२३ फाल्गुन २०७७ आइतबार
विचार

कोरोनाको संक्रमण खुराक

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) का प्राध्यापक डेबिड बल्टिमोरले जीवाणुको जेनेटिक (अणुवांशिक) पदार्थ र उसले कुन विधिमार्फत आफ्नो ‘म्यासेन्जर आरएनए’ बनाउँछ त्यसको अध्ययन गरी भाइरसलाई ७ वर्गमा विभक्त गरे । नोबल पुरस्कार विजेता वैज्ञानिक बल्टिमोरको भाइरस ‘क्लासिफिकेसन’ लाई सहज अध्ययनका लागि सूक्ष्म जीवाणुलाई मुख्यतः दुई भागमा विभक्त गर्न सकिन्छ । अणुवांशिक पदार्थका रूपमा ‘डिएनए’ भएको भाइरस अथवा ‘डिएनए बेस्ड भाइरस’ र जेनेटिक मटेरियलका रूपमा ‘आरएनए’ भएको जीवाणु अथवा ‘आरएनए बेस्ड भाइरस ।’  

रासायनिक हिसावले ‘डिएनए’ को बनोट ‘आरएनए’ को दाँजोमा स्थिर हुने भएकाले प्रतिकूल बाह्य वातावरणीय प्रभावका कारण डिएनएको दाँजोमा आरएनए बढी संक्रमणको सिकार बन्छ । संख्यात्मक वृद्धिका क्रममा अणुवांशिक पदार्थको प्रतिलिपि बन्दा अस्थिर बनोटका कारण समेत आरएनएले नै अधिक मूल्य चुकाउनुपर्ने हुन्छ । अब जेनेटिक पदार्थमा परिवर्तन आउँदा भाइरसमा के प्रभाव पर्छ, त्यता हेरौँ ।  

मानिसमा करिब ४ अरब एकाइले बनेको अणुवांशिक पदार्थ हुन्छ भने कोरोना भाइरसको जेनेटिक मेटेरियल केबल ३० हजार युनिट लामो हुन्छ । साथै, मानिसलगायत उच्च प्राणीका अणुवांशिक पदार्थ डिएनएमा आधारित हुने भएकाले सन्तान÷दरसन्तानसम्म तिनका अणुवांशिक पदार्थमा खासै परिवर्तन आउँदैन । उत्खननले लाखौँ वर्षको अन्तरालमा समेत मान्छेको शारीरिक बनोटमा खासै परिवर्तन नआउनुको कारण उसको ‘डिएनएमा आधारित अणुवांशिक पदार्थ देखायो । अर्कोतिर पछिल्लो ५ दशकको अध्ययनले मात्र पनि अणुवांशिक पदार्थका रूपमा आरएनए भएका सूक्ष्म भाइरसहरू अस्तित्वमा आउने र लोप हुने क्रम धेरै देखियो ।  

उदाहरणका लागि कोरोना समूहकै ‘आरएनए बेस्ड’ भाइरस ‘सार्स’ सन् २००३ मा चीनबाट सुरु भयो । तर ५ वर्षकै अवधिमा उक्त भाइरस मासियो । सार्स लोप हुनुको कारण ओखतीमूलो थिएन । बाह्य वातावरण तथा संख्या वृद्धिका क्रममा भाइरसका अणुवांशिक पदार्थ आरएनएमा परिवर्तन आयो । अनि जीवाणु मासियो । अब जेनेटिक मटेरियलमा आउने परिवर्तनले भाइरसको अस्तित्व कसरी समाप्त हुन्छ, त्यता हेरौँ ।  

कोभिड–१९ को संक्रमणबाट झण्डै ०.५ प्रतिशत मानिस मरेको देख्दा कदाचित यस भाइरसलाई निस्तेज गर्न सकिएन भने संसारको जनसंख्या झण्डै ४ करोडले घट्ने देखिन्छ ।  

कुनै पनि जीव अस्तित्वमा आउन सबैभन्दा अहम् वस्तु अणुवांशिक पदार्थ हो । अणुवांशिक पदार्थका आधारमा ‘म्यासेन्जर आरएनए’ बन्नु र म्यासेन्जर आरएनएका आधारमा प्रोटिन बन्नु बायोलोजिकल जीवनचक्रका आधार हुन् । अणुवांशिक पदार्थ डिएनए अथवा आरएनए जे भए पनि म्यासेन्जर आरएनएको बाटा भएर नै प्रोटिनहरू बन्छन् । अणुवांशिक पदार्थको ढाँचाका आधारमा म्यासेन्जर आरएनएको संरचना बन्ने अनि म्यासेन्जर आरएनएको बनोटले प्रोटिनको स्वरूप निर्धारण गर्ने भएकाले जेनेटिक मटेरियलमा आएको त्रुटिले प्रोटिनको ढाँचामा ह्रास ल्याउँछ । अनि प्रोटिनको शक्ति घट्दा जीवको अस्तित्व संकटमा पर्नु अस्वाभाविक भएन ।  

अरबौँ एकाइसहितको अणुवांशिक पदार्थ रहेको उच्च जीवका लागि हजारौँ किसिमका प्रोटिन आवश्यक हुन्छ भने भाइरसको अणुवांशिक पदार्थ सरल हुन्छ अनि केही प्रोटिनका भरमा यो सूक्ष्म जीवाणुले आफ्नो जीवन प्रक्रिया धान्छ । उदाहरणका लागि मानिसको शरीरमा झण्डै १ लाख किसिमका प्रोटिन हुन्छन् भने कोरोना भाइरसमा केबल २९ प्रोटिन रहेको भन्छ कोभिड–१९ को जेनेटिक बनोटले । उच्च जीवमा एकै किसिमको काम गर्ने धेरै इन्जाइम रहन्छ भने भाइरसमा दोहोरो दायित्व बोकेका प्रोटिन अस्तित्वमा रहँदैनन् । त्यसैले मानवमा रहेका प्रोटिनमध्ये कुनै एकमा खराबी आए मानव अस्तित्व संकटमा पर्दैन । तर त्यही यथार्थ भाइरसको हकमा सत्य हुँदैन । कोरोना भाइरसको अणुवांशिक पदार्थमा आएको खराबीका कारण कदाचित २९ मध्ये कुनै एउटा प्रोटिनमा कैफियत देखिए जीवाणुको अस्तित्व समाप्त हुन्छ ।  

प्रोटिनले घेरेको अणुवांशिक पदार्थको पोकोका रूपमा रहने भाइरस स्वतन्त्र अस्तित्व भएको जीवाणु होइन । परजीवी भएकाले भाइरसले आफ्नो चक्र सञ्चालन गर्न अर्को प्राणीमा भर पर्नुपर्छ । जस्तो कोरोना भाइरस मानिसको शरीरभन्दा बाहिर बाँच्नै सक्दैन । आफ्नो प्रभाव जमाउन भाइरसले संक्रमणको दायरा बढाउनुपर्छ । उक्त क्रममा भाइरसको प्रोटिनले सहजकर्ताको भूमिका खेल्छ अनि जीवाणु हाम्रो शरीरभित्र पस्छ । चालक दलका सदस्यलाई छक्याउँदै ककपिटमा पसी पाइलटलाई नियन्त्रणमा लिएर एक स्थानमा जाने प्लेनलाई अपहरणकर्ताले अर्को स्थानमा उतारेझैँ भाइरसका प्रोटिनले हाम्रो प्रतिरक्षा प्रणालीलाई झुक्याउँदै प्रोटिन बनाउने मेसिन ‘राइवोजोम’ लाई आफ्नो नियन्त्रणमा लिएर हामीलाई आवश्यक पर्ने प्रोटिनको बदला भाइरल प्रोटिन बनाउन बाध्य गर्छ । कदाचित हाम्रो आन्तरिक प्रतिरक्षा प्रणालीले भाइरसको शक्ति क्षीण गर्न सकेन भने भाइरस झन सशक्त हुँदै जान्छ । अनि हाम्रो शरीरमा मानव उपयोगी प्रोटिनको बदला भाइरसलाई आवश्यक पर्ने प्रोटिन मात्र बन्न थाल्छ । मानव कोसको तुलनामा भाइरस धेरै साना हुने हँुदा एउटा सेलभित्र लाखाैँ भाइरसका जीवाणु अट्न सक्छन् । परिणामस्वरूप भाइरसको संख्या बढ्दै जान्छ भने हाम्रा कोस आफ्नो दायित्व लिन सक्दैनन् । त्यसैले, स्वास÷प्रस्वासमा भूमिका खेल्ने फोक्सोका कोसमा कोरोना भाइरसले आक्रमण गर्दा हामीलाई सास फेर्न कठिन हुन्छ । अनि मानिस मर्छ ।  

शरीरमा पस्ने भाइरस संख्या संक्रमण खुराकभन्दा न्यून राख्न सके हामीलाई कोरोनाले बिरामी पार्न नसक्ने भएकाले मास्क तथा भौतिक दूरीका संहितामार्फत आफू बच्न र अरूलाई बचाउन सल्लाह दिन्छन् जन्स हप्किन्स विश्व विद्यालयका प्राध्यापक डेभिड हार्डी ।

अब, भाइरस नियन्त्रणका संभाव्यता हेरौँ । प्रतिरोध प्रणाली (इम्युन सिस्टम)ले भाइरस संक्रमणबाट बिरामीलाई बिसेक पार्ने प्राकृतिक प्रतिरक्षा प्रणालीलाई पन्छाउँदा कोभिड–१९ को नियन्त्रणका लागि धेरै मार्ग बाँकी रहेनन् । सबैभन्दा सरल र प्रभावकारी विधि भनेको भाइरसको अणुवांशिक पदार्थमा अचानक म्युटेसन (उत्परिवर्तन) भएर जीवाणुको प्रभावकारिता घट्नु देखियो । डिएनए आधारित भाइरसको दाँजोमा आरएनए बेस्ड भाइरसहरू स्वस्फूर्त उत्परिवर्तनमार्फत नियन्त्रणमा आएको उदाहरण मनग्य देखिन्छ । आरएनएरूपी अणुवांशिक पदार्थमा आएको उत्परिवर्तनले बाँच्नका लागि अत्यावश्यक प्रोटिनको प्राकृतिक ढाँचा परिवर्तन भइ धेरै भाइरस नासिएको देखियो । कोरोना वर्गको ‘सार्स’ भाइरस स्वाभाविक म्युटेसनका कारण नियन्त्रणमा आएको यथार्थले कोभिड–१९ पनि त्यही विधिबाट नियन्त्रण आओस् भन्ने आशाको कामना अन्यथा हुँदैन । साथै, विज्ञानको ¥यान्डम म्युटेसन थ्यौरीले समेत कोभिड–१९ को स्वाभाविक नियन्त्रणलाई अस्वाभाविक मान्दैन । कदाचित कोभिड–१९ आफैँ नियन्त्रणमा आएन भने के होला भन्ने जिज्ञासा अस्वाभाविक छैन ।

कोरोना नियन्त्रणमा संलग्न अनुसन्धानकर्ता अनि अनुगमन निकायका अधिकारीको बयान सुन्दा सबै कुरा अनुकूल रहेको खण्डमा कोभिड–१९ को खोप सर्वसाधारणको पहुँचमा पुग्न अर्को एक वर्ष कुुर्नुपर्ने देखिन्छ । दिन दुगुना रात चैगुनाका आधारमा बढेको कोरोना आयतनलाई मध्यनजर राख्दा खोपको आविष्कार हुनुअघि नै भाइरसले संसारका सबै मानिसलाई सताउला भन्ने आकलन गलत भन्ने अवस्था देखिन्न । त्यसो भएको खण्डमा प्रतिरोधात्मक क्षमता विकास गर्न सफल भएका संक्रमित मात्र बाँच्ने अनि अरूको निधन हुने देखिन्छ । कोभिड–१९ को संक्रमणबाट झण्डै ०.५ प्रतिशत मानिस मरेको देख्दा कदाचित यस भाइरसलाई निस्तेज गर्न सकिएन भने संसारको जनसंख्या झण्डै ४ करोडले घट्ने देखियो ।  

‘म्युटेसन’ मार्फत भाइरस नियन्त्रण र वैज्ञानिक आविष्कारले जीवाणुको संकुचन आमनागरिकको काबुको विषय भएन । भगवान र विज्ञानको आशमा मात्र बस्ने कि आफूले आवश्यक सावधानी लिएर कोभिड–१९ बाट बच्ने भन्ने विषय सान्दर्भिक हुन्छ ।  

थोरै विष सेवनले नमर्ने अनि त्यही ‘प्वाइजन’ अलि बढी खाँदा मानिस मर्छ । उक्त कुरा जीवाणुको हकमा समेत लागु हुन्छ । दुस्मनको सानो बटालियनले आक्रमण गर्दा सीमा सुरक्षामा खटिएका सैन्यले विदेशी सेनालाई निस्तेज गरेझैँ थोरै संख्यामा जीवाणुले हामीलाई आक्रमण गर्दा भाइरसले हाम्रो शरीरमा प्रभाव जमाउनुअघि नै हाम्रो प्रतिरक्षा प्रणालीले उनीहरूको विनाश गर्छ अनि हामीले रोगको खासै अनुभूति गर्दैनौँ । तर जीवाणुको ठूलो जत्थाले आक्रमण गर्दा हाम्रो प्रतिरक्षा प्रणाली असफल हुन्छ अनि हामी बिरामी पर्छौँ । हामीलाई बिरामी पार्न आवश्यक पर्ने भाइरसको जीवाणु संख्यालाई संक्रमण खुराक (इन्फेक्सन डोज) भनिन्छ । नवीन भाइरस भएका कारण कोभिड–१९ को इन्फेक्सन डोज कति हो भन्ने हालसम्म एकिन हुन सकेको छैन ।  

शरीरमा पस्ने भाइरसका जीवाणुको संख्या संक्रमण खुराकभन्दा न्यून राख्न सके हामीलाई कोरोनाले बिरामी पार्न नसक्ने भएकाले मास्क तथा भौतिक दूरीका संहितामार्फत आफू बच्न र अरूलाई बचाउन सल्लाह दिन्छन् जन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक डेभिड हार्डी ।  

एन–९५ प्रचलनमा रहेकामध्ये उच्च स्तरको मास्क मानिन्छ । तर उक्त मास्कले समेत सूक्ष्म ड्रप्लेट्सहरूमध्ये ९५ प्रतिशतबाट मात्र हामीलाई सुरक्षा दिन्छ । त्यसको मतलब प्रचलनमा रहेका कुनै पनि मास्कले हामीलाई पूर्ण सुरक्षा दिन सक्दैनन् तर मास्क प्रयोगले हाम्रो शरीरमा पस्ने जीवाणुको संख्या भने निकै घटाउँछ ।  

खोक्दा तथा हाछ्युँ गर्दा विभिन्न आकारका थोपा निस्कन्छन् । ठूला आकारका थोपामा भाइरसका जीवाणु अत्यधिक हुन्छन् । खोक्दा निस्कने साना थोपा ठूला छिटाको तुलनामा धेरै टाढासम्म पुग्न सक्ने भएकाले रोगीभन्दा टाढा रहेको अवस्थामा भाइरस जीवाणुको संक्रमण कम हुन्छ । तसर्थ, भौतिक दूरी कायम गर्दै मास्क प्रयोग गरेको अवस्थामा भाइरसको संक्रमण कम हुन्छ । मास्कको पहुँच नभएको अवस्थामा उपलब्घ गम्छा, रुमाल प्रयोग गर्दासमेत फाइदा हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । रोगी पहिचान नभएको अवस्थामा सबैलाई रोग लागेको हुन सक्छ भन्ने कुरा ध्यानमा राख्दा सुरक्षित रहन थप मद्त पुग्छ।

प्रकाशित: २ असार २०७७ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App