४ वैशाख २०८१ मंगलबार
विचार

भेरी नदीमा बगेको विवेक

रुकुममा हत्या गरिएका नवराज विक

नवराज विकको प्रेम कहानी उनको क्षतविक्षत शवसँगै भेरी नदीमा विसर्जन भएको छ।  भर्भराउँदो जवानीमा प्रेमको वसन्त फुलाउने मीठो सपना बोकेर प्रेमिका भेट्न रुकुम चौरहजारी पुगेका नवराज जातीय अहंकारवादीहरूको सिकार बनेर सदाका लागि अस्ताए।  उनको खुसीमा साथ दिन गएका उनका ५ जना साथीले समेत जीवन गुमाए।   यो दर्दनाक र पाशविक घटनाले मानवीय संवेदनामै प्रश्न उठाएको छ।   अब यो, नेपाली समाजको छातीमागहिरो घाउ बनेर अनन्तकालसम्म रहनेछ।  

बाँच्न पाउनु, मानिसको सबैभन्दा महत्वपूर्ण र पहिलो अधिकार हो।  यसैकारण हाम्रो देशले फाँसीको सजाय दिने कानुनी व्यवस्थलाई बन्देज लगाएको छ।  जतिसुकै अपराध गरे पनि हाम्रो मुलुकको कानुनले मृत्युदण्डको सजाय दिँदैन।  तर अन्तरजातीय प्रेम गरेकै कारण समाजले मानिसको अमूल्य जीवनलाई ढुंगामुढाले हानीहानी समाप्त पारिदिएको छ। एक होइन, दुई होइन, ६/६ जनाको जीवन ! यो घटना मानव सभ्यता, मानवीय चेतना र विवेकमा ठूलो प्रश्नबनेर खडा भएको छ। यो घटनाले मानवीय संवेदनाको धज्जी उडाएको छ।  

यस घटनाका धेरै पर्दा खुलिसकेका छन् र अनुसन्धान अघि बढ्दै जाँदा बाँकी कुरा पनि खुल्दै जानेछन्।  विडम्बनात के छ भने यति ठूलो हत्याकाण्ड हुँदा पनि एकथरी मानिसअनेक बहानामा पीडित पक्षमाथि नै दोष थुपारिरहेका छन् र भनिरहेका छन्– ‘लकडाउनका बेला हुल बाँधेर किशोरीलाई अपहरणको शैलीमा लिन आएपछि प्रतिकार त भइहाल्छ नि !’ यस्तो कुतर्क गर्नेहरूलाई मेरो आग्रह छ–‘कृपया एकपटक नवराजका ठाउँमा आफ्नो छोरो राखेर सोच्नुहोस्।  अनि मात्र वास्तविकता महसुस गर्न सकिन्छ। ’ बीभत्स हत्याका अगाडि यस्तो निकम्मा कुतर्क गर्ने प्रायः पढेलेखेका शिक्षित भनाउँदाहरूनै बढी छन्, यो अर्को विडम्बना हो।  अन्ततः त्यस्तो तर्क गर्नेहरूले पीडकलाई सघाइरहेका छन् र उनीहरूको मनोबल बढाउने काम गरिरहेका छन्।  नवराजले गल्ती नै गरेका थिए भने पनि त्यसको सजाय त्यही हो ? विकल्प थिएन ? संसारका कति ठूलठूला समस्या/युद्ध वार्ताबाट समाधान भएका छन्।  

जहाँ गाईलाई लक्ष्मी मानेर पुजा गरिन्छ, कुकुर, बिरालोलाई प्रेमपूर्वक घरमा पालिन्छ।  तर त्यही देशमा एउटा मान्छेले अर्को मान्छेलाई अछूतको व्यवहार गर्छ।  दया, प्रेम, करुणा, विवेक, मानवता, कानुन कुनै कुराको मतलब नगरी मान्छेलाई पशुलाई जस्तै लखेटीलखेटी मार्छ।  

अर्कातिर यस घटनालाई जातीय हिसाबलेमात्र पनि हेर्ने गरिएको छ।  जाति एउटा कारण बन्न सक्छ, तर सम्पूर्ण रूपमा घटनालाई जातीय रूपमा हेर्ने कुराले पनि सत्यको नजिक पुर्या उँदैन र समस्याको सही समाधान पुग्न सकिँदैन। यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नवराज सबैभन्दा पहिले मानिस हुन्, त्यसपछि मात्र विक।  बाँच्न पाउने अधिकार जगत्का सम्पूर्ण मानिसको साझा अधिकार हो। यसको आयाम फराकिलो र विशाल छ।  मानिसको यो अधिकारलाई उच्च महत्व दिएर नेपालको संविधानले मौलिक हककारूपमा धारा १६ मा उल्लेख गरेको छ– ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। ’ तर निर्दोष मानिसहरूको मृत्युसँगै संविधानमा लेखिएको यो अधिकारको पटकपटक हत्या भएको छ। न पीडितले न्याय,न पीडकलाई सख्त कारबाही।  वास्तवम समस्या यहींबाट सुरु हुन्छ।  

देशमा प्रजातान्त्र आएको ३ दशक नाघिसकेको छ भने छुवाछूत मुक्त राष्ट्र घोषणा भएको पनि १३ वर्ष पूरा भइसकेको छ।  कानुनमा निजी तथा सार्वजनिक कुनै पनि ठाउँमा जातीय भेदभाव र छुवाछूत गर्न नपाइने उल्लेख छ।  दलित समुदायको सामाजिक मर्यादा र आत्मसम्मानका निम्ति बनेका कानुन कडाइ साथ लागू हुन नसक्नु एउटा समस्या हो भने अर्कातर्फ त्यसलाई कार्यान्वयन गर्ने तत्परता र इच्छा–शक्ति नहुनु झन् ठूलो समस्या हो।  जसको परिणाम आज पनि दलितप्रति हेर्ने सामाजिक दृष्टिकोण र व्यवहार निकै असहिष्णु र अनुदार छ।  

रुकुम हत्याकाण्ड दलित समुदायविरुद्ध लामो समयदेखि भइरहेको छुवाछूत र भेदभावको चरम रूप हो।  जातकै कारण विभिन्न बहानामा जीवन गुमाउने दलितको फेहरिस्त निकै लामो र कहाली लाग्दो छ।  आज पनि चुलो छोएको निहुँमा मनवीर सुनार, धारा छोएको निहुँमा मना सार्की, अन्तरजातीय विवाहकै कारण अजित मिजार, मञ्जन विक, शिवशंकर दास, संगीता परियार, अंगिरा पासी, सम्झना किसानहरूले ज्यान गुमाउनु परिरहेको छ।  समाजमा उस्तै–उस्तै प्रकृतिका घटना बारम्बार दोहोरिइरहेका छन्।  यसको कारण हो– देशमा कानुनी राज्यको अभाव, कानुनको अर्थपूर्ण कार्यान्वयनमा राज्यको इच्छा–शक्तिको कमी र अराजकता मौलाउनु।  

जाति जन्ममा आधारित एक पहिचानबाहेक अरू केही होइन।  विकास सिद्धान्तकाअनुसार जातिप्रथा सामाजिक विकास क्रममा उत्पत्ति भएको हो।  बिस्तारै समाजका टाठाबाठाले जातलाई आफ्नो अनुकूलतामा परिभाषित र बिस्तारित गर्दै गए।  जातिप्रथाले वास्तवमा संकीर्णता सिर्जना गर्नाका साथै आर्थिक प्रगति र सामाजिक भावनामा ठूलो बाधा खडा गरेको छ।  यो कुप्रथाले समाजलाई निश्चित कामको सीमामा बाँधेर, आफ्नो जात, पुर्खाले गरेका कामलाई नै निरन्तरता दिन प्रोत्साहन गरिरहेको छ।  जुन समाजको हित र प्रगति विपरीत छ।  जसले रोजगारीका असीमित मार्गमा पनि अवरोध पुर्या याइरहेको छ।  

जातिप्रथा भित्र छुवाछूत सबैभन्दा बढी निकृष्ट र घृणित छ।  वास्तवमा अपराध भनेको हत्या, बलात्कार मात्र होइन, अपराध त्यो पनि हो– जसले छुवाछूत र भेदभाव गरेर पलपलमा मानिसको मन दुखाइरहेका र हीनताको रसातलमा धकेलेर आत्मसम्मान कुल्चिरहेका छन्। यो झन् ठूलो अपराध हो।  

नेपालको उज्ज्वल भविष्यका निम्ति नेपाली जनताले गरेको अभूतपूर्व त्याग, बलिदान, समर्पणको अग्लो विरासत हामीसँग छ।  विभिन्न समयका शसस्त्र विद्रोह तथा  शान्तिपूर्ण आन्दोलनको बलमा देशमा राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यस्थापना गरियो।  नयाँ संविधान बनाएर राज्य पुनःसंरचनादेखि उत्पीडित वर्गका अधिकारसम्म अनेकौं व्यवस्था गर्न हामी सफल भयौं।  संविधानले मानवीय समानता र सम्मानका विषयमा धेरै कुरा बोलेको छ।  तर आज पनि हाम्रो समाजले नवराज विकहरूलाई स्वीकार गर्न सकिरहेको छैन।  ठकुरीको घरमा छोरी माग्न गएका नवराजहरू लास बनेर फर्किरहेका छन्। यसको कारण हो–हामीले राजनीतिक परिवर्तनका लागि जति बल लगायौं, त्यति सामाजिक/सांस्कृतिक परिवर्तनमा ध्यान दिएनौं।  सहिष्णुताको समाज निर्माण गर्न हामीले ठोस कदम के चाल्यौं ? मानिस–मानिसबीचमा रहेको असमानता अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न हामीले कस्तो शिक्षा दिइरहेछौं, हाम्रा सन्ततिलाई? हामी आफै दलित समुदायप्रति कति सहिष्णु र उदार बन्न सक्यौं ?सांस्कृतिक क्रान्तिमा हाम्रो भूमिका के हो?यस्ता पक्षमा व्यावहारिक र ठोस कदम चालिए मात्रैसमाज परिवर्तन सम्भव हुन्छ।  

महात्मा गान्धी,जसले हिंसा, असमानता र शोषणविरुद्ध जीवनभर शान्तिपूर्ण संघर्ष गरे।  आफ्ना लेख, भाषणमा जहिले पनि उनले दलितका पक्षमा वकालत गरे।  जबसम्म समाजमा सद्भाव हुँदैन, तबसम्म प्रगति सम्भव हुँदैन भन्ने उनको विचार थियो।  सबै मानिसलाई ईश्वरले समान रूपमा जन्म दिएका हुन्छन्, तसर्थ कसैलाई भेदभाव गर्न हुँदैन भन्ने सोंच राख्ने गान्धीले भनेका छन्–‘तिमी आफैं त्यो परिवर्तन बन, जुन तिमी समाजमा देख्न चाहन्छौ। ’ गान्धीको यो विचार निकै अर्थपूर्ण छ।  हामीले साँच्चै समानता, मानवता र न्यायपूर्ण समाज निर्माण गर्न चाहिरहेका हौं भने व्यावहारिक रूपमैत्यस दिशामा ठोस पहल गर्न जरुरी छ।  जुन समुदायको रगत/पसिनामा समाजको प्रगति चुलिएको छ, जसको सीप र श्रमले धर्ती सिंगारिएको छ, त्यही समुदायलाई अपमान गरेर न कसैको भलो हुन्छ, न देशको विकास हुन्छ।  हरेक व्यक्तिलेआफूमा गढेर बसेको रूढिवादी सोंच बदल्न सक्यो भने मात्र समाज परिवर्तन हुन सक्छ। आखिर व्यक्ति–व्यक्तिको समुच्च रूप नै समाज हो।  हरेक परिवर्तनको गणित एक बाटैसुरु हुन्छ।  

हामी त्यो देशका नागरिकहौं, जहाँ गौतम बुद्ध जन्मे।  बुद्धले संसारभर शान्तिको सन्देश मात्र छरेनन्, दुःखका कारण र निवारणको ज्ञान पनि बाँडे।  अनि हामी त्यस्तो मुलुकका नागरिक हौं, जहाँका वीरहरूको साहस र बलिदानले हामीलाई कहिल्यै गुलाम बन्न दिएन।  जुन भूमि ऋषिमुनिहरूको तपस्याले पवित्र छ।  जहाँ गाईलाई लक्ष्मी मानेर पुजा गरिन्छ, कुकुर, बिरालोलाई प्रेमपूर्वक घरमा पालिन्छ।  तर त्यही देशमा एउटा मान्छेले अर्को मान्छेलाई अछूतको व्यवहार गर्छ।  दया, प्रेम, करुणा, विवेक, मानवता, कानुन कुनै कुराको मतलब नगरी मान्छेलाई पशुलाई जस्तै लखेटीलखेटी मार्छ। योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ! विश्वका मानिस आफ्नो मस्तिष्क मानवीय हितमा संसार बदल्ने काममा लगाइरहेका छन्, तर हाम्रोदिमाग अमानवीय र कुरूप कर्ममा केन्द्रित भइरहेको छ।  प्रगतिको बाधक हाम्रो आफ्नै सोच, आचरण र कार्यशैली हो।  

अपराधशास्त्रीका दृष्टिमा अपराध समाजको एउटा भाग हो र अपराधको उद्गमथलो पनि समाज नै हो।  समाजमा हुने अनेकौं किसिमका असमानता, असन्तुष्टि, वैमनस्यता, प्रतिशोधको भावनाले अपराध सिर्जना हुन्छ।  तसर्थ यसको न्यूनीकरण समाजका सदस्य तपाईं हाम्रो सहयोगबाट मात्रै सम्भव हुन सक्छ।  

एउटा प्रसिद्ध भनाइ छ– ‘दुनियाँमा महान् बन्ने चाहना त धेरै मानिसमा हुन्छ, तर मानिसले सर्वप्रथम मानिस नै बन्न भुल्छ।’ मानिस हुनुको पहिचान नै ऊभित्र विवेक, मानवता, संवेदना, दया, करुणा हुनु हो।  यी कुराले नै मानिसलाई मानिस बनाएका हुन्छन्।  जब मानिसले अर्काको हितमा आफ्नो हित देख्न थाल्छ, अर्काको खुसीमा आफ्नो खुसी देख्न थाल्छ र त्यहीअनुसारको आचरण गर्न थाल्छ, तब मात्र मानिस कर्तव्यनिष्ठ र सुयोग्य नागरिक बन्न सक्छ।  

नवराज र उनका प्रिय साथीको दिवंगत आत्मालाई शान्ति प्राप्त होस्।  कुनै पनि बहानामा यो बीभत्स हत्याकाण्डका दोषी उम्किन नपाउन्।  क्रूरता र पाशविकताको पराजय होस्, मानवता र विवेकको विजय होस्।  नवराजको जीवनबाट प्रेमको फूल चुँडिए पनिउनको चिहानबाट फेरि न्याय र विवेकको पनि हत्या नहोस्।  सम्बन्धित निकायको यसमा ध्यान पुगोस्।  

(लेखक रत्नराज्य माध्यमिक विद्यालय, रामकोट, काठमाडौंकी शिक्षिका हुन्)

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App