coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अधिनायकवादको पराकाष्टा

नेकपा कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठकमा प्रस्तुत गरिने विषयहरूको टुङ्गो लाग्न अझै बाँकी भएकाले गएको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो भन्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधबार बसेको नेकपा सचिवालय बैठक स्थायी कमिटीमा लैजाने अजेन्डाबारे टुङ्गो नलागेको भनी बैठक नै अकस्मात स्थगित गरियो। स्थायी समितिको बैठकमा के के गर्ने भन्ने विषयको टुङ्गो पार्टीका अध्यक्षद्वयले गर्ने जानकारी दिए। तर स्थायी समितिका बारेमा दुई अध्यक्षले निर्णय गर्नेछन् भने।अब एउटा अत्यन्त गम्भीर परिस्थिति आएको छ। यसरी बैठकको बीचमा आफ्नो भनाइ राखेर बैठक नै छाडेर पलायनहुनुले ओलीको पोलिटिकल हाइट घटाएको छ। प्रधानमन्त्रीले राजीनामा दिएर स्वीकृत भएको अवस्थामा पनि अर्को व्यवस्था नहुँदासम्म राजीनामा दिएको प्रधानमन्त्रीले नै देश चलाउँछ।

यस्तोखालको राजनीतिक संकट यो पहिलोपल्ट होला। मैले राजनीति थाहा पाउन थालेदेखि अहिलेसम्म यस्तो भद्रगोल राजनीति कहिल्यै भएको थिएन। अहिलेको अभूतपूर्व भद्रगोल राजनीतिमा नाटककार चारजना छन्। कहिले कहिले वामदेव गौतम थपिँदा पाँच.पुग्छन्। उनी हट्छन् कहिले तब चार हुन्छन्। के.पी.शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल स्थायीखालका राजनीतिक नेता कलाकार हुन। नेपाली कांग्रेस पार्टी पार्टी जस्तो छैन। शायद शेरबहादुर देउवाले नेतृत्व गरुन्जेल कांग्रेस पार्टी कांग्रेस भएर आउँदैन। के नेपालको राजनीतिले नेपाली जनता छोड्न लागेको हो ?या नेताहरूले राजनीति छोड्न लागेका या नेताहरूलाई राजनीतिले छोड्न लागेको ? केही त हो पक्कै पनि। नेकपा नेता हो बाटो नछोड !

कसरी आयो यो परिवर्तन
के विचित्र गुण के.पी.शर्मा ओलीमा जसले १७ वैशाखको बैठकमा अत्यन्त महत्वाकांक्षी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग एक्लै भेटे, के के मन्त्रणा गरे। वामदेव फक्किएछन्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. ओलीको भान्छामा खान तयार भएछन्। आफूलाई मात्र हो र नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि कोटेश्वरको भान्छाको चिसो भात नखाइ बालुवाटारको तातो भात खान आउन आग्रह गरेछन्। यसरी तीन दिनमा के के परिस्थिति र के कस्ता आधारभूत परिवर्तन आयो भन्ने दृश्यमा केही आएन। तर तत्कालै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन कड्केका वामदेव कोटेश्वर र खुमलटारको समेत तातो भात छाडेर बालुवाटारको डाइनिङ टेबुलमा मार्सी चामलको भात, झापाको बोसे खसीको मासुको लेदोसँग खान तम्तयार भए। प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेवसँग प्रधानमन्त्रीको सरकारी आवासमा एक्लै भेटी भलाकुसारी गरेछन् र भनेछन्– तपाईँ मेरो पुरानो साथी हो, मैले गम्भीर दुःख पाएको बेला तपाईँले अद्वितीय सहयोग गरी भारी गुन लगाउनुभएको म झलझली सम्झन्छु। त्यो गुन तिर्नु छ। 

जुद्धशमशेर राणा श्री ३ महाराज हुँदा पनि यति ठूलो मात्राको अधिनायकवाद थिएन। यो त हद नाघ्यो, पराकाष्टा पुग्यो।

कमलो मनका वामदेव फुरुङ्ग रे। ओलीले वामदेवसँग एक्लै भेट्दा अरु के के भने बाहिर आएन। जब शनिबार नेकपाको सचिवालय बैठक बस्यो, प्रधानमन्त्री निवास बालुवाटारमा तब प्रधानमन्त्री ओलीले अब मपछि प्रधानमन्त्री हुने वामदेव गौतमजी नै हो। यसका लागि उपयुक्त समयमा संघीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउछौँ भन्नुभएछ। तब वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने हुनुभएछ। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गर्छु तपाईँहरू पनि कमी÷कमजोरीहरूलाई आत्मालोचना गर्नोस् भनेछन्। त्यसपछि बैठकमा सौहाद्र्धता आएछ। बुधबारको बैठक तीक्ततापूर्ण वातावरणमा पाखुरा सुर्कासुर्कीबीच स्थगित भएको थियो। शनिबारको बैठकको आसनको व्यवस्थापन पनि फरक गरिएको रहेछ। त्यसअघि प्रधानमन्त्री तथा पार्टीका एउटा अध्यक्ष ओली बस्ने आसन र पार्टीका अर्का अध्यक्ष प्रचण्ड बस्ने आसन र टेबुल पनि फरक हुन्थ्यो रे। तर शनिबारको बैठकका आसन र टेबुल पनि समान थिए रे। यसको तात्पर्य प्रधानमन्त्री अघि अघि जस्तो टर्रो र कट्मिरोरूपमा प्रस्तुत नभई नरमरूपमा प्रस्तुत हुने पूर्वयोजना रहेछ। त्यो आकस्मिक परिवर्तन कसरी आयो के.पी.शर्मा.ओलीमा ?त्यसको सम्पूर्ण पक्षको विश्लेषण हुनु बढिया होला।

प्रचण्ड चेपुवामा, माधव असजिला
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको मंगलबार २३ वैशाखका दिन यति दौडादौड गरे, शायद यति दौडादौड १० वर्षे जनयुद्धकालमा पनि परेको थिएन होला। किनकि जनयुद्धकालमा प्रचण्ड सुप्रिम कमान्डर थिए। उनले रिपोर्ट सुन्ने, विश्लेषण गर्ने र अर्डर दिने काम गरे पुग्थ्यो। परन्तु आज प्रधानमन्त्री के.पी. शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठका अतिरिक्त पार्टीको स्थायी समितिका असन्तुष्ट नेताहरूको दृष्टिकोणलाई समेत सम्बोधन हुने प्रतिवेदन तयार पार्नुछ। तै वामदेव गौतम तह लागेजस्तो छ। प्रचण्डको एउटा ग्रह नै तह लागेका छन्। नारायणकाजी हलुकाखालका नेता होइनन्। उनको कम्युनिस्ट दर्शन तर्क पनि अध्ययनपूर्ण छ भनिन्छ। तर २० वैशाख शनिबारको सचिवालय बैठकमा प्रचण्डलगायतका नेताहरूको शैलीप्रति असन्तुष्ट नारायणकाजी सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा बोलाउँदा गएनछन्। तसर्थ प्रचण्डनै झलनाथ खनाल र माधव नेपाललाई लिएर श्रेष्ठ निवास हात्तीवन गएछन्। वामदेव गौतमले आफ्नो भक्तिओलीलाई अर्पण गरेपछि प्रचण्डहरूको टाउको दुखाइ आधा नै हलुका भएको होला। यता माधव नेपाल असजिला। त्यसमा पनि बालुवाटारको आकर्षण र आश्वासनमा आकर्षित भएपछि झनै असजिलो पोजिसनमा परेका छन्। त्यसमा पनि दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुँदैन भन्दै विधि र प्रक्रिया नै चाहिन्छ भन्ने कुरा सार्वजनिक गरिसकेका छन्।

सिद्धान्त समाजवाद, व्यवहार क्रोनी क्यापिटलिज्म। अर्थतन्त्रका निर्णायकहरू पनि यती र ओम्नीहरू। अनि कसरी बस्छ नेकपाको स्थायी समितिको बैठक ?

मिलन एकछिनको ओतमात्र ?
यता माधव नेपालले प्रचण्डले आफूलाई धोका दिएको बुझेका छन्। किनभने अस्तिसम्म एउटै डेराका आफूसँगै चुलो धुवाएका प्रचण्ड पनि बालुवाटारको चुलो ताप्न गएपछि उनीसँग निराश मात्र होइन, रुष्टसमेत भएका छन्। ओलीले पूरा विश्वास गरेका छैनन्। तसर्थ अहिले भन्दा सन्देह र संशयमा प्रचण्ड छन्। तर यी अत्यन्त चाटुकार, चतुर एवं धूर्त नेताहरू बेलाबखत अप्ठेरोमा परेका छन्। एकथरि नेताहरूको हाम्रो मुख थुन्न पाइन्न, हाम्रा कुरा स्पष्टसँग राख्न पाउनुपर्छ भन्ने आवाज चर्कँदैछ। यहाँ अर्को सैद्धान्तिक सवाल पनि उठ्न थालेकोछ। पार्टीको स्थायी समितिले गरेको निर्णय सचिवालयले कार्यान्वयन गर्ने कि सचिवालयका निर्णय स्थायी समितिले कार्यान्वयन गर्ने भन्ने। अब सचिवालयले स्थायी समिति पठाउने या स्थायी समितिले केन्द्रीय समिति पठाउने। केन्द्रीय समितिले फेरि त्यही रीतले ओहोरदोहोर मात्र गरिरहने हो भने कार्यान्वयन गर्ने अङ्गमानै प्रश्न खडा हुन्छ। यो अस्पष्ट अवस्था हेर्दा अहिले मिलन कतै तत्कालको राजनीतिक झरीबाट एकछिन ओत लाग्यो जस्तो मात्र त हो भन्ने प्रश्न खडा हुन्छ। नेताहरू धेरै चलाखी मात्र गर्न नखोज्दा राम्रो होला। 

समाजवादमा पुँजीवाद कसरी?
नेपाल कम्युनिस्ट पार्टीभित्र लागेको आगो निभ्छ त अब साँच्चै ?यो पार्टीभित्र अहिले कलहका धेरै भाइरस पसेका छन्। पार्टीभित्र विधि छैन, छ भने विधिविहीनता छ। पार्टी र सरकारबीचको अन्तरसम्बन्ध सुमधुर हुनुपर्ने तर मधुर छैन मात्र होइन, बरु कटु छ। आज प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक नेता तपाईँहरू जो जो जुन जुन पदमा बस्नुभएको छ त्यो तपाईँको व्यक्तिगत कमाइ होइन। विशाल जनताको अनवरत संघर्ष, त्याग, बलिदानको समष्टि हो। तपाईँ त ती अमर सहिदहरूको बलिदानबाट प्राप्त प्रतिफल खानेमा पर्नुभएको हो। सरकार समाजवादको अघि बढ्ने संकल्पबाट विचलित भई उदार अर्थतन्त्रको नाममा नोकरशाही एवं दलाल पुँजीपतिहरूलाई जोगाउन लिप्त छ। जनता भने अझै गत महानिर्वाचनमा वाचा गरेका सुशासन, स्थिरता, समृद्धितर्फ आश गर्दै थियो। 

तर सरकार यती,ओम्नी जस्ता व्यवसायी संस्थाको कब्जामा पर्दै गयो। कसरी घुस्यो समाजवादी चिन्तनमा पुँजीवाद मात्र हो र ? अझ क्रोनी क्यापिटलिज्म पोत हावी हुन लाग्यो सरकारमा। मुलुकको रूपान्तरण नै चाहन्छ चाहँदैन शंका भो। तसर्थ कठोर चिरफार आवश्यक छ। कम्युनिस्ट नाम भएको झारा टार्न एकाध जनपक्षीय कार्यक्रम पस्कन्छ तर त्यो पनि व्यवहारमा आउँदैन। अनेक बिङ्गा लगाउन सिपालु कर्मचारीतन्त्र छ। लामो समय जनताको तातो काखमा हुर्केका, मोजमज्जा गर्ने उमेरमा भूमिगत या जेल जीवन बिताएकाहरूलाई त्यो भर्खर विश्वविद्यालयबाट उत्तीर्ण युवा कर्मचारीले घुमाउँदा घुम्छन्। कस्तो निरीहता! सर्वसाधारण जनताको हक र हितमा केन्द्रित हुनुपर्नेमा सर्वसाधारण जनता त कारखाना जस्ता मात्र बनाइएका छन्। पूर्व पञ्चका पार्टीले गरेनन्। नेकपा, कांग्रेस, समाजवादी पार्टी, राजपा थोरै भए पनि त्यस दिशातिर लाग्नुपर्नेमा त्यो पनि भएन। 

कति जनासँग छ साबुन पानी ?
जनताले नेपाल कम्युनिस्ट पार्टीलाई उसको चुनावी घोषणापत्रमा कबुल गरेअनुसार समाजवाद ल्याउँछ भनी मत दिए। झण्डै दुई तृतीयांश मत दिएर आफ्नो सम्पूर्ण राजनीतिक अधिकार दिए। तर जनताको विश्वासअनुसार नेकपा नेतृत्वले अर्थतन्त्रलाई पुँजीवादबाट झिक्न सकेन या झिक्न चाहेन। परिणाम, अहिले राष्ट्र कोभिड–१९ को महामारीबाट बच्न साबुन पानीले हात धुन न पानी छ न साबुन किन्ने पैसा नै। सरकार कम्युनिस्ट पार्टीको सबै जनतासँग न साबुन न पानी। जनताले के अपराध गरेको र रोगबाट बच्न हात धुन साबुन पनि किन्न सक्तैन, पानी पनि पाउँदैन। नेकपाका मन्त्री २७ करोड रुपियाँ घूस मागेका जस्ता घीनलाग्दा काण्डमा खोसिन्छन्। सभामुख जस्तो गरिमामय पदमा आसीन त्यो उमेरका नेकपा नेता यौनकाण्डमा मुछिन्छन्। यो भएको के ? कुनै पनि जनप्रतिनिधिवाला पदमा पुगेपछि गर्न नहुने काम नै गर्नुपर्ने के माक्र्सवाद पढ्नु भो ? के लेनिनवाद पढ्नु भो ?यही सिकाइएको थियो ? पुष्पलालले यही सिकाएका थिए ?

कम्युनिस्ट सरकारको आजको राज्य गराइले जनताका उज्याला दिन आउन सम्भव देखिँदैन। अरु त अरु नीतिगत तहमै अन्योल छ। जब नीतिगत तहमै अन्योलग्रस्त छ भने अनि कसरी बाटो लाग्छ मुलुक ? केले रोक्यो जनताको पहुँचमा हात धुने साबुन पानी पुर्‍याउन ? कि तपाईँ मन्त्रीहरूलाई थाहा छैन हात धुने साबुन पानी छैन भन्ने कुरा ? अझ स्यानिटाइजरका कुरा गर्नुहुन्छ। स्यानिटाइजर गाउँका सर्वसाधारण जनताका लागि विलासिताको वस्तु हुन्छ। के तपाईँ गाउँमा साबुन, पानी र स्यानिटाइजर पुर्‍याउन सक्नुहुन्छ ? होइन भने तपाईँआफूलाई कम्युनिस्ट मन्त्री कसरी भन्न सक्नुहुन्छ ?

नहुने कुरा भो
फेरि फट्याइँ? नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बल्लबल्ल २० जना सदस्यले हस्ताक्षर गरी बस्न आग्रह गरेपछि १५ दिनभित्र बस्नुपर्ने पार्टीको विधान छ। विधि/विधानभित्र सबैले बस्नैपर्छ। पार्टीको विधानअनुसार २५ वैशाखभित्र स्थायी समिति बैठक हुनुपर्ने तर गएको बिहीबारसम्म यी पंक्तिकोरुन्जेल स्थायी समितिको बैठकको कुनै सूचना नै छैन। जुद्धशमशेर राणा श्री ३ महाराज हुँदा पनि यति ठूलो मात्राको अधिनायकवाद थिएन। यो त हद नाघ्यो, पराकाष्टा पुग्यो। सिद्धान्त समाजवाद, व्यवहार क्रोनी क्यापिटलिज्म। अर्थतन्त्रका निर्णायकहरू पनि यती र ओम्नीहरू। अनि कसरी बस्छ नेकपाको स्थायी समितिको बैठक ? गत बुधबार अपराह्न तीन बजे बोलाइएको सचिवालय बैठक साँढे तीन बजेपछि मात्र सुरु भएछ।

आधा घण्टा करिब पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीले बोलेर हिँडेपछि अब के गर्ने भन्ने कुरा भएछ र स्थायी कमिटीमा लैजाने प्रतिवेदनलगायत केही नियम नै नभएपछि स्थायी कमिटीको बैठक बस्नुको औचित्य के भन्ने अन्योलबीच सकिएछ। यस्तो अव्यवस्थित एवं अनौठो जँड्याहाहरूको भेलामा मात्र हुन्छ होला। प्रधानमन्त्री नै त्यसरी तातेर हिँडेपछि बैठक बस्नु विवाद झन् चर्काउनु हुन्छ भन्ने भएपछि अर्का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीसँग सल्लाह गरेर अब के गर्ने भन्ने टुङ्गो गर्न भनेछन्। प्रधानमन्त्रीसँग सल्लाह गरेर बिहीबार थोरै समय भए पनि बसी स्थायी समिति बैठक स्थगित गर्न पाए हुने भन्ने कुरा भई टुङ्गिएछ। 

विधाताबीच नै बेमेल
मूलतः सचिवालय सदस्य, पार्टीका उच्चतम नेताहरूबीचको महत्वाकांक्षा, पदलोलुपता र प्राप्ति नै यो मतभेदको मूल जरो हो भन्ने लाग्छ। एक नेताको अर्को नेताप्रति शंका, अविश्वास र अझ इष्र्या र डाहा हो भन्दा बढी होला र ? एउटा नेताले अर्काको विरुद्ध गम्भीर षडयन्त्र गरेकै देख्ने मनोविज्ञान नै यो तुच्छ झगडाको बीउ हो भन्ने दृष्टिकोण हो ! प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार अब एकताबद्ध भएर अघि बढ्ने, पार्टी दाहालले चलाउने, पार्टीको निर्देशनबमोजिम सरकार आफूले चलाउने समझदारी गरिसकेपछि र एक व्यक्ति एक मुख्य जिम्मेवारी भन्ने भइसकेपछि पनि हात्तीवन, खुमलटार र कोटेश्वर भेला किन ? के यो मेरोविरुद्ध षडयन्त्र होइन ? भन्ने ओलीको तर्क। त्यो तर्कको जवाफ पनि नसुनी आधाघण्टा आफ्ना कुरा मात्र राखी थकाइ पनि लागेको र स्वास्थ्यपनि ठीक नभएको भन्दै स्थायी समितिमा लैजाने अजेन्डा पनि नभएको भन्दै ओली बैठकबाट छड्केछन्।

ओली कड्केर छड्केपछि अरु सदस्य किंकर्तव्यविमुढ भए। बाँकी कामको जिम्मा अर्का अध्यक्ष प्रचण्डलाई दिएर हिँडे। स्वयं प्रचण्ड पनि यो नाटकको नायक, खलनायक, सहनायक, उपनायकमध्येकै भएको हुँदा। यी दुई महारथिबीच के/कस्तो सम्बन्ध कायम हुन्छ। प्रतीक्षा नै शेष छ। अब यी नेताबीच कुन नेताले मध्यस्थता गर्छ भन्ने थाहा भएको छैन।

प्रकाशित: २८ वैशाख २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App