८ वैशाख २०८१ शनिबार
विचार

कोरोना कालको अकर्मण्यता

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बुधबार नागरिकमा एक अग्रलेख लेखेका छन्– कस्तो कोरोना रहेछ ! लेखका निम्ति उनले रोजेको यो शीर्षकले कोरोना भाइरस प्रभावबारे व्यक्त हुँदै आएको आश्चर्यजनक स्थितिलाई समेटेको छ । विश्वका विभिन्न मुलुकमा व्यापक मानवीय क्षतिको कारक बनेको कोरोनाका बिरामीहरूले हामीकहाँ यसमाथि विजय पाउँदै आएका छन् । यसले नेपालमा किन बढी प्रभाव पारेन भन्ने अनेकन प्रश्न यसबीच उठेका छन् । डा. पुनले चीन, अमेरिका, युरोप आदि मुलुकमा जस्तो मानवीय क्षति यहाँ बेहोर्नुपर्दैन भन्ने धारणा कोरोना संक्रमण फैलिन थालेदेखि नै राख्दै आएका छन् । यसको कारणबारे खोजी हुनुपर्ने धारणा उनले आफ्ना लेख तथा अन्तर्वार्तामार्फत् राख्दै आएका छन् । हामीकहाँ यस्ता विषयमा खासै खोज÷अध्ययन हुने गरेको छैन । तथापि, सरुवा रोगकै क्षेत्रमा लामो समयदेखि कार्यरत रहँदै आएका र विषाणुको प्रवृत्तिबारे रुचि राख्ने भएका कारण डा. पुनले यसबारे केही आकलन गर्न सकेका हुन् ।

कोरोना भाइरस संक्रमणको शुक्रबार अपराह्न दिउँसो १२ः१५ बजेसम्मको जानकारीअनुसार नेपालमा संक्रमित संख्या २ सय २६ पुगेको छ । यसमध्ये निको भएर घर फर्केका ३५ जना छन् । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख पुग्न लागेको छ भने संक्रमित संख्या ४४ लाख कटिसकेको छ । यस्तो स्थितिमा सबैभन्दा सुखद पक्ष भनेको अहिलेसम्म नेपालमा कसैको पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु नहुनु हो । यसले सबैभन्दा धेरै राहत दिएको छ । वृद्धावस्थामा पुगेका बिरामीसमेत निको भएर घर फर्कँदा सबैलाई सुखद आश्चर्य भएको छ । यही स्थिति विश्वका विकसित र उच्चकोटिको स्वास्थ्य सेवा भएका भनिएका मुलुकमा देख्न पाइएको छैन । पछिल्लो पटक कोरोना भाइरससँगको संघर्ष जितेर घर फर्केकी चितवनकी ६३ वर्षे वृद्धाको अवस्था झनै चकित गराउने किसिमको छ । विषाणु संक्रमणपछि उनी २८ दिन अस्पताल बसेर बिहीबार घर फर्केकी हुन् । बेलायतबाट हङकङ हुँदै काठमाडौँ आएर चैत २७ गते छोरासँगै उनी चितवन फर्केकी थिइन् । गाउँमै आरडिटी परीक्षणबाट आमा÷छोरा दुवैलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरूलाई वैशाख ३ गते नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । अन्ततः दुवै कोरोनामुक्त भएका छन् ।  

कोरोना संक्रमणबाट मुक्त भएका सबै संक्रमितमा देखिएको एउटा समान विशेषता हो– उच्च मनोबल । चिकित्सकहरूले बिरामीलाई घर पठाउने बेलामा निकै हर्षित हुँदै यो कुरा बताएका छन् । उनीहरूमा अस्पताल रहँदा सकारात्मक रहने बानीले पनि रोग जित्न मद्दत पु¥याएको छ । त्यसैगरी रूपन्देहीका पहिलो संक्रमित पनि बिहीबार घर फर्केका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका ती २५ वर्षे युवामा खास कुनै लक्षण देखिएको थिएन । चिकित्साकर्मीहरूका अनुसार उनमा गजबको आत्मविश्वास थियो । अस्पतालमा एक्लै बस्दा पनि उनी नाचेरै रहेको उनीहरूले उल्लेख गरेका छन् । यसबाट प्रस्ट हुन्छ कि आमनेपालीको कष्ट सहन गर्ने क्षमता र परिआउँदा जस्तै समस्यालाई पनि सहजरूपमा लिने प्रवृत्तिले पक्कै पनि केही काम गरेको हुनुपर्छ । यी युवा भारतको मुम्बईबाट आएका थिए ।  

पछिल्ला केही दिनमा कोरोना भाइरस संक्रमित संख्या ह्वात्तै बढेपछि हामी सबै आत्तिएको अवस्थामा छौँ । अझ राजधानी काठमाडौँमा देखिएका पछिल्ला बिरामीका कारण यहाँ आतंकको स्थिति छ । वास्तवमा पछिल्ला तीन बिरामी भर्खरै राजधानी बाहिर गएर फर्केका थिए । यी बिरामीमा सशस्त्र प्रहरीका सुरक्षाकर्मी, एक जना नर्सलगायत छन् । उनीहरूलाई कोरोना संक्रमण राजधानी बाहिरको यात्राका क्रममा भएको हो । उनीहरू यही वैशाख २९ गते राजधानी काठमाडौँ आइपुगेका हुन् । यहाँ आएपछि परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । मुलुक बन्दाबन्दीको ५१औँ दिनमा आइपुगेको छ । पछिल्लो चरणमा आएर झन् मुलुक खुल्दै जाला र स्थिति सामान्य बन्ला भन्ने अवस्थाबाट फेरि थप कडा बन्दाबन्दीमा प्रवेश गर्नुपर्ने अवस्था आएको छ । अनाहकमा मानिस ओहोरदोहोर गर्दा संक्रमण बढेको छ र त्यसैलाई निहुँ बनाएर बन्दाबन्दी अरू बढाउनुपर्ने अवसर यसले दिएको छ ।

यो स्थितिको पाठ सिक्नु आवश्यक छ । अहिले परीक्षणको दायरा बढेका कारण बढी संक्रमित देखिएका हुन् । वास्तवमा बन्दाबन्दीको बेला भनेको परीक्षण बढाउने हो । हामीकहाँ यसलाई पहिल्यै सम्पन्न नगरेका कारण लकडाउन बढाउँदै जानुपर्ने अवस्था आएको हो । अब जति संक्रमित भेटिएका छन्, तिनका माध्यमबाट थप संक्रमितको पहिचान (ट्रेसिङ) हुँदै जानुपर्छ । कोरोना भाइरस अब हाम्राबीचमा लामो समयसम्म बस्छ भन्ने बुझिसकेपछि आमनागरिकको व्यवहार पनि तद्नुकूलकै हुनुपर्छ । व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी कायम गर्दै दैनिक कार्य व्यवहारमा नलागी सुख छैन । कतिपय देशकै एक भूभागबाट अर्को ठाउँमा जान बाध्य भएका वा परदेशमा रहेका व्यक्तिहरू स्वदेशमा आउँदा यो संक्रमण फैलिन सक्ने निश्चित छ । त्यसलाई व्यापकरुरूपमा फैलिन नदिन सावधानी अपनाउनुको विकल्प छैन ।

हामीकहाँ भने अनौठा निर्णय हुँदै आएका छन् । एक, बन्दाबन्दी भइसकेपछि परीक्षणमा जोड दिइएन । ५० दिनभन्दा बढी बन्दाबन्दीमा रहेका नागरिकलाई थप कडाइका साथ राख्न खोजिएको छ । दुुई, सरकारका निर्णयमा विशेषज्ञता र विज्ञान भन्दा व्यक्तिको इच्छाका आधारमा निर्णय भएको देखिन्छ । वित्तीय संस्था र उद्योगधन्दा खोल्ने निर्णय गरेको दुई दिनमै फेरि बन्दाबन्दीलाई कडाइ गर्नुपर्ने अवस्था आएको छ । स्थितिको सही मूल्यांकनमा सरकार चुकेको देखिन्छ । वास्तवमा बन्दाबन्दीको स्थितिमा कसरी काम गर्ने र कस्ता निर्णय गर्ने भन्ने कुराले धेरै अर्थ राख्छ । कोरोना भाइरसलाई परास्त गर्ने नाममा मुलुकको अर्थतन्त्र र व्यक्तिको रोजगारीमा ध्यान नदिने हो भने स्थिति थप भयाबह हुन सक्छ । हामीकहाँ कोरोना भाइरसको उपस्थितिको सही अध्ययन गराई तद्नुकूलको रणनीति अवलम्बन गर्नु उचित हुन्छ । वास्तवमा समयमै परीक्षण टुंग्याएको भए यतिबेला हामीकहाँ विषाणु संक्रमितको उच्चतम संख्या पहिचान भई ओरालो लाग्ने क्रम सुरु हुने थियो । त्यसैले हामीकहाँ कस्तो कोरोना रहेछ र यसको प्रभाव के हुन्छ भन्ने जान्नुपर्छ । त्यसअनुसारको रणनीति अनुशरण गरी मुलुक र अर्थतन्त्र जोगाउने काम गरौँ । 

प्रकाशित: २ जेष्ठ २०७७ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App