको प्रमुख प्राथमिकता हुन्छ, हुनुपर्छ। इजरायली सेनाले नेपालका सैनिकलाई प्यारासुटबाट हाम्फाल्न सिकायो। भारतीय र पश्चिमाहरूको प्रभावमा परेर केही जर्नेलले नैतिक आकाशबाट सेफ्टीट्यांकमा हाम्फाले। नेपालमा राष्ट्रिय हितविरुद्ध विदेशीले बनाएको मार्गचित्रलाई ‘रोजर–रोजर’ भनिदिए २०६२/०६३ सालमा। जागिर बचाउन राष्ट्रको हित नै बिर्सिए। ऊबेलाको शपथग्रहण र सैनिक ऐन बिर्से। प्रहरी, जंगी, निजामती आदिका नाइके मिलेर ‘राजनीतिक परिवर्तन’ (?) स्वीकार गरे। नेपाली जनतालाई थाहै नदिएर संघीयता र धर्म निरपेक्षता भित्र्याउने राष्ट्रघाती तत्व चिन्न सकेनन्।
पचासौँ हजार एनजिओ र सयौँ आइएनजिओलगायत क्षेत्रमा कैयन् राष्ट्रद्रोही छन्। उनीहरूकै दबाब र प्रभावमा सरकार चल्ने र ढल्ने गर्छ। जिब्रो नचपाइ भन्नुपर्दा गणतन्त्र नै गाँडतन्त्र सावित भयो। यसको विकल्प भनेको सरकार परिवर्तन होइन। हात वा खुट्टाबाट क्यान्सर फैलिँदैछ भन्ने ठहर गरेपछि डाक्टरहरूले अंग काटेर प्राण बचाउँछन्। राष्ट्रिय सुरक्षाका उच्च अधिकृतहरूले यति पनि बुझेनन् भने मदारीले बाँदर नचाएझँै विदेशी शक्तिले हामीलाई भविष्यमा पनि नचाउँछन्। हाच्छ्युँ गर्नेहरूलाई शिविरमा राखेर रोग फैलिन नदिन प्रयास गरिँदैछ तर राष्ट्रलाई नै निष्प्राण बनाउन सक्नेहरूलाई सलाम ठोक्दा नेपाल कति दिन ज्युँदो रहन्छ ? ‘जनता’ को नाममा भइरहेको शोषण र राष्ट्रको दोहन नरोक्ने हो भने नेपाललाई सिंगापुर, स्विडेन र स्विट्जरल्यान्ड बनाउँछौँ भन्नेहरूले सुडान, सोमालिया वा सियरालिओन पक्कै बनाउँछन्।
आज आर्थिक संकट बढ्दै गएको कुरा सरकारले नै स्वीकार गरेको छ। हजारौँ साँघु, अस्पताल, स्कुल–कलेज, पक्की सडक र भौतिक प्रगति गर्न सदुपयोग हुने रकमले हजारौँ गलगाँड स्याहार्नुपरेको छ। भविष्यमा लाखौँ बेरोजगार थपिने निश्चित छ। त्यस्तो अवस्थामा भोको पेटले पाप गर्न र गराउन सक्छ। परिवार र आफ्नो रक्षाका लागि कतिपयले विदेशी आतंकवादीहरूको हतियार बोक्न सक्छन्। धनी र दरिद्रको अन्तराल बढ्न सक्छ। त्यो बेला फिरङ्गी र बैरीले खेल्ने मौका पाउँछन्।
झन्डै अठार हजार नेपालीको प्राणहरण गर्ने कलाविहीन नाटकका खलनायकले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फर्काउँदैछ भन्ने गफ दिए। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर धेरै लेखक, राजनीतिज्ञ र कूटनीतिज्ञहरूले नेपालका माओवादी भारतका लागि काम गर्ने भाडाका सिकारी (मर्सिनरी) भनिसकेका छन्।
चौतरिया पुष्कर शाहलाई कूटनीतिक सम्वाद गर्न चीन पठायो, राजदरवारले। डोटीको गभर्नर भइसकेका शाह विशेष दूत भएर गए। उनलाई चेतावनी दिइएको थियो– ‘फिरंगीलाई निको मान्या भारदारको सर्वस्व भएछ। नेल पनि प¥या छन्।’ नेपालका पाँचौँ प्रधानमन्त्री भए उनी। चीन जाँदा कीर्तिध्वज पाण्डे, रणविक्रम शाह, पूर्णनन्द, वंशराज थापा (दोभाषे), अमृत महत, महिमान कार्की, गजाधर पाध्या, मामु मिया, पदमनारायण, भानु सिंह, डम्बर थापा, गोठा राना, यरबख्ताबर जैसी आदिको दलबल थियो। ब्रिटेनले दुःख दिन थालेका कारण नेपाललाई बलियो बनाउन चीनले के÷कस्तो सहायता गर्न सक्छ भन्ने प्रतिनिधिमण्डलको प्रस्ताव थियो।
‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्नेबाहेक हाम्रा पुर्खाले अरु सोचेनन्। अहिले जस्तो व्यक्ति, दल र गुटको कुरा थिएन। सपनामा–विपनामा नेपाल मात्र थियो। त्यसैले धेरै दुष्प्रयास गर्दा पनि शत्रुले घोडा चढ्न सकेनन्। राष्ट्रिय झण्डा फर्फराइरह्यो।
झन्डै अठार हजार नेपालीको प्राणहरण गर्ने कलाविहीन नाटकका खलनायकले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फर्काउँदैछ भन्ने गफ दिए। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर धेरै लेखक, राजनीतिज्ञ र कूटनीतिज्ञहरूले नेपालका माओवादी भारतका लागि काम गर्ने भाडाका सिकारी (मर्सिनरी) भनिसकेका छन्। राष्ट्रवादी सरकार आएपछि ती सबै कपुत जेलमा हुनेछन्। तसर्थ, उनीहरूका प्रायोजित टिप्पणीका बारेमा चर्चा गरिरहनु समयको बर्बादीमात्र हो।
लेण्डुप दोर्जेले भनेका छन्– ‘काम छउन्जेल प्रधानमन्त्री इन्दिरा गान्धीले मलाई फोन गरिरहन्थिन्। सिक्किमलाई भारतमा विलय गराएपछि उनको व्यवहार बदलियो।’ भाडाका भरिया र राष्ट्रघातीलाई कति सम्मान गरिन्छ भन्ने यो सानो उदाहरण हो।
भारतमा सबैले ‘महात्मा’ भनेका मोहनदास करमचन्द गान्धीलाई ‘हिन्दु राष्ट्र’ पत्रिकाका सम्पादकले गोली हानेर मारे। उनको नाम थियो– नाथुराम गोड्से। राष्ट्रभन्दा ठूलो केही हुँदैन भन्ने उनको स्पष्ट र प्रबल धारणा थियो। भारत टुक्र्याएर गान्धीले जघन्य अपराध गरेकाले आफूले मृत्युदण्ड दिएको उनले बयान दिए। ‘अहँ, मलाई कुनै पछुतो छैन। राष्ट्रघातीको वध गरेर मैले सत्कर्म नै गरेको छु’– उनले भनेका छन्।
असफल राष्ट्रका पर्याप्त लक्षण देखिनु, जनता निरास बन्नु, छिमेकीले बारम्बार हेप्नु, सरकारका हरेक नीतिमा विदेशीको हुकुम साकार हुनु र राष्ट्रका स्पष्ट लक्ष नदेखिनु दुर्भाग्यको कुरा हो। योग्य, ज्ञानी र विनयीले जीवनभर सिक्न खोज्छ, सिकिरहन्छ। हठी, मूर्ख, अल्पज्ञ र विवेकहीनले पाइला–पाइलामा उपदेश दिन्छ। आफ्नो ज्ञानभण्डार, क्षमता र योग्यता पूर्ण छ भन्ने ठान्छ। नेपालमा क्षमता, ज्ञान, सिप, जाँगर, निर्णयशक्ति र विवेक भएकाहरूमध्ये अधिकांशले राजनीति रुचाएनन्। फलतः राजनीतिक नेतृत्वले पटकपटक राष्ट्रलाई संकटग्रस्त बनायो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी आमा मेरी एनि ट्रम्पले भनेकी रहिछन्– ‘मलाई थाहा छ, डोनाल्ड मूर्ख छ। सामान्य ज्ञान पनि छैन। तर मेरो छोरो हो। कथंकदाचित राजनीतिमा गयो भने विपत् (डिजास्टर) ल्याउँछ।’ नभन्दै त्यस्तै देखियो। उनको अभिमानले कूटनीतिमात्र होइन, अमेरिकी समाज, अर्थतन्त्र, सद्भाव र भविष्य नै प्रश्नचिह्नमय बन्दैछ।
वासुदेव र देवकीका कोखबाट पैदा हुने सन्तान आफ्नो मृत्युको कारण बन्नेछ भन्ने वाणी सुनेपछि कंसले सात जना भान्जाभान्जी मारे। आठौँ सन्तानका रूपमा पैदा भएका श्रीकृष्णले मामाको वध गरे। अत्याचारी, आततायी र अभिमानी कंस मार्दा सबै खुसी भए। समाज र राष्ट्रको रक्षाका लागि, बहुजन हितका लागि अनि केही असुरका कारण फैलिएको वा फैलिन सक्ने अशान्ति रोक्न कठोर नीति लिनु धर्मविरुद्ध ठहरिँदैन भनेर शुक्राचार्य नीतिमा पनि भनिएको छ।
सम्पादक, लेखक, पत्रकार, बुद्धिजीवी र विश्लेषक जस्ता विशेषण जडित कतिपय मानिस पनि सत्य/असत्यबीच उभिने भुल गर्छन्। सत्यलाई सत्य र असत्यलाई असत्य ठहर गर्ने चित्तबुझ्दो जवाफ वा तर्क गर्न सक्दैनन्। यस्तो कायर चरित्रले समाज र राष्ट्रलाई दिशानिर्देश गर्न सक्दैन। नेपालमा यो समस्याले बौद्धिक प्रदूषण बढाएको छ। ध्वनि, वायु, जल र स्थल प्रदूषणभन्दा दिमागी प्रदूषण घातक हुन्छ।
भारतमा सबैले ‘महात्मा’ भनेका मोहनदास करमचन्द गान्धीलाई ‘हिन्दु राष्ट्र’ पत्रिकाका सम्पादकले गोली हानेर मारे। उनको नाम थियो– नाथुराम गोड्से। राष्ट्रभन्दा ठूलो केही हुँदैन भन्ने उनको स्पष्ट र प्रबल धारणा थियो। भारत टुक्र्याएर गान्धीले जघन्य अपराध गरेकाले आफूले मृत्युदण्ड दिएको उनले बयान दिए। ‘अहँ, मलाई कुनै पछुतो छैन। राष्ट्रघातीको वध गरेर मैले सत्कर्म नै गरेको छु’– उनले भनेका छन्।
राष्ट्र बचाउने उपाय र मन्त्र धेरै छन्। राष्ट्रघातीलाई पटकपटक सत्ता दिएर नेपालको भविष्य के होला भन्ने चिन्ता गछौँ हामी। जात, धर्म, क्षेत्र, दल वा यस्तै ससाना छाउपडीबाट घाममा आउनुपर्छ हामी। अनन्तकालसम्म राष्ट्र जीवन्त रहोस् भन्ने कामना गरेर पुग्दैन, कर्म गर्नुपर्छ। विदेशी दानमा आश्रित हुनुको सट्टा ‘स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल’ भन्ने मन्त्र नयाँ पुस्तालाई सिकाउनुपर्छ। महँगा बिलासी सामान भित्र्याउने तर स्वदेशी वस्तुलाई हेलाँ गर्ने प्रवृत्ति त्याग्नुपर्छ। हरेक गाउँ–सहर स्वावलम्वी, सचेत, सहज र सरल बन्यो भने लाखौँ युवाले पसिना बगाउन विदेश जानै पर्दैन। कोही भोको बस्नु पर्दैन। हामी सबै ‘नेपाली’ बनेर एक ढिक्का भयौँ भने शत्रुलाई लखेट्न सक्छौँ। नेपालले कसैसँग भिख नमाग्ने हो भने कसले हेप्न सक्छ नेपाल र नेपालीलाई ?
प्रकाशित: ५ असार २०७७ ०४:२१ शुक्रबार