२३ जेष्ठ २०७७ शुक्रबार
विचार

सर्वत्र पूजनीय शनि देवता

सन्दर्भः शनि जयन्ती

शनि देवता

हरेक वर्ष जेष्ठकृष्ण औंसीका दिन शनि जयन्ती मनाउने गरिन्छ । भगवान् सूर्यका पत्नी छायादेवी (सुवर्ण) बाट जन्मिएका शनि देवताको जयन्ती जेष्ठकृष्ण औँसी शनिबार प¥यो भने ‘शनि अमावश्या’ भनि महासंयोग परेको मानिन्छ । यस्ता महासंयोग यदाकदा परेको पाइन्छ । नेपालमा शनि जयन्ती मनाइएको पाइँदैन । भारतमा भने धुमधामसँग विभिन्न ठाउँमा शनिको पूजापाठ गरी शनिको मन्दिरमा हजारौं भक्तजनले शनिजयन्ती मनाउँछन् । 

नेपालमा शनि जयन्ती नमनाए पनि हरेक हप्ता शनिबारका दिन विभिन्न देवस्थल र विभिन्न स्थानमा रहेका पिपलको बोटमा जल चढाई शनिदेवलाई मान्ने गर्छन् । नेपालको देवपाटनमा बछलादेवीको मन्दिरनजिकै एउटा सानो शनिको मूर्ति छ । भक्तजनहरू त्यहीं गएर शनि देवताको पूजा गर्छन् । कतिपय पिपलको बोटमुनि शनिको मूर्ति स्थापना गरिएको पाइन्छ, त्यहीं गएर पनि भक्तजनले पूजाआजा गर्छन् ।

नवग्रहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ ग्रह शनिदेव यमराज, यमुना, भद्राका भाइ हुन् । कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो । पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटर्न, उर्दुमा जुदूल, फारसीमा केदवान, अरबीमा जुहुल भनिन्छ भने संस्कृतमा शनि । शनिको दशवटा प्रसिद्ध नाम यम, बभ्रु, पिप्पलाश्रय, कौणस्थ, सौरी, शनैश्चर, कृष्ण, रोद्रान्तक, मन्द र पिंगल हुन् । यस्तै, पौराणिकशास्त्रका अनुसार अन्य प्रसिद्ध नाम यमागज, रविपुर, सूर्यपुत्र, दापातंयज, अकैसुवन, असित सौकि, नीलकाय, क्रूर कुशाग, कपिलाक्ष र पंगु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन, राजनीति र अध्यात्मका विषयमा दिने गर्छन् ।  

महादेवको वरदान अनुसार सबै देवता र ग्रहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डाधिकारी हुन सकेका शनि देवको दुःख, कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्रह्मपुराण अनुसार शनि बालककालदेखि नै भगवान श्रीकृष्णका अनन्य भक्त थिए । शनि जन्मँदा नै कालो र कुरूप भएकाले शनिका बाबु सूर्यले आमा छायाको चरित्रमा शंका गरी ‘यस्तो छोरा मबाट भएकै होइन’ भनेकाले शनिको हृदयमा ठूलो चोट लागेको थियो । आखिर नराम्रो कालो भए पनि शनि युवा हुनेबित्तिकै चित्ररथकी छोरीसँग विवाह भयो । अत्यन्तै राम्री पत्नी पाएर शनि रमाइरहन्छन् । 

तर एक दिन राति शनिकी श्रीमती ऋतु स्नान गरेर पुत्र प्राप्तिको इच्छा राखी आउँदा शनिले भगवान कृष्णको ध्यान गरिरहेका थिए । श्रीमतीले प्रतिक्षा गर्दागर्दै थाक्छिन् । उनको ऋतुकाल पनि निष्फल बन्न पुग्छ । अनि अत्यन्तै क्रोधित भई श्राप दिन्छिन् कि ‘आजदेखि तपाईंले जसलाई हेर्नुहुन्छ उसको नाश होस् ।’ ध्यान गर्न सकेर शनिले आफ्नो श्रीमतीलाई फकाउन त सफल हुन्छन् तर श्रापको प्रतिकार गर्ने शक्ति शनिसँग हुँदैन । त्यसबेलादेखि शनिको दृष्टिलाई क्रूर मानिएको हो । शनिले पनि आफ्नो दृष्टि कसैमा नपरोस् भनि निहुरेर हिँड्ने गरे । यति मात्र होइन, शनिकी श्रीमतीले अर्को एउटा भयानक श्राप पनि दिएकी रहिछन् । त्यो हो नपुंसक अर्थात पुरुषत्वहीन । यस्तो दुःखपूर्ण जीवन व्यतित गरिरहेका हुन्, शनि देवताले । त्यसो भए शनि घमण्डी र क्रूर स्वभावका हुन् भनी शास्त्रमा वर्णन गरिएको छ ।  

भारतमा भने धुमधामसँग विभिन्न ठाउँमा शनिको पूजापाठ गरी शनिको मन्दिरमा हजारौं भक्तजनले शनिजयन्ती मनाउँछन् । नेपालमा शनि जयन्ती नमनाए पनि हरेक हप्ता शनिबारका दिन विभिन्न देवस्थल र विभिन्न स्थानमा रहेका पिपलको बोटमा जल चढाई शनिदेवलाई मान्ने गर्छन् ।

आनन्द रामायणका अनुसार जब भगवान श्रीरामका सेनाले लंकामा जान सेतु बाँध बनाइरहेका बेला राक्षसहरूले बाधा–अड्चन पार्न नसकोस् भनी रेखदेख गर्ने जिम्मा हनुमानलाई दिइएको थियो । साँझको बेला हनुमान त्यहीँ श्रीरामको ध्यान गरिरहेको अवस्थामा शनि आएर भन्छन्,, ‘हे बाँदर म देवताहरूमध्ये शक्तिशाली शनि हुँ । मैले सुनी राखेको छु कि तिमी अत्यन्तै बलवान छौ । आँखा खोल, मसँग लड्न आऊ, मसँग युद्ध गर ।’ तर हनुमानले नरम भएर जवाफ दिन्छन्, ‘यो समयमा म प्रभु श्रीरामको ध्यान गरिरहेको छु । मेरो ध्यानमा बाधा नपुर्याउनुस् ।’ तर शनिले मान्दैनन् । जब उनी लड्न तयार भए, हनुमानले शनिलाई आफ्नो पुच्छरमा बटारिदिन्छन् । शनि हनुमानको पुच्छरको बन्धनबाट मुक्त हुन नसकेर छटपटाउँछन् ।

शनिको घमण्ड तोड्न हनुमानले ढुंगामा पुच्छर बजार्न सुरु गरे, जसकारण शनि रगताम्य भई शरीरभरि नै घाउ चोट लाग्छ । यति भइसकेपछि मात्र शनिले माफी मागेर ‘मलाई छाडिदेऊ’ भनी हनुमानसँग प्रार्थना गर्छन् । अनि हनुमानले भन्छन्, ‘मैले छाडिदिन्छु तर मलाई वचन देऊ कि श्रीरामका भक्तहरूलाई कहिल्यै पनि दुःख दिन्नँ भनेर ।’ अनि शनिले माफी माग्दै भन्छन्, ‘मैले वचन दिन्छु, कहिल्यै पनि तपाईं र श्रीरामका भक्तहरूलाई दुःख दिनेछैन ।’ त्यसपछि हनुमानले शनिलाई छाडेर शनिको घाउमा लगाउन तेल दिन्छन् । त्यही तेलले शनिको सबै घाउ र दुखाइ पनि निको हुन्छ । त्यसैबेलादेखि शनिको पूजा गर्दा तेलले मालिस गरिँदै आएको हो ।  यही आख्यान अनुसार हनुमानका भक्त र श्रीरामका भक्तहरूलाई शनिले छुन सक्दैन भन्ने जनविश्वास छ ।  

त्यस्तै अर्कौ एउटा प्रसंग छ । जब लंकाका राजा रावणकी श्रीमती मन्देश्वरी गर्भावस्थामा हुन्छिन्, तब सबै ग्रहलाई आफ्नो इच्छा अनुसार स्थापित गरी रावणले ‘दीर्घ आयु भएको कसैले जित्न नसक्ने महाबलि पुत्र जन्मियोस्’ भनी इच्छा राखेका रहेछन् । तर जब रावणका पुत्र मेघनाथको जन्म हुन्छ, उक्त समयमा शनिले आफ्नो स्थान परिवर्तन गरिदिन्छन्, जुन रावणका पुत्र अल्पायु र समय नहुँदै मृत्यु हुने संकेत थियो ।

ज्योतिषशास्त्र अनुसार शनि अकाल मृत्युका कारक हुन् । पुत्र जन्मेको समयमा पुत्रको चिना हेर्दा रावणले रिसाएर शनिको खुट्टामा गदा प्रहार गरिदिन्छन् । त्यसैवेलादेखि शनि अपांग हुन्छन् । त्यसै बेलादेखि नै शनेश्चर अर्थात् बिस्तारै हिँड्ने शनैश्चर हुन गए । शनि पनि कम छैनन्, उनले पूरै लंकामा क्रोधित वक्रदृष्टिले हेरिदिन्छन् । पछि हनुमानले लंका दहन गरी कालो बनाइदिन्छन् ।  

शनिको जन्म हुँदा कालो वर्णको भएकाले सूर्यदेवले आफ्नी पत्नी छायालाई दोष दिई आफ्नो पुत्रलाई मेरो होइन भनेकाले शनिले आफ्नी आमालाई अपमान गरेको सहन नसकी वर्षौं भोकै बसी महादेवको घोर तपस्या गर्छन् । अनि महादेव प्रशन्न भएर वरदान माग भन्दा शनिले प्रार्थना गर्दै भन्छन्, ‘मेरी आमा अपमानित भएर बस्नुपरेको छ । 

आमाको इच्छा यो छ कि म पिताभन्दा धेरै शक्तिशाली र सबैको पूजनीय बन्न सकौँ ।’ अनि महादेवले वरदान दिँदै भन्नुहुन्छ, ‘नवग्रहमा तिम्रो स्थान सबैभन्दा माथि पर्नेछ र सर्वश्रेष्ठ हुनेछ । तिमी तिनै लोकमा न्यायाधीश र दण्डाधिकारी हुनेछौ । मानिसको त के कुरा देवता, असुर, सिद्ध, गन्धर्व र नाग पनि तिम्रो नामबाटै भयभीत हुनेछन् ।’

शनिको वक्रदृष्टि अर्थात् साढे साती वा शनि अढैया दशा लागेर धेरैले धेरै नै दुःख भोग्नुपरेको प्रसंग सुन्न र पढ्न पाइन्छ । साढेसाती शनि दशा कसलाई मात्र लागेको छैन र ? मर्यादा पुरुषोत्तम श्रीराम, महापण्डित रावण, पाण्डव र द्रौपदी त्यस्तै महाप्रतापी राजा विक्रमादित्य, दानशीलतामा प्रख्यात राजा हरिशचन्द्र, राजा नल र रानी दमयन्ती सबैलाई साढे साती शनि दशा लागेको थियो । शनिको प्रकोपबाट भगवान्का अवतारहरू त बच्न सकेका छैनन् भने साधारण मानिसहरू शनिको प्रकोपबाट बच्न सक्लान् ? त्यसैले शनिको नाम लिँदा मात्र पनि मानिसहरूको मनमा एक किसिमको डर–त्रास उत्पन्न हुने गर्छ ।  

शनिको दशा लाग्दा मानिसहरूले अत्यन्तै दुःख भोग्नुपर्ने हुन्छ । शनिको वक्रदृष्टि नलागोस् भनी मानिसहरूले चिन्ता लिइरहेका हुन्छन् । हुन त सबै नवग्रहको आ–आफ्नै विशेषता छन् । शुभ–अशुभ प्रभाव छन् तर यी सबैमध्ये शनि ग्रह यस्ता ग्रह हुन् जसका श्रीमतीहरूको नाममा पाठ जप गरेमा शनि प्रशन्न हुन्छ । त्यसैले शनिका श्रीमतीहरूको नाम यस प्रकार उल्लेख गरिएको पाइन्छ :

ध्वजिनी , धामिनी चैब कंकाटी कलह प्रिया ।

कलही, कंटकी चैब ज्वालामुखी सुलोचना ।।

शनि पत्याश्च बामनि प्रत सत्यम् यः पठेत ।

तपस्या शनैश्चरी पीडा न भविस्यंति ।।

यसरी शनिका पत्नीहरूको नाम लिँदै प्रार्थना गरी पाठ गर्नाले शनिले पीडा नदिने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । यो कुरा यथार्थमा सत्य पनि हो । यदि लक्ष्मी प्रशन्न भइन् भने भगवान विष्णु पनि प्रशन्न भई दिनुहुन्छ । त्यस्तै पार्वतीको पूजा गरी प्रशन्न पार्न सके महादेव प्रशन्न भई सम्पूर्ण दुःखबाट मुक्त पारी दिनुहुन्छ ।  

भक्तहरूलाई अभयदान दिने, बिघ्न नाश गर्ने शनिदेवसँग परिचित भए पनि मानिसहरू शनिदेखि डराइरहन्छन् । मानिसहरूले शनिदेव घातक हुन भनी सम्झिरहन्छन् । वास्तवमा यो कुरा उचित छैन । किनभने शनिदेवलाई ज्योतिष दृष्टिकोणले न्याय गर्ने देवताको रूपमा लिइएको छ । अर्थात् न्यायाधीश । न्यायाधीशले न्याय मात्र गर्छ । पक्षपात गर्दैन ।

कसैलाई पनि विनाकारण दण्ड दिँदैनन् । शनिले त कुन मानिसको कस्तो कर्म छ त्यस्तै फल प्रदान गरिरहन्छन् । असल कर्म गर्नेहरूलाई ऐश्वर्य, धनधान्य, समृद्धि, यश–कीर्ति प्रदान गरिरहन्छन् भने नराम्रो खराब कर्म गर्नेहरूलाई दुःख, अभाव, दरिद्रता जस्ता कष्ट दिइरहन्छन् । त्यसैले हामीले मन, वचन र कर्मले असल व्यवहार गर्नुपर्छ । जस्तोसुकै गाह्रो–साह्रो, ऊँचनीच र उकालो–ओरालो हाम्रो जीवनमा आए पनि धैर्य राखी आफ्नो कर्तव्य पथमा लागिरहनुपर्छ । 

प्रकाशित: ९ जेष्ठ २०७७ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल