coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विवेकशील लकडाउन

कोरोना सन्देश

डा. अर्जुनदेव भट्ट

डा. अर्जुनदेव भट्ट

कोभिड–१९ का कारण आज विश्वभरिका मानिसको स्वास्थ्य चिन्ताको विषय भएको छ । अहिले संसारका शक्तिशाली प्रयोगशालाहरू कोरोना भ्याक्सिनको आविष्कारमा प्रथम हुने होडबाजीमा व्यस्त छन् । खोप विकास चरणबद्ध तरिकाले हुनपर्छ । तर, अहिले मानिसहरु द्रूत गतिमा ‘ट्रायल’ गर्दै छन् । विश्वमा कोभिड–१९ का बिरामीको संख्या ठूलो भएकाले त्यसको फाइदा उठाउन विभिन्न देश र वैज्ञानिकले हतारको बुझिन्छ । कोभिडले मानिसको शरीरमा प्रवेश पाएपछि आफ्नो स्वरूप परिवर्तन गर्ने भएकाले खोपको सफलता झनै चुनौतीपूर्ण हुन्छ । खोपलाई जति जपे पनि तुरुन्तै त्यो उपलब्ध भएर हाम्रो देशको आजको समस्या समाधान गर्नेवाला छैन । त्यसैले यसबीचमा केही सावधानीका उपाय अवलम्बन गर्न आवश्यक छ ।  

आर्थिक दुर्बलता र स्वास्थ्य  

कोरोना र अन्य कुनै पनि महामारीबाट बच्न हामीले आफ्ना केही बानी–व्यहोरा परिवर्तन गर्नैपर्ने हुन्छ । जब हामी स्वच्छ पानीको अभावमा हुनेछौँ, स्वस्थ हावा भएको कोठा तथा घरविहीन रहन्छौँ, पानी भएको शौचालय देशव्यापी रूपमा (घर, अफिस, पसल, स्कुल, अस्पताल इत्यादि सबै ठाउँमा) व्यवस्था गर्न सक्दैनौँ, तबसम्म कोरोना विरुद्धको हाम्रो अभियान एक प्रकारको तमासा मात्र हो । माथि उल्लिखित पानी, बास इत्यादिको व्यवस्था गर्न सक्दैनौँ भने, हात धोएर मात्र खान बस्ने, बाहिरबाट आएपछि हात राम्ररी धुने, मास्क लगाउने इत्यादि भन्न, लेख्न, भाषण गर्न ज्यादै आकर्षक विषय हुन्छन् तर व्यवहारमा उत्रेको देख्न देशको आर्थिक अवस्थाले ज्यादै ठूलो फड्को मार्नुपर्ने हुन्छ ।  

कोरोना महामारीले संसारकै आर्थिक अवस्थामा नराम्रो धावा बोलेको छ । यसमा नेपाल अछुतो रहने प्रश्नै उठ्दैन । आर्थिक अवस्था बढी दुर्बल हुनेलाई झनै नराम्रो असर पार्ने प्रस्ट छ । रोजगारी गुमाएकाहरूका निम्ति कसरी रोजगार पाउने र परिवारले हातमुख जोड्ने भन्ने प्रथम प्रश्न छ । देशभरि कतिले जागिर गुमाए, त्यो आँकडा आउँदा दिनमा प्रस्ट होला । विदेशमा काम गर्ने नेपालीहरू फर्कने क्रम चालू छ, यसरी फर्केनेको संख्या निकट भविष्यमा कति पुग्ने हो, त्यसले पनि हाम्रो कोरोनाविरुद्धको तयारी र अवस्था निर्धारण गर्नेछ । यो यकिन छ, अबका दिन श्रम निर्यात गरेर सरकारी राजस्व खासै मोटाउनेछैन । 

यो मौकामा श्रम निर्यात गर्ने कुप्रथालाई तोडेर देशकै विभिन्न सम्भावना खोज्न आवश्यक छ । त्यसका निम्ति सर्वप्रथम इमानदारीपूर्वक, अनुशासनमा रहेर शिर उच्च गर्दै तीनै तहका सरकारमा रहेका सम्पूर्ण कर्मचारी र विभिन्न विचारधाराबाट प्रेरित राजनीतिक कार्यकर्ता तथा तिनीहरूका अगुवाले आफ्नो कार्यशैलीलाई एक क्षण पनि ढिलो नगरी सच्याउनुपर्छ । अब गरेको कार्य उच्च परिणाममुखी तथा समय तोकिएको हुनुपर्छ । कम्तीमा चामल, गहुँ, मकै, फापर, कोदो, दाल, तरकारी, दूध–दही, घिउ–तेल, माछामासु, कुखुरा, अन्डाजस्ता खाद्य पदार्थमा देश परनिर्भर हुनुहुँदैन । 

त्यसका निम्ति बाटाघाटा, सिँचाइ, बिजुलीको उत्पादन र खपत, कृषि संलग्न लघु उद्योगहरु युद्ध स्तरका स्थापित गर्नुपर्छ । यस्ता कार्यबाट देशमा आमनागरिकले कुपोषणमुक्त र स्वस्थ जीवन निर्वाह गर्न सक्छन् । कम्तीमा खाद्यान्नमा देश आउँदा तीन–तीन वर्षभित्रै आयात केन्द्रितबाट मुक्त हुनु जरुरी छ । मन र मस्तिष्क भाँचिने गरी परम्परागत भारी बोकाएर, पारिवारिक दासी बनाएर शिक्षा, स्वास्थ्य र स्वतन्त्रताको भाँजो हालेर नारीहरूलाई एक प्रकारले जिन्दगीभर लकडाउन गरिएको अवस्था थियो, केही हदसम्म अझै छ, यसको पूर्ण व्यावहारिक अन्त यही कोरोना युगबाट सुरु हुनुपर्छ । यो सबै हुन सकेको खण्डमा देश कम्तीमा भोकमरीको चपेटामा लामो समय रहनेछैन । होइन भने श्रमबञ्चित तथा भोको अवस्थामा रहेको मान्छेको स्वास्थ्यबारे धेरै सोचिरहनु व्यर्थ हुनेछ ।  

श्रम तथा खाना अभावले मानिस शारीरिक तरिकाले मात्र होइन, मानसिक रूपमा पनि व्याधिजन्य हुनु स्वाभाविक हो । श्रम र रोजगार–स्वरोजगारका निम्ति सबै तहका सरकारले विभिन्न उत्पादनमूलक क्षेत्रको सम्भावना खोजेर त्यसमा विदेशबाट फर्केको जनशक्तिलाई परिचालन गर्न नितान्त आवश्यक छ । यसो गर्न नसकेको खण्डमा कोभिड महामारीले भत्काएको अर्थतन्त्र छिटै सुधारोन्मुख हुने देखिँदैन ।  

स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउन भौतिक पूर्वाधार उपकरण व्यवस्थाको साथै जनशक्ति र तिनीहरूको उपयुक्त प्रशिक्षणमा सबै स्तरका सरकारले लगानी गर्नुपर्ने छ । तर, स्वास्थ्य क्षेत्रमा जत्तिकै स्तरोन्नति गरे पनि आमनागरिकको देशव्यापी रूपमै आर्थिक उन्नति भएन, ती बेरोजगार रहने र आधारभूत आवश्यकताबाट विमुख हुने हुन् भने मानिसहरूको स्वास्थ्यमा कुनै सुधार देखापर्ने छैन ।

धारणा पुनर्विवेचना 

लाखौँ जनसंख्याले खाँदिएको काठमाडौं दशौँ वर्षदेखि मेलम्ची जप्दै गुणस्तहीन बोतलका पानीले आफ्नो सुकेको घाँटी भिजाउन बाध्य छन् । विभिन्न श्रम क्षेत्रबाट बिदा हुन बाध्य भएकाले अब कुन स्रोतले पानी किन्दै ‘बिनाकोभिड–१९ सुकेको घाँटी’ रसाउने ? महँगी बढेको कसैबाट लुकेको छैन । कति औषधि उद्योग बन्द हुने अवस्थामा छन् भने अरू बन्द नभए पनि आफ्नो लागत उठाउन त्यही अनुरूप मूल्य बढाउन बाध्य हुन सक्छन् ।

त्यस्तो भए उच्च रक्तचाप, मधुमेह, फोक्सोका दीर्घरोगी जस्ता बिरामीको हालत कस्तो होला ? जसको परिवारलाई रोजीरोटीको समस्याले पिरोलेको छ, ती कुनै पनि उपचारको निम्ति सरकारी अस्पताल पनि धाउन सक्दैनन् । यो सबै पृष्ठभूमिमा हाल सरकारी अस्पतालको स्तरोन्नति गर्न शड्ढया संख्या बढाइदिएपछि सबै समस्या समाधान हुन्छन् र सबैको गुणस्तर उच्च हुन्छ भन्ने सोच सधैँ सत्य हुँदैन । भेन्टिलेटरको संख्या वृद्धि गरी प्रशिक्षित जनशक्तिको व्यवस्था गर्न सकेनौँ भने त्यसले ठूलो अर्थ नराख्ला । 

विभिन्न क्षेत्रमा प्रशिक्षित जनशक्ति चिकित्सक, परिचारिका, प्राविधिक इत्यादिको तयारी भेन्टिलेटर किन्नुभन्दा ज्यादै अप्ठेरो र समय खाने कार्य हो । एक दिन यो सबै नगरी धर छैन । त्यति हुँदाहुँदै पनि देशको चौतर्फी विकास नगरे यो कार्य मात्रले सोचेको फल दिने छैन । परम्परागत ढाँचामा सबै कार्य गर्न रमाउने हामीलाई कामप्रतिको सोच र धारणामै फरक ल्याउन अनिवार्य भइसकेको छ ।  

लकडाउन विवेकशील त्यस अर्थमा कि कुनै गाउँ, नगर अथवा कुनै क्षेत्र संक्रमणविना छ भने त्यहाँ बस्नेलाई लकडाउन गरेर राख्नुभन्दा उनीहरूको क्षेत्रमा कसैलाई प्रवेश गर्न नदिने । भित्र भएकाले सबै कार्य पूर्ण रूपमा अनुशासित, इमानदार र सावधानीका साथ सम्पन्न गर्ने । कोरोना संक्रमण नहोस् भन्न त्यही ठाउँका बासिन्दाले सुरक्षाकर्मी र स्वयंसेवकको निगरानीमा सतर्कता अपनाउने ।

कोभिड र वास्तविकता  

देश अब कोभिड–१९ को महामारी अनुभव गर्ने अवस्थामा पुग्दै छ । छोटो समयमा बिरामीको संख्या बढेर धेरैको मन–मस्तिष्कमा त्रास पैदा गरेको छ । समयमै गरिएको लकडाउन र त्यसको नागरिकले गरेको पालनाले सुरुमा बिरामीको संख्या कम थियो । पछि गएर नेपाल भित्रिने भारतबाट आएका देशबासीलाई सिमानामा अव्यावहारिक तरिकाले रोक्दा ठूलो संख्यामा महाकाली तैरिनेदेखि चोर बाटो अपनाउँदै बाध्य भएर छिरे । तिनीहरूमध्ये कोइ क्वारेन्टाइनमा बसे, अरू यताउता छरिए । क्वारेन्टाइनमा भएकाले पनि सधैँ र सबै ठाउँमा उपयुक्त वातावरण पाएनन् । ती सबैको परीक्षण समयमै हुन सकेन । पछिल्लो समयमा परीक्षण २० प्रयोगशालाबाट बढी संख्यामा हुन थालेकाले बिरामी ह्वात्तै बढेजस्तो देखियो । यसबाट त्रसित हुनुभन्दा पनि वास्तविकता सतहमा आएकाले खुसी हुनुपर्छ ।  

परीक्षण उद्देश्य 

नेपालमा दुई प्रकारका परीक्षण प्रयोगमा छन्– पीसीआर र आरडीटी । पीसीआर–व्यक्ति विशेषमा रोग पहिचान गर्न प्रयोग हुन्छ । स्याम्पल लिएको ठाउँ (घाँटी, नाकभित्र, फोक्सोभित्र) अनुरूप भाइरस देखापर्ने सम्भावना फरक हुन्छ । त्यो बाहेक स्याम्पलमा भाइरसको घनत्व कति छ, त्यसले पनि परिणाममा असर गर्छ । पीसीआर बाहिरबाट आएका र उनीहरूको सम्पर्कमा आएका सबै व्यक्तिमा गर्न पर्छ । आरडीटी– व्यक्ति विशेषको रोग पहिचान गर्न गरिने परीक्षण होइन । यो परीक्षणले संक्रमित बिरामीको रगतमा आइजिएम तथा आइजिजी नामक प्रोटिन एन्टिबडी उपस्थित छ या छैन भन्ने देखाउँछ । 

भाइरस संक्रमण भएको तीन दिनदेखि आइजिएम उत्पादन सुरु हुन्छ । त्यसैले यो परीक्षण पोजेटिभ देखापरे शरीरमा संक्रमण छ भन्ने जनाउँछ । करिब दुई सातापछि आइजिजी एन्टिबडी देखापर्ने हुन्छ । त्यो भनेको शरीरमा संक्रमण थियो, तर संक्रमणमुक्त भयो । आरडिटी र पिसीआर पोजेटिभ भनेको शरीरमा संक्रमण छ । तर, आरडिटी पोजेटिभ र पिसीआर नेगेटिभ भनेको कुनै समय संक्रमित बिरामी हाल भाइरसमुक्त छ । यी दुवै टेस्ट नेगेटिभ भए हालसम्म ऊ भाइरस संक्रमित रहेनछ भन्ने बुझाउँछ । कुनै व्यक्तिमा आरडिटी नेगेटिभ हुँदा पिसिआर पोजेटिभ आए ऊ दुई दिनभित्र मात्र संक्रमित भएको रहेछ, उसको शरीरले प्रतिरक्षात्मक एन्टिबडी उत्पादन अझै नाप्न सकिने स्तरमा बनाउन सकेको छैन भन्ने जनाउँछ । आरडिटी, सर्भिलेन्स(निगरानी तथा महामारी अध्ययन गर्न प्रयोग हुन्छ ।  

महत्वपूर्ण कार्य  

अहिले महत्वपूर्ण कार्य भनेको सर्वप्रथम सबै क्वारेन्टाइनमा भएकाहरूको परीक्षण गरेर पोजेटिभ केस पहिचान गर्ने । तर, तीतो यथार्त बिर्सनु हुन्न कि परीक्षण नेगेटिभ भनेको कोरोना संक्रमण छैन भन्ने शतप्रतिशत प्रमाण होइन । अर्को तथ्य निर्णायक एकल आधार नहुने भएकाले विभिन्न तरिकाबाट कोभिड–१९ छैन भनेर परीक्षण गर्नुपर्ने हुन्छ । कम स्रोत–साधन, समय, सीमित अनुभवी जनशक्तिका भरमा जति परीक्षण भएको छ, त्यो उत्साहजनक छ । तर लक्ष्य अधिकतम परीक्षण संख्या र क्वालिटी दुवैमा गर्ने हुनुपर्छ ।  

दोस्रो महŒवपूर्ण कार्य हो– विवेकशील लकडाउन । यो भनेको कोभिड १९ आयातीत संक्रमण भएकाले हाम्रा सबै सीमाबाट त्यसलाई भित्रिन नदिन स्वदेश छिर्ने सबैलाई क्वारेन्टाइनमा राख्ने र तिनीहरूको परीक्षण गर्ने । क्वारेन्टाइनमा बस्नेहरू माझ एकले अर्कोलाई कोभिड भएका खण्डमा नसारोस् भन्न मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने । क्वारेन्टाइनमा भएकाहरूको खाना, पानी, स्वच्छ हावा, बस्ने–सुत्ने व्यवस्था स्थानीय सरकारले पूर्ण रूपमा गर्नुपर्छ । यसमा प्रदेश तथा केन्द्रीय सरकारले सहयोगी भूमिका विशेषज्ञ, चिकित्सक, परिचारिका समयमै पठाएर गर्ने ।  

लकडाउन विवेकशील त्यस अर्थमा कि कुनै गाउँ, नगर अथवा कुनै क्षेत्र संक्रमणविना छ भने त्यहाँ बस्नेलाई लकडाउन गरेर राख्नुभन्दा उनीहरूको क्षेत्रमा कसैलाई प्रवेश गर्न नदिने । भित्र भएकाले सबै कार्य पूर्ण रूपमा अनुशासित, इमानदार र सावधानीका साथ सम्पन्न गर्ने । कोरोना संक्रमण नहोस् भन्न त्यही ठाउँका बासिन्दाले सुरक्षाकर्मी र स्वयंसेवकको निगरानीमा सतर्कता अपनाउने ।  

तेस्रो कार्य हो– कोरोनासँग त्रसित भएर होइन, सक्दो बढी काम गरेर सुरक्षित भई बाँच्ने तरिका व्यवहारमा अपनाउने । खोक्दा, हाच्छ्युँ गर्दा निस्कने कणले अरूमा संक्रमण नफैलाओस् भन्न मास्क प्रयोग गर्ने । काममा र वासस्थान पुगेपछि सर्वप्रथम साबुनपानीले हात धुने । सामाजिक दूरी कायम गर्दै लाइनमा बस्ने र भीडभाड नगर्ने । संक्रमण फैलन रोक्नु भनेको चेतनशील मानिसको सामाजिक उत्तरदायित्वको पहिचान हो । त्यसैले आउँदा दिनमा यो पहिचान प्रत्येक नागरिकले वहन गरेर आफ्नो सामाजिक उत्तरदायित्व निभाउनुपर्नेछ । संक्रमण फैलिन रोक्न गर्नुपर्ने सबै कार्यको पालना गर्नु अब कोभिड युगको प्रत्येक मानिसको आधारभूत कर्तव्य हुनुपर्नेछ ।

(लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।)

प्रकाशित: २४ जेष्ठ २०७७ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App