coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

आत्मघाती शासन

सम्झौताशास्त्र भनिन्छ कूटनीतिलाई । त्यो हतियार पनि हो । चलाउन नजान्दा आफ्नै बन्दूक च्युँडोमा पड्किए जस्तो दुर्घटना हुन्छ । कूटनीतिको लामो डोरीमा झुण्डिएर कैयन् राष्ट्रको प्राण उठेको छ । आत्मघाती शासनमा राष्ट्र सुरक्षित हुँदैन भन्ने बुझ्न इतिहास पढे पुग्छ । इतिहास अध्ययन गर्दा प्राचीन नगरराज्य (सिटी स्टेट) हरूबीच पनि कूटनीतिक साइनो रहेको पाइन्छ । बन्दूकले मात्र पार नलाग्ने कुरा हृदयंगम गरेर मेसोडो नियाका सम्राट अलेक्जेन्डर द ग्रेटले कूटनीतिक उपायबाट सफलता पाएको इतिहासकारहरूले लेखेका छन् । पूर्वी एसियाको कूटनीतिमा चीन अग्रणी थियो । त्यस्तै तिब्बती राजा स्रङ–चङ्–गम्पो (चीनमा सङ्जान गाम्बु भन्छन्) सँग आफ्नी छोरी भृकुटीको बिहे गरिदिएर अंशुबर्माले नेपाल र तिब्बतबीच सुमधुर सम्बन्ध स्थापना गरेको पाइन्छ । तिब्बतका तेत्तीसौँ राजा थिए– स्रङ चङ गम्पो । नेपालकी राजकुमारीसँग विवाह गरेपछि उनले बुद्ध धर्म फैलाए । ‘महाराजाधिराज’ उपाधि पाएका अंशुबर्माले चीन र नेपालबीचको ठूलो भूखण्ड तिब्बतसँग सन्तुलित सम्बन्ध बनाए । यो कुनै सन्धि नभएर ‘सम्धी कूटनीति’ थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ‘दक्खिनको बादशाह चतुर छ’ भन्दै भारतमा शासन गरिरहेको अंग्रेज (ब्रिटिस) साम्राज्यसँग सतर्क रहनू भनेका थिए । उत्तरको बादशााहसित ‘घाहा’ (सुमधुर सम्बन्ध) बनाउन भारदारहरूलाई निर्देशन दिए । चीनका एकीकरणकर्ता सम्राट छिन (छिङ्) द्वारा सुदृढ बन्दै गएको चीन विश्वको पाँचौँ ठूलो साम्राज्य थियो । छिङ् वंशका छैटौँ सम्राट होङ्लीले सन् १७३५ देखि १७९६ सम्म शासन गर्दा नेपालका शासक पृथ्वीनारायण थिए । आर्थिक दृष्टिले ऊबेला नेपाल सुदृढ थिएन तर जुन उत्साह, समर्पण, अठोट, देशभक्ति, विवेक र साहस देखाएर पुर्खाले नेपाल स्वतन्त्र राखे, त्यसको अवमूल्यन गर्नु मूर्खता ठहरिन्छ ।

अठारौँ शताब्दीमा हालको अफगानिस्तानमा दुरानी साम्राज्य थियो । अहमद शाह कुरानी सम्राट थिए । इरानमा पच्चीस सय वर्ष पुरानो राजतन्त्र समाप्त पार्न सिआइएले ठूलो भूमिका खेल्यो । पहिलो विश्वयुद्ध समाप्त भएपछि विश्व मानचित्र बदलिँदै गयो । कतिपय राष्ट्र हराए । नेपालका शासकहरूले सयौँ वर्ष राष्ट्रको रक्षा गरे । बैरीसँग डटेर लडे । नेपाल बचाए । उनीहरूलाई सम्मान गर्न इतिहासको सम्मान गर्नुपर्छ । सभ्यता र इतिहासको सम्मान सभ्यहरूले मात्र गर्छन् ।

आत्मघाती कूटनीति, देशघाती राजनीति र परजीवी नेताहरू रहेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक नियमित आकस्मिकता बनिरहन्छन् ।

ब्रिटेनका प्रथम राजा जर्ज (प्रथम) जर्मन थिए । सन् १६६० मा जन्मेका ती राजा अंग्रेजी भाषा (इङ्लिस) जान्दैनथे । रोमन साम्राज्यको ह्यानोभर (हाल जर्मनी) मा जन्मिएका थिए उनी । रबर्ट वोलपोल प्रधानमन्त्री थिए ब्रिटेनमा । राजाले अंंग्रेजी नजान्ने भएकै कारण उनले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिए । ‘राष्ट्रको सोझो चिताएर काम गर्नू’ भन्दै उनले लालमोहर लगाउँथे । प्रधानमन्त्रीले सबै काम गर्ने हुँदा राजाबाट भुलचुक हुने कुरै थिएन । बेलायत (ब्रिटेन) देशका ‘राजाले गल्ती गर्दैनन्’ (द किङ क्यान डु नो रङ) भन्ने चलन त्यहाँबाट आयो । ड्राइभरको सिटमा राजा आफैँ बसेर गाडी चलाउँदा कुखुरा कुल्चिए पनि दोष त राजाकै शिरमा आउँछ । लक्ष्य बताएर चालक (प्रधानमन्त्री) मार्फत अघि बढ्ने प्रणाली ‘संवैधानिक राजतन्त्र’ भयो । राजा आफैँले गाडी चलाउने प्रणाली ‘सक्रिय राजतन्त्र’ भयो ।

नेपालको इतिहासमा जंगबहादुर कुँवर (राणा) देखि मोहन शमशेरसम्मका प्रधानमन्त्रीले राजालाई किनाराको साक्षी बनाएर १०४ वर्ष जहानिया शासन चलाए । धर्मग्रन्थ, प्राचीन मूल्य÷मान्यता र परम्पराको सम्मान गरे तर शक्ति आर्जन र संरक्षण गर्न निरंकुश बनेकै हुन् राणाहरू । यति हुँदाहुँदै पनि राष्ट्रलाई ठूलो आघात पु¥याउने काम गरेनन् । विज्ञान–प्रविधि विकसित नभएको त्यो युगमा गुप्त सूचनाहरू प्राप्त गर्न गाइने, झाँक्री, भिखारी, जोगी, तान्त्रिक, जडीबुटी व्यापारी आदिका भेषमा हजारौँ गुप्तचर परिचालन गरिएको थियो । जुम्लाका संस्कृतिविद् तथा समाजसेवी महाशंकर देवकोटा भन्थे– मलाई बाजेले सुनाएअनुसार चन्द्रशमशेरले हरेक दिन यहाँँको मार्सी चामल हुलाकीमार्फत मगाउँथे । उनका निम्ति दुई माना चामल दैनिक पठाइन्थ्यो । एउटा हुलाकीले अर्कोलाई गर्दै पहाडी मार्गबाट चिठीपत्र र चामल जान्थ्यो । चामल त बहाना मात्र थियो । चामलको पोकामा चन्दननाथ मन्दिरका पुजारीले यस क्षेत्रमा भएका, सुनेका र देखेका कुरा छोटकरीमा जाहेर गर्थे । अर्थात ती कर्णाली क्षेत्रका गुप्तचरका कमान्डर थिए ।

आज सबै क्षेत्रमा सैनिक, प्रहरी, निजामती कर्मचारी र सरकारी गुप्तचर छन् । विदेशीले नेपाल आमाको छातीमा बुल्डोजर चलाइरहेको देखेर उनीहरूले सिंहदरबारलाई अवश्य जानकारी वा सूचना दिए होला । राष्ट्र र जनताले विश्वास गरेको सर्वाधिकार सम्पन्न शासनकहरू नै जब सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको अर्चना गर्छन् तब कूटनीति र राजनीति आत्मघाती बन्छ । नेपाललाई २०४७ सालपछि थिचोमिचो गर्ने क्रम ह्वात्तै बढ्यो । किनभने ‘राष्ट्रनायक’ कोही भएनन्, दलनायक धेरै भए । त्यस्ता व्यक्तिलाई आफ्नै ओथारोमा हुर्काए, विदेशीले । हेर्दा सबै राष्ट्रवादी तर काम गर्ने राष्ट्रघाती ।

महाकाली सन्धि, दिल्लीमा गरिएको बाह्रबुँदे सम्झौता र हरेक विवादास्पद घटनामा मुछिएका लेण्डुप दोर्जे, मिर जाफर र क्विजलिङ्हरू प्रायः सबै दलमा छन् । ती घटनाक्रम सूक्ष्मरूपले अध्ययन नगरेर हाँगा र पातको मात्र गणना गर्ने पत्रकार धेरै छन् । राष्ट्रघातका प्रमुख घटनामा कसुरदार देखिएका मठाधीशहरूका वरिपरि आज राजनीति घुमिरहेको छ ।

आगो लागेपछि पानी निकाल्न खाल्डो खन्ने प्रवृत्तिले नेपाली कूटनीतिमा अचेल ठट्टा रमाइलो चलिरहेको देखिन्छ ।

सज्जन, देशभक्त र इमानदारहरू राजनीतिबाट पलायन भइरहेका छन् । दुई दुई ठाउँमा संसदीय निर्वाचन हारेर जनताले तिरस्कार गरेको व्यक्ति विदेशीको आज्ञाकारी भएकै कारण प्रधानमन्त्री बनेको उदारहण नेपालमै देखियो । तसर्थ, महाभारतमा श्रीकृष्णले दुष्टात्माहरूको वध गराएझैँ नेपाल र नेपालीका शत्रुलाई समाप्त पार्न नसकेसम्म पचासौँै वर्ष कुरे पनि नेपाल सुदृढ, शान्त, खुसी र सुखी बन्न सक्दैन ।

राष्ट्रिय अभिरुचि, लक्ष्य र क्षमता हेरेर विभिन्न राष्ट्रसँग मधुर सम्बन्ध राख्न सक्नु कूटनीतिक सफलता मानिन्छ । एकता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्तित्वमाथि कतैबाट खतरा आउने सम्भावना छ भने त्यसको आकलन र विश्लेषण गरेर राष्ट्रहितको रक्षा गर्न सक्नु सरकारको प्रमुख दायित्व हो । आगो लागेपछि पानी निकाल्न खाल्डो खन्ने प्रवृत्तिले नेपाली कूटनीतिमा अचेल ठट्टा रमाइलो चलिरहेको देखिन्छ ।

असी लाख वर्षभन्दा पहिले मानवको रूप लिन प्रयत्न गर्दै गरेको प्राणी शिवलेक क्षेत्र (पश्चिमाहरू शिवालिक भन्छन्) वरपर पाइयो । २०३७ साल बुटवल नजिक तिनाउ नदी वरपर रामापिथेकसको बंगारा खोज्दै आए डा. जेएच हजिन्स । चुरे पहाडमा हुर्केको एक किसिमको ‘वन मान्छे’ थिए रामापिथेकसहरू । एक करोड दश लाख वर्ष पुरानो जाति मानिन्छ रामापिथेकस । समयको पदचाप सुन्न अबेर गरियो भने जति पुरानो भए पनि अर्थ हँुदैन । मानव हुन सकिएन भने हामी वन मान्छेभन्दा खासै फरक बन्न सक्दैनौँ ।

राजा वीरेन्द्रको समयसम्म नेपाली कूटनीतिले ठूलो सफलता पाइसकेको थियो । शुभराज्याभिषेक (२०३१ साल) समारोहमा उनले विश्वका विशिष्ट व्यक्तिहरूबीच ‘शान्ति क्षेत्र’ प्रस्ताव राखे । उनको प्रस्तावलाई भारतले दुराशयपूर्वक उपेक्षा ग¥यो तर ११६ राष्ट्रले समर्थन गरे । राष्ट्र संघले गर्ने कैयन् महत्वपूर्ण निर्णयमा नेपालले कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र मतदान गथ्र्यो ।

भर्तृहरि प्राचीनकालका दार्शनिक र ज्ञानी राजा थिए । उनले लेखेका छन्– ‘तिमी जसलाई भेट्छौ, ऊसँग दुःख नदेखाऊ ।’ यसको अर्थ व्यक्ति वा राष्ट्रले याचना गर्दै नहिँड्नू भन्ने नै हो । काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव भएर काम गरेका एकजना कूटनीतिज्ञसँग केही वर्षअघि दिल्लीमा भेट हुँदा उनले नेपाली भाषामै स्पष्ट भने– नेपालका प्रधानमन्त्रीसमेत राष्ट्रहितको कुरा गर्दैनन् । मन्त्री, प्रधानमन्त्री जो भारत आए पनि आफ्ना केही मान्छेलाई छात्रवृत्ति देऊ, खर्च देऊ, निःशुल्क उपचार गरिदेऊ भन्छन् । नेपालको हितमा गतिलो प्रस्ताव नै ल्याउँदैनन् ।  

भारतले किन नेपाललाई हेप्छ भनेर विचार गर्नैपर्छ । अधिकांश नेता दिल्लीकै दास छन् । तसर्थ, गणतन्त्रका नाममा दासतन्त्र चल्यो । चाक्सीबारी (ठमेल) सम्मेलनमा भारतीयहरूलाई ल्याएर राष्ट्राध्यक्षलाई बद्माम गर्न प्रोत्साहन गर्ने काम ठूला दलले गरे । जनआन्दोलनको नाममा भएका हरेक गतिविधिमा प्रत्यक्ष÷परोक्षरूपमा दिल्ली सक्रिय थियो र ‘दोस्रो जनआन्दोलन’ पहिलो ‘विद्रोह’ (नाटक) पछि दोस्रो ‘एपिसोड’ थियो । आत्मघाती कूटनीति, देशघाती राजनीति र परजीवी नेताहरू रहेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक नियमित आकस्मिकता बनिरहन्छन् । सुस्तादेखि लिएर सीमान्त क्षेत्रका प्रत्येक गाउँ÷सहरमा आतंक र अत्याचार भइरहन्छ ।

सोमालिया, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सुडान, साउथ सुडान, यमन, टर्की, कंगो र नाइजेरिया बिग्रिनमा विदेशीको मात्र हात थिएन । नेताहरू पदलोलुप, द्रव्यपिशाच र कर्तव्यच्युत हुँदा अधिकांश राष्ट्रमा विदेशीको हस्तक्षेप र आन्तरिक विग्रहको आगो फैलिएका प्रशस्त उदाहरण छन् । सेनाको एउटा गुटले मस्को र वासिङ्टनसँग मिलेका लोभी नेताहरूलाई समर्थन गर्दा काबुलमा अराजकता फैलियो । सयौँ वर्षदेखि एकताबद्ध, समर्थ र सशक्त रहेको अफगानिस्तान नर्क बन्यो । पहिले राजा जहिर शााहलाई भगाए । बिस्तारै साठी लाख मानिस शरणार्थी र शरीरान्त हुने अवस्थामा पुगे । राष्ट्रलाई माया गर्ने सुयोग्य, सक्षम र साहसी राष्ट्रनायकको अभावमा आत्मघाती शासन सुरु हुन्छ । पटकपटक शासक बदलिन सक्छन् तर राष्ट्र र राष्ट्रवासीको भाग्य बदलिँदैन ।

नेताहरूले जनविश्वास गुमाउँछन् । राष्ट्रले विश्व समुदायको सम्मान गुमाउँछ । शासकहरू सर्वाधिकार हातमा लिएर शक्ति पृथकीकरणको सिद्धान्तलाई चुनौती दिन थाल्छन् । स्वतन्त्रताका पहरेदार संस्था र प्रेसजगत निरीह बन्छन् । करको दुरूपयोग बढ्दा राज्यले जनतालाई पाल्ने होइन, जनताले हजारौँ नेता पाल्नुपर्छ । जात, क्षेत्र वा समूहको विभाजनले राष्ट्र कमजोर हुन्छ । भ्रष्टाचार, विदेशी हस्तक्षेप र निराशा चरमोत्कर्षमा पुग्छ । त्यो भनेको आत्मघाती शासनको परिणाम हो । हामीले भोगिरहेको अवस्था यो भन्दा पृथक छ र ?

प्रकाशित: ५ जेष्ठ २०७७ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App