coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कोरोनाविरुद्ध सावधानी र संयन्त्र

सेनाको आक्रमण रोक्न सकिन्छ तर विचारको आक्रमण रोक्न सकिन्न। – भिक्टर ह्युगो

माघको दोस्रो साता पहिलो कोरोना भाइरस संक्रमण पहिचान भएयता मंगलबारसम्म नेपालमा १ सय ९९ जनामा यो भाइरस संक्रमण भइसकेको छ। कर्णाली प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा यो घातक रोगको फैलावट भएको छ। विश्वभर यो महामारीले ४० लाख भन्दा बढीलाई संक्रमित गरेको छ भने भण्डै ३ लाखको मृत्यु भइसकेको छ।  यो भाइरसको फैलावट रोक्न चैत ११ देखि समग्र देश लकडाउनमा छ। यसरी ५१ दिनयता उद्योग, कलकारखाना, विद्यालय, सरकारी तथा निजी कार्यालय, यातायात ठप्प भएकामा यो सातादेखि केही आवश्यक सेवा,  केही उद्योग, सरकारी तथा निजी क्षेत्रका कार्यालय तथा वित्तिय संस्था खुला गरिएका छन्। राजधानीमा लकडाउन बिस्तारै खुकुलो पारिँदैछ।  

राजधानीमा कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउनले महत्वपूर्ण भूमिका खेलेको छ। मानिसदेखि मानिसमा भाइरस सर्ने भएकाले सामाजिक दूरी कायम गर्न, भीडभाड कम गर्न र रोग सर्न सक्ने सम्भावना निस्तेज गर्न लकडाउनको भूमिका महत्वपूर्ण छ। त्यसो त लकडाउन संक्रामक रोगको रोकथामको अल्पकालीन रणनीति हो। यसले संभावित महामारीको उत्कर्षलाई पछाडि धकेलेको छ, समाप्त पारेको छैन र पार्दैन पनि।  सामाजिक जीवन र अर्थव्यवस्थालाई चलायमान बनाउन यो सातादेखि लकडाउन खुकुलो पार्दा राजधानीका कतिपय सडकमा जाम सुरु भएको छ भने आमनागरिक सडकमा बेरोकटोक देखिन थालेका छन्। उसो भए के अब उपत्यका भाइरस संक्रमणको संभावनाबाट तुलनात्मकरूपमा मुक्त भएको हो त ? पक्कै होइन। देशको राजधानीमा मात्रै होइन, काठमाडौँ उपत्यका झण्डै आधा करोड जनसंख्याको बासस्थान हो। यसरी ठूलो जनघनत्व र जनसंख्याका हिसावले पनि उपत्यका कुनै पनि सरुवा रोगको महामारीको संक्रमणको जोखिममा छ।

भाग्यवस कोरोना भाइरस संक्रमणको प्रभाव उपत्यकामा न्यून छ। तर विगत केही दिनदेखि बाहिरबाट सामान ढुवानी गर्ने गाडीहरूको बढ्दो प्रवेश तथा लुकिछिपी विभिन्न नाकाबाट उपत्यका प्रवेश गर्ने क्रम बढिरहेको छ। तरकारी तथा फलफूल ल्याउन भारतबाट आउने गाडीमा मात्रै पनि तीन हजार जति एक दिनमा राजधानी प्रवेश गर्ने अनुमान छ। यसबाट संक्रमण नभित्रियोस् भन्नेमा ध्यान जरुरी छ। यसमा निगरानी व्यवस्था कमजोर हुँदा राजधानीमा महामारीको संभावना बढ्ने देखिन्छ।  विश्व स्वास्थ्य संगठनले लकडाउनबाट बाहिर निस्कँदा ध्यान पुर्‍याउनुपर्ने सुझावमा रोगको संक्रमणको निगरानी व्यवस्था सशक्त हुनुपर्ने, सम्बन्धित देशको स्वास्थ्य प्रणाली हरेक संक्रमणको केशलाई पहिचान, आइसोलेट, परीक्षण र उपचार तथा सम्पर्कमा आएकाहरूको ट्रेस गर्न सक्षम हुनुपर्ने भनेको छ। त्यस्तै अस्पताल र नर्सिङ होममा महामारी फैलन सक्ने सम्भावना न्यून हुनुपर्ने, काम गर्ने कार्यालयहरूमा रोकथामका उपाय अवलम्बन गर्नुपर्ने, जोखिम व्यवस्थापन तथा समुदायमा आश्यक जनचेतना र सावधानी हुनुपर्ने सुझाव दिएको छ।  

विश्व  स्वास्थ्य संगठनले आवश्यक तयारी नगरी लकडाउन खुकुलो पार्दा महामारीको दोस्रो लहरको संक्रमण हुन सक्ने चेतावनी दिएको छ। कोरोना भाइरस रोकथाममा सफल मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढेको छ, सिंगापुर र हङकङमा त्यस्तै पुनः संक्रमण देखिएको छ। त्यसैले यो लकडाउन खोल्दै गर्दा अपनाउनुपर्ने सावधानी र स्थापना गर्नुपर्ने आवश्यक सयन्त्र अत्यन्त महत्वपूर्ण हुन्छ।  आमनागरिकमा पनि  यो रोगप्रति सावधानी भन्दा बढी हेलचेक्र्याइँ देखिने गरेको छ। सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कँदा फेस मास्क लगाउनुपर्ने, आआफ्ना कार्यालय तथा फर्मलाई डिसइन्फेक्टेन्ट गर्न आवश्यक तयारी गर्नुपर्नेमा आमनागरिक त्यत्तिको सावधान देखिएका छैनन्। यहाँ विचारणीय कुरा के छ भने कोरोना भाइरस आगामी केही महिना अथवा वर्षसम्म निर्मूल हुन सक्ने संभावना छैन। हालसम्म यस भाइरसको उपचारका लागि निश्चित औषधि र भ्याक्सिन निक्र्योल भइसकेको छैन। यसका लागि केही महिना अथवा वर्ष दिन लाग्न सक्ने बताइएको छ। त्यसैले यो भाइरस हाम्रो समाज र हामीबीच रहिरहने देखिन्छ।  

त्यसैले अबका प्राथमकिता भनेको यो भाइरसको उपस्थितिबीच हामी कसरी सावधान रहने र यसको संक्रमण न्यून पार्ने भन्ने हो। त्यसैले यो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा आमजनसमुदाय अत्यन्त सावधान हुनुपर्ने देखिएको छ। यसमा सरकारले गरेका प्रयाससँग हातेमालो गर्दै आमनागरिकमा चेतना र जागरुकता आवश्यक देखिन्छ। यसैगरी हामीले दैनिक आनीबानी तथा व्यवहारमा पनि सुधार गर्न आवश्यक देखिन्छ। त्यसैगरी सरकारले पनि लकडाउनमा रहेको अवधिलाई अधिकतम उपयोग गरी मुलुकलाई सामान्यकालमा चाँडै फर्काउन कोसिस गर्नुपर्ने हुन्छ। बन्द अवधिलाई निरंकुशताका निम्ति उपयोग गरेको पनि कतिपय मुलुकमा देखिएको छ। त्यस्ता धृष्टताबाट जोगिनुपर्छ।  

प्रकाशित: ३१ वैशाख २०७७ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App