८ वैशाख २०८१ शनिबार
विचार

आगो बोक्ने युवा

थुदेन लामा राम्रो लेख्छन्। असल मानिस राजनीतिबाट किन टाढिँदैछन् भन्ने उनको चिन्ता, चासो र प्रश्नको उत्तर दिन सक्ने क्षमता राजनीतिका खराब पात्रहरूसँग छैन। प्रौढ पुस्ताका थुदेनभन्दा फरक ढंगले सोच्छन्, युवा समुदायका चेतनशीलहरू। चीनमा मेडिकल साइन्स पढिरहेका दीपकरण खड्का हुन् वा गोरखाबाट आएर काठमाडौँमा कलेज पढिरहेकी निरुता कुमाल, भोलि राष्ट्र सम्हाल्ने उनीहरू नै हुन्।

थुदेन भन्छन्– ‘नेपालको आफ्नो कूटनीति आफ्नै धरातलबाट सञ्चालन गर्ने हो। स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको सार पनि यही हो।’ चौध÷पन्ध्र शब्दमा कूटनीति सिकाए थुदेनले। निरुताले सामाजिक सञ्जालमा लेखिन्– ‘कथा नै फेरबदल गर्न सक्ने हिरासतको कथालाई पनि सत्तरी करोड...।’ एउटा अमूर्त चित्र जस्तो उनको ‘कमेन्ट’ शंकर लामिछानेको ‘एब्स्ट्राक्ट चिन्तन: प्याज’ जस्तो लाग्छ। युवावस्थामा झिल्को बनेर दिमागमा टाँसिएको आगो दावानल बन्छ, एकदिन। ‘हामीले मात्र बुझेका छौँ, बाँकी सबै मूर्ख छन्’ भन्छन् गादीमा बस्नेहरू। होइन, किमार्थ होइन। चौध–पन्ध्र वर्षको उमेरदेखि दिमागमा ज्वालामुखी उत्पन्न हुन्छ। त्यसले दुनियाँ जलाउन सक्छ। राम्रो गरुन् वा नराम्रो, सिपाही जागिर खाएका हिटलर र नेपोलियन राष्ट्रनायक भए। हृदयमा चट्टान बनेर उभिएको अठोटले मात्र मानिसको गिदीमा हिर्काइरहन्छ। ‘ए मनुवा, ज्युँदै छस् भने अन्यायविरुद्ध बोल’ भनिरहन्छ। थुदेन, दीप र निरुता जस्ता लाखाँै नेपाली ठूलो स्वरले बोल्न थालेका छन्। सत्य बोलिरहेका छन्। स्वार्थबेगर बोलेका छन्।

नालापानीको माटो ल्याएर मैले कलेजका भाइबहिनीलाई लगाइदिएँ। नालापानीबारे एक घन्टा बोलेँ। बोलिरहँदा म रोएँ। उनीहरूमध्ये धेरै जना रोए। युवा पुस्तामा नेपालप्रति अगाध प्रेम छ। इजरायलका जनताझैँ हरेक युवालाई राष्ट्र रक्षाको तालिम, शिक्षा र अठोट सिकाउनुपर्छ भन्ने मेरो धारणा छ। हाम्रा स्कुल–कलेजमा ‘पेट पाल्ने’ शिक्षा दिइन्छ। सर्टिफिकेट बोकेर दाँत देखाउँदै हिँड्न बाध्य पारिएको छ। ‘मेरा छोराछोरी तिम्रा घरमा गोठालो बनाइदेऊ’ भन्दै ‘श्रम सम्झौता’ गर्छ सरकार। त्यो रगत पसिनाले बेरोजगार भएका राजनीतिज्ञ भनिने ठगहरू पाल्नुपर्छ। कस्तो दुर्भाग्य !

झापाका मनोज चिमोरिया स्वरोजगार छन्। उनी हरेक घटनाको हिसाव राख्छन्। हप्तामा धेरैवटा राम्रा लेख पढ्छन्। उनीभित्र आगो छ। अदम्य जोश छ। हजारौँ बेरोजगार युवा र उनीहरूको परिवार बचाउन उद्योग खोल्नुपर्नेमा रमिता हेर्न करोडौँ रुपियाँको टावर बनाउनु मूर्खता हो भन्ने उनको तर्क छ। दमकमा बनाउने टावर भीमसेन थापाका पालामा निर्मित ‘भीमसेनस्तम्भ’ (धरहरा) होइन। अक्कलबेगरको नक्कल हो। युवालाई टावर र पावर चाहिएको छैन। श्रम गर्दा नेपालमै बाँच्न पाउने वातावरण चाहिएको छ।  

व्यापार प्रशासनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमबिए) गरेकी ओजस्वी गौतम भन्छिन्– ‘शिक्षितहरूलाई विश्वासमा लिन नसक्ने राष्ट्रले उन्नति गर्दैन।’ हुन पनि हो, योग्यताको कदर भएन। प्रा. चैतन्य मिश्रदेखि लिएर उपकुलपति भइसकेका प्रा. केदारभक्त माथेमालगायतका विद्वान् चिन्तित छन्, शिक्षितहरू रुष्ट भएकामा।

राजा महेन्द्रले ल्याएका गाउँ फर्क राष्ट्रिय अभियान असल कार्यक्रम थियो। पछि त्यसमा राजनीतिको रंग धेरै भयो। विकेन्द्रीकरण सुदृढ गर्ने हो भने संघीयताको काम छैन भनेका छन् प्रा. हिक्मतबहादुर बिष्टले।

प्रतिदिन पैँतीस करोड रुपियाँभन्दा बढीको दाना खुवाएर संघीयता नामको प्रणाली पाल्नुको सट्टा केन्द्र तथा स्थानीय तहमात्र राखेर ‘प्रदेश’ भनिएका सातवटा गाँड फाल्नैपर्छ।  

एउटा दल र त्यसभित्रको एउटा केस्रा मात्र हो, बाँकीको काम छैन भनेर सोच्दा झन्डै अन्ठानब्बे प्रतिशत सक्षम जनशक्ति बाहिरै पर्छ। त्यसले राष्ट्र निर्माण गर्दैन, भ्रष्ट निर्माण गर्छ। अहिले त्यही भएको छ। प्रतिदिन पैँतीस करोड रुपियाँभन्दा बढीको दाना खुवाएर संघीयता नामको प्रणाली पाल्नुको सट्टा केन्द्र तथा स्थानीय तहमात्र राखेर ‘प्रदेश’ भनिएका सातवटा गाँड फाल्नैपर्छ। गाँड पाल्ने खर्चले लाखाँै युवालाई रोजगारी दिने उद्योग खोल्न सकिन्छ। घर÷परिवार रुवाउँदै र आफू रुँदै विदेश जानै पर्दैन।

पद्म पुराणको वचन प्रसिद्ध छ– ‘तिमी आफू जस्तो व्यवहार र आचरण मन पराउँदैनौ, त्यस्तो अरुलाई पनि नगर।’ युवा वर्गलाई स्पष्ट कुरा मन पर्छ। छलछाम रुचाउँदैन। रिस उठ्यो भने भाकभुक कुटेर वा कुटाइ खाएर शान्त हुन्छन्। बाटो ढुक्दैनन्। युवा इन्जिनियर ऋतम्भरा शर्माले सामाजिक सञ्जालमा लेखिन्– ‘सरिता गिरी जस्ती बुहारी, सुजाता कोइराला जस्ती छोरी, बाबुराम भट्टराई जस्तो छोरो र महन्थ ठाकुर जस्तो ज्वाइँ नेपाली राजनीतिमा भएपछि देश कसरी उँभो लााग्छ ?’ प्राध्यापककी छोरी ऋतम्भरालाई यति लेख्न कसैले सिकाउनु पर्दैन। नयाँ पुस्ता तटस्थ देखिन्छ। आजका युवा को गलत र को सही भन्दैनन्। बरु के गलत र के सही भनेर छुट्याउँछन्।

तानसेनका युवा विख्यात राणा श्री ३ जंगबहादुर राणाका छोरीपट्टिका वंशज रमेशजंग राणाका छोरा हुन्। विख्यात भन्छन्– गुण र दोषका आधारमा मानिसको मूल्यांकन गर्नुपर्छ। राजनीति गर्नेहरू हुन वा सेना, प्रहरी वा निजामती हुन्, सबैले राष्ट्र सर्वोच्च ठान्नुपर्छ।

दक्षिण एसियाका बारेमा गहिरो अध्ययन गरेकी इटलीकी एक महिलाले भनेको सम्झन्छु– भारतमा मालिक र नोकर प्रस्ट छुट्टिन्छन्, नेपालमा पनि धनी–गरिबको अन्तराल छ तर विचार स्वाभिमानी छ। कसैले नेपाललाई हेप्ने कुरा गर्दा श्रमजीवी पनि बोल्छन्। तराईका केही भारतपरस्त छन् तर बहुसंख्यक जनतामा नेपालप्रति अगाध माया छ। तराईमा भारतको जस्तो जीवनशैली देखिन्छ तर हृदयमा नेपाल छ।

एन्ड्रियन प्रधान, फिरोज स्याङ्देन, निराकार याक्थुम्बा, मनोजकुमार केसी, सञ्जयकुमार श्रेष्ठ आदि युवकले ‘नाइन्टिन सेभेन्टी फोर’ ब्यान्ड खोलेर नेपाली युवाको मन जिते। ‘नेपथ्य’ ब्यान्ड अर्को प्रसिद्ध संगीत समूह हो। चित्र, मूर्ति, गीत, संगीत, साहित्य र खेलकुदमा हजाराँै प्रतिभाशाली युवा छन्। ती सबैको गुनासो उस्तै छ– सरकार चलाउन जो जो आए, आफैँले खाए। राष्ट्रको सभ्यता बचाउन ध्यान दिँदै दिएनन्। संरक्षक संस्थाहरूलाई भर्ती केन्द्र बनाए।

युवा वर्गको  सकारात्मक सोच, राष्ट्रप्रतिको सम्मान तथा उदार दृष्टिकोण जति प्रबल, विस्तीर्ण र गहिरो हुन्छ, राष्ट्र त्यति नै बलियो बन्छ। युवालाई जति कल्पनाशील, स्वप्नद्रष्टा र विवेकी बन्ने वातावरण बन्छ, उति नै पल्लवित र पुष्पित हुन्छ। हाम्रो सोच नै परिणामको बीउ हो। तसर्थ युवाको सोच परिस्कृत र अर्थपूर्ण भएमा परिणाम त्यस्तै आउँछ भनेका छन् बुद्धले।

एउटा दल र त्यसभित्रको एउटा केस्रा मात्र हो, बाँकीको काम छैन भनेर सोच्दा झन्डै अन्ठानब्बे प्रतिशत सक्षम जनशक्ति बाहिरै पर्छ। त्यसले राष्ट्र निर्माण गर्दैन, भ्रष्ट निर्माण गर्छ। अहिले त्यही भएको छ।

पाउलो कोयलो आजका करोडौँ युवाले रुचाएका लेखक हुन्। उनी सरल लेख्छन् तर उत्प्रेरणा मिल्छ। उपन्यास र गीतका लागि प्रसिद्ध ती लेखक विश्वका कुनाकुनामा प्रसिद्ध छन्। चेतन भगतले त्यही बाटो लिए। मनका कुरा पुस्तकमै विम्बित भएपछि पाठक खुसी हुन्छ। युवाको मनमा विद्रोह, तृष्ण, प्रेम, उमंग, उल्लास, पीर, खुसी, सपना सबैथोक हुन्छ। यदाकदा मनको ‘म्यानेजमेन्ट’ नहुँदा ऊ बिथोलिन्छ। युवाका सपनालाई दुरुपयोग गरेर धेरैले क्रान्तिमा कुदाए। युवाका काँधमा चढेर सिंहदरबार पुग्ने नेपालका कैयन् शासकले आज पनि युवा मनको तस्बिर बुझ्न सकेका छैनन्। ससाना कुराले लाखाँै युवालाई बिथोलेको छ। अपार जलस्रोत जस्तै युवाशक्ति खेर गइरहेको छ। कैयन्ले सडकमा उफारेर फाइदा लिएका छन् तर राष्ट्र हाँकिसकेका र हाल बागडोर हातमा लिएकाहरूले हरेक साल एक लाख युवालाई पनि दालभात खाने वातावरण बनाएनन्।

भद्रपुरबाट दुई सय रुपियाँमा विमान चढेर काठमाडौँ आएको युवा पत्रकार साठी वर्षको उमेरमा पनि नेपाली युवाका सपना अलपत्र परेको देखिरहेको छ। सम्झना छ, २०३६ सालको विद्यार्थी आन्दोलन हाँक्ने शरणविक्रम मल्ल, बलबहादुर केसी तथा कैलाश कार्की थिए। केही दिन विद्रोह चर्किएपछि राजा वीरेन्द्रले ‘पार्टी कि पार्टीलेस सिस्टम’ भन्ने प्रश्न राखेर जनमत संग्रह गराए। ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै युवा वर्ग सडकमा आइरहेका छन्। पार्टी मान्ने तर प्रणाली नमान्ने पनि छन् तर आजका अधिकांश युवालाई पार्टी होइन, परिणाम चाहिएको छ। आगो लागेपछि इनार खन्ने खन्ती खोजिरहेका नेताहरू। ‘राजनीति गर्ने’ ठगहरूको जत्थाले राष्ट्र लुटिरहेको देखेका छन्, युवाले। युवा गायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भन्दै गीतमार्फत आगो ओकले। राजेश हमाल, भुवन केसी, दयाहाङ राई, साम्राज्ञी शाह, विपिन कार्की (भस्मेडन), निशा अधिकारी, निखिल उप्रेती, सञ्चिता लुइँटेल, नजीर हुसेन, प्रियंका कार्की, सौगात मल्ल, आर्यन सिग्देल, अनुप बराल, दीपकराज गिरी, विल्सनविक्रम राई तथा अरु सयौँ कलाकारको आगो सुषुप्त छ।

खेलकुद, साहित्य, रंगमञ्च, समाजसेवा, पत्रकारिता, विज्ञान–प्रविधि, उद्योग–वाणिज्य, कृषिलगायतका क्षेत्रमा लाखौँ नेपाली संलग्न छन्। उनीहरूमध्ये धेरै युवा छन्। केही वर्षपहिले काठमाडौँमा आयोजित सुन्दरी प्रतियोगिताका निर्णायकमध्ये पंक्तिकार पनि थियो। फाइनलमा झापाकी प्रवीणा थापा अलि फरक विचारकी थिइन्।  

‘चन्द्रलोक जाने अवसर मिल्यो भने तपाइँँ कसलाई लिएर जानुहुन्छ ?’ मेरो प्रश्नको उत्तरमा उनले भनिन्– म एउटा बालक लिएर जान्छु। त्यहाँ उसको ‘ड्रिम’ (सपना) अरू फैलिन्छ।

सुन्दर थियो उत्तर। जहाँका युवक÷युवती जात, धर्म, तेरो–मेरो सबैभन्दा माथि उठेर राष्ट्र जुरुक्क उठोस् भन्ने सोच्छन्, त्यहाँ हात्तीको बथान पसे पनि कुशल माहुते बनेका युवाले तह लगाउँछन्। राष्ट्र बचाउँछन्। आगो बोक्ने युवाले विकृति र बैरी जलाउँछन् र नेपाल बचाउँछन्।

प्रकाशित: ३० जेष्ठ २०७७ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App