५ वैशाख २०८१ बुधबार
विचार

खुसी खोज्ने मनहरू

क्याप्शन

‘लक–डाउन’ भनिने शब्दले चञ्चल मानिसलाई विचलित बनाइरहेको छ। श्रमजीवीहरूलाई भयाक्रान्त बनाएको छ। दुःख, पीर सबै पचाएर नियतिको सामना गरिरहेका अन्तरमुखीहरू अरू अशुभ नहोस् भन्दै कामना गरिरहेका छन्। अध्ययन, चिन्तन र टेलिफोनबाट आत्मीयजनहरूसँग सम्वाद गरेर समय व्यतीत गरिरहेका छन्, उनीहरू। कहिले पनि मसान्तपारिसम्म खर्च नपुग्ने ‘महिनावारि’ तलव वा सीमित खर्चले घर÷व्यवहार चलाउनुपर्ने वा कुनै सिप वा सानो व्यवसायले गुजारा गर्नुपर्नेलाई भविष्यको चिन्ताले अत्यधिक सताएको देखिन्छ। अर्थतन्त्र, प्राणरक्षा र समाजका विविध आयाम संसारका प्रसिद्ध सञ्चारमाध्यममा चर्चाको विषय बनेका छन्।

लेखक तथा ‘रेडियो स्पिकर’ अर्ल नाइटेंगलले लेखेका छन्– अरुले यदाकदा दिने खुसी स्थायी होइन। आफूलाई प्रसन्न राख्न आफैंले मनभित्रका सबै झ्याल खोल्नुपर्छ। सरर्र आउँछ, स्वच्छ हावा। भित्रको उकुसमुकुस हराउँछ। खुम्चिएर बस्दा, ठुस्स पर्दा अनि दुःखी पो भएँ भनेर सोच्दा मानिस कुन्ठित बन्छ।

पटकपटक भारतले नाकाबन्दी गर्दा, नेपाल र नेपालीलाई सताउँदा र उसको कमैया ठान्दा नेपाली युवा पुस्तामा नवीन चेतना आएको छ।

‘द एसेन्स अफ सक्सेस’ उनको चर्चित किताव हो। जीवनलाई उत्साहमय, उल्लासमय, हर्षोमय र कर्मशील बनाउन सजिलो छैन तर गाह्रो पनि छैन भन्छन् उनी।

मधुर वचन, प्रियजनको सद्व्यवहार, संस्कारित परिवार, आशामय कर्म, सबैको भलो चिताउने उदार हृदय र निस्वार्थ परोपकारमा मिल्छ खुसी। खुसीको दीपक हृदयमै छ। त्यसको ज्योति अझ आलोकित बन्छ सरल र निष्कपट व्यवहारले। आफू र परिवारको भलो सबै चाहन्छन् अरुको पीडा बुझ्ने थोरै हुन्छन्।

बाग्लुङ जाँदा एक जना समाजसेवीका बारेमा रोचक कुरा सुनाए स्थानीय भद्रहरूले। झण्डै नौ हजार रोपनी जमिन भएका (पछि बिर्ता प्रथा उन्मूलन हुँदा सरकारले धेरै अधिग्रहण ग¥यो) एक जमिनदार रहेछन् त्यहाँ। चन्द्रशमशेरको पालाभन्दा पहिलेदेखिको सम्भ्रान्त परिवार। मन्दिर, विद्यालय, बाटोलगायत विभिन्न विकास निर्माणमा प्रशस्त चलअचल सम्पत्ति दान गरेछन् उनले।

उनको व्यवहार सरल र सदाचारपूर्ण थियो भन्छन्, समकालीन र समवयीहरू। एकपल्ट आफ्नै जमिनमा आश्रित व्यक्तिले मुद्दा हालेछ उनलाई। ऊबेला मुद्दा खेप्न पैदल जानुपथ्र्यो, पोखरासम्म। टाढाको बाटो, नोकरचाकरसहित पकाउने, खाने, बिछ्यौना सबै बन्दोबस्तसहित उनी लावालस्कर जान्थे, अदालततिर। झगडिया दरिद्र थियो। उसलाई पनि साथमै लिएर सबै प्रबन्ध गरिदिन्थे। खर्चबर्च दिन्थे। मुद्दा आफँैले जितेपछि मोहीलाई नै आफ्नो जमिन बकस दिँदै भनेछन्– बाबु, तिमीले मुद्दा हारे पनि चित्त नदुखाऊ। हारेको जमिन तिमीलाई नै दिन्छु। परिवार राम्रोसँग पाल्नू। केही समस्या परे मलाई सम्झिनू।

अरुले उचालेर मुद्दा हाल्ने मानिस लज्जित भयो। आत्मग्लानि भयो उसलाई। सबैलाई ‘आफ्नो’ भन्ने जयबहादुर हमाल (ठकुरी) पर्वत, म्याग्दी र बाग्लुङमा प्रशस्त सम्पत्ति भएका धनी मात्र थिएनन्, उदाहरणीय थिए।  

देवीप्रसाद उप्रेतीले हजारौँ बिघा जमिन स्कुल, कलेज र मन्दिरलाई दिए। बाल्यकालमा पाँच÷सात पल्ट मैले देखेँ उनलाई। शाकाहारी थिए। कृष्णप्रणामी (निजानन्द सम्प्रदाय) भएकाले सात्विक भोजनमा रमाउँथे। राजा महेन्द्रले मन्त्री बन्न बोलाउँदा मानेनन् उनले। पदको लोभ छँदै थिएन। उनले स्कुल–कलेजहरू खोलेर खुसी र शिक्षाको ज्योति फैलाए। उनले लेखेका छन्– प्रेमबाहेक मानवलाई जित्ने अर्को हतियार छैन।

असल, उदार, सरल, इमानदार, शिष्ट, शालीन, मृदुभाषी, विनयी, संस्कारी तथा धार्मिक चरित्रका मानिस नेपालमा विस्तारै हराउँदै गएका छन्। राजनीति, सेना, प्रहरी, निजामती, वाणिज्य, उद्योग, कूटनीति, समाजसेवालगायत यावत क्षेत्रमा ‘आधारभूत चरित्र’ बलियो थियो।

म सम्झिरहेको छु, झन्डै चालीस वर्षपहिले भारतको सिलीगुडीमा उपचार गराउन जाँदा डाक्टरले भनेका थिए– मेरा छोराछोरीले नेपाल हेर्न खोजेका छन्। आज मेरो घरमा बस्नुहोस्। भोलि आइतबार हामी सपरिवार जाउँला। दमकमा मेरी श्रीमतीकी साथी छिन्। दार्जिलिङको लोरेटो कलेजमा सहपाठी थिइन उनी। उनकै घरमा एकरात बसेर सोमबार बिहान फर्किन्छौँ हामी।

आइतबार बिहान खाजा खाएर हामी नेपालतर्फ लाग्यौँ। कक्षा सातमा पढ्ने छोरी र नौ कक्षामा पढ्ने छोराले अनेक प्रश्न गर्दै थिए। डाक्टर जवाफ दिँदै थिए– सानो छ नेपाल तर यो देवभूमि हो। भारतमा जस्तो लडाइँ झगडा छैन। जात, धर्म र ‘तेरो–मेरो’ भनेर निरर्थक बहस गर्दैनन् नेपाली। सबै मिलेर बसेका छन्। भारतमा मुसलमान र क्रिस्चियनले नौ सय वर्ष जति शासन गरे। नेपालमा सधैँ नेपालीले मात्र शासन गरे। कसैलाई राज गर्न दिएनन्।

डाक्टरको अन्तिम वाक्य सुनेपछि म भावुक भएँ। मनमा अनेक प्रश्न समुद्रको छालझँै आइरहे। डाक्टरकी पत्नीले सोधिन– ‘नेपालका राजालाई हिन्दु, बौद्ध, मुसलमान सबैले उत्तिकै सम्मान गर्छन्, रे, हो ?’ मैले भनेँ– ‘हो म्याडम, राजाप्रति सबैको धारणा राम्रो छ।’ राजा वीरेन्द्र दार्जिलिङमा पढ्थे भन्ने उनले सुनेको बताइन्।

युधिष्ठिर महाराजले महाभारतमा भनेका छन्– ‘बहुसंख्यक जनता प्रसन्न छन् र मंगल कार्य भइरहन्छ भने त्यो राष्ट्रका शासक असल छन् भन्ने बुझिन्छ।’ हामीले विगतमा भोगेको खुसी, नेपालीको एकता र विश्वास तथा राष्ट्रनायकप्रतिको भरोसा दन्त्यकथा बन्दैछ। सयाँै करोडको सम्पत्ति हुनेहरूदेखि लिएर ‘भरे के खाने ?’ भन्दै चिन्तित हुने सबै अदृश्य भय, अनिश्चित भविष्य र बेवारिस सपनाका कैदी बनेका छन्।

आजको संकट पुनः दाहोरिन सक्छ। तसर्थ, यसबाट उब्जिने राजनीतिक, आर्थिक र सामाजिक संकट अरु भयाबह हुन सक्छ। लाखौँ बेरोजगार र अभावग्रस्त जनता तथा ‘हुने–खाने’ वर्गबीच शक्तिसंघर्ष अरु भएमा त्यसबेला राजनीतिशास्त्रले काम गर्दैन। शास्त्र गौण र शस्त्र प्रवल बन्न सक्छ।

अर्थशास्त्री अमत्र्य सेनले लेखेका छन्– ‘हरेक मानिसमा केही क्षमता हुन्छ। त्यसको उपयोग गर्ने अवसर पाएन भने मानिस दरिद्र बन्छ।’ हुन पनि हो, साउँ अक्षर नचिनेका लाखौँ नेपालीले कृषिका परम्परागत शैली बुझेका छन्। दुर्लभ वनौषधि चिनेका छन्। आत्मनिर्भर हुने कला जानेका छन्। तर उमेर, स्वास्थ्य, प्रतिकूल मौसम र महामारी जस्ता कारणले सधैँ सक्रिय हुन सक्दैनन् उनीहरू।

घरेलु कपडा, भाँडाकुँडा, जुत्ता, चित्रकला, मूर्तिकला, खाद्यान्न, खाने तेल, दाललगायतका धेरै कुरामा आत्मनिर्भर बनेको नेपालले आत्मरक्षा, उन्नयन र स्थायी खुसीका लागि दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्दै जानुपर्ने देखिन्छ। घरका झ्यालढोका बलियो नभएसम्म च्यातिएको झुलबाट लामखुट्टेको जुलुस पसेझँै अनागरिकहरू बढ्दै जानेछन्। एक हजार आठ सय किलोमिटर सिमाना लथालिङ्ग हुँदा हरेक दिन समस्या बढेको जगजाहेर छ। नेपालको उच्च तहमा पुगे पनि आफूलाई सिमानापारिकै ठान्नेहरू धेरै छन्। राष्ट्रको भन्दा परराष्ट्रको चिन्ता गर्ने राजनीतिकर्मी, बुद्धिजीवी, कर्मचारी वा उद्योगी÷व्यापारीका कारण गोपनीयता छोप्ने बस्त्र जताततै उध्रेको छ।

पृथ्वीनारायण शाहपछि प्रतापसिंह, रणबहादुर, गिर्वाण, राजेन्द्र, सुरेन्द्र, त्रैलोक्य, पृथ्वीवीरविक्रम, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र राजा भए। त्यो २४० वर्षको कालखण्डमा नेपालले कैयन् दुर्घटना भोग्नुप¥यो। त्यति हुँदा पनि राष्ट्रिय एकता, आपसी विश्वास र जनताको खुसी मरुभूमि भएन। राजा, सेना र जनताले राष्ट्र बनाए। परावलम्वी, पराधीन पराजित हुनु परेन। आत्माको क्रय–विक्रय भएन। सुनको पिँजडा भन्दा परालको झुप्रो सुन्दर भन्ने मान्यता थियो।  

राष्ट्र सबल, सक्षम र स्वावलम्बी बनोस् भन्ने सदासय राखेर पुर्खाहरूले बहुजनको हितमा काम गरेका प्रचुर उदाहरण दिएका छन्, इतिहासकारहरूले। मर्ने बेलामा पनि राष्ट्रको चिन्ता गरे। राजा महेन्द्रलाई सम्झिँदै उनका पालामा प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्ट भन्थे– ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ हुकुम भयो महेन्द्र सरकारबाट। त्यो सम्झँदा आज पनि आँसु आउँछ।

महाशिवरात्रिको मध्यारातमा प्राण त्यागे, जंगबहादुरले। रणोद्वीप, धीरशमशेर तथा जंगका छोराहरू पत्थरघट्टा (रौतहट) पुग्न समय लाग्यो, काठमाडौँबाट। जंगबहादुरका छोरा पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’ (जंगबहादुरको जीवन) बडो रोचक र पठनीय छ। त्यसमा जेठी महारानीले शोकाकुलजनलाई सम्बोधन गरेको प्रसंग छ। उनी भन्छिन्– नेपाल र नेपालीको हितमा महाराजले जीवन अर्पण गरेको तिमीहरूलाई थाहा छ। कर्तव्यपालन गर्दा जानीनजानी मन, वचन र कर्मले चोट पुगेको भए म महाराजका तर्फबाट क्षमा चाहन्छु।

ससाना केटाकेटी हुने रानीहरूलाई सती नजाऊ भन्दै रोकिन जेठी महारानीले। वाग्मतीको सुरम्य तटमा बनाइएको चितामा जंगबहादुरको देह जल्दै थियो। सिन्दुर–पोते र रातो पोशाकमा सजिएका थिए, चितामा जल्न तयार महिलाहरू। एउटामा जंगबहादुर र जेठी महारानी जल्दै थिए। अर्का दुई चितामा जंगका प्रेमिकाहरू। सन् १८५८ जनवरी ५ मा ब्रिटेन सरकारले जंगलाई १७ तोपको सट्टा १९ तोपको सलामी दिने निर्णय गरेको थियो। नेपालका राजालाई ब्रिटेनका राष्ट्राध्यक्षसरह २१ तोपको र प्रधानमन्त्रीलाई १९ तोपको सलामी दिने निर्णय भनेको नेपाल र ब्रिटेनको स्वतन्त्रता, अस्तित्व र सार्वभौमसत्ता समान मानिन्छन् भनिएको हो।  

संकट एउटा चुनौती मात्र होइन, अवसर पनि हो। पटकपटक भारतले नाकाबन्दी गर्दा, नेपाल र नेपालीलाई सताउँदा र उसको कमैया ठान्दा नेपाली युवा पुस्तामा नवीन चेतना आएको छ। स्कुल पढ्ने विद्यार्थीको हृदयमा पनि छिमेकी कति दुष्ट रहेछ भन्ने छाप परेको छ। हामीले झन्डै सत्तरी हजार हेक्टर भूभाग गुमाएको ‘नेपालको सिमाना’ पुस्तकमा बुद्धिनारायण श्रेष्ठले लेखेका छन्। भारतले क्षतिपूर्ति हुन नसक्ने विश्वास, भरोसा र प्रेम गुमाइरहेको छ।

धेरैपल्ट पछारिँदै उठेका छौँ हामी। संकट त कालो बादल हो, सधैँ रहँदैन। स्थायी त सूर्यको आलोक हो। रात लामो भए पनि अवश्य उज्यालो हुन्छ। कूटनीति बिटुलिँदै जाँदा नेपाल र भारतबीच मनको दूरी बढ्दैछ। कुनै दिन दिल्लीमा बसेका दादाहरूले बाटो छेक्ने पुरानो शैली दोहोरिन सक्छ। मनीषा कोइरालाविरुद्ध आक्रोसित भारतीय मिडियाले सत्य अन्वेषण गरेनन्। बरु लोधीरोड र साउथ–नर्थ ब्लकको आदेश नै खबर ठाने।

सत्तरी साल भन्दा पुरानो डेमोक्रेसी देखाएर जनता ठगिरहेछन्, नेपाल र भारतका नेता (?)। तर डेमोक्रेसी (प्रजातान्त्रिक शासन  त जनताको मुहारमा देखिन्छ। हामीले भोगिरहेको राजनीतिमा कहाँ छ डेमोक्रेसी ? सरकारले कति दिएको छ, खुसी ? तर पनि जनता पर्खिरहेका छन्, अनन्त र अशेष खुसी।

 

प्रकाशित: १० जेष्ठ २०७७ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App