coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोना, यन्त्रमानव र हाम्रो ऋषिसभ्यता

विश्वमा महामारीका रूपमा आफूलाई परिचित गराएको कोरोनाको जानकारीमूलक व्याख्या, विश्लेषण सम्बन्धित विज्ञहरूबाट हुँदै आएको छ । विज्ञानको चरम विकास भएको मानिएका मुलुकहरूमा यस्ता महामारीको पनि सँगसँगै विकास हुनुले विकास र विनाश बीचको दुरी साँघुरिएको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

साँच्चिकै स्वस्थकर खानपान तथा जीवनशैली नअपनाए यस्तै महामारीका कारण प्रलय बेहोर्नुपर्ने अवस्थाबाहेक अरू हामीसँग केही विकल्प बाँकी नरहने कुरा सत्य सावित भएको छ । सामान्य साबुनपानीले हात धुँदा त्यसको प्रभावबाट बच्न सकिने भनिएको भाइरसको अगाडि तेस्रो ग्रहमा बस्ती बसाल्न खोज्नेहरू पनि नतमस्तक छन् । 

यस्तो अवस्था कसरी सिर्जना भयो भन्नेतिर ध्यान दिनुभन्दा पनि यसलाई राजनैतिक अवसरका रूपमा लिनेहरूको पनि कमी छैन र हामी यन्त्रमानिसभन्दा अरू केही बन्न सकेका छैनौं । यस्तो भयावह अवस्था हुन नदिन हाम्रो पूर्वीय ऋषिसभ्यताले सिकाएको प्राकृतिक जीवनशैली, खानपान, रहनसहनको खोज र सदुपयोग गर्नुपर्ने बेला आएको छ । यिनै कुरालाई उजागर गर्ने मनसायले यसको संक्षिप्त जानकारी प्रस्तुत आलेखमा गर्न खोजिएको छ ।      

पूर्वीय सभ्यताले सभ्य र स्वस्थ जीवनयापनका लागि मुख्य रूपमा तीन कुराहरूलाई बढी ध्यान दिएको देखिन्छ :

१.सरसफाइ तथा स्वास्थ्य :

पूर्वीय सभ्यताका हाम्रा शास्त्रहरूले शुद्धताको सबैभन्दा धेरै गुणगान गरेका छन् । त्यो माटो पानी (साबुनपानी)ले गरिने बाह्य शुद्धि होस् वा मनोबल बढाउने सोचले गरिएको भाव शुद्धि नै किन नहोस् । 

सुतेर उठ्दा सुन्दर वस्तुको दर्शन, शौचालयबाट आउँदा, खानेकुरा खाँदा र खाइसकेपछि, कुनै फोहर पदार्थ वा तत्जन्य पदार्थको सम्पर्कमा रहेको व्यक्तिलाई छुँदा, बाहिरबाट भित्रिँदा हरेकचोटि गर्ने सरसफाइ विधिहरू यसका उदाहरण हुन् । एउटा उदाहरणका लागि – एका लिंगे गुदे तिस्रस्तथा वामकरे दश । उभयोः सप्त दातव्या मृदः शुद्धिमभीप्सता ।। अर्थात् शौचपछि एक पटक जननेन्द्रिय, तीन पटक गुदद्वार, दश पटक बायाँ हात, सात पटक हातगोडा राम्ररी सफा गर्ने कुरा मनुस्मृतिमा गरिएको छ । 

त्यसैगरी आचारेन्दु भन्ने अर्को ग्रन्थमा – कुर्याद् द्वादश गण्डूषान् पुरीषोत्सर्जने द्विजः । मूत्रे चत्वार एव स्युर्भोजनान्ते तु षोडश ।। अर्थात् दीर्घ शौचपछि बाह्र पटक, लघुशौचपछि चार पटक र भोजन गरिसकेपछि सोह्र पटक मुखभित्रको सफाइ गर्नुपर्छ भनेर सिकाइएको छ । स्नानशुद्धिबिना त कुनै पनि कार्य सार्थक नहुने कुरा बताइएको छ । वैदिकदेखि अन्य तमाम पौराणिक ग्रन्थकारहरूले पनि यसरी नै शरीरको सरसफाइको महत्व दर्शाएका छन् ।

स्वास्थ्य जीवनको महत्वपूर्ण विषय भएको कुरा बताउँदै चरकसंसितामा–धर्मार्थकाममोक्षाणामारोग्यं मूलमुत्तमम् । रोगास्तस्यापहर्तारः श्रेयसो जीवितस्य च ।। अर्थात् धर्मानुष्ठान, अर्थोपार्जन, कुनै कामना वा सन्तानोत्पत्ति र यी कुराहरूबाट मुक्ति यस्ता सबै पुरुषार्थ सिद्धिका लागि पनि स्वस्थ रहनुपर्छ भनी स्वस्थ शरीर बारेमा बताइएको छ । स्वास्थ्य उपचारका क्षेत्रमा हाम्रा ऋषिको आदर्शलाई मान्ने हो भने हामीसँग भरपूर औषधीय गुण भएका जडीबुटीहरू छन् जसलाई आयुर्वेदले द्रव्य गुण मान्दछ । 

हाम्रै प्राचीन भान्साभित्र एकाउन्नभन्दा बढी प्रकारका मसलाहरू प्रयोग भएको र अहिले त्यो घट्दै जिरा र मेथीमा सीमित भएको जानकारहरू बताउँछन् । त्यस्ता स्वास्थ्यवद्र्धक जडीबुटीको प्रयोग घट्दै गयो र त्यो गुणको पनि हामीले फाइदा लिन सकेनौ । आयुर्वेद, चरकसंहिता लगायतका यस्ता अभ्यासहरूले दीर्घजीवन प्रदान गरेको कुरा सुन्दा हामीले अचम्ममा परेर मात्रै टार्यौं । 

पश्चिमा देशहरूले यसको महत्व बुझ्दै दिनानुदिन हर्बल थेरापीका कुरा प्रयोगमा ल्याउँदै फेरि हामीलाई नै सिकाउन थालेको देख्न पाइन्छ । शरीर र मनमस्तिष्कलाई स्वस्थ राख्न शिव सभ्यताबाट पतञ्जलि, घेरण्ड, कपिलमुनि, मत्स्येन्द्रनाथ, गोरखनाथ हुँदै हालसम्म केही जीवन्त रहेको योगाभ्यासलाई पनि सर्वसुलभ बनाउनेतिर सबैको ध्यान जानु जरुरी छ ।    

स्वच्छ, ताजा र शाकाहारजन्य खानेकुरा नै खानुपर्ने कुरा हरेक पटक भनिएको छ, जुन बढी क्षारयुक्त खानेकुराको प्रयोगले हाम्रो शरीर विकास र बुद्धि विकासका लागि मात्र नभएर रोगप्रतिरोधात्मक क्षमताको लागि पनि अत्यन्त उपयोगीसिद्ध छ । 

शाकाहारीमा भिटामिन बि टुवेल्बको कमी हुन्छ भनेर आफ्ना उत्पादन बढाउने पैसामुखी अध्ययनको प्रतिशोध गर्दै प्राकृतिक चिकित्सा क्षेत्रका विशेषज्ञ डा.हरिप्रसाद पोखरेल भन्नुहुन्छ – यो त सानो आन्द्रामा ब्याक्टेरियाहरूले आफै उत्पादन गर्न सक्छन् जसले गर्दा शरीर पुष्ट हुन सक्दछ । अध्ययनले मांसाहार त्यसको समाधान हो पनि भन्दैन । 

यसको सही ढंगले प्रचार हुन नसकेकोमा डा.पोखरेल जस्ता अध्यताको यस्तो गम्भीर विषयमा चासो र गुनासो हुनु स्वभाविक नै देखिन्छ । यो त सामान्य उदाहरण मात्र हो । यस्ता तमाम उदाहरणहरू हाम्रो अगाडि छन् ।  

हामीले आफ्नो स्वास्थ्यका लागि र हाम्रै पुर्खाको आदर्शलाई यसै भूमिमा प्राप्त हुने प्राकृतिक औषधिजन्य कुराहरूको खोज, संरक्षण र प्रयोग गर्न सकेका छैनौं । जसले गर्दा हामीले हाम्रा मूल्यवान् वस्तुहरू गुमाएर अरूद्वारा चालित यन्त्रमानव बनेका छौँ । फलस्वरूप  चौरासी वर्षसम्म शाकाहारी रहेर स्वस्थ जीवन बाँचेका वृद्ध आमाबुवालाई रुघाखोकी लाग्दा अण्डा र तत्जन्य खानेकुरा मात्र खान सल्लाह दिइन्छ । हामीकहाँ प्राप्त हुने औषधिको न त कुनै लेखाजोखा छ न त अनुसन्धान नै । छ त आयात गरिएको अण्डा, मासुजन्य कुरा र फास्टफुडको घोकाइएको पाठ मात्र । जसले अहिलेको जस्तो महामारी फैलाउने विज्ञ संस्थाको ठम्याइ छ ।

२. नैतिकशिक्षा तथा सिकाइ : 

हाम्रो सभ्यताका शिक्षाले परा र अपरा विद्या भनेर अर्थोपार्जन र व्यावहारिक गरी दुई किसिममा विद्यालाई विद्या ठानेको छ । विपदि धैर्यम् भनेर विपदमा पनि धैर्यधारण गर्न सिकाइएको छ । के गर्ने, के नगर्ने भन्ने कुराको स्वविवेक प्रयोग पनि यस शिक्षाले सिकाउने सामथ्र्य राख्दछ । यति मात्र नभएर कुन कार्य कतिखेर सम्पन्न गर्ने, सोको कस्तो फल प्राप्त हुन्छ र पछिको वातावरणको अवस्था कस्तो हुनसक्छ भन्ने पूर्वानुमान पनि वेदको अंगका रूपमा रहेको खगोल विज्ञान अर्थात् ज्योतिष शास्त्रले गर्न सक्दछ ।

नारदसंहिता र बृहत्संहितामा भएको परिधावी नाम गरेको सम्वत्सर र शनि राजा भएको मानिएको वर्षमा रोगको महामारीको प्रकोपसम्बन्धी जानकारी यसको ज्वलन्त उदाहरण हो । यो शिक्षा अहिले फेसबुकमा फेस हेर्नेको आदर्शमा आएर खुम्चिएको छ । यस्ता विषयका विशेषज्ञसँग छलफल गरेर यसलाई सबल बनाउने नीति अपनाउन सके विसंगतिप्रति सजक हुन र आफ्नै पहिचानको संरक्षण गर्न सकिन्थ्यो । ठूलाप्रति गर्ने आदर र सानाप्रतिको ममता जस्ता आचरण यी र यस्ता शिक्षामा पाउन सकिन्छ ।    

३. स्वावलम्बी, सेवा र समताको भावना :

 यस सभ्यताले आफैमा निर्भर रहनुपर्ने कुरा पनि सिकाएको छ । परभाग्योपजीवी अर्थात् अर्काको भाग्यमा जीवनयापन गर्नेले दुःख भोग्नुपर्ने कुरामा सचेत गराउँदै धनानि जीवितञ्चैव परार्थे प्राज्ञ उत्सृजेत्  अर्थात्  बुद्धिमानले कमाइ र आफ्नो जीवन परोपकारमा लाउनु, दरिद्रान् भर अर्थात् गरिबहरूको पालनपोषण गर्नु, धनिक् धनं मा प्रयच्छ अर्थात् धनीहरूलाई नदिनू भनेर सधैं समाजको विकास गर्ने कुरा सिकाइएको छ । यसरी नै सर्वे भवन्तु सुखिनः अनि वसुधैव कुटुम्बकम् आदि समताको लागि तत्पर रहने जस्ता थुप्रै व्यावहारिक तथा प्रगतिशील कुराहरू हाम्रै सभ्यताका चिनारी हुन् जसले अहिलेको जस्तो परिथितिसँग पनि जुध्न सिकाउँछन् ।

अत्यन्त वैज्ञानिक र सर्वप्राचीन सभ्यताका यी र यस्ता तमाम नेपाली पहिचानहरूको हामीले संरक्षण गर्नु छ । जुन हाम्रा आफ्नै निधि हुन् र यसले फेरि एकपटक प्रकृति र मानवरक्षा गर्नेतिर विश्वको ध्यान केन्द्रित गराउन सक्नेछ ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App